विषय प्रवेश
रामप्रसाद कोइराला पाल्पाको बगनासकाली स्थित दर्लमडाँडामा जन्मेका हुन् । उनले जीवनको लामो अवधि युनिसेफमा काम गरी बिताएका छन् । आफ्नो जीवनका इतिवृत्तात्मक घटना, अनुभूति र मान्यतालाई प्रतिबिम्बित गर्ने उनको ‘मेरी उनी र म’ आत्मकथा (२०७९) बजारमा आएको छ । यहाँ मेरी उनी भनेर आफ्नी हजुर आमालाई सङ्केत गरिएको छ । बाल्यकालमा आमाको अभावलाई पूर्णता दिई माया, ममता र संरक्षण गरी हुर्काउने आदर्श व्यक्तित्वका रूपमा हजुरआमा कुविजादेवी कोइरालालाई चित्रण गरिएको छ । आफ्नो जीवनको सबभन्दा आदर्श व्यक्तिका स्थानमा हजुरआमालाई राखेर उहाँप्रतिको आदर, निष्ठा र भूमिकालाई जीवन्त राख्न प्रस्तुत कृति प्रकाशनमा ल्याइएको स्पष्ट हुन्छ ।
लेखक रामप्रसाद कोइरालाको जीवनका बहु आयामिक पाटा, अन्तरङ्ग अनुभूतिका साथै आफूले जीवनसम्बन्धी राखेका मान्यतालाई पनि यहाँ प्रकट गराइएको छ । कृति लेखनको सन्दर्भका साथै अशिक्षा र अन्धविश्वासले गाँजेको नेपाली ग्रामीण समाजमा बाँचेका हजुरआमाहरूको सुझबुझपूर्ण विचार, मानवीय सेवा भाव तथा कल्याणकारी कार्यलाई आजका पाठकसमक्ष सम्प्रेषण गर्ने कुरामा पनि कृति सफल रहेको छ । यसको प्रकाशनसँगै राम कोइरालाभित्र रहेको संवेदना र विषयलाई उठाउने कला विशिष्ट प्रकृतिको रहेको प्रस्ट हुन्छ । यस कृतिले रामप्रसाद कोइरालाभित्र रहेको लेखक व्यक्तित्व प्रकाशमा आएको छ ।
शीर्षकीय विन्यास
प्रस्तुत कृतिमा लेखकले आफ्नो अन्तरङ्ग जीवनलाई प्रस्तुत गर्ने क्रममा विचार र प्रसङ्गलाई समेट्ने गरी शीर्षकीय विन्यास गरिएको छ । हजुरआमाको त्याग र संस्कारलाई शिरमा राखेर हिँडेका लेखकले उनैसँग जोडिएका घटना र आफ्नो जीवनका उतारचढावलाई प्रकाश पारेको हुनाले कृतिको शीर्षक ‘मेरी उनी र म’का रूपमा चयन गरेका छन् ।
यसै गरी कृतिभित्र विचारलाई गति दिने क्रममा घटना प्रकरण र सिलसिलालाई जोड्ने गरी विभिन्न शीर्षकहरूको चयन गरिएको छ । वर्णन गरिएका कुराहरू नपढ्दै यी शीर्षकहरूले पाठकलाई तान्न सक्ने क्षमता राखेका छन् । ‘युनिसेफ र उनीसेफ’भित्र पस्दा युनिसेफले बोकेर हिँडेको विचार र मार्गलाई युनिसेफको नामसम्म नसुनेकी हजुरआमाका कर्म र व्यवहारले स्थापित गरिसकेको मर्म यहाँ प्रस्तुत भएको छ ।
दुई वटा खण्डको आयोजना गरी एक सय पच्चीस वटा शीर्षकद्वारा कृति तयार भएको छ । खण्ड एकभित्र अठार वटा शीर्षकमा उनी अथवा हजुरआमा नै केन्द्रमा रहेकी छन् । खण्ड दुईमा एक सय सात वटा शीर्षक रहेका छन् । यहाँ लेखक रामप्रसाद कोइरालाको वंश परम्परा, जन्मपूर्वको पारिवारिक सामाजिक अवस्था, बाल्यकालमा भोगेका तिता-मिठा अनुभूतिहरू, हजुरआमाबाट प्राप्त माया र संरक्षण, संस्कार, संस्कृति, शिक्षा प्राप्ति, जागिर खाँदाका अनुभूति, युनिसेफसँगको सम्बद्धता, आफूले गरेका सङ्घर्ष, प्रेम, दाम्पत्य जीवन, सन्तान प्राप्ति, सन्तानको सुखको खोजी, झेल्नुपरेका अनुभव आदिको स्वाभाविक प्रस्तुति यहाँ भएको पाइन्छ । कृतिको आद्योपान्त वर्णनमा हजुरआमाको प्रभाव पोतिएको देखिन्छ ।
