सहपाठी भए पनि पुण्य भट्टराईलाई ‘मामा’ भनेँ । उनी पनि मलाई ‘मामा’ भन्छन् । भट्टराई मेरो मावली, पौडेल उनको । अब केही लाग्यो ?
एक रात उनका घर बास बस्न पुगेँ, बिर्तामोड । माइजू अचम्मकी — पढालु । बुकवोर्म भनूँ न । पढेको पढ्यै ।
‘किताब कसरी छान्नुहुन्न माइजू ?’ सोधिपठाएँ ।
‘पत्रिकाहुँदी समीक्षा आएपछि किनेर ल्याउँछु ।’
छनोटको मापदण्ड नि !
पुस्तक समीक्षातिर लागेको पनि दुई दशक भइसक्यो आफू । समीक्षा कसरी गरिन्छ, कसरी छापिन्छ वा छपाइन्छ, चाकडी कसरी गरिन्छ वा गरिमागिन्छ, खानपान, अहिले हटिसकेको बृन्दावन रेष्टुराँमा कत्तिको धाइन्थ्यो, फाइदो–बेफाइदोको जोडघटाउ कसरी हेरिन्छ, थाहै छ । कुन किताबको समीक्षा कसले लेख्छ भन्ने पनि पहिल्यै थाहा हुन्छ अचेल । हामीले समीक्षाको हुर्मत काढ्यौँ र समीक्षक कहिलियौँ । जलेको कागजलाई पुनः सेतो बनाउन सकिन्छ कि सकिन्न होला ?
माइजूको अनुहार हेरेँ । निर्दोष छ । आफैँलाई समीक्षकको रूपमा हेरेँ । शकुनिको अवतार !
निष्पक्ष समीक्षकलाई देउथानमा राखेको छु । पूजाखर्च खासै जाँदैन । कति पो छन् र ?
अस्ति बागबजारमा । कार्यक्रम थियो — प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’ को विमर्श । भनूँ, चर्चा थियो आगराको । कुरा उठ्यो गाग्राको ।
गाग्रो ल्याउने कवि भवानी खतिवडा । सोधिन्, ‘पढ्नका लागि पुस्तक छान्ने कसरी ?’
सबै जानेका तर कसैले यसै हो भन्न सकेनन् ।
सोच्नै नपर्ने मापदण्ड दिमागमा आए सरररररर ।
— हाम्रो क्षेत्रको लेखक हो ? किनौँ ।
— हाम्रै विधाको हो ? किनौँ । विधाभित्रै पनि कित्ता छ नि ! नत्र गजलमा हेरौँ न ! हाम्रो कित्ताको हो भने किनिहालौँ आजै । अनलाइन मगाउने ।
— हाम्रो विचारनिकटको हो ? किनौँ ।
— जातको ? कसरी छोड्नु ?
— अस्ति यात्रामा जाँदाका साथीको । किनौँ ।
— मन जोडिएको साथी हो, किनौँ । मन केले जेडेको ? भृकुटीमण्डपले । पिपलबोटले । चुरोटले । बियरले । पार्टीले । आयोजकले सुताउन त राम्रै होटलमा सुताएका थिए । तर राति, बेसुरमा सुल्किँदै सुल्किँदै सडकछेउको कुलोमा पुगिएछ । सँगसँगै कुलोमा रात बिताइयो । बिचरा साथी, उसको त किन्नै परिगो नि !
— हाम्रो सर हुनुहुन्छ । मलाई कलेजमा पढाउनुभएको । कसरी नकिन्नु ?
— मामाको छोरो । अफिसको साथी । साली । मावली दाइकी फुपूकी साइँली बहिनीकी सोल्टिनी । पाँच प्रति किन्दिएँ ।
— मेरा पुराना हाकिम । मन्त्रालयमा हुँदा मलाई धेरैचोटि सहयोग गर्नुभाछ । किनूँ न, घरमा पढ्लान् ।
— पोहोर संयुक्त हाइकुसङ्ग्रह ल्याइयो । अहिले साथीले उपन्यास पो लेखेछ ! कसरी छुटाउनु ?
