
म विगत केही वर्षदेखि एउटा रोगबाट ग्रसित छु जसलाई औषधि विज्ञानको भाषामा ‘मायोटोनिक डिस्ट्रोफी’ भनिने रहेछ । औषधोपचारका क्रममा नेपालका विशेषत: काठमाडौँ, विराटनगर र धरानका प्रतिष्ठित चिकित्सालयका चिकित्सकहरूलाई देखाउँदा पनि यो रोगमा कुनै सुधार गर्न सकिएन । हाल, चिकित्सकले सुझाएको औषधिले साइडइफेक्ट समेत गरेपछि एक चिकित्सककै सल्लाहमा बैङ्लोरस्थित ‘नेसनल ईन्स्टिच्युट अफ मेण्टल हेल्थ एण्ड न्युरो साइन्सेस’ (NIMHANS) सम्म पुगेर डायग्नोसिस गराउँदै आएको छु ।
चिकित्सकको सल्लाहबमोजिमको औषधि केही समय सेवन गर्ने र एलर्जीलगायत अन्य असर नदेखिएमा पुन: औषधि थप्ने भनी थोरै समयको लागि औषधि लिएर बैङ्लोरबाट नेपाल फर्किएँ । उक्त औषधिले शरीरमा नकारात्मक असर नगरेपछि मैले बैङ्लोरस्थित साथीभाइमार्फत थप औषधि मगाएँ । उक्त औषधि नेपालमा नपाइने हुँदा यो बाध्यता आइलागेको हो । बाध्यताले कुरियरको सहायता लिन बाध्य गरायो । कुरियरमार्फत पठाइएको औषधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुगेको जानकारी पाएपछि मिति २०८० जेठ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा पुगेँ ।
गेटबाट प्रवेश गर्नै लाग्दा एक जना महिलाले मलाई च्याप्प समातेर भित्र लिएर हिँड्नुभयो । मृदुभाषी उहाँले सामान्य नाम, ठेगाना र आफ्नो लिनुपर्ने सामानबारे केही सोध्नुभयो । उहाँले र्यापर्ट बिल्ड गरिसकेपछि भन्नुभयो, “आफैँले काम गर्न पर्दा अलि झन्झटिलो हुन्छ । हामी भन्सार एजेन्ट हौँ, १५००-२००० दिए हामी सबै काम गरिदिन्छौं ।”
उहाँको कुराले म झसङ्ग भएँ । एजेन्ट भन्नासाथ दलालै सम्झिइहाल्ने स्कुलिङबाट हुर्किँदै आएको हुनाले म झसङ्ग हुनु स्वभाविकै थियो । सोचेँ, त्यसै त यति महङ्गो औषधि छ, त्यसमाथि भारतको बैङ्ग्लोरदेखिको कुरियर चार्ज । अझ त्यसमा एजेन्टलाई १५०० मात्रै तिर्दा पनि बुझ्नै लागेको औषधिको दाम प्रति क्याप्सुल १७२ नेपाली रुपैयाँ पर्नेरहेछ ।
सोच्ने क्रम रोकिएन, फुर्सदै छु । काम सिकिन्छ, फेरि फेरि आउन परे प्रक्रियामा सजिलो हुन्छ । आफैँ गर्छु ।
म पुग्दा समय साढे एघार भइसकेको थियो । नागरिक सहायता कक्षतिर लागेँ, जुन रित्तै छ । पहिलो तलामा प्रमुख भन्सार अधिकृतको कोठाको कुर्सी रित्तै नै छ । जीवन र दर्शनबारे ‘मीठो’ भजनजस्तै गीत गुञ्जिरहेको छ कोठा नम्बर १०७ मा । लाग्यो, अफिस आइसकेर कतै निस्किए होलान् । तर बुझ्दा हाकिम आइपुगेकै रहेनछन् ।
