सुप्रसिद्ध अङ्ग्रेज लेखक हर्बर्ट जर्ज वेल्स २१ सेप्टेम्बर १८६६ मा संयुक्त अधिराज्यको ब्रुम्ली, केन्टमा जन्मेका थिए। उनी जोसेफ वेल्स र सराह निलका चौथो र अन्तिम सन्तान थिए। उनका पिता जोसेफ वेल्स एक व्यापारी र पेशेवार क्रिकेट खेलाडी पनि थिए। उनको क्रिकेट तथा चिनियाँ सामान बेच्ने पसल थियो । त्यो पसल चल्तीको ठाउँमा नभएकाले सरसामान विक्री नभई त्यत्तिकै स्टकमा थन्किई रहँदा पसलबाट थोरै आम्दानी हुन्थ्यो। उनी केन्ट काउन्टी टिमबाट क्रिकेट खेलेर पनि सामान्य आय आर्जन गर्थे ।
सन् १८७४ मा दुर्घटनामा परी एच.जी. वेल्सको एउटा खुट्टा भाँचिएकाले उनी ओछ्यान परेका थिए । उनलाई समय बिताउन सजिलो होस् भनी उनका पिताले स्थानीय पुस्तकालयबाट पुस्तक ल्याई दिन्थे । पुस्तक पढ्न थालेपछि उनले अर्कै सन्सारमा पुगेको महसुस गर्न लागे। ती पुस्तक पढेर उनलाई लेख्ने इच्छा जागृत भएर आयो । उनले थोमस मोर्लीज कमर्सियल एकेडेमी नाउँको प्राइवेट स्कुलमा प्रवेश पाए । स्कुलको पाठ्यक्रममा हस्तलिपि सुन्दर पार्ने र व्यापारमा उपयोगी हुने हिसाब धेरै भएकाले पढाइदेखि उनी दिक्क भए। सन् १८८० सम्म वेल्सले त्यही अध्ययन गरे । १८७७ मा एउटा दुर्घटनामा परी उनका बाबुको एउटा तिघ्रो फ्र्याक्चर भयो । क्रिकेट खेल्न नसक्ने भएपछि त्यतापट्टिको उनको आम्दानी बन्द भयो । पसलको आम्दानी पनि परिवार पाल्न पर्याप्त नभएकाले वेल्समाथि परिवारको आर्थिक बोझ बढ्यो । उनले १८८० मा पढाई छोडे र विभिन्न पेशा गर्न लागे । स्कुल छोडेपछि सन् १८८३ सम्म उनले साउथसी ड्रापरी इम्पोरियम नाउँको एउटा कपडा पसलमा काम सिक्न थाले । वेल्सले कपडाको काम सिक्न सकेनन् र पछि औषधी पसलमा काम सिक्न गए । त्यहाँ पनि उनी असफल भए। कपडा पसलमा दिनको तेह्र घण्टा काम गर्नु पर्थ्यो र अरू कामदारसँग एउटै कोठामा खाँदिएर सुत्नु पर्थ्यो । यस अनुभवलाई उनले आफ्ना उपन्यास मौकाका चक्काहरू (The Wheels of Chance), पोली महाशयको इतिहास (The History of Mr. Polly) र किप्स (Kipps) मा प्रस्तुत गरेका छन् । उनले यी उपन्यासमा कपडाको काम सिक्ने श्रमिकको कष्टप्रद जीवनको चित्रण गर्नुका साथै सम्पत्तिको सामाजिक वितरणको अवस्था बारे आलोचनात्मक धारणा राखेका छन् । उनले आफ्ना सिर्जनामा व्यवसायका मालिकले मजदुरलाई कसरी शोषण गर्छन् भन्ने बारे आफ्नो अनुभव सुनाएका छन् ।
उनले आफू पढ्ने स्कुलका सानो कक्षाका विद्यार्थीलाई पढाउँदै आफू पनि पढ्ने मौका पाए । २७ वर्षको उमेरसम्म उनले शिक्षण पेसा गरे। साउथ केन्सिङ्टनको नर्मल स्कुल अफ साइन्समा उनी छात्रवृत्तिमा जीवशास्त्रको अध्ययन गर्न थाले । उनले त्यहीबाट विज्ञानमा स्नातकोत्तरको डिग्री प्राप्त गरे। त्यसपछि उनको भुकाउ भूगर्भ विज्ञान र जीव विज्ञानतर्फ बढ्दै गयो। आफूले पढ्ने विद्यालयको मुखपत्र साइन्स स्कुल जर्नल प्रकाशन सुरु गर्ने संस्थापक मध्ये उनी एक जना थिए। त्यसै पत्रिकामा उनको पहिलो वैज्ञानिक उपन्यास समय यन्त्र (Time Machine) छापिएको थियो। पुस्तकालयमा उनले प्लेटोको रिपब्लिक, थोमस मुरको युटोपिया र डेनियल डिफोका कृति अध्ययन गर्ने मौका पाएका थिए।