यसो सोचेँ — डेराको घर । एउटा कोठो किताबैले भरिएको । काम लाग्ने चैँ कति छन् ? फेरि सोचेँ । तत्काल जवाफ, ‘अधिकांश त सुदूरको पुस्तकालयलाई दान दिन मिल्ने ।’ अनि भाषणमा भन्न मिल्ने— ‘दान–धरम गर्नुहोस् । ज्ञानदान, महादान । पुस्तक दान, अपार दान ।’
(तपाईंसँग पनि होलान् दुईचार कार्टुन अहिल्यै । बाहिर, मार्करले महामना दाताको नाम, यानि आफ्नै नाम लेखिहालौँ । मैले चैँ तयारी गरिसकेँ । फोन नम्बर बरु नलेखे पनि हुन्छ । जोखिम हुन सक्छ ।)
अब कोठो अलि खाली हुन्छ । गाउँमा ज्ञान पनि फैलिन्छ ।
‘यस्तो उट्पटाङ नसोच् त !’ भनेर दिमागलाई सम्झाएँ । अनि सिरियस्ली सोच्न थालेँ ।
माइजूलाई सोधेको थिएँ, ‘ठूल्ठूला पुरस्कार पाएका पुस्तक चैँ नि ?’
‘आबुई । एउटै छोड्दिनँ । उः, भित्र छन् सबै । पढेर राखेका ।’
पुरस्कार पाएका त आफू पनि छोडिन्न बाई । यसो गर्दा आफूलाई कहिलेकाहीँ धाप दिएको छु । कहिलेकाहीँ श्राप दिएको छु । माइजूमा मेरोजस्तो उल्टो घुम्ने दिमाग छैन क्यार, उहाँले श्राप दिएको कुरो निस्किएन । सबैका बारेमा भन्नुभो— ‘क्या गजब ! क्या गजब !’
धापवादी एकातिर उभ्भियौँ, श्रापवादी अर्कोतिर ।
एकछिन श्रापवादीको महापुराणमा लागौँ ।
कुरो पढ्नका निमित्त किताब छान्ने बारेको हो, भड्किएर कता पुगिएला !
कहिलेकाहीँ देशबाहिर भएका साथीभाइको अनुरोध आउँछ— ‘मेरा आफन्त आउँदैछन् । सर, केही किताब पठाइदिनू न । ठूला पुरस्कार पाएका नछुटून् ।’
आस्था हो । छनोटको एउटा बुलन्द आधार हो ।
प्रथमतः हामीलाई पुरस्कारका छनोटकर्ता, निर्णायक वा दाताको नियतमाथि विश्वास हुन्छ । उनीहरू विद्वान हुन् भन्ने कुरामा हामी विश्वस्त रहन्छौँ । उनीहरू कुनै पनि दृष्टिले पूर्वाग्रही छैनन्, र पूर्णतः तटस्थ छन् भन्ने हामीलाई लागिरहन्छ । भनौँ, उनीहरूमा ऋषिमन देख्नु हाम्रो स्वभाव हो । पुरस्कारका संस्थापक वा दाताको मन पनि निश्छल छ भन्नेमा हामी पूरै विश्वस्त रहन्छौँ । पढेरै पुस्तकको छनोट हुन्छ, र उत्कृष्टलाई पुरस्कार दिइन्छ भन्ने कुरामा शङ्का गर्ने ठाउँ हुँदैन । अनि त्यस्तो पुस्तक मगाउनुमा मित्रको के कसुर? किनेर पढ्नुमा मेरी माइजूको के कसुर ? मेरै पनि के कसुर ? तपाईंको पनि ।
उल्टो दिमाग भएकाले छनोट प्रक्रियामा र पुरस्कार प्रकरणमाथि यसरी पनि प्रश्न गर्छन्—
— निर्णायक नै प्रतिस्पर्धी हुन्छन् । अनि राम्रालाई दिन्छन् ?