फेरि तल झरेँ र हेल्प डेस्कमा पर्खिएँ । बाह्र बज्नै लाग्दा एक जना महिला आएर सहायता कक्षको कुर्सीमा विराजमान भइन् । मैले मेरो कामको प्रक्रिया बुझ्न खोजेँ । उनले खुरुक्क एक जना एजेन्ट लगाउन ठाडो आदेश दिइन् ।
मैले अडान लिएँ र भनेँ, “म मेरो काम आफैँ गर्छु ।” तर उनले मलाई बेवास्ता गरिन् । मलाई चर्को स्वरमा बोल्न पनि समस्या भइरहेको थियो । तर पनि पटकपटक मेरो कामको सिलसिला र प्रक्रिया सोधिरहेँ । उनले निरन्तर बेवास्ता गर्दै गइन् ।
‘माथिल्लो तलामा हाकिम आए होलान्’ सोचेर माथि उक्लिँदै गर्दा एक जना सुकिलामुकिला अधबैँसे मानिस पनि माथि नै उक्लिँदै गरेका भेटिए । उनै रहेछन् प्रमुख भन्सार अधिकृत । मैले उनलाई पछ्याएँ । उनी गएर कुर्सीमा बस्नासाथ एक एजेन्टले केही कागजात उनका अघिल्तिर राखिदिए । क्रमिक रूपमा म अगाडि पुगेको भए पनि उनले एजेन्टलाई प्राथमिकता दिए । सोचेँ – देश नै पूरै एजेन्टको हातमा छ, यो त एउटा विभागको एउटा कार्यालय मात्र त हो ।
एजेन्ट काम सकेर गएपछि मैले मेरो कामको कुरा गरेँ । उनले करै लागेपछि नचाहँदा नचाहँदै पनि केही समय दिएर कुरा सुने तर ठ्याक्कै यसै गर्नु भनेर बुझिने तरिकाले बताउन चाहेनन् वा सकेनन् अथवा उनलाई मैले नै मेरो कामकुरो राम्रोसँग बुझाउन सकिनँ कि ?
निजामती सेवा र एयरपोर्टतिर मेरा केही साथीहरू थिए । उनीहरूलाई फोन लगाएँ । कसैका उठेनन् । कसैले भने, “फलानोलाई कुरा गर्नु, मैले भन्दिएको छु”, र नम्बर आदि सेयर गरे । तर त्यसबाट पनि काम हुने छाँट देखिएन ।
कतिपय अवस्थामा हामीलाई बाटो हिँड्ने ताकत हुँदाहुँदै पनि बाटो नचिन्दा फन्दामा परिँदो रहेछ । मैले तीन पटक तल र माथि गरिसकेपछि मलाई निकैबेरदेखि हेरिरहेका एक जना सेवाग्राहीले केही कुरा सिकाए । उनले सिकाएबमोजिमको एउटा हस्तलिखित निवेदन लगेर हाकिमलाई दिएपछि उनले आइटी सेक्सनलाई रिफर गरेर तोक लगाइदिए । आइटीले पनि ‘आउट अफ बिजनेस’ सोधखोज र केरकार गर्न थाले । ‘काम लिनु छ केटा, रिसाउन हुन्न’ भन्दै मनलाई सम्झाउँदो भएँ ।
आइटीले निकै समय लगाएर एउटा कागज तयार गरिदियो जसमा मेरो सामानको विवरण, लाग्ने सेवा शुल्क र भन्सार दस्तुर इत्यादिबारे उल्लेख थियो । आजित भएर मैले सोधेँ पनि, “मैले यो सामान नबुझ्दा के हुन्छ ?”
