‘नारायणमान श्रेष्ठ हाम्रा गुरुबा’का विषयमा लेखिएको पुस्तक वसन्तले पुत्रको भूमिकामा प्रस्तुत गरेको पुस्तकमा प्रारम्भको परिच्छेदमा दुःखको क्षणको एक झल्का प्रकाश गरेका छन् र वसन्तको बसाइ अमेरिका (भर्जिनिया)मा छ, उक्त पुस्तक कोभिड-१९ का समयमा लेखिएको बुझिन्छ ।

नारायणमान सरको काम फिदिमको अस्पतालसँग जोडिएको, अस्पतालको भवन निर्माणको कामकै सिलसिलामा उमेर ५५ मा निधन भएको दुःखदायी क्षणलाई प्रकाशमा ल्याइएको छ । अचानक भएको निधनबाट पर्न गएको आघात नौ-नौ जना केटाकेटी पाल्ने र पढाउने दायित्वबोध एकै पटक घरायसी हुँदा वसन्तमा भयानक बोझिलो भारी अटाउने एक कारणले र बाको लगानी समेत डुब्ने कारणले पुनः बापछि छोरो अस्पतालको भवन निर्माणसँग आबद्ध हुनुपर्ने भएको स्थिति छ, तर प्रजिअको आदेशपत्र बाबुपछि छोरोले पाउन र कन्टकेन्दारी पाउन बाङ्गो बाटो हिँड्नु पर्ने भएको बुझिन्छ । प्रजिअ भगवानसिंह घुस्याहा हुनु, कर्मचारीले बिलको रकम बुझाउँदा रकम माग्नु, चरण-चरणमा घुस दिनुपर्ने र चाकरी गर्नुपर्ने भएपछि तनावका कारणले पिताको स्वर्गारोहण भएछ भनी अनुमान हुन्छ ।

पिताको बिरामीको समाचारले काठमाडौँबाट वसन्त फिदिम पुग्दा लासको अन्तिम संस्कार अगाडि नै भइसकेको घटना छ । ठेकेदार कृष्णप्रसाद जोशी र मेदिनीप्रसाद रिजालका साथमा ईश्वर थापा र कृष्णराज आङ्देम्बे सहितको नाममा रहेको ठेक्कामा पन्ध्र शैय्याको अस्पताल निर्माणमा-कन्टकेदारको हैसियतमा बाले थामेको कार्य समापन गर्न राजनीति र प्रशासकसित बचेर चल्न चार वर्ष लागेका वसन्तको अनुभव यसमा निकै तितो छ ।

प्रशासनको माध्यमबाट बनाइने भवनमा सडक बनाउँदा सरकारी कर्मचारीले धन कमाउने स्रोतहरू कसरी बन्ने रहेछन्; वसन्तलाई अनुभव हुन्छ । प्रेसर र सुगरका बिरामी नारायणमान सरको मरणको कारणले सम्भावना पनि त्यही घुसखोर प्रजिअ र उनका कर्मचारी, पद्मसुन्दर लावती र वीपीका मेलमिलापवादीका क्रियाकलाप भित्रका तानातान; यी आदि कारणमा जसोतसो पुत्रको भूमिका पूर्ण गर्दै वसन्तले सो अधुरो काम पूर्ण गर्न सकेका विषयबाट सुरुको परिच्छेद परिभाषित छ । भाषामा समस्या छैन, सरल भाषामा अनुभवन्यास गरिएको  छ ।

पुर्खाको कुरामा पाटन भैरवस्थान अगाडिबाट शिवनरसिंह श्रेष्ठ धनकुटा हुँदै तेह्रथुम पुगेका, कीर्तिमान-नीलथकुंका तीन सन्तान जेठा बखतमानका डिकमान छोरा, माहिला ज्योतिमानका चार छोरा, कान्छा सूर्यमानका हनमान दास आदि छोराहरू भएका रहेछन् । माहिला ज्योतिमान र केशलक्ष्मीका -लोकमान, फत्येमान, जगतमान, पृथ्वीमान छोराहरू भएछन् । लोकमान साहुका इन्द्रमान, चन्द्रमान, तुलसीमान, विष्णुमान, गणेशमान, नारायणमान, कृष्णमान छोराहरू भएछन् । त्यसमा नारायणमान श्रेष्ठका- वसन्त, हेमन्त, शिशिर, शरद यी चार पुत्र र छोरीहरू पाँच जना भएको बुझिन्छ ।

