तपाईंले सानो छँदा पिटर र्याबिटको कथा पढ्नु भयो ? पढ्नु भएको छैन भने अहिले भए पनि पढ्नुस् । यो निकै रोचक बालकथा हो । यसको रचनाकार बेट्रिक्स पोटर हुन् । उनका जेमिमा पुडल डक र मिसेस टिग्गी विङ्कल पनि रोचक पात्र हुन् । यी पात्रहरू बेलायती पाठ्यक्रममा परेपछि उसका औपनिवेसिक मुलुकहरूमा पनि पढिए ।
पढुञ्जेल यो मौलिक कथा हो भन्ने ठान्नेहरूलाई ठूलो झड्का लागेको छ । हालै डा. इमिली जोबेल मार्शलले यी कथाहरूमा अमेरिकामा कपास खेतीका लागि पुर्याइएका अफ्रिकी दासदासीहरूको ठूलो भूमिका रहेको बताएकी छन् । पोटरले उनीहरूप्रति कृतज्ञ हुनुपर्ने मार्शलको भनाइ छ ।
बेलायतको लिड्स बेकेट विश्वविद्यालयको पोस्ट कोलोनियल लिटरेचरकी रिडर मार्शलको अध्ययनमा सो अफ्रिकी लोककथामाथि शुरूमा अमेरिकी पत्रकार तथा लोककथाकार जोएल च्यान्डलर ह्यारिसले लेखेकी थिइन् । उनले लेखेको लोककथाको संकलन सन् १८९५ मा बजारमा आएको थियो । जोएलले ‘अंकल रेमुस स्टोरिज्’ शीर्षकबाट ती लोककथाहरू संकलन गरेकी थिइन् । ती कथा र बेट्रिक्स पोटरका कथाहरूमा समानता देखिएको भन्दै पछि सन् २००८ मा बेट्रिक्स पोटरकी जीवनीकार लिन्डा लियरले जीवनीमा लेखेकी थिइन् ।
लिन्डाले लेखेकी छन्, ‘पक्कै पनि बेट्रिक्समा बालापनमा ती अफ्रिकी मूलका लोककथा सुनेकी हुनुपर्छ । त्यसैको प्रभावमा पछि उनले विख्यात कथाकार बन्न पुगिन् ।’
ह्यारिसले पोटरभन्दा धेरै अघि नै ‘ब्रेर र्याबिट’ शीर्षकको लोककथालाई जोएलले लेखेर बजारमा ल्याएको दाबी गरिन् । जब १९४३ ताका बेट्रिक्सको निधन भयो, उनको लेक डिस्ट्रिक्टस्थित घरमा ब्रेर र्याबिटको पुरानो किताब फेला परेको भन्दै सो पुस्तकमा जोएलको मिहिनेतको कुनै प्रसङ्ग नझिकिएकामा मार्शलले सो कुराको उल्लेख नयाँ संस्करणहरूमा गरिनुपर्नेमा पनि जोड दिएकी छन्।
उसो भए अमेरिकामा छापिएको कथाको किताब, बेट्रिक्सले त्यो बेला कसरी हात पारिन् ? प्रश्न उठ्ने गरेको छ ।
पोटरका हजुरबुवा एडमन्ड पोटर त्यो बेलाका ठूला उद्यमी थिए । उनी म्यानचेस्टर कटन मिलका मालिक थिए । उनको देहान्तपछि एडमन्डका छोरा रूपर्ट अर्थात् बेट्रिक्सका बुवाको अधिनमा सो मिल पुग्यो । पेशाले रूपर्ट कानुन व्यवसायी र फोटोग्राफीका सोखिन थिए । रूपर्टको विवाह हेलेन लिचसँग भयो । हेलेनका माइती पनि कटन मिल सञ्चालक थिए । १९ औँ शताब्दीको शुरूमा कच्चा पदार्थका रूपमा उपयोग हुने कपास अमेरिकाबाट आउँथ्यो । अमेरिकी दासहरू त्यस्ता कपास उत्पादक थिए ।
लोककथाकी अध्येता मार्शल भन्छिन्, ‘पहिले म छक्क पर्थें कि अफ्रिकी लोककथा र एउटी बेलायती लेखिकाले लेखेका बालकथामा किन यति साह्रो समानता भएको होला ? यसका पछाडिको कारण के होला ? अफ्रिकीहरूका पात्र चाहिँ ब्रेट र्याबिट हुनु र बेलायतीको चाहिँ पिटर नाउँ हुनुबाहेक यो कथामा किन त्यत्ति धेरै समानता भएको होला भन्ने बुझ्दै जाँदा पक्कै पनि जोएलका सिर्जनाको अत्यधिक प्रभाव हुनसक्ने निष्कर्ष मेरो रह्यो ।’