विषय र सन्दर्भलाई प्रस्तुत गर्ने क्रममा शीर्षकको चयन गरी रोचक शैलीमा अनुभूतिलाई प्रकाशमा ल्याइएको छ । प्रत्येक शीर्षकमा प्रवेश गर्दा नै पाठकभित्र कौतुहलता जन्माउने सामर्थ्य कोइरालाको लेखनमा रहेको छ ।
महत्त्वाकाङ्क्षा र प्राप्ति
प्रस्तुत कृतिको अध्ययन गर्दै गर्दा लेखकभित्र सलबलाएका जीवनका आकाङ्क्षाका साथै भविष्यको कल्पनाका कुराहरू पनि प्रस्तुत भएका छन् । समग्रमा लेखकीय जीवनका विविध आयाम र जीवन बोध यहाँ झल्किएको छ । आफ्नो पृष्ठभूमिबाट अरूलाई समेट्नुका साथै अन्य व्यक्ति वा पात्रका पृष्ठभूमिबाट आफूलाई प्रकट गराउने काम पनि यहाँ गरिएको छ ।
जीवनमा महत्त्वाकाङ्क्षा राखेर मात्र हुँदैन, त्यसलाई पूर्णता दिनका लागि आवश्यक ईख र सङ्कल्प चाहिन्छ भन्ने मान्यता यहाँ प्रस्तुत भएको छ । कर्म र उत्तरदायित्वप्रतिको निष्ठा भाव अनि प्राप्त सफलताप्रति सन्तुष्ट हुनुपर्ने कुरा पाठकमा पनि सञ्चारित भएको छ । आफूलाई विश्वास नगरेकाहरू पनि लगाव र कार्यसम्पादन देखेर प्रभावित भई विश्वास गर्न थालेको सन्दर्भ पनि यहाँ आएको छ । मानिसभित्रको अहम् चेतनाले नै उसलाई अगाडि बढ्न उत्प्रेरित गर्छ भन्ने कुरा राम कोइरालाको जीवनमा प्रकट भएको छ । आफ्नो प्रतिष्ठा र नैतिक मूल्यलाई बन्धकमा राख्न नचाहेकाले कसैप्रति झुकेर आफ्नो काम बनाउने कुरामा कहिल्यै नलागेको कुरा लेखकीय स्वीकृतिका रूपमा आएको छ ।
कर्मलाई महत्त्व दिने लेखक पद र प्रतिष्ठाभन्दा ठुलो कुरा मानिसको जिम्मेवारी र नैतिक इमान रहेको कुरामा विश्वास गर्दछन् । यही कारण जीवनका खुट्किलाहरूमा सफलता पनि प्राप्त गर्दै गएका छन् । उद्देश्य बोध र जीवन बोधका कारण लेखकीय अभीष्ट माथि उठेको अनुभव हुन्छ ।
आफूसँगै पाठकलाई हिँडाउने प्रस्तुति कला
प्रस्तुत कृतिको अध्ययन गर्दा लेखकले धेरै देशमा गई काम गर्ने क्रममा त्यहाँका अनुभवहरू सँगालेको देखिन्छ । बाल्यकालका सन्दर्भहरूको प्रस्तुति अनि पढाइ तथा जागिरे जीवनको सुरुको अवस्थालाई सजीव रूपमा प्रस्तुत गरिएको छ । इन्डोनेसिया, सुडान, पूर्वी टिमोर, लाओस, भियतनाम, एरिस्ट्रेया लगायतका देशहरूको द्वन्द्वग्रस्त अवस्थाको झलकका साथै त्यहाँ युनिसेफका माध्यमबाट गरिएका राहत र उद्धारका कार्यको झलक प्रस्तुत हुँदा पाठकका मानसपटलमा सचित्र बिम्ब अङ्कित हुन पुग्छ ।