पाटनबाट गएर बाजेले आर्जन गरेको ख्यातिमा लोकमान साहू भनेपछि तेह्रथुम भरि दानी, उदार, धनी (मन र धन) दुवैमा सिद्ध र मूल बजारका पल्लो पट्टिको बजार उहाँकै थियो । हाम्रो परिचयमा चन्द्रमान वंशका विश्वविमोहन, तुलसीमान वंशकी उर्मिला, कृष्णमान वंशका मञ्जु र प्रद्युम्न मेरा सहपाठी आदरणीय मित्रहरूमा पर्नुहुन्छ । सामान्य परिचयमा भगवान् (चन्द्रमानका छोरा), जगन्नाथ, नारायाण्मान वंशमा हेमन्त, कृष्णका वंशमा अनन्त परिचयमा हुनुहुन्छ । चन्द्रमान वंशमा ईश्वरमान र विश्वेश्वरमान आदरणीय व्यक्ति हुनुहुन्छ; विश्वेश्वरमान त्रिवि रजिस्ट्रार हुनुभएको समयमा मेरा एउटा नियुक्ति-पत्रमा उहाँको हस्ताक्षर पनि छ । गणेशमान पुत्र सुरेशमानसँग पनि परिचय छ । यसमध्येमा पनि हेमन्तको पलायनमा मेरो मन अनायासै दुखेको थियो ।

यस कृतिमा लोकमान श्रेष्ठ र निजका भाइहरूलाई चिनाउने प्रयास सुरुमा भएको छ । नारायणमान श्रेष्ठ लोकमान श्रेष्ठ र अक्षयकुमारी श्रेष्ठका सातौँ सन्तान हुनुहुन्छ; जन्म: १९८३ मा भएको थियो । त्यस परिवारको चर्चामा बा लोकमान विशेष महत्त्वका व्यक्ति हुनुभएको कुरा म्याङ्लुङका पुराना मानिसबाट सुनिन्थ्यो ।

लोकमान साहूले सामान बेचबिखन गर्दा कसमस नगर्ने, उधारो पनि दिने र लगानी गर्ने साहूमा सरल साहू, असल साहू भनेर मेरी हजुरआमाले भन्नु भएको इतिहासझैँ लाग्छ । पाठशाला श्री सिंहवाहिनी प्राथमिक विद्यालयको स्थापना कालमा उहाँबाट भएको सहयोग बारेमा मगज पत्रिकामा राम्रो चर्चा छ । व्यक्तिगत रूपमा कान्छी फुपू तुम्ला दिदीसँग वि.सं.२०२८ को एसएलसी परीक्षाको समयमा भेट भएको थियो । उहाँले हामीलाई छ महिना उहाँकै घरमा वास दिनु भएको र आत्मीय माया दिनुभएको स्मरण छ । हाम्रो भेट घेरै समयपछि एक पटक भएको क्षणमा घर जीर्ण देखिन्थ्यो, चालिस लाखमा दिन्छु, किन दाहाल भाइ भन्नेसम्म आग्रह गर्नु भएको हो, तर त्यो असम्भवजस्तै कुरो हो ।