— संस्थापक निर्दोष । निर्णायक— खेलो–फडकोमा ।
— लेनदेन । अमेरिका भ्रमण । बेलायतको यात्रा । भो, नकुरा अरम ।
— दाताकै नाममा एउटा निबन्ध लेखेको बिर्सनुभयो ? अनि त्यो निबन्ध सङ्ग्रह नछानिएर कुन छानिन्छ त पुरस्कारका लागि ?
— कसले पो हो हँसाए, अस्ति — पुरस्कार राशिको चेक दिएछन् । खातामा पैसा नाइँ । धाउँदा धाउँदा हैरान ! चेक फिर्ता । अर्कातिर, पुरस्कारको राशि आफैँले हाल्ने, भारीसभा चैँ गरिदिनुहोस् है भन्ने धन्दा । म्युजिक अवार्डतिर हेर्नुस् — पैसै लिएर अवार्ड दिने चलन छ । कति संस्थाको कामै त्यही रहेछ । कस्ता गीतलाई ? नकुरा अरम न । उता, पदक पाउनेको सूची कत्रो भने नि — २०० पार । खररर बनाएको । फेरि अर्कातिर, मन्त्रालयको पुरस्कार, नामको सिफारिस जाने पार्टी अफिसबाट । कहिलेकाहीँ चैँ साहित्यिक वृत्तले सुनेका नाम पनि पर्दा रहेछन् झुक्केर ।
— पाँच हजार राशिको एउटा पुरस्कार रहेछ, दुई जनालाई बाँडेर, आधा आधा रकम पर्ने गरी दिएछन् । एकजना निर्णायककै भाउजू । अर्का चाहिँ अर्का निर्णायकका छिमेकी ।
— तपाईंका परेवाले मेरो बिस्कुन सोत्तर । तपाईंको किताब किन पुरस्कृत हुनुप-यो ?
— माथिबाटै फोन गराएर निर्णय गराउने चलन चैँ छैन होला भन्ठान्छु । सुनेको छैन आजसम्म । कस्सम । सुनेकै भए पनि सुनेको कुराको के भर ?
— यो धेर् करायो, यसलाई एउटा हड्डीको टुक्रो फाल्देर ठेगान लगा त अन्तरे ! यस्तो त झन् कहिल्यै पनि सुनिएको छैन पुरस्कारका सम्बन्धमा । गुड । भेरी गुड ।
अस्ति प्रश्न उठ्यो, साँगाबाट काठमाडौँ फर्कंदा, गाडीमा । प्रश्न थियो— ठूलो पुरस्कार पाएर पनि कुनै सर्जक स्थापित नहुनु, सिर्जना स्थापित नहुनु — के यो सम्भव छ ?
छ ।
छैन ।
तर, छ । सम्भव छ भन्ने मेरो निचोड छ । यसको सप्रसङ्ग र स–उदाहरण व्याख्या गर्दिनँ तर सम्भव छ । ठूला पुरस्कार पाएका भनिएका कतिपय सर्जकलाई आम पाठकको वृत्तले पुरस्कार वितरण समारोहपछि कतै सोधेको, खोजेको, पुछेको पाइएन । प्रकाशकलाई सोध्नू — लगानी भिरैभिर । पुरस्कारदाताले उत्कष्ट ठह-याएको पुस्तकलाई पाठकले किन दुत्कारे ?