लेखक आफू जहाँ जहाँ विचरण गर्छन् सँगै पाठकलाई पनि हिँडाउन सक्छन् भन्ने कुरा कृति पढेर मात्र अनुभूति गर्न सकिन्छ । स्वदेशका सुगम तथा दुर्गम ठाउँमा होस् वा विदेशका वैभवयुक्त अनि द्वन्द्वले गाँजेका ठाउँ र परिस्थितिलाई पढ्दा पाठकले आफै साक्षात्कार गरेको अनुभूति गर्छ । यात्राका पट्यार लाग्दा परिस्थिति, जातीय वा साम्प्रदायिक दम्भले गर्दा निम्त्याइएका द्वन्द्व, आगजनी तथा भयग्रस्त परिवेशको झलकका क्रममा पाठक पनि साक्षी बसेर नियालिरहेको अवस्था देख्न सकिन्छ । छोरीको बहिरोपन र उनलाई उचित ठाउँमा शिक्षा प्रदान गर्नका लागि झेल्नुपरेका प्रतिकूलताका साथै संयोगवश प्राप्त भएका खुसी र अवसरहरूमा पाठक स्वयं सामेल हुन पुगेको अनुभूति गराउने काम यहाँ भएको छ ।
यस्तो परिस्थिति निर्माण गर्ने लेखकले आफूसँगै पाठकलाई हिँडाउन सफल भएका छन् ।
पात्रको भूमिका अनुरूपको मूल्याङ्कन
लेखक रामप्रसाद कोइरालाको महत्त्वपूर्ण पक्ष विषय वा प्रवृत्तिलाई हेर्ने र विश्लेषण गर्ने तथ्यपरक दृष्टिकोण हो । व्यक्तिले आफूप्रति गरेको व्यवहार वा सम्बन्धका आधारमा उसलाई उपस्थित गराउने काम यहाँ गरिएको छ । लेखकको आदर्श र अनुकरणीय व्यक्तिका रूपमा हजुरआमा कुविजादेवी रहेकी छन् ।
हजुरआमाका कर्महरूको छाया बोकेर आफू आजपर्यन्त हिँडिरहेको विचार यहाँ व्यक्त भएको छ । प्रस्तुत कृतिलाई हजुरआमाप्रति समर्पित गर्नुले पनि उक्त कुरालाई पुष्टि गर्दछ । हजुरआमामा निहित सुझबुझपूर्ण व्यवहार, बहु आयामिक भूमिका, सन्तानप्रतिको जिम्मेवारी, छिमेकी र नाता सम्बन्धप्रतिको सहिष्णु व्यवहार, कर्मप्रतिको निष्ठा, सबैप्रति देखाउने सम भावको मुक्तकण्ठले प्रशंसा गरिएको छ । हजुरआमाले जस्तो उच्च स्थान र महत्त्व हजुरबुबा, बाबा, आमा, काका, काकी, दाजुभाइ कसैले पनि प्राप्त गरेको देखिँदैन । व्यक्तिहरूका बोलीचाली, भूमिका र योगदानलाई यथार्थ रूपमा झल्काउने काम यहाँ गरिएको छ ।
बाबाले आफूलाई सुधार्नका लागि चासो र चिन्ता लिए तापनि सहज र मृदु व्यवहार प्राप्त गर्न नसकेको मर्म व्यक्त भएको छ । आमा, परिवार र समाजबाट उपेक्षित बन्नुका कारणले आमाको मायाबाट वञ्चित हुनुपरेको पीडा ठाउँ ठाउँमा मुखरित भएको छ । परिवारका अन्य सदस्यका साथै आफ्नो कर्म क्षेत्रमा ठोकिन आएका अनुकूल तथा प्रतिकूल चरित्रहरूको प्रस्तुति पनि यथोचित रूपमा भएको पाइन्छ । विचारको प्रस्तुति र प्रवृत्तिलाई हेर्दा लेखकभित्र आलोचनात्मक चेत पनि स्वाभाविक रूपमा सलबलाएको देखिन्छ । कसैप्रतिको आग्रह वा दुराग्रह नभई जेजस्तो चरित्र र प्रवृत्ति छ सोही रूपमा झल्काउने काम गरिएको छ ।