यो किताब जन्मनुका पछाडिको कारण के हो भन्ने कुरा कहिले पनि लेखिकाले खुलाइनन् । उनले यो किताब हिट होला भनेर पनि सोचेकी थिइनन् तर अचानकसँग किताब यति हिट भयो कि उनलाई आफ्नो यो वास्तविक सिर्जना नभएकामा ग्लानि भयो । अब यत्तिका हिट भइसकेपछि उनले गल्ती गरेँ पनि भन्न सकिनन् । उनी आफैँमा प्रतिभाशाली लेखिका थिइन् तर त्यो प्रतिभा चिन्न सकिनन् । उनी एउटा सुन्दर इलुस्ट्रेटर (चित्रकार) पनि थिइन् । त्यो कुरा उनका सबैजसो किताबमा छताछुल्ल हुन्छ ।
के उसो भए बेट्रिक्स पोटरले पुरानो किताबबाट ज्यादै प्रभावित भएर यो किताब बजारमा ल्याउनु गल्ती थियो ? मार्शल भन्छिन्, ‘पोटर यति प्रभावित हुनु नराम्रो कुरा थिएन । लोककथाहरू जसले जहाँबाट पनि उठाइरहन्छ । आवश्यकताअनुरूप अनेकन् फेरबदल पनि भइरहन्छन् । खरायो परिवारका यस्ता कथा ठाउँअनुसार, पात्र परिवर्तन हुन्छन् तर घरसमाजकै कथाहरू जोडिदै जान्छन् । सुन्दर कथाहरू प्रायः चोरिएर अनेक स्वरूपमा समाजमा पुनः जान्छ । यो पनि त्यसैको एउटा रूप हो ।’
द टेल अफ पिटर र्याबिट एउटा बाल पुस्तक हो । बेट्रिक्स पोटरले लेखेको यो पुस्तकमा मुख्य पात्र पिटर र्याबिट छ, जो साह्रै चकचके र अटेरी छ ।
यो किताब धेरै वटा प्रकाशकले छाप्नबाट अस्वीकार गरेका थिए । त्यसपछि यसलाई सन् १९०१ मा आफैँले प्रकाशन गरिन् । पछि फ्रेडरिक वार्न एन्ड कम्पनीले दोस्रो संस्करण छापियो, १९०२ । पछि यो पुस्तक ३६ भाषामा अनुवाद भयो भने चार करोड ५० लाख भन्दा बढी बिक्री भएको थियो ।
यसपछि पिटर र्याबिट त सेलिब्रिटी नै बन्न पुग्यो । उसको टोय बन्यो, उसका खाजा र खाना रेस्टुराँका मेनुमा चढे, उसले लगाएका लुगाहरू बालबालिकाले छान्ने भए । सन् १९०३ मा पिटर र्याबिटलाई पेटेन्ट दर्ता गरिएपछि यो ठूलो व्यापारको मेसो बन्न पुग्यो । भनिन्छ, बेट्रिक्सका पाँच वर्षे छोरा नोएलको मनोरञ्जनका लागि उनले यो पुस्तकका कथाहरू सुनाउन थालेकी थिइन् । सुनाउँदा सुनाउँदै कथाका पात्रहरूको चित्र पनि कोरेर छोरालाई देखाउन थालिन् ।
किताबको पहिलो संस्करण २५० प्रति छापिएको थियो । पछिका संस्करणहरू र खासगरी किताबको तेस्रो संस्करण चाहिँ ५० हजार प्रति बिक्री भएर कीर्तिमानै कायम गरेको थियो । यसपछि पिटर र्याबिटका अन्य कथाहरू थप्दै प्रकाशन गर्न थालियो ।
यो किताबको रोचक पक्ष चाहिँ, कयौँ किताबहरू लोकप्रिय भए पनि बजारमा किन्न पाइँदैनन् तर सय वर्षे बूढो यो बाल साहित्यको किताब भने कहिले पनि आउट अफ प्रिन्ट भएन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।