०६२ सालमै गजलसङ्ग्रह प्रकाशनमा ल्याएर नेपाली साहित्यमा औपचारिक पदार्पण गरेकी गजलकार रेणुका जिसीले दोस्रो कृतिका लागि १८ वर्ष लामो प्रतीक्षा गरिन् । र, उनी कथाकार रेणुका जिसी बनिन् । फुटकर रूपमा विभिन्न सञ्चारमाध्यममा केही समयदेखि कथाहरू प्रकाशन गर्दै आएकी उनलाई ‘सनेस’ले कथाकारका रूपमा उभ्यायो । आशा गरौं – तेस्रो कृतिका लागि रेणुकाले धेरै लामो समय पर्खिनु पर्ने छैन, र उनका पाठकले पनि । अहिलेलाई भने कथाकार रेणुकासँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको वार्ता पढौं ।
===
‘सनेस’ले छोटो भए नि पाठकको मनसम्मको यात्रा गरिसकेको छ । के कस्ता प्रतिक्रिया पाइरहनुभएको छ ?
सोचेभन्दा बढी उत्साहजनक प्रतिक्रियाहरू पाइरहेकी छु । प्रतिक्रियामा प्रशंसा पनि पाएकी छु, र आलोचनात्मक सुझावहरू पाएकी छु । प्रशंसाले उत्साह दिएको छ भने आलोचनाले सचेत बनाएको छ । एउटा लेखकलाई दुवै कुरा जरुरी छ ।
के कस्ता प्रशंसा र के कस्ता आलोचना आइरहेका छन् त ?
विशेष गरेर कथामा आएका सङ्घर्षशील र बलिया महिला पात्र, कथाको समापन , भाषामा प्रयुक्त आञ्चलिकता, अलङ्कारयुक्त भाषा, मधेस र पहाडको परिवेश चित्रण आदि पक्षमा प्रशंसा पाएकी छु । एउटै कथामा किन दुइटा प्लट राख्नुभएको र केही लामा कथा बन्न सक्ने प्लटलाई किन सानो कथा बनाएर हतारमा टुङ्ग्याउनुभएको भनेर आलोचना पाएकी छु । तर आलोचना पनि प्राय: प्रेरक पाएकी छु ।
तपाईंको पहिलो कृतिमा रूपमा गजलसङ्ग्रह ०६२ सालमै आएको हो । पुस्तकाकारका रूपमा दोस्रो कृति लिएर आउन किन यति धेरै समय लाग्यो ?
साहित्यप्रति मभित्र सानै उमेरदेखि लगाव जागृत्त भएको हो । धेरै जसो लेखकहरूको जस्तो मेरो साहित्यिक जीवनको सुरुवात पनि कविताबाटै भएको हो । कक्षा ९ मा पढ्दा कविता गोष्ठीमा पुरस्कृत भएर केही किताबहरू प्राप्त गरेकी थिएँ । तिनै किताबभित्र गजल लेख्न सिकाइएको कुनै लेख थियो । सो लेखको सहायताले गजल लेख्न सुरु गरेँ । केही गजल एफएममा पठाएँ । एफएमबाट मेरा गजल नियमित वाचन हुन थाले । यसले हौसला मिल्न थाल्यो ।
०६० सालमा एसएलसी दिएपछि नतिजा पर्खुन्जेलको केही महिना फुर्सदिलो समय बिताउन पाएँ । त्यो समय म निरन्तर गजल लेख्थेँ । गीत, गजल मेरा प्रिय विधा भए । स्थानीय पत्रपत्रिकामा छापिन्थे । प्रतियोगितामा सहभागी पनि हुन्थेँ । तर त्यो मेरो सिकाइको समय थियो । सिकारु अवस्थामै मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानद्वारा गजलसंग्रह प्रकाशन गरौँ भन्ने प्रस्ताव आयो, र गजलसंग्रह प्रकाशन भयो । १३ देखि १६ वर्षे उमेरमा रहरले लेखेका ती गजहरूमा थुप्रै कमजोरी होलान्, तर त्यतिबेलाको मेरो लेख्ने बानीले पढ्ने बानीको भने अझ विकास भयो ।
