सामाजिक यथार्थ धरातलमा उभिएका नेपाली उपन्यासहरूमा लैनसिंह वाङ्देल मुलुकबाहिरबाट शुरु भएको देखा पर्दछ । यसपछि ‘आज रमिता छ’ (इन्द्रबहादुर राईलाई) एक पालुवा अनेकौं याम (दौतल विक्रम विष्ट) खैरेनी घाट (शङ्कर कोइराला) ओझेलमा पर्दा (ताना शर्मा) घामका पाइला (ध.च. गोतामे) साथसाथै लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ र ‘ब्रह्मपुत्र छेउछाउमा’ले प्रथम पङ्तिको क्षेत्र ओगट्न सकेको देखिन्छ । वाङ्देलको मुलुकबाहिर संवेग प्रसारण क्षमतामा न्यून भए तापनि औपन्यासिक सङ्गठन भने विस्तृत र जीवन परक केन्द्रबिन्दुमा उनिएको देखा पर्दछ । सामाजिक आदर्श वा सिद्धान्तको आग्रह हीनता यसमा अझै इन्द्रबहादुर राई, दौलतविक्रम विष्ट, ध.च गोतामे, शंकर कोइराला, ताना शर्माका साथसाथै लीलबहादुर क्षेत्रीमा पनि विलुप्तता नै देखा पर्दछ तर पनि लीलबहादुर क्षेत्रीमा अध्ययनको सूक्ष्मता प्रबल रूपमा देखा पर्दछ ।

“यिनको यात्रा वनवासको निम्ति होइन न त घरवासको निम्ति हो ….कहाँको यात्रा कहाँ गएर टुङ्गिन्छ । यसको निश्चित ठाउँ कहाँ छ …।”

“सूर्यको प्रथम संस्करणसाथ आजबाट धने र मैनाको नयाँ जीवनको प्रारम्भ हुनेछ … त्यो जीवन अतीतको भन्दा अझ राम्रो होस् … अझ राम्रो होस् ।”

अन्तिम पृष्ठका लगभग अन्तिम अभिव्यक्ति रूपमा व्यक्तिएको बसाइँका यी उद्धृत सन्देशले सत्य सन्निकट अध्ययनमा समय खर्चिएको छ कि भन्ने आभासलाई लेखकको भूमिकामा मेरो प्रयासमा … विचार आयो, प्रवासमै आफ्नो घर बनाएर बसेका हामीहरूको भविष्य हामी बसेकै देशसँग गाँसिएको छ तापनि हाम्रो भाषा साहित्य संस्कृति नेपाली नै हो …. यसमा परेका संवाद र कयौँ शब्दहरू नेपाल काठमाडौँबाट सुदूर पूर्व धनकुटा ताप्लेजुङ, भोजपुरका भित्र गाउँजस्तो व्यवहार हुन्छ । उस्तै राखिएको छ आदि पुर्नुले पनि आफूले पिएको पानीको प्रभावलाई पच्छ्याउँदै पच्छ्याउँदै अन्ततः मूलसम्म उत्कण्ठापूर्वक पुगेर अवलोकन गरेरै तृप्तिको जाँगर चलाएको पुष्टि हुन आउँछ ।

यसैले त गोहाटी (आसाम) पुगेका लीलबहादुर क्षेत्रीको कलम नेपाली ग्रामीण जीवनको यथार्थ स्वरूप चित्रण गर्न खप्पिस देखिएको छ बसाइँमा । यसमा पात्रहरू सबै चिने चिनेजस्ता पढ्दै जाँदा आफ्नै आफैँ चलचित्र हेरेझैँ घटनाक्रमहरू आफ्नै अगाडि घटिरहेजस्ता सजीवताको कसीमा शोषक पनि आफ्नै वरपर रहेका स्वषित पनि आफ्नो आफन्तजस्तो लाग्ने देखा परेको छ ।

