एक प्रेमीका लागि कलाको के आवश्यकता ? ऊ त आफैँमा कलावतार हो । उसका हरेक क्रियाकलापहरूलाई संसारले कलाका रूपमा अनुभूत गरिरहेको हुन्छ । तर प्रेमी कलाभन्दा माथि हुन्छ त ?
प्रश्न यो छ – अन्तर्निहित प्रेमलाई कसरी व्यक्त गर्ने ?
कसैले आँसुमार्फत व्यक्त गर्दा रहेछन् त कसैले शब्दमार्फत । शब्दमार्फत व्यक्त गर्दा अभिव्यक्त त हुन्छ नै, साथसाथै अभिलिखित पनि हुन्छ । केवल आँसु मात्रैले स्वान्त सुखाय भावनालाई अभिव्यक्त गरेर पनि हृदयभित्रै ढाकिदिँदो रहेछ, र त्यो अन्यत्र प्रसारित हुन नपाउँदो रहेछ । बस् कुरा यिनै हुन्, तर आँसुलाई शब्दले प्रतिस्थापन गर्न सकिएला वा नसकिएला, सकिन्छ भने कसरी ?, अझ मैले त कापीमा लेखेका शब्दहरूलाई समेत मेरै आँखाका आँसुले पखालिदिने भरपुर चेष्टा गरेँ ।
यहाँ ‘शब्द’ भनेर मैले एउटा बिम्बात्मक उपस्थापन गर्न खोजेको हुँ, शब्दका अलावा अरू मानवीय कलाहरूले पनि हृदयका आवाजलाई जीवन्तता प्रदान गर्न सक्छन् । मान्छेका हृदयाकर्षित प्रेरणाहरूलाई सर्वत्र फैलाउन सक्छन् विभिन्न आयामहरूमार्फत ।
तर एउटा उत्कर्ष नै भनौँ आँसुसँगै भिजेका हरफहरू जसलाई लेखकले लेख्नकै लागि खुऽऽब सङ्घर्ष गरेको हुन्छ । यस्तो कि, हृदयले सबै कुरा एकै पटक व्यक्त गर्न खोज्छ तर लेख्नका लागि आँसु बाधक बनिदिन्छ, र यादहरू आदत बनिदिन्छन् । यति बेला लेख्नु भनेको पीडाहरूको सञ्चय गर्नुजस्तै बनिदिन्छ । आगोमा घ्यू थपेझैँ पीडाको आगो झनै दन्किन थाल्छ । जुन शब्दको मूल; निर्मल प्रेमधाराबाट निःसृत नभई अन्यत्रैबाट हुत्तिएर आएका हुन्छन् । ती त केवल शब्दजञ्जालका भारी मात्रै त रहेछन् । प्रेम हृदयबाट उम्लियो अनि आँखाबाट पोखियो, अब यस्तो बेलामा के गर्न सकिन्छ र ! कता शब्दको ढुलमुललाई खोज्न जानु ? शब्द त निरीह बनिदिँदो रहेछ ।
यसो भन्दै गर्दा एउटा असजिलो स्थानमा यसरी आइपुगिन्छ कि, जस्तो कि; प्रेम भन्ने शब्द झूटो प्रेम गर्नेका लागि पनि हो र यथार्थमै साँचो प्रेमीका लागि पनि शब्द त यही नै हो । त्यसैले पनि प्रेम शाब्दिक विषय हुनै सक्दैन वा शब्दले प्रेमलाई स्पर्श गर्न पूर्णरूपेण सक्दैन । अब यसो भन्नुपर्ने होला ‘प्रेमीको भाषा प्रेमीले मात्रै बुझ्दछ’ यति भन्दाभन्दै पनि अझै होस गर्नुपर्ने कुरा; ‘के भावनालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न नजान्दैमा एउटा असल प्रेमी प्रेमी हुन सक्दैन त ?’ अश्रुका धारामार्फत प्रेमानन्दमा मग्न हुने प्रेमीहरू पनि धेरै हुनुहुन्छ । हो, संसारले नदेख्ला वा नमान्ला तर उहाँहरू आफ्नो स्वत्वमा त सर्वदा जीवित रहिरहनुहुन्छ नि । जीवन्तताचाहिँ अन्तर्निहित बनिदेला कुनै सृजनात्मकता प्रस्फुटित नभएसम्म, फरक यत्ति त हो ।
