‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक । विजय चालिसेकाे ‘परिशीलन’देखि गाैतमकाे ‘लकडाउनकाे उपहार’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

० ० ०

१. आतुङ — अनिता लामा 

कवि अनिता लामाकृत तेस्रो कविता सङ्ग्रह हो — “आतुङ” । ९४ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘आमाबुबा, आजकाल हिमाल देखिनै छाड्यो, निष्ठा, भिडियो कल’लगायत २७ वटा लामा कविताहरू र ‘युद्ध, इमान, लुङ्गी, मृत्यु, भट्टी’लगायत १७ वटा छोटा कविताहरू सङ्ग्रहित छन् ।

मेरो कुरमा लेखिएको छ, “कवितामा विचार आएन, तन्दुरुस्तता आएन भनेर आफैलाई पनि बोझ लाग्छ लेखेका कविताहरू । म यसै पनि बिरामी भइरहने मान्छे, त्यसैले कविता पनि अलिक बिरामी र रुन्चे भयो भन्छन् कि भन्ने अनुमान गर्छु । तर भोगिरहेको समयको ऐना न हो अभिव्यक्ति पनि । समय कहाँ तन्दुरुस्त छ ? कहाँ विचार विवेकवान छ ? कहाँ खुसी, सन्तुष्टि छ ? समयको चित्र जो छ, क्यान्भासमा पनि त्यही उत्रिन्छ । त्यसैले यो तेस्रो कविता कृतिमा पारिवारिक सम्मोहन र छोरी हुनुको कारणले निर्लज्ज, निर्विवेक समाजले गरेको दोहनलाई पनि अलि बढी छोइएको छ भन्ने मलाई लाग्छ । ‘देश’ मेरो लागि सबैभन्दा सर्वश्रेष्ठ शब्द हो । देश नछोई म केही भन्न, लेख्न सक्दै सक्दिन ।  देश मेरो कृतिमा शक्तिशाली बनेर उठेकै र उठाउने कोसिसमै पाउनुहुन्छ । तेस्रो कविता कृतिमा आइपुग्दासम्म पनि कविता लेखेर असाध्यै सन्तुष्ट छु भन्ने हिम्मत आइरहेको छैन । त्यसैले सङ्ख्याहरू थपिन्छन्, गुणात्मकता कति थप्न सकेँ, तपाईंहरूले भन्नै पर्दछ । नत्र किन लेखिरहनु कविता ? किन छापिरहनु यस्तरी ?”

आतुङ फाउण्डेसनले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य १ सय ६५ रुपियाँ रहेको  छ ।

२. लय छुटेको समय — डा. कृष्णप्रसाद पौडेल 

लेखक डा. कृष्णप्रसाद पौडेलकृत पुस्तक हो – “लय छुटेको समय” । २ सय ६४ पृष्ठमा रहेको यस पुस्तकमा ‘रोगका जरा कहाँसम्म’, ‘रोगको उपचार गरौँ कि गरिबीको’, ‘यसरी बचौँ कोभिड-१९ बाट’, ‘निषेधाज्ञा सुरु’, ‘डराउँदै उपचार’, ‘निरन्तरको कहर’, ‘शब्दसूची’लगायत ५८ वटा शीर्षकलाई ‘ उपचारको उपक्रम’ र ‘लकडाउन डायरी’ दुई खण्डमा समावेश गरेका छन् ।

“कृष्णप्रसाद पौडेल पेसाले चिकित्सक हुन् । अर्थोपेडिक विषयका प्राध्यापक उनी समाजशास्त्रमा पनि स्नातकोत्तर छन् । धरानस्थित वी. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनपश्चात् देशका विभिन्न अस्पतालहरू साथै विदेशका  अस्पतालहरूमा समेत उनले काम गरिसकेका छन् । देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनको मेडिकल सोसियोलोजीमा चाख बढेको हो ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “यस किताबमा एउटा चिकित्सकको आँखामा बिरामी र समुदायको दृष्टिले स्वास्थ्यकर्मी र अस्पताललाई हेर्दा निस्केका कुरालाई केलाइएको छ साथै कोभिड महामारीका वस्तुस्थितिहरूको अनुभव वर्णन गरिएको छ । यसमा निबन्ध शैलीमा लेखिएका बिरामी र डाक्टरका कथाहरू छन् । उनको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कम्मरदेखि कोभिड कहर’ निबन्धसङ्ग्रह र ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।”

