२१
साँझपख इग्नात भुईँ तल्लाको एक सानो कोठामा भेसोभसिकोभको सामुन्ने बसेर आँखीभौँ खुम्च्याउँदै मसिनो स्वरमा उसलाई केही कुरा बताउँदै थियो –

“बिचको झ्यालमा चार पटक … ।”

“चार पटक रे ?” – निकोलाइले चिन्तित स्वरमा सोध्यो ।

“हो, सुरुमा तीन पटक यसरी !” यति भनेर उसले आफ्नो औँला खुम्च्याउँदै मेचमा ठोक्दै गयो –

“एक, दुई, तीन । अनि केही पर्खेर फेरि एक पटक ।”

“बुझेँ ।”

“कैलो कपाल भएको किसानले ढोका खोल्नेछ र सोध्नेछ – “सुडेनी डाक्न आउनुभएको हो ?” तपाई भन्नुहोला – “हो, कारखानाका मालिकले पठाएर आएको ।” अरू केही भन्नुपर्दैन, उसले बुझिहाल्छ !”

उनीहरू एक–अर्कातर्फ टाउको निहुराएर बसेका थिए । दुवै हट्टाकट्टा थिए र दबेको स्वरमा कुरा गर्दै थिए । आमा चाहिँ छातीमा हात बाँधेर टेबुलनजिकै उभिएकी थिइन् र उनीहरूलाई हेर्दै थिइन् । यी सबै रहस्यमय खटखटाहट, सङ्केतात्मक प्रश्नोत्तर आदिबारे सुनेर उनी मनमनै हाँस्दै थिइन् । उनी सोच्दै थिइन् –

“अझ केटाकेटी नै छन् … ।”

भित्ताको बत्ती बलिरहेको थियो । बत्तीको प्रकाश भुईँमा परेर एउटा कच्याककुचुक परेको बाल्टिन र टिनका टुक्राहरूलाई आलोकित पार्दै थियो । कोठाभरि खिया, रोगन र ढुसी परेको गन्ध फैलिएको थियो ।

इग्नातले बाक्लो भुवादार ओभरकोट लगाएको थियो । उसलाई यो कोट असाध्यै मन परेजस्तो देखिन्थ्यो । आमाले देखिन्, ऊ कहिले दङ्ग पर्दै कोटको बाहुला सुमसुम्याउँथ्यो त कहिले गर्दन बटार्दै यता र उताबाट आफ्नो कोट नियाल्थ्यो । यी सबै कुरा देखेर उनको हृदयमा मायाको भावना उर्लियो –

“कठै बिचराहरू, अझै बच्चै छन् … ।”

“लौ त !” – इग्नातले उठ्दै भन्यो – “त्यसो भए याद गर्नुभयो । सबैभन्दा पहिले मुरातोभकहाँ गएर बाजेको हालखबर सोध्नुहोला … ।”

“हो, सम्झेँ !” – भेसोभसिकोभले जवाफ दियो । तर इग्नातलाई अझै पनि चित्त बुझेनछ र फेरि खट खटायो, सबै सङ्केत र शब्दहरू दोहोर्याएर बतायो । अन्त्यमा भेसोभसिकोभसँग हात मिलाउँदै उसले भन्यो –

“सबैलाई मेरो तर्फबाट नमस्कार सुनाइदिनुहोला ! धेरै असल मान्छेहरू छन्, तपाई आफैँ देखिहाल्नुहुन्छ … ।”

उसले टाउको निहुराएर आफ्नो कोट हेर्‍यो र दङ्ग पर्दै कोटको बाहुला सुमसुम्यायो ।

“म जाऊँ ?” – उसले आमालाई सोध्यो ।

“बाटो त फेला पारौला ?”

“फेला पारिहाल्छु नि… लौ त कमरेडहरू बिदा भएँ ।”

ऊ काँध उचाल्दै छाती फुलाउँदै निस्क्यो । उसले आफ्नो नयाँ टोपी ढल्काएर लगाएको थियो र दुवै हात बडो रवाफिलो तरिकाले ओभरकोटको बगलीमा घुसारेको थियो । उसको कन्चटमा सुनौला कपालका मुन्द्राहरू हल्लिरहेका थिए ।

“अब भने मैले पनि काम पाएँ !” – बिस्तारै आमाको नजिक आउँदै भेसोभसिकोभले भन्यो – “मलाई त बस्दाबस्दै वाक्क लागिसक्यो । जेलबाट भागेर आएँ, तर केलाई ? रातदिन लुकेर बस्नुसिवाय अरू केही काम छैन । जेलमा त बरु केही पढिन्थ्यो । पाभेल हामीलाई आफ्नो दिमागले काम गर्न कति बाध्य तुल्याउँथ्यो भने बडो आनन्द लागेर आउँथ्यो । अनि पेलागेया निलोभ्ना, उसको जेलबाट भाग्ने कुराबारे के निर्णय गर्नुभयो त ?”