उता भारततिर पनि साहित्य अकादमी पुरस्कारका सम्बन्धमा यस्तो रैँदालो भएको सुनेको छु ।
‘यह पब्लिक है, सब जानती है,’ भन्छन् हिन्दीमा । यस्तै हो कुरो ।
अर्को एउटा तर्क तेर्सियो बहसमा — निरन्तर पढ्दै ल्याएका भव्य लेखकलाई नछोडी पढ्ने ।
यो आस्था र विश्वासको कुरो भयो ।
चर्चित पत्रकार बसन्त बस्नेत स्नातकोत्तर तहका विद्यार्थी छँदा मसँग उनको भेट भइरहन्थ्यो क्याम्पसमा । अचेल हामी दुवै व्यस्त, भेटघाट पातलिएको छ ।
उनी भन्थे, ‘सर, एकचोटि हामीले चङ्की श्रेष्ठका सबै रचना नछोडी पढ्ने निधो ग-यौँ । उनका रचना खोज्न कहाँ कहाँ पुग्थ्यौँ ।’
हैट्, यो तहको आस्था । विश्वास । सम्मान ।
केही अचम्मका युवा भेटेको छु । अनुप जोशीले हारुकी मुराकामीको चिनाटिपन सुनाइदिन्छन् । सुदर्शन पौडेलले स्टेफेन किङको । उता, नवीन तिवारीले नोम चोम्सीको । अरूको पनि । ठिमीमा, मध्यपुर अस्पतालको ठ्याक्कै अघिल्तिर ‘द बर्गर ल्याण्ड’ भन्ने रेष्टुराँ छ । त्यहाँका भाइ शुभाकर श्रेष्ठले कुमार नगरकोटीलाई एक अक्षर पनि नछोडी पढेका छन् । अचेल अलि ओझेल परे, तर केही समयअगाडि सामाजिक सञ्जालमा बाक्लै देखिने इटहरीका भाइ विकेश कबिनले अमर न्यौपानेलाई रिठ्डो नबिराई पढेका छन् । नपत्याए सोध्नू । मेरा दाजु आख्यानकार तथा कवि रोशन थापा नीरवले के चाहिँ पढेका छैनन् होला जस्तो लाग्छ, तर पनि ध्रुवचन्द्र गौतमलाई गौतम आफैँले भन्दा पनि गहिरो हिसाबले उनले पढेको सुइँको पाएको छु । नारायण ढकाललाई नारायण ढकाल आफैँले पनि नबुझेको तहमा उदय अधिकारीले बुझेको कुरा जगजाहेर छैन र ?
यो ‘इन्डिभिज्युल’ लेखकलाई यसरी पढ्नु र तिनका नयाँ पुस्तक आइसक्दा तिनको खोजी हुनु आस्था, विश्वास र भरोसाको उपल्लो उदाहरण हो । यस्ता भाग्यमानी लेखकले पाठकको आस्था कायम राख्न सदैव आफूलाई नवीकृत गर्नुपर्छ । अध्ययनले सम्पुष्ट बनाउनुपर्छ । नवीन, सिर्जनशील र प्रयोगशील बनाउनुपर्छ ।
नत्र डायनोसर बन्न पनि सक्छन् लेखकहरू ।
ल्या ! लेखक डायनोसर हुन्छन् र ?
अस्ति अनामनगरको शिखर फुडल्याण्डमा बसेका थियौँ हामी केही साथीभाइ । आख्यानकार ओम रिजालले सोधे— किन होला कतिपय लेखकले आफ्नो उचाइ कायम गर्न नसकेको ?
अनि दृष्टान्त आयो — कागतीको । एकपल्ट निचोर्दा रस । दुईचोटिमा पनि रसै भनौँ न ! तीनचोटिमा तीतो झोल । चौथोमा खोस्टाको लेदो !
कतिपय लेखकको ग्राफ निरन्तर घट्दो छ भन्छन्, जानकारहरू । पाठकहरू ।
बचाउमा पाठक र समीक्षकलाई सत्तोसराप गरे पुगिहाल्छ सामाजिक सञ्जालमा — को हुन् यी मेरो मूल्याङ्कन गर्ने ? यी दोस्रो दर्जाका नागरिक !
