डाना कनेडी

द न्युयोर्क टाइम्स पत्रिकामा २० वर्षभन्दा बढी समय पत्रकारका रूपमा काम गरिसकेकी तथा पुलित्जर प्राइज वितरक संस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी डाना कनेडी विवादास्पद पुस्तकहरू निकालेर कुस्त कमाउने संस्था सिमोन एन्ड सुस्टरको प्रकाशकका रूपमा नियुक्त भएकी छन् ।

गएको सोमबार सिमोन एन्ड सुस्टरले उनलाई सिनियर भाइस प्रेसिडेन्ड तथा प्रकाशकको रूपमा नियुक्त गरेको घोषणा गरेको हो । पुस्तक प्रकाशनको काममा उनको पद सबैभन्दा ठूलो जिम्मेवारीका रूपमा लिइन्छ ।

५५ वर्षीया कनेडीले २०१७ यता पुलित्जर प्राइजको प्रशासकीय कार्य हेर्दै आइरहेकी थिइन्। सोअघि उनले २० वर्ष द न्यु योर्क टाइम्समा पत्रकारका रूपमा विभिन्न विभागका समाचार लेख्दै र सम्पादन गर्दै आएकी थिइन्। उनले व्यापार, राजनीति र समाजका समाचार लेख्ने तथा सम्पादन गर्ने गरेकी थिइन्। २००१ मा उनले हाउ रेस इज लिभ्ड इन अमेरिका समाचारमा संयुक्त रूपमा पुलित्जर प्राइजसमेत पाएकी थिइन्।

यसअघि कहिल्यै कुनै पुस्तक प्रकाशकसँग काम नगरेकी उनले ‘अ जर्नल फर जोर्डन’ नामक पुस्तक प्रकाशन गरेकी छन्। उनको सो पुस्तकमाथि कलाकार डिन्जेल वासिङ्टनले निर्देशन गर्ने गरी सोही नामको फिल्म बनाउने सम्झौता समेत भएकी छ। उनी यो फिल्मको निर्माताका रूपमा सहभागी हुने समेत जनाइएको छ। फिल्म यही भदौ महिनाबाट सुटिङमा जाने निश्चित भएको छ।

आउँदो जुलाई २७ बाट उनले सिमोन एन्ड सुस्टरमा हाजिर गर्नेछिन्। आफ्नो ओछ्यानको एउटा कुनामा कहिल्यै पनि किताबहरू राख्न नटुटाउने र हरेक रात केही न केही पढ्ने बानी बसालेकी कनेडीका १४ वर्षे छोरा छन्।

सिमोन एन्ड सुस्टरका प्रमुख कार्यकारी जोनाथन कार्पले उनको कार्यकाल कम्पनीका लागि नयाँ लेखक ल्याउन, तिनलाई हुर्काइबढाइ गर्न निकै फलदायी हुने अपेक्षा व्यक्त गरेका छन्।

दुई वर्षअघि कार्पले कनेडीलाई कम्पनीमा ल्याउन निकै जोडबल गरेका थिए तर त्यो बेला उनी पुलित्जर प्राइजमा छिरेको एक वर्ष मात्र भएको थियो। यति छिटै पुलित्जर छाड्न असमर्थ भएको जनाउँदै त्यो बेला उनले कार्पको प्रस्तावलाई अस्वीकार गरेकी थिइन्। यतिबेला भने उनी आफू मानसिक रूपमा तयार भएको बताउनेबित्तिकै उनी सिमोन एन्ड सुस्टरको प्रकाशकका रूपमा भित्र्याइएका बारे कम्पनीले घोषणा गरेको हो।

उनको ठाउँमा यसअघि क्यारोलिन रेइडी थिइन्, जसको गएको मे १२, २०२० मा ७२ वर्षको उमेरमा निधन भएको थियो। त्यो बेला कार्पलाई प्रमुख कार्यकारीका रूपमा भर्खरै भित्र्याइने भनी घोषणा गरिएको थियो।