“थाहा छैन !” – अनायास सुस्केरा हाल्दै आमो भनिन् ।

निकोलाइले आफ्नो गह्रुँगो हात आमाको काँधमा राख्यो र उनीतिर निहुरिँदै भन्यो –

“तपाई उनीहरूलाई सम्झाउनुहोस् । उनीहरूले तपाईँका कुरा सुन्नेछन् । यो काम बडो सजिलोसँग गर्न सकिन्छ । तपाई आफैँ सोच्नोस् न – जेलको पर्खालनजिकै बत्तीको खम्बा छ, सडकपारि बाँझो जमिन छ, बायाँपट्टि चिहान छ र सडकको दाहिनेपट्टि सहर छ । दिउँसो बत्ती सफा गर्ने मान्छे आउँछ, ऊ बत्ती सफा गर्न थाल्छ र आफ्नो भर्‍याङको अङ्कुशे अड्काएर डोरी जेलको चोकतिर लट्काइदिन्छ – अनि त के चाहियो र ! जेलभित्रका मान्छेहरूले कति बेला निस्कने भन्ने कुरा थाहा पाइसकेका हुन्छन् । जेलभित्रका फौजदारी कैदीहरूलाई उक्साएर गोलमाल मचाउन लाउनेछन्, या त आफैँ हल्ला मच्चाउन थाल्नेछन् । जेलका पहरेदारहरू अलमलिनेछन् । यही मौका पारेर जसलाई भाग्नु छ, डोरीको भर्‍याङ चढेर कुलेलम ठोक्नेछन् – बस्, सबै ठिक भइहाल्यो ।”

ऊ आमाको अगाडि हात हल्लाउँदै आफ्नो योजना चित्रण गर्दै थियो । उसको भनाइअनुसार सबै कुरा एकदम सरल, स्पष्ट र सजिलैसँग सम्पन्न हुन सक्थ्यो । आमाले उसलाई सधैँ बुद्धु र बेकम्मा ठानेकी थिइन् । पहिले निकोलाइ सबै कुरा शङ्कालु र रिसाहा दृष्टिले हेर्ने गर्थ्यो । तर अहिले आमालाई यी सबै कुरा सम्झाउँदा उसका आँखामा कस्तो न्यानो चमक थियो भने नयाँ साटेर ल्याएजस्तो देखिन्थ्यो ।

“तपाई एकपल्ट सोचेर मात्र हेर्नोस्, यी सबै कुरा दिउँसै हुनेछ, एकदमै दिउँसो र सबैलाई झुक्क्याएर कैदीहरू दिउँसै भाग्नेछन् भन्ने कुरा कसैले कल्पनासम्म पनि गर्न सक्दैन ।”

“गोली चलाए भने नि ?” आमाले डरले काँप्दै भनिन् ।

“कसले ? त्यहाँ सिपाहीहरू हुँदैनन् । पहरेदारहरू चाहिँ आफ्नो पिस्तोल किलो ठोक्ने काममा मात्र लगाउँछन् ।”

“खोइ बा, यति सजिलो त हुनु नपर्ने हो … ।”

“हेर्नुहोला, सबै ठिक हुन्छ । तपाई उनीहरूलाई मनाउनोस् मात्रै । बाँकी सबै कुरा मैले ठिक पारिसकेको छु – डोरी, भर्‍याङ, अङ्कुशे सबै कुराको बन्दोबस्त मिलाइसकेको छु । मेरो घरधनी बत्ती सफा गर्ने मान्छे बन्छ ।”

ढोकाबाहिर कसैले खोक्यो । कोही हिँडेको र फलामका सामानहरू पर सारेको आवाज सुनियो ।

“उही हो !” – निकोलाइले भन्यो ।

ढोकामा टिनको नुहाउने टब देखा पर्‍यो । अनि कसैले धोत्रे स्वरमा बडबडाएको आवाज सुनियो –

“हिँड् अब, राक्षस कहीँका … ।”

टबपछाडिबाट फुलेको कपाल भएको, टोपीविनाको बाटुलो टाउको देखा पर्‍यो । उसका आँखा बाहिर निस्कलाजस्ता देखिन्थे । उसले जुँगा पालेको थियो र उसको अनुहार बडा सहृदयी देखिन्थ्यो ।

निकोलाइले कोठाभित्र टब छिराउन मद्दत गर्‍यो । अग्लो, अलि कुप्रो परेको मानिस कोठाभित्र पस्यो । उसले सफाचट पारेर दाह्री खौरिएको गाला फुलाउँदै खोक्यो, कफ थुक्दै धोत्रे स्वरमा अभिवादन गर्‍यो –

“नमस्कार, आरामै … ?”

