छेउमा बियरको मग होस् र समयको हेक्का नरहोस्, त्यो जत्ति मज्जा क्यैमा हुन्न
जेम्स गोल्ड कोजेन्स

जेम्स गोल्ड कोहेन

उपन्यासकार जेम्स गोल्ड कोजेन्स सन् १९०३ मा जन्मिएका आख्यानकार हुन् । उनका उपन्यास र छोटा कथा निकै रूचाइएका थिए । उच्च मध्यम वर्गीय परिवारका ढोंग उनको प्रिय लेखनी थियो । उनको पहिलो चर्चित उपन्यास एसएस सान पेड्रो थियो । यसैमार्फ उनले स्क्रिब्नर्स प्राइज जितेका थिए । टटल स्ट्रेन्जर कथा संग्रहले भने ओ. हेनरी अवार्ड जितेको थियो । त्यस्तै उनको उपन्यास गार्ड अफ अनरले पुलित्जर पुरस्कार हात पारेको थियो ।

अब यसबाटै उनी कति पहुँच भएका शब्दशिल्पी थिए भन्ने बुझिहाल्नु भयो । उनको मदिरा प्रेम पनि कम रोचक छैन ।

कोजेन्सको मदिरा पिउने खास अन्दाज थियो । बिहानीको खान्की भनूँ न, लञ्चसँगै डबल स्कच लिने बानी थियो । त्यसपछि डिनरका बेला पनि डबल स्कच लिन्थे । त्यसपछि राति चार बोतल बियर घुट्क्याउँथे ।

६७ वर्षको उमेरमा चिकित्सकहरूले उनलाई रक्सी बढी भयो भनेर त्यसलाई हात नलगाउन सुझाव दिएका थिए । त्यसपछि यो जिन्दगीमा पिउन पाइएन भने के मतलब भन्दै चिकित्सकहरूसँग गनगन गरिरहन्थे । चिकित्सकहरूले रक्सी नखान सुझाव दिएपछि सबैभन्दा घाटा लेखनीमा पुग्यो । रक्सी नखाएका थप सात वर्ष उनले एक शब्द पनि लेख्न सकेनन् । उनी भन्थे, ‘लेखेर थोरै बाँच्नु जाती कि नलेखी धेरै बाँच्नु जाती ? एउटा लेखकका लागि नलेखी लामो आयु बाँच्नु श्राप हो ।’

नभन्दै उनले जुन दिनदेखि रक्सी खान छाडे, उनले लेख्न पनि छाडे ।

०००

मैले रमका लागि धेरै मृगौला र मूत्राशयलाई ध्वस्त बनाएको छु तर त्यही रमका लागि म अझै धेरै मृगौला र मूत्राशयको जोखिम लिन तयार छु ।
हार्ट क्रेन

हार्ट क्रेन

सन् १८९९ मा जन्मिएका हार्ट क्रेन मूलतः कवि हुन् । उनको ह्वाइट बिल्डिङ कविता बजारमा आउनेबित्तिकै कविता कस्तो हुनुपर्छ भनी उदाहरण देखाउने बन्न पुगेको थियो । उनको सबैभन्दा सुन्दर कृति भने द ब्रिज बन्न पुग्यो । यसैमार्फत उनले गुगेनहेम फेलोसिप पाएका थिए । उनको द ब्रोकन टावर कृति चाहिँ सर्वोत्कृष्ट कृतिका रूपमा ख्यातिप्राप्त छ ।

फ्रान्सको राजधानी पेरिस कविहरूका लागि सर्वोत्तम ठाउँ मानिन्छ । राति अबेरसम्म बिना कुनै साथी उनी क्याफे सेलेक्टमा पिइरहेका भेटिन्थे । रक्सी खान त छिर्थे, क्याफेमा तर तिर्ने पैसो चाहिँ हुँदैनथ्यो ।

एक दिन यसरी रक्सी पिउँदा तिर्ने पैसा नभएपछि एक जना अमेरिकी प्रशंसकले पैसा तिर्न तयार भए तर क्याफेका सञ्चायक यस्तो घामड परेछ कि त्यो पैसा अरूबाट होइन, कविबाटै तिराउन चाहँदो रहेछ ।