क्यारोलिनको निधन लगत्तै कार्पले इमेल गरी कनेडीलाई प्रकाशकका रूपमा काम गर्न अनुरोधका साथ इमेल गरेका थिए। यससँगै सिमोन एन्ड सुस्टरमा उपल्लो तहमा पुग्ने तेस्रो महिला बनेकी छन् भने यस्तो प्रमुख पदमा आसिन हुने पहिलो काला जातिकी महिला बन्न पुगेकी छन्।

Dana Canedy announces 2019 Pulitzer winners at a ceremony in New York.

“ब्ल्याक लाइभ्स म्याटरको आन्दोलन चलिरहेका बेला संसारलाई देखाउन लायक अनुहार खोजी हुनु र म फेला पर्नु निकै राम्रो संयोग बन्न पुगेको छ,” कनेडीले द न्यु योर्क टाइम्ससँग भनेकी छन्, “कार्पले एउटी काला जातिकी महिलाका रूपमा मात्र मलाई छानेको भए म यो पद अस्वीकार गर्थें।”

कार्पले कनेडीलाई प्रकाशन संसारको अनुभव नभए पनि पुरस्कार कस्ता किताबलाई दिनुपर्छ भन्ने अनुभव भएका कारण उनलाई कम्पनीमा ल्याइएको बताए। उनलाई लेखकका आवश्यकता बोध भएका कारण पनि ल्याइएको धारणा राखे किनभने पछिल्लो समय राम्रा लेखकलाई अड्याउन निकै गाह्रो छ। यस्तो अवस्थामा लेखकसँग राम्रो सम्बन्ध बनाउने र टिकाउने व्यक्तिको खाँचो पनि उत्तिकै रहेको कार्पको भनाइ छ।

सिमोन एन्ड सुस्टरले पछिल्लो समय ट्रम्प प्रशासनसँग जोरी खोज्ने पुस्तकको बाढी नै ल्याएको छ। अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पको जीवनी वासिङ्टन पोस्टकी पत्रकार मेरी जोर्डनले लेखेको ‘द आर्ट अफ हर डिल’, जोन बोल्डनको ‘द रूम ह्वेयर इट ह्यापेन्ड’ र राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजी मेरी लि ट्रम्पको ‘टु मच एन्ड नेभर इनफ’का पुस्तक यतिबेला विवाद र चर्चा दुवैमा छन्।

ह्वाइट हाउसले त ‘टु मच एन्ड नेभर इनफ’को प्रकाशन रोक्न निकै प्रयास गरिरहेको छ। ट्रम्प प्रशासनको यस्तो हर्कत भन्दै प्रकाशकले नियमित भन्दा चाँडै नै सो पुस्तक बजारमा ल्याउने तयारी पूरा गरेको छ।

आफू आउनेबित्तिकै बजारमा ल्याउन लागिएको टु मच एन्ड नेभर इनफ पुस्तकप्रति धारणा राख्दै कनेडीले भनिन्, ‘सिमोन एन्ड सुस्टरले राजनीतिक पुस्तकमा बढी नै जोड दिएको छ र समय हेर्दा पनि यो निकै महत्त्वपूर्ण कार्य हो भन्ने मलाई लाग्छ।’

सिमोन एन्ड सुस्टर अमेरिकाको मिडिया कम्पनी भियाकम सिबिएसको एउटा अंग हो। तर भियाकमले आफू प्रशारण उद्योगमा मात्र केन्द्रित रहने प्रयासस्वरूप यो कम्पनीलाई बेच्न खोजिरहेको छ। महामारीअघि कम्पनी बेच्ने अन्तिम तयारी भइरहेको भए पनि यसबारे अहिले खासै प्रक्रिया अघि बढेको छैन। भियाकम सिबिएसले आफूलाई खेलकुदका कन्टेन्टलाई जोड दिने बताउँदै आएको छ।