नियतिवाद र कर्ममा विश्वास
रामप्रसाद कोइरालाको प्रस्तुत कृतिमा लेखकीय जीवन सघन रूपमा प्रतिबिम्बित भएको छ । लेखकले कर्मवादमा विश्वास गरी दह्रो रूपले पाइला चालेकाले जीवनमा सफलता प्राप्त गरेको देखिन्छ । आफ्ना अगाडि आइलागेका चुनौतीहरूलाई संयमपूर्ण तरिकाले सामना गरी अगाडि बढ्ने कुरामा लेखकभित्र निहित आत्मविश्वासले काम गरेको छ । नियति निर्दिष्ट कुरालाई टार्न नसकिने मान्यतालाई स्वीकार गरी अगाडि बढ्ने सुझ लेखकमा रहेको छ । ईश्वरप्रतिको आस्थाका साथै भाग्यवादप्रतिको विश्वास पनि ठाउँ ठाउँमा भेटिन्छ । आफ्नो संस्कारप्रतिको आस्था र सामाजिक मूल्य बोध पनि लेखकमा रहेको छ । ‘कर्म गर तर फलको आशा नगर’ भन्ने गीतको मार्गदर्शनप्रतिको विश्वास लेखकभित्र रहेको छ ।
हजुरआमालाई आदर्शको प्रेरकका रूपमा प्रस्तुत गरी विभिन्न प्रतिकूलतासँग जुधेर जीवनलाई सार्थक बनाउने प्रेरणा उहाँबाटै प्राप्त गरेको कुरा पनि व्यक्त भएको छ । आमा जीवित रहे तापनि नियति निर्दिष्ट तारतम्यका कारण आमाको वात्सल्यबाट विमुख हुनुपरेको कुरालाई मार्मिक रूपमा उठान गरिएको छ । कर्ममाथिको निष्ठाका कारण कुनै खराब प्रवृत्तिसँग सम्झौता नगरी आफ्नो विचारमा अडिग रहेको अभिव्यक्तिका साथमा व्यक्तिले आफ्नो निष्ठा गुमाउन नहुने सन्देश प्रवाहित गरिएको छ ।
मानवतावादमा आस्था र सहिष्णु व्यवहार
लेखक कोइरालाकी हजुरआमा कुविजादेवी कोइराला अशिक्षित गृहिणी भएर पनि तत्कालीन समयमा मानवीय हित र कलाकारी काममा लागेकै कारण लेखकभित्र मानवतावादी विचार संस्कारका रूपमा उठेको देख्न सकिन्छ । मानिस भोको छ कि अघाएको छ ख्याल राख्ने अनि इष्टमित्रको सहयोगमा सधैँ जुट्ने प्रवृत्ति हजुरआमाको रहेको छ । गर्मीको समयमा बाटामा हिँड्ने मानिसका लागि चौतारोमा पानी राखिदिएर प्यास मेटाउने काम गरेकी हजुरआमाले पानीको महत्त्वलाई बुझेको र त्यही धर्म र प्रेरणाले आफू लामो समयसम्म युनिसेफमा रहेर द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पानी खुवाउने काममा लागेको यथार्थलाई यहाँ प्रकाश पारिएको छ । सबै मानिस बराबर हुन्, मान्छेको एउटै जात हुन्छ त्यसैले सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने आदर्शलाई बोकेर हिँडेको स्वीकृति यहाँ पाइन्छ ।