तर, ग्राफ खस्छ । खस्कन्छ । खस्केकै हो त । नाम किन भनिरहनु ? कुनै बेलाका हाईहाई लेखकलाई बजारले बाईबाई गरेकै हो । पाठकले हाई काडेकै हुन् । प्रकाशकले धानिराछन् जसोतसो । सामाजिक सञ्जालमा प्रायोजित प्रशंसा त मैले पनि सधैँ गराइरहेकै हुँ आफ्नो । देख्नुभएकै होला । यस्तो बाध्यता बुझ्छु ।
कुरो उठ्यो — यस्तो किन हुन्छ ?
उत्तर आएन । आउने कुरो भएन पनि ! सधैँ भुइँमै भएको मजस्तो भुइँट्याँस लेखकलाई उठ्नु र खस्नुको अनुभव कसरी होस् ! अँ, खस्नु, र अझै भासिनुको अनुभव भने छ । त्यसै अनुभवका आधारमा दिमागका यत्ति कुरा आए । भन्दिएँ । फाइदा भयो — खाजाको पैसा साथीभाइले तिरे ।
ग्राफै निम्छरो भए त कुरै सक्किगो । बहस गर्नै परेन । तर, उँचो कद भएका लेखकको ग्राफ किन खस्किन्छ ?
उत्तर —
१. उमेरले । अब कसका बाउको के नै लाग्छ र ? यो क्षम्य कुरा भइगयो । ‘ऋतम्भरा’ लाई लिएर राष्ट्रकविलाई कसले गाली ग-यो र ? अँ, भाषा बिगारेको भनेर साझाले अलिअलि भेटेको चैँ थाहा पाएँ ।
२. सेलेब्रिटी सिन्ड्रोमले । भनौँ, एकचोटि ह्वात्त आयो । पिङ अकाशमा । पत्रिकाले उचालेर भलिबल । अर्कोचोटि — कागती महात्म्य । पाठकको समुदायलाई हेपियो भने यस्तो हुने सम्भावना हुन्छ ।
३. नपढ्नु, र आफूलाई निरन्तर अद्यावधि नगर्नुको परिणति । अस्ति एकजनाले भने— मेरो लेखनमा अरूको गन्ध आउला भनेर म पढ्दिनँ । नमस्कार गरियो र हिँडियो । उहाँको नयाँ पुस्तक आउँदै होला । त्यो पढ्दिनँ भन्नेमा छु आफू ।
४. प्रडिक्टेबल हुनुको परिणति — भन्नाले, उसले के लेख्छ, कुन विषय लेख्छ, कहाँको कार्यपीठिकामा लेख्छ आदि कुरा, धेरेथोर प्रक्षेपण गर्न सकिने गरी ऊ दोहोरिँदै गयो भने, अब, प्रतिक्रियामा ‘ऐजन ऐजन’ भन्दियो, दुईचारवटा समीक्षा हेर्दियो, सिद्धियो ।
५. साह्रै नै नपत्याउँदा कोणहरूबाट लेख्न थालेपछि शङ्का गर्ने ठाउँ हुन्छ । पूर्वको मान्छे पश्चिमको कार्यपीठिकामा उपन्यास । स्थलमा पुग्दै नपुगी आख्यान । गएको पनि थाहा नाइँ । बसेको पनि थाहा नाइँ । स्थानीय भाषाको ज्ञान शून्य । सांस्कृतिक ज्ञान शून्य । दक्षिण लेख्नेले एक्कासि हिमाल । हिमाल लेख्नेले एक्कासि ठोरी । अँ, एउटा कथा, एकाध नियात्रा वा निबन्धको कुरा बेग्लै हो । त्यो एउटा विचार प्रवाहको लेखोट भयो । तर आख्यान — त्यसको जीवन र विस्तृति लामो हुन्छ । त्यसमा, नजानेको भूगोलको कथा लेख्दा ऐँसेलुको पिङ हुन्छ । हिमालको औलो लाग्छ । नेपालगञ्जमा लेक नलाग्ला भन्न सकिन्न तर पाठकको विश्वासमा ब्रेक लाग्छ भनेर भन्नलाई शुक्रबार बारिएन ।
६. विश्वका अन्य भाषाका साहित्यसम्म पहुँच नहनु । यो सामान्य कुरा लाग्ला, अथवा होइन कि जस्तो लाग्ला । तर कुरा नि, आजको पाठक, जसरी तसरी विश्वसाहित्यसम्म पहुँच राख्छ । त्यसको धेरथोर ज्ञान राख्छ । त्यसैले, आशलाग्दो केटो जेठाजु पर्नु त भएन नि !