त्यतिबेलैदेखि शिक्षण पेशामा पनि आबद्ध भएकाले फुटकर लेखन जारी रहे पनि किताबै निकाल्ने गरी लेख्ने योजना भने बनाउन सकिनँ । शिक्षणकै क्रममा बेनीबाट रौतहट आएँ । यता आएपछि अनुभवको बिस्तार हुँदै गयो । नयाँ भूगोल, नयाँ भाषा, नयाँ संस्कृति, यी सबैमा भिज्दै जाँदा पात्रहरू भेट्न थालेँ । कति घटना दोहोरिएका जस्ता उही घटना, तर पात्र र परिवेश मात्र फरक लाग्थे । यस्ता कारणहरूले मलाई लेख्न घचघचाइरहे । त्यसैले कथाहरू लेखेँ । संग्रह पुग्ने जति कथा भएपछि साथीभाइहरूले किताब निकाल्न प्रेरित गर्न थाले । प्रकाशक पनि भेटेँ । उहाँले पनि समयमै संग्रह निकाल्न प्रेरित गर्नुभयो । त्यसैले झण्डै १८ वर्षपछि किताब आयो । समयको यो अन्तरालमा अनुभव र अनुभूतिहरूको भण्डार एकत्रित पार्ने अवसर पाएँ । त्यसैले समय खेर गएको आभास भएको छैन ।
हाल, युवा लेखकहरूको आकर्षण उपन्यासमा भएको देखिन्छ । तर तपाईंले कथासङ्ग्रह ल्याउनु भयो । तपाईंका कथाका कथावस्तु तथा लेखनकौशल पनि उपन्यासका लागि तयार भएको भान हुन्छ । के कति कारणले तपाईंलाई उपन्यास नलेखाएर कथाहरू लेखायो ?
बजारबाट प्रभावित भइहाल्ने बेला भएको छैन मेरो । खासमा सिर्जनाको क्षेत्रमा मैले परिपक्वता हासिल गर्न अझै बाँकी छ । यतिखेर मैले मेरो लेखनप्रति पाठकहरूको ध्यानाकृष्ट गर्नुछ । उपन्यास लेखनका लागि मसँग विषयवस्तु त यथेष्ट छन् । केही काम पनि गरिसकेकी छु तर सन्तुष्ट छैन । चुनौती प्रशस्त देखेकी छु । कथा पनि त आख्यानकै विधा हो । कतिपयले कथामा अभ्यास नभई उपन्यासमा हाम्फाल्नुलाई जोखिमयुक्त कुरा भनेका छन् । त्यसैले अहिले हतार छैन । अझ कथामै अभ्यास गर्न चाहन्छु ।
भनेपछि अब प्रकाशनमा आउने कृतिमार्फत् कथाकार रेणुका जिसी उपन्यासकार बनेको देख्न पाइन्छ त ?
पक्कै पनि । तर समय तोकेर भन्न भने सक्दिनँ । उपन्यास मेरो रुचिको विषय पनि हो । उपन्यास लेखन र सम्पादनमा अलिक धैर्य पनि चाहिन्छ । मलाई हतारमा लेखेर प्रकाशन गरेर फुर्सतमा पछुताउनु भने छैन ।
‘सनेस’को कुरा गर्दा यसभित्र विविधतापूर्ण कथाहरू रहेछन् । प्रायः कथाको केन्द्रमा नारी संवेदना प्रखर रूपमा मुखरित भएको पठनाभूति मेरो रह्यो । ‘नारी संवेदना’भित्र तपाईंका आफ्नै अनुभूति र संवेदनाको प्रतिनिधित्व पनि त होलान् नि, हैन ?
महिला लेखकले लेखेकोमा सबै उसकै निजी अनुभूति हुन् भनेर बुझ्न खोज्नु हुँदैन भन्ने लाग्छ, तर धेरै जनाले प्रश्न भने यही गर्नुभएको छ । हुनसक्छ, मेरा निजी अनुभूति पनि कतै मिसिएका होलान् तर अनुभूतिभन्दा बढी मेरा बुझाइहरू मिसिएका छन् । कथामा नारी संवेदनाका कुराहरू प्रशस्त आएका छन् तर कथाको प्रस्तुति, पात्रको निर्माणमा हरेक कथा फरक हुन् भन्ने मेरो प्रयास हो । पूरै सफल हुन नसके पनि प्रयास भने गरेकी छु ।
तपाईंका कथाहरू तपाईंका अनुभूति र भोगाइहरूभन्दा जीवनका बुझाइहरूसँग नजिक छन् भन्न खोज्नुभएको हो ? अझ प्रस्टसँग भनिदिनुहोस् त !