आफ्ना मान्यता र संस्कारको छापबाट भने मुक्त हुन नसकेका सन्दर्भहरू पनि केही सन्दर्भमा उल्लेख भएका छन् । मूलतः मुस्लिम र क्रिस्चियनहरूको द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्दा कसैप्रति पूर्वाग्रह नराखी समन्वयपूर्ण तरिकाले सहिष्णु व्यवहार प्रदर्शन गरेको देख्न सकिन्छ । मानिस विवेकशील प्राणी भएकाले झगडा होइन मित्रतामा रमाउनुपर्छ भन्ने दृष्टिकोण लेखकको रहेको छ । छोरीको उपचार तथा उनको भविष्यका बारेमा चिन्तन गरी व्यवस्थापन गर्ने कुरामा पनि सुझबुझपूर्ण उपाय खोज्नुले रामप्रसाद कोइरालामा निहित संयम र विवेकको पाटोलाई अध्ययन गर्न सकिन्छ । देशमा विद्यमान विकृति र प्रदूषणलाई पनि प्रसङ्गअनुसार प्रस्तुत गरिएको छ । मानवीय हित र कल्याणका कार्यमा जीवनलाई समर्पित गरेका कोइरालामा मानवतावादी जीवनवादी चेतना प्रबल रहेको देखिन्छ ।
विविधताको स्वाद
प्रस्तुत कृति मूलतः लेखकको आत्मकथा हो । विगतका घटना र प्रवृत्तिहरूलाई स्मरण गरी लेख्ने काम यहाँ गरिएको छ ।यसमा धेरै कथाहरू समेटिएर आएका छन्, समष्टिमा उपन्यासको धर्म पनि यहाँ पाइन्छ । कविता र काव्यको छनक र प्रवाह पनि उत्तिकै सघन रूपमा प्रस्तुत भएको छ । वर्णनको वस्तुता र परिदृश्यहरूको झलकले नाटकीयतालाई पछ्याएको अनुभूति हुन्छ । निजात्मकता र निबन्धको धर्म पनि छताछुल्ल बनेर आएको छ । त्यसैले कृति पढ्दै जाँदा पाठकले विविधताको स्वाद पाउँछ । आफैले भोगेको कथा व्यथा र समस्या भेटाउँछ अनि आफ्नै जीवनका घुम्ती र मोडहरूमा पुगेको महसुस गर्छ । उत्तरआधुनिक प्रवृत्तिभित्रको विधाभञ्जन र विधामिश्रणको साक्षात्कार यहाँ गर्न सकिन्छ ।
कृतिमा प्रस्तुत भएका विभिन्न पात्र र तिनका प्रवृत्तिले औपन्यासिक यथार्थलाई पछ्याएका छन् । विभिन्न पात्रहरूका मनभित्र रहेका कुरालाई उनीहरूकै तहबाट कवितात्मक रूपमा प्रस्तुत गर्न लगाएर काव्यात्मकताको रङ दल्ने काम पनि भएको छ । लेखकले जीवनमा भोगेका घटना, भेटेका व्यक्ति र अनुभूति गरेका कुरालाई संवेदनशील रूपमा उठाउँदा आत्मपरक लेखनको धर्म चुलिन पुगेको कुरा स्पष्ट हुन्छ ।
आफ्नी हजुरआमालाई शीर्ष स्थानमा राखी अन्य व्यक्तिहरूलाई सहायक भूमिकामा राखिएको छ । आमासँगको बिछोड वा नियतिले निम्त्याएको परिबन्दलाई अनुभव गर्दा पाठकका आँखा पनि रसाउन पुग्छन् । लेखकको सफलतामा पाठक पनि सामेल भई खुसी मनाइरहेको अनुभव हुन्छ । लेखक आफ्नो धरातलीय परिवेशमा उभिएर आम मानिसको प्रवृत्ति र मनोवृत्तिलाई समेट्ने काम गरेका छन् ।
यही विविध भाव र स्वादको संयोजन भएकै कारण प्रस्तुत कृति रोचक बन्न पुगेको छ । कृति पढ्न थालेदेखि नभ्याउँदासम्म पाठकमा जिज्ञासा जगाएर निरन्तर तानिरहन सक्नु नै कृतिको सफलता हो ।
निष्कर्ष
रामप्रसाद कोइराला समाजसेवा र मानव सेवामा खटिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित व्यक्तित्व बनेका छन् । आफ्नो जीवनको छ दशकका उतारचढावलाई आत्मकथाका रूपमा प्रस्तुत गरी एक सफल लेखकका दर्जामा दरिएका छन् ।