यस कृतिमा लोकमान श्रेष्ठ तथा उहाँका सात पुत्रको परिचय पठन गर्न सकिन्छ र पछिको समयमा नारायणमान श्रेष्ठतिर विषयले कोल्टे फेर्छ । वि.सं.२००२ मा दार्जिलिङको सेन्ट रोबर्टस् हाई स्कुलबाट म्याट्रिक, २००४ मा जेन्ट जोसेफ कलेज कलकत्ताबाट आइ.एस्सी. र वि.सं.२०११ मा अलाहबादबाट बिए उत्तीर्ण नारायाणमान श्रेष्ठलाई प्रगतिका लागि पिताको आर्थिक अवस्था र आफ्नै तिखो दिमागले साथ दिएका हुन् ।

आइएस्सीको ज्ञानले उहाँले धेरै वर्षसम्म माध्यमिक कक्षामा विज्ञान गणित पठनपाठन गर्दै हुनुहुन्थ्यो । त्यस अगाडि स्कुल स्वीकृतिका लागि धाउने र कार्य सफल गराउने नारायणमान सरको इच्छाशक्ति बलियो थियो । उहाँका पुराना विद्यार्थीहरू यस विषयमा ज्ञान राख्छन् र शिक्षक भएर काम गर्दा प्रधानाध्यापक श्री टीकाराज जोशीसँग आत्मीय सम्बन्ध, सहयोगी पाठ र संस्थाप्रतिको भित्री आस्थाले हामी विद्यार्थी भएका समयमा सिंहवाहिनीका लागि नारायणमान सर एक अभिन्न अङ्ग हुनु भएको विश्वासमा छौँ ।

यस परिवारमा पाँच जना छोरी र चार छोरा भाइ भएकामा सबैको वैवाहिक सम्बन्ध रहेका परिवारलाई यहाँ समेट्ने कोसिस देखिन्छ । सन्तानमा धेरै जसो विवाहपछि विदेश पलायनको लहर चलेको र हेमन्त नै प्रमाणमा हुनुहुन्छ ।

वसन्तको २०४५ मा न्हेयोखा टोल निवासी सूर्यनारायण श्रेष्ठ र प्रेमदेव श्रेष्ठकी पुत्री विद्यासँग विवाह भएपछि बसोबास अमेरिकी राज्य भर्जिनियामा हुनु पनि एक समयले प्रदान गरेको उपहार हो । हेमन्तले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको जागिर छोडेर विदेश जानु उहाँको प्रगतिको मार्ग होला, तर हामीलाई भने कतै एक समयमा नमिठो दुखाइ भएको थियो । नेपाली नागरिक आशापूर्ण जवान बगेको ठानियो । कुञ्जिनीका सन्तान निशेषभक्त श्रेष्ठ र आशिषभक्त श्रेष्ठ दुई छोरा तथा एक छोरी निक्की श्रेष्ठ भएका बुझिएको छ । निशेष र अमृता, आशिष र समिना वैवाहिक जीवनमा बाँधिएका हुन्; निक्की र रिजनको वैवाहिक सम्बन्ध भएको बुझिन्छ ।

वर्षाको सम्बन्ध राजन मानन्धरसँग भएको बुझिन्छ; निजका छोरा रिजन लुक्लाविमानको दुर्घटनामा परेको दुःखपूर्ण सन्दर्भ पनि अङ्कित छ, एनएम (नारायणमान) सरकी कान्छी छोरी एलनाको विवाह देवेशबहादुर मल्लसँग २०६० मा भएको छ, निजहरू पनि म्यासाचुसेट्स राज्यको वेस्ट फोर्ड सहरमा बस्दै छन् भन्ने उल्लेख भएको छ; यसबाट नेपालको राम्रो जनशक्ति विदेशमा श्रम गरिरहेको कारण नेपालका मुख्य जिम्मेवारको दायित्वप्रतिको बेइमानी एउटा कारण हो; यहाँ गोविन्दमान श्रेष्ठ मेरा मनले खोजी रहन्छ; अर्कै परिवार हो भन्ने लाग्दै छ । यहाँ अङ्ग्रेजी साहित्य पढाउने हाम्रा गुरु पलायन हुनुभएको अपूर्ण जानकारी छ ।

