बाँचुन्जेल ढक्क फुल्ने जीवन अन्त्यमा खुम्चिएरै सकिने हो ? बाकससँगै टुसुक्क बसेर टोलाइरहेका बाका आँखामा जीवन तुहिएको देखिन्छ । बाले सन्तानको क्रिया गर्नुभन्दा ठुलो विडम्बना के छ ?
“तिमी मबाट धेरै आस नराख्नु है, अहिल्यै भन्दिराख्छु ।”
“मतलब ?”
“खै ! ठ्याक्कै यही भन्ने त शब्द नै छैन, तर मबाट परिवारले खुब आशा राखेको छ । म त्यसैमा पिल्सेको छु । मैले धेरैको चित्त बुझाउनु पर्ने छ । तिम्रो आशा मैले पूरा गर्न सक्दिनँ जस्तो लाग्छ घरी घरी ।”
“तिमीलाई सञ्चो छैन जस्तो छ, एन्जाइटी भयो ?”
“होइन, म ठिकै छु । मेरो कुरा तिमी मान है ! हामीले एकअर्का बिच केही दूरी राख्नुपर्छ ।”
“तिमी कुराहरू लुकाउन एकदम सिपालु छ्यो बुझ्यौ ?”
आफ्नै पुरानो च्याट पढिरहेको छु । पुराना कुराहरू केलाउने रहर त मान्छेलाई हुँदैन, तर कहिलेकाहीँ सिनित्तै कोठा सफा गर्दा कुनाकाप्चामा फेला पर्ने पुराना कागजातहरूले मान्छेलाई विगतमा अल्झाएझैँ अल्झिन पुगेँ ।
***
काठमाडौँ आइपुग्न लागेको छ । बसको झ्यालबाट छिरेको चिसो बतासले गालामा स्पर्श गरिरहेको छ । जाडोको भाव छातीसम्मै पुगेको भान हुन्छ । आँत कमजोर भएको मान्छेलाई अगेनाछेउमै राख्दा पनि त्यो काँपिरहन्छ भन्छन् । म अचेल त्यही मान्छे भएको छु ।
***
देशमा नयाँ मन्त्रीमण्डल भर्खरै गठन भइसकेको छ । राजनीतिको तालमेलले यसरी दिनहुँ रङ्ग बदलिरहेको छ कि मानौँ नेपालको राजनीति छेपारो हो । म छेपाराहरूको सम्मेलनमा मूकदर्शक भएर थपडी बजाउन पोख्त भएकाले राजधानी तानिएको छु । आफ्नो दल सत्तामा पुगेको खुसी देख्न मलाई बोलाइएको छ । राजनीति आखिर चाकडी त रहेछ। म चाकडीको बजारमा उत्रिएको नयाँ चाकडीबाज भएको छु । अझ भनौँ राजनीतिको नयाँ जोगी ।
***
“दाजु, ल कोटेश्वर आयो है !”, ढोकाबाट आवाज सुनिन्छ ।
म ओर्लिन्छु । कोटेश्वर उस्तै व्यस्त छ, आफ्नै दिनचर्यामा रमाइरहेको ।
अर्को बसको सहचालक “साँगा, बनेपा, पनौती” चिच्याउँदै आएको छ । गाडीमा भर्खरै चढ्न लागेको मान्छे म चिन्दछु । ट्राफिकको भीडमाझ त्यो चिनजानको व्यक्ति ऊ थिई । म उसलाई देख्न आएको थिइनँ । तर ऊ देखिई, सामुन्नेमै । जसरी देखिन्छ कालो रङ्ग सेतो पृष्ठभूमिमा । जसरी देखिन्छ कसैको सफेद सिउँदोमा सिन्दूरको रङ्ग ।
सेतो टी-सर्टमाथि लाभेण्डर रङ्गको कोटमा ऊ आरूको फूलझैँ खुलेकी थिई । मन ऊतिर गइरह्यो । केही मान्छेहरू धरतीजस्तै हुने रहेछन्, जस्तो रङ्ग पोखिए पनि सुहाउने । कोही मान्छे ‘ब्ल्याक होल’जस्ता हुँदा रहेछन्, जसलाई पनि आफूतिर खिच्न सक्ने । मेरा नजर एकटक उसलाई हेरिरहे । अडिइरहे।
***
हुन त मेरा लागि ऊ फगत एक बितेको सपना मात्रै हो । सपनाहरू आइरहन्छन् र उस्तै तवरले गइरहन्छन् झैँ लाग्थ्यो । तर ऊ मेरो मनबाट गएकी रहिनछे । मलाई ऊतिर नहेर्नु थियो, हेरेँ । आँखा नजुधाउनु थियो, जुध्यो । मलाई के चाहिएको थियो ? म रक्सीले कलेजो भरिएको कुनै पियक्कड जस्तो गरी ‘ब्ल्याक आउट’ भएँ । मेरो सपना कसैको हातका औँलाहरूमाझ आफ्ना औँलाहरू भरेर जीवनको नयाँ स्वप्नको बाटो कोर्दै रहिछे । उसका लाभेण्डर कोटहरू श्याम श्वेत देखिए । मेरा सपनाहरू कङ्कालको रूप लिएर मगजमा नाच्न लागे । म थ्याच्च बसेँ । म किन राजधानी आएँ ? मैले भुलेँ ।
***
चिसो काठमाडौँमा हामी एकअर्काको न्यानोपन बोकेर सँगै हिँडिरहेका छौँ । अँध्यारोलाई छिचोल्दै हाम्रा पाइलाहरू सुस्त सुस्त चलिरहेका छन् । उसको अत्तरको वासनाले हावामा सुगन्ध फैलाएको छ । म उसको समीपमा पुग्छु ।
“म तिम्रो हात समाउन सक्छु ?”, मैले प्रश्न गरेँ ।
“अहँ !”, ऊ खित्का छोडेर हाँसी ।
“किन ? डर लाग्छ ?”