पेपर बनिसकेको अवस्थामा त्यसो गर्न नमिल्ने र गरेको खण्डमा भोलिका दिनमा अझ हैरानी खेप्नुपर्ने हुनसक्छ भनेर उनले सचेत गराए । उक्त कागज थमाउँदै उनले तल गएर काम गर्न/सक्न मिल्ने बताए । म फेरि गएर हेल्प डेस्कमै केही सोध्न लागेँ । मलाई त्यहाँ फेरि उसै गरी इग्नोर गरियो ।
मलाई रिस उठ्दै गैरहेको थियो । दाहिने हातमा भए जति र सके जति बल लगाएर अगाडिको टेबल ठटाएँ । वरपरका मान्छेको ध्यान पनि मैतिर केन्द्रित भयो । सहायता कक्षकी कर्मचारी अलि डराए झैँ देखिइन् । र, बल्ल मलाई रेस्पोन्स गरिन् ।
मैले त्यसपछिका प्रकृयाहरू कति अरूलाई सोध्दै त कति स्वविवेकले अगाडि बढाउँदै गएँ । सामान चेकजाँच गर्ने अधिकारीले ‘बिलिङ’ गरेर आउनु भन्दै हकारे । ‘कहाँ गएर गर्ने ?’ भन्ने प्रश्नमा उनले बाटो देखाउन चाहेनन् । सोध्दै खोज्दै गएर बिलिङ गरेँ । मलाई २७५ रुपियाँ तिर्न भनियो । मैले अनलाइन पेमेन्ट गरेँ । तर मैले केको लागि २७५ तिरेँ ? यसका सम्बन्धमा पुन: जवाफ पाइनँ । पछि थाहा भयो, गोडाउनको चार्ज रहेछ ।
बिलिङ गरेपछि मैले मेरो सामान खोज्नका लागि गोडाउनका कर्मचारीलाई कागजात थमाएँ । लगभग डेढ घण्टा कुर्दा पनि सामान एक्सरेमा नआएपछि भित्रका स्टाफलाई भनेँ, “म आफैँ बिरामी हुँ । मेरो औषधी आएको छ, खोजिदिनु ।”, यति भनेपछि उनले च्याँट्ठिँदै भए पनि मेरो सामान खोजेर एक्सरेमा लाइदिए ।
सामान स्क्यान भएर आएपछि पुन: जाँचकीकोमा लिएर गएँ । त्यहाँ पनि ‘बिरामी छु’ भनेपछि अन्य सेवाग्राहीले ‘उहाँलाई प्राथमिकता दिउँ’ भने, र जाँचकीले जसोतसो सामान जाँच गरेर ठिक भएको प्रमाणित गरिदिए ।
अब पालो भन्सार अधिकृतको थियो । उनको कक्षमा २:१० देखि म लाइनमा थिएँ। २:२० को आसपास उनी भित्र छिरे । एक हुल एजेन्टले उनलाई घेरिरहेकै थिए । अलि चर्को स्वरमा पेश भएपछि र त्यहाँमध्ये एक एजेन्टले मप्रति सद्भाव देखाएपछि एजेन्टहरूलाई साइड लगाएर उनले मलाई अगाडि सारे । त्यस दिन ठोक्किएका मध्ये अलि नरम मानिस रहेछन् उनी । उनले यसो यसो गर्नु भनेर सहजै बाँकी कामको प्रक्रियामा सहयोग गरे ।
बैङ्कमा गएर तोकिएको शुल्क तिरेपछि गेटपास बनाउन पर्ने रहेछ । गेटपास बनाउने ठाउँमा मानिस (एजेन्ट) हरू मनलाग्दी भित्र-बाहिर गरिरहेका छन् । म त्यहाँ अक्क न बक्क परेँ । ‘के गर्ने ? कसरी गर्ने ?’ केही थाहा छैन । स्टाफ झैँ देखिने व्यक्तिलाई सोधेँ । ‘एउटा कम्प्युटरमा बसेर गर्नु न !’ उनी कड्किए । उक्त कर्मचारीबाट आफ्नो काम पार नलाग्ने देखेपछि त्यस कार्यालयमा बेलाबखत आउजाउ गरिरहने अर्का एक सेवाग्राहीमार्फत आफ्नो काम फत्ते गराएँ ।
बाटोमा फेरि सुरुकी महिला भेटिइन् । भनिन्, ‘तपाईँ मान्छे जब्बर हुनुहुँदो रहेछ ।’
मनमनै सोचेँ, ‘दलालहरूले जब्बर बनाएका हुन् । लगभग साढे चार घण्टा खर्चिएर २००० रुपियाँ बचाएँ । जीवनभरिका लागि एउटा अमूल्य पाठ सिकेर फर्किँदै छु ।’
व्यक्तिगत प्रयोगका लागि नेपालमा नपाएर मगाएको ३ सय ग्राम औषधिको अङ्कित मूल्यको १५ प्रतिशत शुल्क तिराएको कुरा कम त होइन तर यहाँ मुख्य कुरा औषधि हात पार्न लाग्ने भन्सारको चार्जभन्दा औषधिको प्रयोगले शरीरमा आउने चार्ज प्रमुख कुरो थियो । यहाँ मेरो प्रश्न र गुनासो न भन्सारको कार्यगत प्रक्रियासँग हो न त्यहाँ लाग्ने शुल्क वा अन्य खर्चसँग हो । प्रश्न र गुनासो हो त केवल त्यहाँको ब्युरोक्रेसी र उनीहरूले लगाउने अनावश्यक झन्झटसँग हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