वि.सं.२०२९ मा श्री महेन्द्र कलेज, धरानमा इन्टरमिडियटको विद्यार्थी म र सहपाठी प्रद्युम्नमान श्रेष्ठ, हामी दुई गुरुजी गोविन्दमान श्रेष्ठसँग नजिक थियौँ । उहाँले एक वर्ष २०२९-३० सालमा हामीलाई अङ्ग्रेजीको पुस्तक पठनपाठन गर्दै लानुभयो अनि एकै भेटमा उहाँका कोठामा भन्नुभयो, “भाइहरू, म त यहाँ बसेँ भने पिताजीको बोझ हुने भएँ, खानसम्म पुगे हुन्थ्यो, त्यतिसम्म नपुग्ने तलबमानमा काम गरेर बाबाको आशामा खर्च माग्दै बाँच्दै गर्नु उचित लागेन, म बाहिर जान लागेको छु ।”अर्को वर्षदेखि उहाँलाई मैले देखिनँ ।

यस कृतिको पूर्व भागदेखि नै ठाउँ ठाउँमा चित्रहरू छन्, ती चित्रको जतनले यो परिवार धेरै सचेत, धेरै संस्कृत र धेरै अग्रगामी देखिएको छ । उदाहरणका लागि पृष्ठ ३५ को तस्बिरमा एनएम सर, सुभद्रा गुरुमा र उहाँहरूका दस सन्तानको बहुमूल्य फोटो अमूल्य सांस्कृतिक सम्पदा बाँचेको छ । तेह्रथुम, म्याङ्लुङका धनी ठहरिने बाहुनहरू (ढुङ्गाना, ढकाल र अन्य) कुनै परिवारको यस किसिमको चेतना छैन । वि.सं.२०३४ को पृष्ठ ३६ को एनएम सरका हस्ताक्षरमा आफू र सबै सन्तानका जन्ममिति  तिथि अङ्कित यो हस्तलिखित कागजको मूल्य, कति होला भनी ठहर गर्न सकिँदैन ।

सन् २०११ मा आमा सुभद्रादेवीको देहावसान बोस्टन सहरको फर्मिङ्घम अस्पतालमा भएपछि बुढो पुस्ता सकिएर कुञ्जिनी दिदी र वसन्त जेठा छोरामा हेरदेख एवं आशीर्वादको दायित्व सरेर गएको छ । नारायणमान श्रेष्ठ अर्थात् एनएम सरका रुचिका क्षेत्रहरूमा खेलकुद, साहित्य, कला र सङ्गीत भएको जानकारी यस पुस्तकले दिन्छ ।

उहाँ ‘सुलोचना’ महाकाव्य र ‘कुञ्जिनी’ खण्डकाव्य पाठ गरेर छोराछोरीलाई सुनाउने खेलमा चेस, व्याडमिटन खेल्ने, नाटक लेखेर मञ्चन गराउने, गाईजात्रा निकाल्ने, रामायण वा मृतकको जीवनकथा लेख्ने उहाँ बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । त्यस सुखद परिवेशमा नाच्न, गाउन, बजाउन सिपालु बाबाका सन्तानमा राम्रो परिवार भएका कारणले शिक्षाको आर्जनका लागि एनएम सरलाई दार्जिलिङ गएर पढ्ने मौका मिलेको बुझिन्छ ।

एनएम सरले आफू शिक्षित भएर आएपछि कृष्ण मन्दिरको पाटीमा गुन्द्री, चट्टी ओछ्याएर अङ्ग्रेजी पढाउन सुरु गर्नुभएको, जयश्वरमान श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, दीनप्रसाद श्रेष्ठ लगायतका विद्यार्थीलाई पढाउन थालनी गर्नुभएको इतिहास प्रस्तुत भएको छ । उहाँको प्रयासले शिक्षा विभागका डाइरेक्टर मृगेन्द्र शमशेर राणा प्रभावित भएका र मिडिल स्कुल स्वीकृत भएको विषय यहाँ उल्लेख भएको छ; मगज पत्रिकामा यसको राम्रो चर्चा भएको छ । गुरु जगदीश श्रेष्ठज्यूबाट यसमा खोजीमूलक लेख लेखिएको छ ।