पक्कै पनि । म मात्र होइन अन्य लेखकले पनि लेखेका सबै कथा आफैँले भोगेका मात्र हुँदैनन् । मैले जति कथा लेखेँ वा लेखिरहेकी छु ती कथा मेरा बुझाइबाट निर्देशित छन् । उसो त जीवनका बुझाइहरू पनि अनुभव र भोगाइबाट नै प्राप्त हुन्छन्, तर त्यसमा सबै आफैँले भोगेको हुनुपर्छ भन्ने होइन । मेरा वरिपरिका पात्रहरूले यी कथाको भावभूमि सिर्जना गर्न सघाएका हुन् । मैले उनीहरूका भोगाइलाई नजिकबाट आत्मसात गरेकी छु । त्यसमा आफ्नो कल्पनाशीलता मिसाएकी छु । सनेसका कथा मेरो अनुभूति या भोगाइमात्र हैन, मेरो बुझाइबाट र कल्पनाशीलताबाट मिश्रण भएर सिर्जित भएका कथा हुन् ।
पुस्तकमा सङ्ग्रहित कथाहरूले पुरुष प्रधान समाजमा नारीहरूले भोग्नु परेका शारीरिक, सामाजिक र मानसिक अवरोध (हिंसा) हरूको उजागर गरेका छन् । कथाबाट बाहिर आउँदा तपाईंले बाँचेको परिवेशमा पुरुष प्रधान समाज तथा नारीहरूको अवस्था र उपस्थितिको समग्र अवस्था कस्तो पाउनु हुन्छ ?
मेरा कथाहरू यसै समाजभित्रका कथा हुन् । समाजमा नारी पनि छन् र पुरुष पनि । दुवैबिच शरीर र चेतनामा जे जति फरक हुन्छ, ती सबै फरकपनहरू मेरा कथामा पनि आएका होलान् । समाजमा अहिले पनि महिला-पुरुषबिच विभेद छ । कतिपय विषयमा सीमानाहरू कोरिएका छन् । कतिपय कुरामा महिलाका लागि फरक आचारसंहिताहरू लागु छन् । यी सबै कारणले असन्तोष उत्पन्न गर्छ । मेरो असन्तोष म कथामार्फत् व्यक्त गर्ने प्रयासमा छु ।
कथाकारितामा प्रशंसा पाइरहेको व्यक्तिले आफ्ना कथाहरूलाई ‘असन्तोष’को प्रकटीकरण मात्र भन्दा पाठकमाथिको अन्याय भएन ?
मेरो बुझाइमा म मात्र हैन, अहिले जे लेखिएको छ ती सबै प्रायः छट्पटीकै उपज हुन् । समाजमा व्याप्त विभेद, अव्यवस्था आदिइत्यादिले मनलाई उद्वेलित पार्छ र त्यसलाई हामीले हाम्रो लेखनीमा उतार्छौँ । उतार्दा समस्या मात्र देखाउने कि, समस्याबाट ग्रसित पात्र मात्र देखाउने कि, ती समस्याहरूलाई जितेर निस्केका पात्र देखाउने भन्ने कुरा लेखकमा निहित हुन्छ । समाजमा मैले देखेका बेथितिलाई मैले लेखेँ । फरक यत्ति हो, ती बेथिति चिर्ने, जित्ने पात्रका कथा लेख्ने कोसिस गरेँ । समाजमा आनन्द भएको दिन त हाम्रो लेखनको धार पनि पक्कै अर्कै होला ।
केही कथाहरूले बालमनोविज्ञानका साथै सामाजिक अन्धविश्वास र कुसंस्कारलाई पनि सम्बोधन गरेको छ । यसमा तपाईंको शिक्षण अनुभवको विशेष योगदान रहेको मेरो व्यक्तिगत अनुभूति रह्यो । खास कुरो के हो ? बताइदिनुहोस् न ।
खासमा सनेसभित्रका धेरै कथाको जन्म मेरो शैक्षिक अनुभवका कारण सम्भव भएको हो । म अहिले मधेशमा छु । सरकारी विद्यालयमा शिक्षण गर्छु । सरकारी विद्यालयमा समाजका विपन्न परिवारका बालबालिकाहरू नै बढी पढ्छन् । तिनै विद्यार्थीहरुमार्फत् तिनका परिवारहरूसित पनि भेटघाट हुन्छ । तिनका सुख, दुःख, समस्यालाई नजिकबाट नियाल्न पाएकी छु । म अरू पेशामा भएको भए सनेसका यी कथाहरू सायद लेखिने थिएनन् । अरू नै केही विषयमा लेखिन्थे होला ।