७. कहिलेकाहीँ भव्य र आदर्श मानेको लेखक, चरित्रमा कमजोर निस्कियो भने, उसले पाठकीय आस्था गुमाउन पनि सक्छ ।
८. कसो कसो पुरस्कार पाएका होलान् । बहस बेग्लै । तर, लेखन्दास राखेर, सहयोगी राखेर, बैशाखी टेकेर आएका र केही वर्ष वा दशकसम्म भ्रमको खेती गरेका लेखकको गन्तव्य कुनै शिखर हुँदैन । अलि माथिको ढिस्कोसम्म होला, पैसा र सम्बन्धले ठेलुञ्जेल । त्यहाँबाट चिप्लिँदा सिधै सेतीको खोचमा । खोज्न क्रेन मगाउनुपर्छ । अब पाठकले किताब पढ्नु कि क्रेन खोज्नु ?
९. पत्रपत्रिकाका स्तम्भ किनेर, संयोजक किनेर, चिनेजानेकाहरूबाट प्रायोजित प्रशंसा गराएर, आलोचनालाई कुन्नि कुन मन्त्रीले कागज चपाएझैँ चपाएर, आलोचकको खोइरो खनेर, आलोचनालाई निषेध गरेर टिकेका लेखक चिप्लेढुङ्गामा उभिएका हुन्छन् । राम राम भनौँ, काँधै हाल्न चैँ खोइ !
१०. टोलबाट जिल्ला । जिल्लाबाट क्षेत्र । क्षेत्रबाट देश । देशबाट विश्व । यसरी फैलनुपर्ने हो लेखकको नाम, दायरा, विश्वसनीयता, कीर्ति । कसोकसो देशले पत्याउने बनिसकेका कतिपय लेखक पुनः चुल्होचौकोकै घेरामा फर्कंदै गरेका देखिएका छन् — जातका नाममा, भाषाका नाममा, क्षेत्रवादका नाममा । उनीहरू सानो समूहका नायक बन्छन्, र वृहत्तर व्योममा निरन्तर ब्ल्याकहोल बन्दै जान्छन् । कति रिस उठ्दो कुरा भन्नुभयो होला । रिसाउन पाउनुहुन्छ, तर कुरा सत्य । मनन गर्दा पनि हुन्छ हुन त ।
कुरो भनेको कता पुग्यो कता ।
प्रश्न थियो — पुस्तक कसरी छान्ने ? कुन पढ्ने, कुन नपढ्ने ?
यो निकै कठिन र जटिल भइगयो । बनाइयो । बनाए, भनौँ न । मह भनेर किन्यो, चिनीको पाक पो हुन्छ, लास्टमा । बेसारमा फर्सीको धूलो मिसाएर हैरान् । दूधमा पानीको कुरा चैँ भो, नभगरम । पानीमा थोरै दूध हो । किन ढाँट्नु ?
सिफारिसकै कुरा हो भने पुस्तक यसरी छाने पनि हुन्छ—
— तपाईंको आफ्नै विवेकभन्दा शक्तिशाली अर्को चश्मा हुँदैन । अब के भनूँ ?