साहित्यमा हात हालेपछि उनले पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरू तथा विभिन्न पेसामा संलग्न व्यक्तिसँग सम्पर्क बढाए। एउटा जीव वैज्ञानिक, पत्रकार र साहित्यकारको रूपमा उनले आफ्ना विचार सर्वत्र फिँजाएका छन् । उनको भावनात्मक प्रवाह डिकन्सको जस्तै छ। उनले आफ्नो सिर्जनात्मक साहित्यिक क्षमताद्वारा बहुसङ्ख्यक पाठकको अज्ञानता हटाएका छन्। लघुकथाबाट उनले आफ्नो लेखन सुरु गरे। अन्धाको देश (Country of the Blind 1911) र लघुकथा सङ्ग्रह (Collected Short Stories, 1927) मा उनका श्रेष्ठ कथा सङ्ग्रहित छन् ।
समय-यन्त्र (Time Machine, 1895), विश्वको लडाइँ (War of the Worlds, 1898), भावी वस्तुका आकार (The Shape of Things to Come, 1933), अदृश्य मानव (Invisible Man) आदिले उनको कुशल कल्पनाशक्तिको परिचय दिन्छन् । आफ्ना प्रारम्भिक उपन्यासमा वेल्सले तल्लो वर्गका कामदारको वारिसेको रूपमा कहिल्यै बिर्सन नसकिने संवेदनशील र समर्थ चरित्रहरूको सिर्जना गरेका छन् । उनका अन्य उपन्यास सामाजिक समस्यासँग सम्बन्धित छन् । आन भेरोनिका (Ann Veronica, 1909), टोनो बुङ्गे (Tono-Bungay, 1909) र विवाह (Marriage, 1912) ले बनाई शका नाटकले ॐ जनधारणामा ठुलो प्रभाव पारेका छन् । वेल्सको काल्पनिक आदर्शबाट उनको कृति मानवजातिको काम, सम्पत्ति र सुख (The Work, Wealth and Happiness of Mankind, 1932) जन्म्यो । उनले वैज्ञानिक विकासमा मानव कल्याणका साथै अहित पनि देखेपछि उनी निराशावादी हुन पुगे । जुलियन हक्सले र आफ्नो छोरासँग मिलेर उनले दुई पुस्तक लेखे, इतिहासको रूपरेखा (The Outline of History, 1920) र जीवनको विज्ञान (Science of Life, 1929-30)। उपन्यास र कथाका अतिरिक्त व्यङ्ग्य, सामाजिक समीक्षा र जीवनी लेखन जस्ता विभिन्न विधामा उनको कलम चल्थ्यो । वेल्सका अन्य केही महत्त्वपूर्ण कृति हुन्:
१. जीवनी लेखनमा प्रयोग (Experiment in Autobiography, 1934), २ अनुमानहरू (Anticipations, 1901), ३ निर्माणमा मानवजाति (Mankind in the Making, 1903), ४. आधुनिक काल्पनिक आदर्श (A Modern Utopia, 1905), ५ खुल्ला षडयन्त्र (The Open Conspiracy, 1928) र६. दिमाग, आफ्नै साङ्लोको अन्त्यमा (Mind at the End of its Tether, 1946) |
वेल्स समाजवादी थिए। उनले तीन पटक सोभियत रुसको भ्रमण गरेका थिए । सन् १९२० मा उनले आफ्ना मित्र माक्सिम गोर्की र लेनिनलाई भेटेका थिए। सन् १९३४ मा उनले स्टालिनसँग अन्तर्वार्ता समेत लिएका थिए।
१३ अगस्त १९४६ मा लण्डनको रिजेन्टस पार्कमा एच. जी. वेल्सको देहान्त भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।