एउटा व्यक्तिगत प्रश्न । तपाईँ पेसाले शिक्षिका । आफ्नै मन्टेस्वरी पनि सञ्चालनमा छ क्यार । एउटी आमा, सन्तानप्रतिका दायित्वहरू पनि हुने नै भए । सामाजिक सञ्जालमा पनि सक्रिय नै देखिनु हुन्छ । अनि साहित्य लेखनमा सधैं सक्रिय । यो समग्र सक्रियताको राज के हो ? समय त तपाईंसँग पनि उही नै हो, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
म पेसाले शिक्षक र प्रशिक्षक हुँ । नियमित अध्यापनबाहेक प्रशिक्षणका क्रममा यात्रा गरिरहेकी हुन्छु । कहिलेकाहीँ महिनामा एउटा पनि शनिबार आउँदैन आफ्नो लागि । यस्तोबेला परिवारको साथ सहयोग चाहिन्छ । सहयोगी जीवनसाथी र बुझ्ने छोराछोरी भएपछि असहज नहुने रहेछ ।
म मेरो व्यस्ततामा खुशी छु । किशोरावस्थामा चक र डस्टर बोकेर कक्षाकोठामा प्रवेश गरेकी मैले १७ वर्ष बढी यो पेसामा बिताएँ । यो क्रम निरन्तर छ । सिकाउनु मेरो रहरको विषय पनि हो । म आफ्नो पेसामा अपडेट हुन र सिकाइमा नयाँपन ल्याउन कोसिस गरिरहेकी हुन्छु । शिक्षामा गर्नु पर्ने र गर्न सकिने कार्यहरू धेरै छन् । सरकारी विद्यालयका आफ्नै सिमितता हुन्छन् । एक्लो शिक्षकको चाहनाले उसले आफ्नो विषयमा मात्र फरक तवरले जान सकिने रहेछ । यस्ता असन्तुष्टिले विकल्प खोजी गर्न सघाउ पुग्दो रहेछ ।
जागिरे जीवन सुरुवात भएपछि आमा बनेँ । मन्टेश्वरी आफ्नै आवश्यकता पूर्ण गर्न सन्चालनमा ल्यायौँ । पछिल्लो समय विश्वव्यापी रूपमा शिक्षामा नवीनतम चिन्तन र आयामहरू आएका छन्, तर हाम्रा, अझ मधेसका अधिकांश सरकारी विद्यालय पुरातन तवरले घिस्रिरहेका छन् । शिक्षामा गर्न सकिने धेरै कामहरू छन् । त्यही हुटहुटीले व्यवसायिक रूपमा पनि शिक्षणसँग सम्बन्धित क्षेत्रमा सहकार्य गरिरहेकी छु ।
सामाजिक सञ्जालचाहिँ अधिकांश समय म फ्रेस हुन मात्र चलाउँछु । कामका दौरानको थकान कम गर्ने र मनमा उत्पन्न विचार साझा गर्ने काम गर्छु । यसबाहेक महिला भएका कारण केही अतिरिक्त दायित्वहरु पनि छन् । ती सबैलाई मैले व्यवस्थापन गर्नै पर्छ । त्यसैले समय व्यवस्थापन मेरा लागि चुनौतीको विषय हो । तर यसको नकारात्मक बाहेक सकारात्मक पाटो पनि छ । मैले लेख्ने क्रममा कुन विषयलाई कहिले लेख्ने भनेर प्राथमिकता तोक्ने गरेकी छु । पढ्ने कुरामा पनि त्यही सूत्र लागु गर्छु । थोरै लेखुँ तर राम्रो लेखुँ भन्ने सोच मेरो समय व्यवस्थापनको यही प्रक्रियाको उपज हो ।
अन्त्यमा, तपाईंलाई बताउँ-बताउँ लागेको तर मैले सोध्न छुटाएको केही छ ?
म लेखनमा संलग्न या रुचि राख्ने सबैसित सानो अनुरोध गर्न चाहन्छु । वर्षमा केही दिन फुर्सद निकाल्नुस् र कुनै सरकारी वा सामुदायिक विद्यालयमा गएर स्वयंसेवकको रूपमा शिक्षण गरिदिनुस् । यसले विधार्थीहरूलाई पनि फाइदा हुन्छ र समाजभित्रका आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विभेदलाई तपाईँले सहज रूपमा बुझ्ने अवसर पनि पाउनु हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।