“लौ उसैलाई सोध्नोस् न !” – निकोलाइले झट्ट भन्यो ।

“मलाई सोध्ने रे ? के कुरा ?”

“त्यही के जेलबाट भगाउने कुरा … ।”

“अँ… ।” – आफ्ना काला औँलाले जुँगा पुछ्दै घरधनीले भन्यो ।

“हेर्नोस् न याकोभ याकोभासिलेभिच, उहाँ पत्याउनुहुन्न – यो काम कति सजिलोसँग गर्न सकिन्छ ?”

“हँ – पत्याउन्न रे ? त्यसो भए भगाउन चाहँदैनन् । तिमी र म चाहन्छौँ, त्यसैले विश्वास पनि गर्छौ !” – घरधनीले शान्त स्वरमा भन्यो र एक्कासि कुप्रो पर्दै एकोहोरो खोक्न थाल्यो । खोकिसकेपछि ऊ छाती मल्दै कोठाको बिचमा केही बेरसम्म उभिइरह्यो र स्याँस्याँ गर्दै ठुला ठुला आँखो आमालाई नियाल्न थाल्यो ।

“यस कुराको निर्णय पाभेल र उसका साथीहरूले नै गर्नेछन् ।” – आमो भनिन् ।

निकोलाइले केही सोच्दै टाउको निहुरायो ।

“को हो पाभेल ?” – घरधनीले बस्दै सोध्यो ।

“मेरो छोरो ।”

“पूरा नाउँ के हो ?”

“भ्लासोभ ।”

उसले टाउको हल्लायो र सुर्तीको बट्टा निकालेर पाइप भर्न थाल्यो ।

“हो, नाम सुनेको छु । मेरो भतिजोले चिनेको छ उसलाई । भतिजो पनि जेलैमा छ । एभचेन्को हो उसको नाम, सुन्नुभएको छ ? मेरो नाम चाहिँ गोबुन हो । छिटै सब युवकहरूलाई जेलभित्र ठुस्नेछन् – अनि त हामी बूढाबूढीहरूलाई जति खुट्टा पसारे पनि पुग्नेछ । एक जना पुलिस अफिसर त भन्दै थियो, मेरो भतिजोलाई साइबेरिया पठाउनेछन् । पठाउन पनि बेर लाउन्नन्, कुकुरहरू !”

पाइप तानिसकेपछि उसले मुखको खकार थुक्दै निकोलाइलाई सोध्यो –

“त्यसो भए भगाउन चाहँदिनन् होइन ? आफैँ जानुन् । जे चाहन्छ, त्यही गर्न पाउँछ । बस्न मन नलागे हिँड्न सक्छ, हिँड्दा थाके बस्न सक्छ । हामी उनीहरूले लुट्दा चुप लागेर बस्छौँ, पिट्दा सहिरहन्छौँ, मार्दा पल्टिरहन्छौँ । सबै थाहा भएको कुरा हो । तर म आफ्नो भतिजोलार्य निकालेरै छाड्छु ।”

उसका ती साना साना, कुकुरले भुकेकाजस्ता वाक्यहरू सुनेर आमालाई छक्क लाग्यो । तर पछिल्ला वाक्य सुनेर केही ईर्ष्या पनि लाग्न थाल्यो ।

उनी सडकमा निस्किन् । बाटोमा चिसो बतास चल्दै थियो । पानी पनि पर्दै थियो । सडकमा हिँड्दै आमाले निकोलाइबारे सोच्न थालिन् –
“कस्तो भएर निस्केछ त, हँ !”

फेरि गोबुनबारे सम्झँदै झन्डै प्रार्थना गरेझैँ आमा बरबराइन् –

“नयाँ जीवन सुरु गर्ने म एक्ली मात्र रहेनछु !”

उनी फेरि आफ्नो छोराबारे सोच्न थालिन् –

“मानिदिए कस्तो हुन्थ्यो !”