दरुङ्गाबाट उठेको यिनको व्यक्तित्व देश तथा विदेशका मोर्चामा खडा भई परोपकारका कार्यमा समर्पित भएको छ । आफ्नो सफलता र प्राप्तिको सम्पूर्ण श्रेय उनी वा हजुर आमालाई दिइएको छ । हजुरआमाका पृष्ठभूमिबाट सम्पूर्ण नारी जगत् र धर्ती माताप्रतिको आस्था पनि कृतिमा प्रतिबिम्बित भएको छ । नारीभित्रको त्याग र संयमलाई पनि यहाँ प्रकाश पारिएको छ । कुल चार सय छपन्न पृष्ठमा निर्मित प्रस्तुत पुस्तकको आवरण पृष्ठ अर्थपूर्ण र आकर्षक रहेको छ । विद्वान् तथा साहित्यकारहरूका भूमिका लेखन र टिप्पणीले पुस्तकको ओजलाई अझ माथि उठाएको छ । आफ्नो कुरा गर्दा समाजका कुरा, देशका कुरा, परिवेशका कुरा, विश्वका कुरा, समग्र सृष्टिका कुरासमेत पुस्तकमा समेटिएर आएकाले पनि पुस्तक सङ्ग्रहणीय रहेको छ । पुस्तकबाट आएको रकमलाई आफू जन्मेको पाल्पाको बगनासकाली गाउँपालिकाभित्रका छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने पवित्र उद्देश्यमा पनि उनीकै छाया प्रेरणा प्रतिबिम्बित हुन पुगेको छ । यस्तो अनुकरणी कर्मका लागि लेखक स्वयंमा धन्यवादका पात्र रहेका छन् ।
‘मेरी उनी र म’ कृतिको महत्त्वपूर्ण पक्ष मानवीय संवेदना र परोपकार रहेको छ । मानिस निःस्वार्थी र समदर्शी भएमा संसारमा युद्ध, द्वन्द्व, झैझगडा हुने थिएनन् भन्ने मान्यता पनि लेखकमा रहेको छ । हजुरआमाबाट सिकेको संस्कार र सत्कर्मप्रतिको लगावले लेखकलाई स्वाभिमानी भएर बाँच्न सिकाएको निष्कर्ष निस्किन्छ । धेरै घटना र प्रसङ्गहरूले लेखकलाई नोस्टाल्जिक बनाएका छन् । लेखकीय क्षमताले गर्दा लेखकका साथमा पाठक पनि नोस्टाल्जिक बन्नु पुग्दछ वा पुग्ने बनाएको छ । कृतिमा केही यस्ता जीवन्त सन्दर्भहरू छन् जसले पाठकलाई पछिसम्मै कुत्कुत्याउँछन् । केही यस्ता पदावलीहरू छन् जसलाई दोहोर्याई तेहेर्याई पछ्याउन मन लाग्छ । गाउँ ठाउँ र बस्तीको विश्वास अनि अन्धविश्वासका झाँकीहरू पनि यहाँ प्रस्तुत भएका छन् ।
लेखकले गरेको प्रेम र विवाहका लागि आएका प्रस्तावको सन्दर्भ पनि उठाइएको छ । लेखकीय इमानदारिता र यथार्थको प्रस्तुतिप्रति लेखक सचेत रहेको देखिन्छ । आकर्षक शैली, रोचक प्रस्तुति अनि विविध विधाको स्वादका कारण पनि कृति मनमोहक बन्न गएको छ । आजको पुस्तालाई जीवनको सङ्घर्ष पढाउन, अभाव र प्रतिकूलतामा बाँच्न सिकाउन, स्वाभिमान र आत्म निष्ठालाई कायम राखी सफलताका सिँढीहरू चढ्न प्रेरित गर्न कृति सफल रहेको छ । यस महत्त्वपूर्ण कृतिद्वारा पाल्पाली माटो र नेपाली साहित्यमा पुर्याएको महत्त्वपूर्ण सुकर्मका लागि लेखकलाई हार्दिक बधाई अनि शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।