तर यसो पनि हुनसक्छ, एक प्रेमीका लागि कलाको के आवश्यकता ? ऊ त आफैँमा कलावतार हो । उसका हरेक क्रियाकलापहरूलाई संसारले कलाका रूपमा अनुभूत गरिरहेको हुन्छ । तर प्रेमी कलाभन्दा माथि हुन्छ त ? हो, प्रेमभन्दा ठुलो गरिमा सांसारिक दृष्टिमा र पारमार्थिक दृष्टिमा पनि सायदै अरू केही होलान् । तथापि अचम्म लाग्छ कि; प्रेमको सामान्यीकरण हदैसम्म किन गर्छन् मान्छेहरू ? योचाहिँ अति विचारणीय नै लाग्छ मलाई । सायद अज्ञानताको कारणले होला भनिदिऊँ सजिलोका लागि, तर प्रेमसँग ज्ञान-अज्ञानताको के सरोकार र ! यथार्थमा त प्रेमीका लागि ज्ञानी वा अज्ञानीमा के अन्तर र !, ती व्यक्ति जसको जीवन प्रेमको सामान्यीकरण गर्दै बितिजान्छ ती करुणाका पात्र हुन्, दयाका पात्र हुन् ।
के, त्यसो भए हृदयलाई व्यक्त गर्नु मात्रै समाधान हो त ? अनि असल प्रेमी बन्नु नै पर्छ भन्ने पनि के छ र ! केही छैन तर केही छ पनि । किनकि मानवीय स्वभावलाई व्यक्त गर्नु वा जान्न चाहनु खासै नौलो नलागे पनि ज्यादै महत्त्वपूर्ण हो भन्ने ठान्छु, अँ जे छ त्यो नै सत्य हो, स्वभाव सत्य हो, बनावटी कुरामा सत्य कम झूट बढी हुने गर्छ ।
अझ कसैले कलात्मक रूपमा बिलकुलै नौलो कुरा वा काम गरिरहेको छ भने त्यो त उसका लागि सुखद बिन्दु हुनसक्छ, प्रेमको उत्कर्ष पनि त यही त होला । लाग्छ, सबैको प्रेमानुभूति फरक-फरक हुन्छ वा भनौँ साधन फरक हुन्छ साध्य उही । हुन त सबैले आ-आफ्नो अनुभूतिलाई त हो कर्ममा व्यक्त गर्ने । जुन कर्मको परिपाक प्रेम हुनसक्छ त्यो नै विशिष्ट कर्म हो भन्ने ठान्छु ।
यहाँ मैले लेख्न खोजिरहेको पनि मेरै अनुभूति त हो, तर सत्यचाहिँ यो हो कि , मैले लेख्न खोजेको चुरो कुरोलाई मेरै आँसुले बगाइदियो, हो म यादमा हराएँ निक्कै बेर । मैले ठानेँ कि किन लेख्नु बेकारमा ! त्यस्तो कठोर हृदयको आवाजलाई । कठोरतालाई शब्दमा उतार्नुभन्दा आँसुले बगाउन सहज ठानेँ । सुरुमा त्यो मधुरतालाई देखेरै त हो मैले त्यो सौन्दर्यको पिछा गर्न थालेको, तर के थाहा त्यति कोमलताभित्र पनि यति विधि ज्यादा कठोरता लुकेको हुनसक्छ भन्ने ।
मैले ज्यादा आँसुमार्फत व्यक्त गरिसकेका भावनालाई पुनः शब्दमार्फत पृष्ठपोषण गरेको चाहिँ पक्का होइन । ती अश्रुधाराले मुछिएका हरफहरूलाई त मैले कसरी प्रस्तुत गर्नु र, ती त कहिल्यै नमेटिने यादका अविच्छिन्न प्रवाह बनेर मलाई सताइरहने दिगन्त चिनारी बनिसकेछन् । हो, कत्ति यादका किरणहरू त क्षितिजमा पुगेर ओझेलमै पनि परिसके कि झैँ लाग्थ्यो किन्तु ती त मेरा कल्पना मात्रै पो रहेछन्, यादहरू त नेपथ्यबाट पनि बारम्बार चिहाउँदा रहेछन् मेरै उपर । फेरि कत्ति उदाउँदै पनि त छन् यादका किरणहरू चारैतिरबाट, धेरै त म आफैँसँग सुरक्षित रहेछन्, आफ्नै चेतनामा साँचेको रहेछु ।
यहाँचाहिँ थुप्रै बाँकी रहेका अवशेषहरूको एक थोपो सञ्चिति लिएर पोखिएको हुँ । तिनै यादका कोसेलीहरूमध्ये एउटा पोको बनेर पोखिएको हुँ । पोखिने प्रयास गरेको हुँ, निक्कै सजगताका साथ । त्यै कठोरता वा माधुर्यभित्रको अन्तर्निहिततालाई मैले पस्किन खोजेको हुँ, व्यक्त गर्न खोजेको हुँ । कसरी व्यक्त गर्ने ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।