छाल बारम्बार आफ्नो बेजोड अँगालोले किनारलाई
आफूतर्फ खिच्न खोज्छिन्
यौवनको प्यासले उन्मत्त
प्रेमालाप प्रतिक्षामा
लम्पसार प्रेमीजस्तो
किनार
उनको छालमय चुम्बनको
चुपचाप आनन्द लिन्छ
उनी निरन्तर किनारलाई
आफूभित्र खिच्ने प्रयत्न गरिरहन्छिन्
कुटुकुटु किनारलाई
कोट्याउँदै निल्दै
कोट्याउँदै निल्दै
जलमग्न प्रेमक्रीडामा चुर्लुम्म
डुबाए पनि
न छालले माया लगाउन बिर्सिएकी छन्
न किनार डुबेर सिद्धिएको छ
छालको माया आवेगपूर्ण छ
कहिले किनारलाई ह्वात्त पर धकेलिदिने
कहिले आफू पछि सर्ने र किनारलाई
फराकिलो बनाइदिने
किनार चुपचाप छालको मिचाईलाई सहेर
पर पर सरिदिन्छ
तर कहीँ चट्टान भएर प्रतिरोध गर्छ
सुनामीले डुबाए पनि
बाढीले बगाए पनि
छाल र किनारको प्रेम
नयाँ सिराबाट सुरु हुन्छ
जति छालले माया लगाइरहन्छिन्
त्यति नै किनारले जन्म दिइरहन्छ –
नयाँ अस्तित्वको
नयाँ पवित्र प्रेमस्थलको
तर खै कहिले बुझ्लान् मानिसहरूले
यो छाल र किनारको प्रेमको रहस्य !