“समाएपछि त्यसै छोडेर जान दिन्नँ नि । गाह्रो पर्ला !”
“प्रेमको यात्रा सजिलो कहाँ हुन्छ मिस ? झिल्का लागेकै छ । म त तयार छु ।”
“जल्लाउ नि !”
“जलेरै सकिनु लेखेको छ भने त्यै सही ।”, म निडर भएँ ।
“त्यसो भए डन !”
ऊ मेरो आँखामा हेर्छे । म उसको हात समाउँछु । हाम्रा औँलाहरू एकअर्काका परिपूरक बनेर टमक्क कँसिन्छन् । उसका आँखा एक्कासि साना हुन्छन् । ऊ निहुरिन्छे । उसका आँखाबाट निस्केका आँसुले जमिन चुम्छन् । ऊ बोल्ड लेडी हो। उसको यो कोमलताले मलाई छक्क पार्छ । उसका यी आँसुका कारण म बुझ्दिनँ ।
***
हर्न बजाउँदै गइरहेका गाडीहरूले मेरो तन्द्रा भङ्ग गरे । गाडीहरूमा सवार यी मान्छेहरू हुन् कि सपनाहरूको लाम ? मेरो उपस्थितिले कुनै भयानक अवस्था सिर्जना गरेझैँ त्यो लामो लाइनले मतिर क्षुद्र नजर तेर्स्यायो, र आफ्नो गन्तव्यतिर लाग्यो । यो राजधानीले कति सपनाहरूको भार थेगिरहेको छ ?
***
“तिमी एकदमै फरक छौ । बुझ्यौ ?”, म उसको कानमा फुसफुसाएँ ।
“कस्तो ?”
“चिहानको शिरमा फुलेको सयपत्री जस्तो ।”
“हा हा ! त्यो कस्तो हो ?”
“दुःखमा पनि फुल्ने । खुसी छरिरहने जस्तो ।”
“अरू के लाग्छ ?”
“मेरो चिहानमा पनि तिमी सयपत्री भएर फुलिदिए हुन्थ्यो जस्तो लाग्छ । तिम्रो सामीप्य कहिल्यै नछुटोस् जस्तो लाग्छ ।”
“सिल्ली !”
“ए अँ ! अनि मलाई म बाँचुन्जेल तिमी मेरो अमेरिकानो भइदिए हुन्थ्यो जस्तो लाग्छ । मुड बुस्टर ।”
“हा हा । सिल्ली कम्पेरिजन ! यु नो, यु डु दिस अफन् !”, ऊ हाँसी । लाग्छ, संसारमा कतै खुसी छ भने त्यो उसको हँसिलो मुहारमा छ । तपाईँलाई भन्दिहालौँ, त्यो मुहारको हाँसो हेरिरहेको बेला जति खुसी म सायदै भेटिन्छु ।
“तिमी एकदम अचम्मको छौ के, हा हा !”, म हाँस्छु ।
***
म अतीतमा डुबेको छु । उसका कुराहरू बारम्बार यसरी तरङ्गित भइरहेछन् कि मानौँ कसैले मेरो मनको शान्त तलाउमा जोडले एउटा ढुङ्गो फ्याँकेर गएको छ। म बेचैनीमा हिँडिरहन्छु ।
यो राजधानीमा ‘सफा’को नाममा एउटा ट्याम्पोबाहेक केही छैन । बाँकी सबै फोहोर मात्र छ । केही फोहोरका थुप्रोहरूबिच म उभिन्छु । काठमाडौँमा पशुपतिपछि कसैले जिन्दगी के हो भन्ने बुझाउने हेक्का राख्छ भने त्यो यही कोटेश्वर हो झैँ लाग्छ । कोटेश्वरले धेरैलाई जीवन बुझाएको छ ।
जीवन भनेको के हो ? बाँच्नु ?