‘पसलेलाई कसले तिर्ने भन्दा पनि पैसा तिर्ने कुरा ठूलो हो कि के हो ?’ कवि हार्ट जंगिए ।

उनी जंगिएपछि बचाउमा छेउमा वेटर आइपुग्यो । उनले वेटरलाई एक मुक्का हानेर ढलाइदिए । फेरि अर्को एक व्यक्ति आयो, उसलाई पनि एक झापड हानेर बाटो तताउन लगाए ।

यसपछि जँड्याहा आतंक शुरू भयो भन्ने सोचेर पसलेले प्रहरीलाई बोलायो । एउटा प्रहरी क्याफेमा आइपुग्यो । एक्लो प्रहरी देखेर हो कि कविज्यू झन् जंगिए । यसपछि केही प्रहरीहरू थपिए । प्रहरीलाई पनि उनले जथाभावी भनेपछि झाङ्गलझुङ्गल पार्दै प्रहरी सेलमा पुर्यायो । त्यहाँ कविज्यूले एक साता बिताए, जहाँ मुसाको जगजगी थियो । छाड्ने बेलामा उनलाई फ्रान्सेली प्रहरीले ८०० फ्राङ्क तिरायो । त्यसपछि यस्तो वाहियात देशमा एकरत्ति बस्दिनँ भन्दै अमेरिकातिर लागे ।

०००

सभ्यता जन्माउने एउटै तत्त्व रक्सी हो ।
विलियम फकनर

विलियम फकनर

विलियम फकनर १८९७ मा जन्मिए । उनी उपन्यासकार, कथाकार तथा फिल्म पटकथाकारका रूपमा परिचित रहे । उनका ‘द साउन्ड एन्ड द फ्युरी’, ‘एज आई ले डाइङ’, ‘द लाइट इन अगस्ट’, ‘द अनवेलेक्विस्ड’ र ‘अब्सलोम, अब्सालोम !’ उपन्यासहरू चर्चित छन् । उनको ज्यादै चर्चित पटकथाहरूमा द बिग स्लिप र टु ह्याभ एन्ड ह्याभ नट हुन् । सन् १९४९ मा उनलाई साहित्यमा नोबेल पुरस्कार दिइएको थियो ।

लेख्ने बेलामा फकनरलाई थोर पिउनु पर्थ्यो । जब थोरै पिएर एउटा टेबुलमा लेख्न बस्दा छेउमा ह्विस्कीको बोतल हुनुपर्छ भन्ने मान्यता राख्थे । उनी भन्थे, ‘म रातिहुँदी लेख्छु । म सधैँ मेरो ह्विस्की दुई हात पर राख्छु ताकि लेख्दालेख्दै जब अल्छी लाग्छ, तनक्क तन्किएर बोतल तान्न सकियोस् ।’

एक पटक फिल्म लेखनका लागि निर्देशक होवार्ड हक्सले उनलाई नियुक्त गरे । उनले रोड टु ग्लोरी नामक फिल्म लेख्दै थिए । अब लेख्दै गर्दा उनलाई जहिले पनि थोरथोरै पिउनु पर्थ्यो । निर्देशकको आँखा छलेर पिउनका लागि एउटा कागजे ब्यागमा रक्सी बोकेर ल्याएका थिए । पहिला आफू लेख्थे, त्यसपछि रक्सीको तलतल लागेपछि उनले लेखेका कुरा पढ्न दिन्थे र त्यतिञ्जेल चाहिँ आफू रक्सी घुट्क्याउन भ्याउँथे ।

फिल्म सफल भएपछि यसको सफलताको रहस्य के हो भनेर फकनरलाई सोधिन्थ्यो । जवाफमा हाँस्दै उनले भन्थे, ‘के हुनु, त्यै रक्सी त हो !’

(स्रोतः हेमिङ्गवे एन्ड बेलीज् बारटेन्डिङ गाइड टु ग्रेट अमेरिकन राइटर्स, लेखकः मार्क बेली)