— तपाईंलाई कुनै विशेष विधाप्रति बढी रुचि छ भने उक्त विधामा, आफू साँच्चिकैको प्रतिभा, जानकार, विद्वान वा साधक हुँ भन्ने कुरा प्रमाणित गरेको, र कुनै गुटको एजेन्डाबाट मुक्त सर्जक छ भने, उसलाई पढ्दा हुन्छ ।
— तपाईंले वा देशले पत्याएको अध्येता, मार्गदर्शक वा अभिभावकले सिफारिस गरेको पुस्तक पढ्दा हुन्छ ।
— नवप्रवेशी हो भने पनि ऊ लामो दूरीको घोडा हो वा होइन, त्यसको छनक देखाइहाल्छ । अँ, यस कुराको सुराकी गर्नलाई अचेल समाजिक सञ्जाल सहायोगी हुन सक्छ । अब, सामाजिक सञ्जालै चलाउँदिनँ भन्नेलाई नमस्कार ।
— तपाईं कुनै लेखकलाई नैरन्तर्यमा पढिरहनुभएको छ भने ऊ दोहोरिन थालेपछि, विषय र प्रस्तुतिका हिसाबले चिप्लेटी खेल्न थालेपछि अथवा अहंकारले अविवेकी बन्न थालेपछि नमस्ते भन्दिँदा हुन्छ । जीवनमा फजुल खर्च गर्नलाई कोसँग पो छ र समय ? नयाँ नयाँ र उम्दा प्रतिभा पनि आइरहेका छन् । तिनलाई पनि त पढ्नु छ ।
— तपाईंको छनोट -यान्डम हो भने, प्राज्ञिक समुदायले के भन्यो, तटस्थ समालोचक वा समीक्षकले के भने, अन्य पाठकको प्रतिक्रिया के कसो छ — यी कुरा पनि हेर्दा हुन्छ । अँ, लेखकको क्लोज ग्रुपकै प्रतिक्रिया, अथवा उही प्रकाशन गृहले किताब छाप्ने गरेको अर्को लेखकको अन्ध प्रशंसाको हकमा चैँ संस्कृतको सिलोक सम्झाएँः
उटट्राणां विवाहेषु गीतं गायन्ति गर्दभाः
परस्परं प्रशंसन्ति अहो रूपम् अहो ध्वनिः
ऊँटको बिहेमा गधाले गीत गाउँदै भनेछ— अहो, क्या सुन्दर तिमी । ऊँटले जवाफमा भनेछ— आहा, क्या मीठो स्वर तिम्रो । अक्सर यस्तो भएको हुन सक्छ, सचेत रहनुपर्छ ।
— साना आकारका पुस्तक हुन् भने पुस्तक पसलमा उभिएर सुरु, मध्य र अन्त्यतिरका केही पाना पढ्दा पनि कतिपय कुरा थाहा हुन्छ । गजल, कविता वा हाइकुजस्ता विधामा त, पक्का थाहा हुन्छ । भाषा पनि कत्तिको शुद्ध लेख्यो, खुट्याउन सकिन्छ ।
— तपाईं शोधकर्ता हो वा समालोचक हो भने, तपाईं जन्मँदा नजिकै गधा कराएको हुनुपर्छ । तपाईंले चै आफ्नो रुचिको लाइनका सबै पुस्तक पढ्नुपर्छ । यो पात हो भन्नलाई पनि पातसम्म पुग्नु त प-यो । पात पनि सालको हो वा टाँकीको, परख गरेर हेर्न त प-यो । टपरी बन्छ कि बन्दैन, थाहा पाउनु प-यो नि !
— अगिअगि राजनीतिक पार्टीको रथ । पछिपछि सर्जक–घोडा । यसो भयो भने अचम्म हुन्छ । यो अचम्मलाई नमस्कार गर्दा हुन्छ । पढिरहनु पर्ने नहुन पनि सक्छ ।
अब काम आयो आफ्नो विवेकको । विवेकै नाथेको त के कमी छ र नेपालमा ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।