जूनको सिरक ओडेर
सुत्ने बानी त परेको थिएँ
तर मक्किएका आमाका चोलीले
मनमा आगो सल्काई दियो
हो,
यही आगो निभाउन
आँखाभरि पानी बोकेर
पर्देशीएको हुँ
नभन्नु मलाई पर्देशी मान्छे
मायालुको ओठमा खुम्चिदै गएको हाँसो
अनि आँखामा बग्दै गरेको पानीले
हृदयमा आगो दन्किएको देखेपछि
रुखले झैँ ठड्याएर आफूलाई
हरियो किताबमा
मेरो पनि नाम लेखाएको हुँ
जसरी रुखका पातहरू
सुकेपछि पत्कर बन्छन्
त्यस्तै पत्कर झैँ मान्ने रहेछन्
मेरो देशको राहदानीलाई
श्रमको मूल्य तिर्नेहरूले
हो,
म त्यही पत्करमा टेकेर
धरती र आकासको दुरीझैँ लाग्ने
जीवन र खुसीको दुरी नापिरहेछु
पसिनाको धारो खोलिदिएर परदेशमा
घुड्को प्यास मेटाउन
सानो बोतल थापिरहेछु
भन्दिन म
मेरो देशले मलाई पर्देश पठायो
अहँ, हुँदै होइन
मलाई त आफ्नै पेटको भोकले
सुत्न दिएन
आमाका च्यातिएका फरियाले गिज्याउँदै
आमासँगै नजर जुट्न दिएन
प्यारीका आँखाले अभावको गीत गाएको देखेर
कपास जस्तो मनलाई उठ्न दिएन
त्यसैले, सुखको गीत गाउन
दु:खका तारहरू जोड्दै
उज्यालो भविष्यको सारङ्गी रेट्ने प्रयासमा
विदेशिएको हुँ

मेरो देशले मलाई खोज्दैन भनेर
भन्दिनँ म
मेरो सरकारले त मलाई खोजिरहेछ
हरेक चुनावमा
पार्टीको झण्डा बोकाउन
समृद्ध नेपाल अनि सुखी नेपालीको
नारा घोकाउन
बेला बेला सम्झिरहन्छ
म पुग्न भ्याउँदिनँ
त्यसैले त सरकारले मलाई पर्देशी भन्छ
पर्देशले मलाई पर्देशी नै मान्छ
त्यसो भए, मेरो स्वदेश कहाँ छ ?
झोलाको राहदानीमा मात्रै ?
या कथम् कदाचित
पर्देशमै यो मुठ्ठी श्वासले ठाउँ छोड्यो भने
कफनको बाहिर लेखिने स्टिकरमा ?
हिजो मुना-मदनको प्रत्येक पानामा
आँसु चुहाउने म
आज आफैँ मदन भएको छु
र यो मडारिएको बादल हेर्दै
जोडजोडले चिच्याएर सोध्न मनलाग्छ
क्षितिजपारि उभिएका सिंहदरबार र बालुवाटारसँग
अझै कति मदनहरूले त्याग गरेपछि
आफ्नै धरतीमा हिमालको सिरानी लगाएर
सुत्न पाइन्छ ?

दुवाकोट, भक्तपुर