राणा शासनकै युग थियो; साहसी यात्रा गरिएछ । वि.सं.२००४ सालमा पाटी (कृष्णजी पाटी) मा सुरु गराइएको स्कुल- सिंहवाहिनी मिडिल इङ्ग्लिस स्कुल हाल कक्षा-१२ सम्म पठनपाठन हुने प्रसिद्ध विद्यालयका रूपमा सदरमुकाम म्याङ्लुङमा अवस्थित छ, सुरुमा एनएम सर प्रधानाध्यापक हुनुभएको रहेछ । स्कुलको छात्रछात्रा सङ्ख्या बढेपछि आफ्नै भवन स्कुललाई आवश्यक ठानेर एउटा घर रु १५००।- मा किनिएको, एउटा ‘मगज’ नामको हस्तलिखित पत्रिका सञ्चालन गरिएको इतिहास यसमा कोरिएको छ । वि.सं.२०१३ मा देउमान आङ्देम्बे मालपोत उपमन्त्री भएपछि नारायणमान श्रेष्ठ निजी सहायक हुनुभएको बुझिन्छ । यसमा मानव-तस्बिर र अन्य कागज-पत्रको प्रयोगले प्रमाणको काम गर्छन् ।

सरकारी जागिर आङदेम्बेको निजी सहायकको काम सकिएपछि पुनः सिंहवाहिनी स्कुलमा फर्किएर त्यसलाई जगेर्ना गर्ने सिलसिलामा हाई स्कुल स्वीकृत गराउने अर्को प्रयासको इतिहास छ र मालअड्डाको सहयोग चन्दाबाट रकम उठाएर वि.सं.२०१४ मा हाई स्कुल बन्न सकेको सिंहवाहिनी स्कुलबाट २०१६ सालमा एसएलसी दिने विद्यार्थीको तहमा सेवा दिन सफल भएको विद्यालयको इतिहास समाविष्ट छ । वि.सं.२०२८ सालसम्म एनएम सरको योगदान प्रत्यक्ष र पछिसम्म अप्रत्यक्ष सहयोग स्कुलले पाएको भन्ने प्रमाणहरू आफैँ बोल्छन् । बिचमा दसभन्दा बढी कागजले स्कुल स्वीकृत हुँदाको कठिन उकालो यात्राको साक्षी बक्छन् । वि.सं.२०१६ मा उहाँलाई रु १५०।- तलब मासिक रूपमा पाउने र सहायक शिक्षक भई काम गर्ने गरीको नारायण भगत प्रधानाङ्गको सही भएको पत्र छ ।

वसन्तको कोभिड-१९ बारेमा आफ्नो अनुभवको सूचना दिने एक ससानो लेख यहाँ अटाइन्छ जो साहित्यपोस्टमा प्रकाशित लेख भनी लेखिन्छ । यसमा कोभिड र त्यसबाट संसार आक्रान्त रहेको तथा आफू अस्पताल भर्ना भएपछि भोगेको रोगबारेको एक अभिलेख झैँ बनेको छ । त्यही रोगको साथमा भएको कठोर भिडन्तपछि बाँकी काम धेरै भए पनि पिताको जीवनी लेख्ने काम यस यात्राले देखाएको छ ।

त्यसपछिका पाठमा नारायणमान श्रेष्ठले सामाजिक कार्य सम्पन्न गरेका क्षेत्रहरूको सूचना र बोध पाठकमा गराइएको छ जसमा ‘अर्थजगेडा सुधार सङ्घ’ (श्रमशील बनाउन प्रेरित गर्ने), श्रम गर्ने इच्छा जगाउने र युवालाई आर्थिक स्रोत जुटाउन सहयोग गर्ने संस्था, जसमा धर्म र कर्म छन् । त्यस बारेमा रहेका कागजका फोटा चित्रहरू साथै सङ्कलित छन् ।