बाँच्नु भनेको के हो ? सास फेर्नु नै बाँच्नु हो या खुसी रहनु ?
दुःखी जीवनलाई जीवित नै ठान्ने कि मृत ? के दुःख नै शाश्वत सत्य हो ?
मानौँ, यो भीड मजस्तै यी प्रश्नहरूमा अनुत्तरित छ । बाँच्नकै लागि गरिने भागदौडबाहेक यहाँ केही देखिन्न चाहे त्यो जमिन होस् या आकाश ।
बाँच्नु भनेको भाग्नु हो ?
हो भने, कहाँ भाग्ने ?
कोदेखि भाग्ने ?
कहिलेसम्म भाग्ने ?
कता पुग्ने ?
कसैलाई थाहा छ ?
किन म जताबाट जसरी भागे पनि ऊमै आएर सकिन्छु ?
जीवन के हो ?
एयरपोर्टबाट एक डफ्फा यात्रु बोकेर विमान उडेको देखिन्छ ।
विमान हेरेर सोच्छु, सायद आफूलाई जहाँको माटोमा उभिँदा सकस महसुस हुन्न, त्यो माटो छान्नु नै जीवन हो ।
***
मैले आफ्ना दलका मन्त्रीहरूको र्याली छुटाइसकेको छु । फेसबुक खोल्छु ।
“देशमै रोजगारी पाइन्छ। कोही बाध्यताले बिदेसिनु पर्दैन ।”, भनिएको क्लिप बज्यो । आफ्नै दलका मन्त्रीले त्यसो भनेपछि हर्षको सीमा रहेन । मैले मनमनै जोडले थपडी बजाएँ । म जोगीको धर्म ।
एक हुल मान्छे फूलमाला लगाएर हिँडेका भेटिए ।
विजय जुलुसबाट निस्केका हुन कि ?
होइन रहेछन् । खाडी पस्ने हुल रहेछ। ती मानवहरूको मालाभित्र उनिएका फूलहरूले खुइय्यsss सुस्केरा हाले, र मलिनो अनुहारले मतिर हेरे । दुई मलीन चेहराहरूको आँखा जुध्यो । भलाकुसारीमा एउटै प्रश्न मात्र देखा पर्यो, “को छ संसारमा ? सुख के हो ?”
***
अचेल कलिला सपनाहरू गलाभरि माला भिर्छन् । आँसु निस्कने बाटो दबाएर तिनलाई गहमै सिँगार्छन् । अनि लामबद्ध भएर हिँडिरहन्छन् एयरपोर्टतिर । यिनको उडान कहाँ गएर सकिन्छ ? जीवन कहाँसम्म उड्छ ? साँच्चै जीवन त धरतीमै झरेर पो सकिन्छ है ? यो उडान अनि केका निम्ति ? कतिन्जेलका लागि ?
सडकको अर्को लेनबाट गुज्रिएको एउटा सानो गाडीमा मेरो नजर अडिन्छ । खुला गगनमा विचरण गर्ने अठोट बोकेको एउटा सपना सानो बाकसमा खुम्चिएर आएछ । बाँचुन्जेल ढक्क फुल्ने जीवन अन्त्यमा खुम्चिएरै सकिने हो ? बाकससँगै टुसुक्क बसेर टोलाइरहेका बाका आँखामा जीवन तुहिएको देखिन्छ । बाले सन्तानको क्रिया गर्नुभन्दा ठुलो विडम्बना के छ ?
***
वसन्त ऋतुले काठमाडौँमा ज्याकारान्डाहरू त फुलाएको छ । गुलमोहरहरू कुरूप सहरको मुहार सजाउन खटिएका छन् । मान्छेको जीवनमा वसन्त कहिले हुन्छ ?
राजधानीको सडकमा खचाखच सबै अनुहार म आफूजस्तै देख्छु । स्वप्नका दीवानाहरू । वसन्तले पालुवाको खुसी त दिने रहेछ तर डढेलो रोक्न नसक्ने रहेछ । टाढाका वनहरूमा डढेलो देखिन्छ । हुन त डढेलो कहाँ छैन ? यी गल्लीहरूमा हिँडिरहेका सबै मनहरूमा पनि डढेलो छ । यो देश आफैँ आफ्नाहरूको सपनाको हत्या गर्दै हिँड्छ । राजधानीको आकाश कालो देखिएको छ । लाग्छ, डढेका सपनाहरूको जुलुसले छपक्कै छोपेको छ राजधानीलाई।
भर्खरै समाचार आएको छ – काठमाडौँ संसारकै सबैभन्दा दूषित हावाको सहर भएको छ। कतै यो हाम्रो अन्तर्मनको डढेलोले……???
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।