साङ्ग्रिला पुस्तक प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

३. परिशीलन — विजय चालिसे 

परिशीलन’ साहित्यकार विजय चालिसेको अनुसन्धानात्मक पुस्तक हो । यसमा ‘विज्ञानकथा र नेपाली साहित्य’, ‘साहित्यिक पत्रकारिताको स्थिति’, ‘आमसञ्चार र शिक्षा’, ‘नेपालमा बालपत्रकारिता’लगायत १० थान शीर्षक समावेश छन् ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “विजय चालिसे नेपाली साहित्यमा मूलतः कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आउनुभएको छ । यो उहाँको यस विषयमा प्रकाशित पहिलो कृति हो । यस अतिरिक्त उहाँका बालसाहित्य, संस्कृति, सञ्चार विषयका करिब ६ दर्जन कृति प्रकाशित छन्  नेपाली भाषा साहित्यको विकासमा उहाँले अनुवाद तथा सम्पादनका क्षेत्रमा समेत उल्लेख्य योगदान गर्नुभएको छ ।”

मेरो भन्नुमा विजय चालिसे लेख्छन्, “यिनमा विविध पक्ष समेटिएका छन् । नेपालीमा कमै लेखिने विज्ञानकथाको बारेमा पर्याप्त चर्चा हुने कुरै भएन । यस क्रममा म आफै विज्ञानकथा लेख्न रुचि राख्ने भएकाले लेखनकै क्रममा पनि यसबारे बढीभन्दा बढी जान्ने जिज्ञासा राखेको हुन्थेँ । त्यही जिज्ञासाको प्रतिफल हो यो ‘विज्ञानकथा र नेपाली साहित्य’ यसमा विज्ञानकथाको सैद्धान्तिक चर्चाको साथै नेपाली र विश्व विज्ञानको बारेमा सङ्क्षिप्त अध्ययन गर्ने प्रयास गरिएको छ ।”

बि. एन. पुस्तक संसार प्रा. लि. ले बजारमा ल्याएको, १ सय ५१ पृष्ठको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

४. लकडाउनको उपहार — मित्र ‘उराठी’ गौतम 

लेखक मित्र ‘उराठी’ गौतमकृत कविता सङ्ग्रह हो — “लकडाउनको उपहार” । १ सय २ पृष्ठमा रहेको यस पुस्तकमा‘म मान्छे भएको छु’, ‘विजय भयाे ! विजय भयो !’, ‘आगो ओकल्छ मान्छे’, ‘को आफ्नो को बिरानो’, ‘म तोप चरा’, ‘मलाई डर छ’ लगायत २७ वटा कविता सङ्ग्रहित छन् ।

प्रकाशकीयमा रामप्रसाद पन्त लेख्छन्, “प्रस्तुत सङ्ग्रहका कवितामध्ये झन्डै आधा दर्जन जति कविता कोरोना प्रभावित छन् र अरू केही कविताले पनि कोरोनाको झल्को दिएका छन् । लकडाउनले मानव जातिलाई मात्र प्रभाव पारेको हो, सपनामा पनि तर्साउने गराएको हो तर अन्य प्राणी र प्रकृतिका लागि त वरदानसिद्ध भएको छ लकडाउन । हिमाल हाँसेका छन्, मयुर नाचेका छन्, कोकिल गाना गाएका छन्, आकाशले नुहाउन पाएको छ, पन्छीले कावा खान पाएका छन्, वचनहरू स्वच्छन्द विचरण गर्न पाएका छन् ।”

भूमिकामा डा. नवराज लम्साल लेख्छन्, “युगको अनुहार, आफू बाँचेको समय, कष्टको कहर, करुणाको उद्बोधन र अन्योलको आँगन । सबै छन् कवितामा । सामाजिक विसङ्गतिबोध, मानवताको वकालत, धर्मान्धताप्रति रोष, देशप्रेम, अन्तर्राष्ट्रिय चेत तथा सुकिलो जीवनको अपेक्षा कविका अन्तरहर र अभीप्सा हुन् र यही हो कविताको सेरोफेरो ।”

दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।