अर्को समिति ‘किरात प्रदेश सुधार सङ्घ’को स्थापना भूपू उपमन्त्री देउमान आङ्देम्बेको अध्यक्षतामा गठन गरिँदा सेक्रेटरी नारायण सर नै हुनुहुन्छ । प्रतिलिपि चित्रका स्वरूप र तिनको लेखन कुशलता देखेर जो कोहीले नारायणमान सरको हस्त कौशलमा विश्वास गर्नेछन् । त्यसमा किरात सुधार सङ्घमा आबद्ध कागजमा तिनको गठन, चुनाउ, विधान मस्यौदा र कार्य विभाजनका कागजहरू लगभग चालिस ओटा सङ्कलित छन् ।

अर्को समिति म्याङ्लुङ सुधार समिति छ जसमा सेक्रेटरीको काम आफैँबाट भएको छ । त्यस्तै महेन्द्र पार्क निर्माण समिति गठन भएको छ जसमा सेक्रेटरी आफैँ रहनु भएको पाइन्छ । वि.सं.२०१८ सालमा गठित उक्त समितिमा जिल्ला न्यायाधीश धननाथ पन्त सभापति हुनुहुन्छ, यसमा चन्दा असुल र बैठक सम्पन्नका लगभग तिस कागजातका प्रतिलिपि समाविष्ट छन् । म्याङ्लुङ बजारमा खानेपानीको अभाव थियो, त्यसमा महेन्द्र कलधारा कमिटी (२०१९) सुगठित छ; यसमा आबद्ध १५ कागज जति सङ्कलित छन् । त्यस समितिलाई महेन्द्र उपभोक्ता सहकारी संस्थामा रूपान्तरण गरिएको छ, यसमा सेक्रेटरी उहाँ नै हुनुहुन्छ ।

वि.सं.२०३२।८।२८ देखि नेपाल रेडक्रस सोसाइटीको उपाध्यक्ष पदमा आसीन गराएको प्र.जी.ख.राममणि मुडभरिबाट हस्ताक्षरित पत्रले देखाउँछ । नारायणमान श्रेष्ठ शिक्षा सेवा आयोग, तेह्रथुमका लागि सदस्य पनि बन्नुभएको इतिहास पढिन्छ । वि.सं.२०१५ को संसद् चुनाउमा फूल चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिनुभएको हो; तेजमान तुम्बाङ्फे विजयी हुनुभएको छ ।

अन्त्यमा: एनएम सरको जीवन निर्माण व्यवसायतिर मोडिएको विषय अध्याय सातले देखाउँछ, सरकारी भवनहरू बनाउने सफलता मिलेको हो । उहाँले काठमाडौँमा ढुङ्गा र गिटी निकाल्ने व्यवसाय गरेको बुझिन्छ; र साहित्य सिर्जनामा ‘मगज’ पत्रिका सञ्चालनमा साथसहयोग रहने क्रममा आवरण चित्र तयार भएको उहाँहरूकै हातबाट हो । यसमा ललितबहादुर तुम्बाहाङ्फे, नारायणमान श्रेष्ठ, पूर्णप्रसाद जोशी, हर्कजङ्ग खापुङ, काजीमान कन्दङ्वा सक्रिय रहनुभएको थियो ।

एनएम सर कथा, नाटक रचना गर्नुहुन्थ्यो । यहाँ एनएम सरबारेमा वसन्तको एक लेख र उपसंहार एउटा अध्याय गरी कृतिले तयारीको इतिहास बोल्छ; साथै धन्यवादका शब्दहरू पनि मार्मिक छन् । अन्त्यतिर सम्झनाका शब्दमा बोल्दै केही मान्यजनले दिएको अभिव्यक्ति र तस्बिरहरू सुन्दर छन् । असल पुत्रद्वारा पिताको जीवनी लेखनबाट पितृ श्राद्ध सम्पन्न भो भन्न ठानेँ ।