काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७९’का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा पहिलो कृतिका रूपमा काव्य (कविता, गजल, मुक्तक, महाकाव्य आदि) लेखेका पाँच लेखक समावेश छन् ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ र प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’ रहेका छन् ।

यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४२ काव्य कृतिहरूबाट ११ कृतिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।

मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिका सर्जकहरूले नेपाली काव्य विधालाई नयाँ उचाइ दिने सम्भावना बोकेको बताएका छन् । उनले भनेका छन्, “११ काव्य विधाका पुस्तकको लामो सूचीबाट छानिएका ५ पुस्तकले नेपाली काव्य साहित्यको उज्यालो पक्ष देखाएको छ । नवोदित कविहरूको विचार निर्माण, चिन्तनको आयतन, विषयवस्तुप्रतिको फरक बुझाइ र दृष्टिकोण तथा साधनालाई काव्यकृतिले प्रतिनिधित्व गरेका छन् । यसमध्येबाट पनि सर्वोत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्ने कुरामा साहित्यपोस्ट प्रतिबद्ध छ ।”

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

अर्को विधाअन्तर्गत ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूची गत आइतबार (जेठ ७) गते सार्वजनिक गरिनेछ । त्यसै गरी, गैरआख्यानअन्तर्गतको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ को पाँच पुस्तकको सूची पहिलो चरणमै प्रकाशन गरिएको छ ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।

छोटो सूचीमा पर्न सफल पाँच पुस्तकः

१. प्रिय दुश्मन – मिलन समीर

युवा कवि मिलन समीरको पहिलो कृति, शृङ्खला–कविता ‘प्रिय दुश्मन’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।

समीरले कवितामा दुश्मनलाई मीठो सम्बोधन गरेका छन् । उनले शृङ्खलाबद्ध कविताका माध्यमबाट मानिसको परस्परमा विरोधी प्रवृत्ति तथा बहुरुपी चरित्रको उजागर गरेका छन् । नेपाली साहित्यमा कमै लेखिने शृङ्खला–कविताका माध्यमबाट समीरले समग्र समाज र समाजको वैचारिकीको चिरफार समेत गरेका छन् ।

कवितासङ्ग्रहमा ‘प्रिय दुश्मन’ शीर्षकमा ३१ शृङ्खला–कविताहरु सङ्ग्रहित छन् । राजकुमार ज्ञवाली प्रकाशक रहेको कविताकृतिको प्रमुख वितरकमा सम्पूर्ण किताब रहेको छ ।

 

२. अनुभूतिको इन्द्रेनी – प्रीति आत्रेय ज्ञवाली

कवि प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको छोटो सूचीमा परेको छ ।

अनुभूति र दर्शनको मौलिक संयोजन रहेको कविताकृति ज्ञवालीको पहिलो पुस्तक हो । कविताहरुमा शून्यवादी बौद्ध दर्शन, गीता दर्शन तथा जीवन दर्शन भरपूर मात्रामा पाइन्छ । कृतिमा आधुनिक संस्कृतिसहित धर्म, दर्शन र राष्ट्रभक्ति प्रखर रुपमा मुखरित भएका छन् ।

५९ थान कविताहरु सङ्ग्रहित कविताकृतिलाई शब्दार्थ प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।

 

३. मफलर – प्रदीप रोदन

वर्तमान समयका चर्चित गजलकार प्रदीप रोदनको पहिलो कृति, गजलसङ्ग्रह ‘मफलर’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।

प्रेमिल गजलका लागि प्रसिद्ध रोदनका गजलले प्रेम मात्रै बोलेका छैनन्, समाज र दर्शन पनि बोलेका छन् । वर्तमान समाजमा विद्यमान विकृति तथा कुसंस्कारलाई उनले सरल र सरस ढङ्गले गजलमा उतारेका छन् । उनका गजलमा सत्तालाई प्रश्न तथा बदलिएको अर्थराजनीतिको चित्रण पनि पाइन्छ ।

फाइन प्रिन्टले प्रकाशनमा ल्याएको गजलसङ्ग्रह मफलरमा १ सय ८ थान गजल तथा १ सय ८ थानै फर्दहरु सङ्ग्रहित छन् ।

 

४. छन्द आराधना – रोहिणी रसिक

मोरङ निवासी कवि रोहिणी रसिककृत छन्दबद्ध कवितासङ्ग्रह ‘छन्द आराधना’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।

राष्ट्रिय एकता र स्वाधिनताको पक्षमा तथा सबै खाले देशद्रोहको विरुद्धमा मुखरित यो काव्यकृति रसिकको पहिलो हो । सङ्ग्रहित कविताहरुले साझा संस्कृति, सामाजिक मेलमिलाप, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको वकालत गर्छन् ।

कविताकृति विविध छन्दका ७२ कविता सङ्ग्रहित छन् । पुस्तकलाई रावासावा प्राज्ञिक समाज, नेपालले प्रकाशनमा ल्याएको हो ।

 

५. कर्नाली हाँस्दो छ – मिमबहादुर परियार

कवितामार्फत् आफ्नो अलगै पहिचान बनाइसकेका कवि मिमबहादुर परियारको पहिलो कृति, ‘कर्नाली हाँस्दो छ’ साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।

पुस्तकमा सङ्ग्रहित कविताहरुमा राज्यबाट अपहेलित कर्णाली तथा जातव्यवस्थाबाट प्रताडित दलित समुदायको भावना मुखारित भएर आएका छन् । कविताका माध्यमबाट परियार मानवताविरोधी जातीय छुवाछुत विरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । अझ भन्दा, राज्य–सत्ता विरुद्ध धाबा नै बोलेका छन् ।

समता बुक्सले प्रकाशनमा ल्याएको कविताकृतिमा ३५ वटा कविताहरु सङ्ग्रहित छन् ।