मैलो, ठाउँ ठाउँमा फाटेको सिरकले खुट्टादेखि टाउकोसम्म भए पनि धनेलाई निद्रा परेको थिएन । चारखुट्टे धन गन्दै नगन … को हलको गोरु नै डिग राखेर बैदार बूढासँग पाडैसहितको भैँसी चर्को ब्याजमा लिनै नमिल्ने । ऊहापोहमा २५ वर्षीय धनेको आधा रात बितिरहेको बाट शुरु भएको उपन्यास धने अर्थात् धनबहादुर बस्नेतको दुख सुख राम्रोसँग समेट्दै आएकी पत्नी १४ /१५ वर्षकी कान्छी बहिनी झुमा र तीन वर्षको बालक छोरासाथ गरिबीको गृहस्थी रूपी सागरको डुङ्गा चढेर छालहरूसँग जुधिरहेका यही गरिबीको कारण ।

बहिनी झुमाको बिहे पनि गर्न सकिरहेको हुँदैन । उनी गरिबीका कारण अभावै अभावको परिपूर्ण सम्पूर्तिको आकाङ्क्षाले भन्दा भरथेगको सन्तुष्टिकै निम्ति भैँसीको जोहोमा निष्कर्षको उज्यालो घाम पहिल्याएर धने वैदारसँग ‘लिने दिने गर्नु आफैँले आफ्नो घर सल्काउनु जत्तिकै हो भन्ने जानेरै पनि छाप लगाएर सानो पाडोलाई अघि घिसार्दै पछि पछि भैँसी आँगनमा डोर्‍याउँछ ।’

उपन्यासको यस घटनासम्म क्षेत्रीको कल्पनाशीलताले भन्दा अध्ययनको जोहोले दिन र रातलाई जोडेझैँ मानवीय अवस्थाको मनोवैज्ञानिक विश्लेषणात्मक गवेषणात्मक तल्लीनता देखाइएको छ, अर्थात् सम्भावित परिणामको आशङ्का र भरथेगको सुखद भविष्यको खुसी दुवै थरीको कम्पन पात्रद्वारा स्वाभाविक मानवीय परिस्थितिलाई चौहत्था (क्लाइमेक्स)कै  चुचुरोमा पुर्‍याएको छ जुन स्वाभाविक पनि देख्न पुग्दछ । हुन त ‘बसाइँ’ उपन्यास सिङ्गैमा अस्वाभाविकतामा नाटकीयता कतै भेटिँदैन । लेख्नको लागि लेख्नेको परिधि त्याज्य भएपछि रचनामा आउने विशिष्टता नै यही हो । चाहे भारतीय लेखक प्रेमचन्द्रको कथाकारिता होस् ।

चौथो परिच्छेददेखि त चितामा पुर्‍याउँछु भन्ने ईश्वरको वाचा अनि धनेको चिन्तनमा आधा आधामा सन्तुलन नमिलेर आधाभन्दा बढी तौल बैदार बूढाको स्वभावजन्य रापको तौलले मन बढी झुकेको थियो क्यार क्षेत्रीको कलम पनि के कम ‘‘तर मनले ताकेझैँ नै कार्य व्यवहारमा पनि बन्दै गए विश्वमा कसैले भाग्यलाई दोष दिने थिएन ।” भन्ने दार्शनिकता छाँट्दा नछाँट्दै भैँसी लिएको पुग नपुग दुई साता जति हुँदामै पाडी लम्पसार परेर एउटा ठुलो झट्काको रूपमा घटनाक्रम उभिदिन्छ । भाग्यवाद एउटा भित्ताको स्वरूपमा कमजोर असहाय विडम्बनाको भित्तो बनेर उभिदिन्छ ।

सङ्घर्ष नै जीवन हो भन्दाभन्दै भाग्य बिग्रेको बेलामा लेखेको चरोले पनि हिराको हार निल्छ अथवा हिन्दीको उखान – अभागीले खेती किया, वैल मरा सुख्खा पडा … को नियति चाहे चन्द्रमामा मानिस पुर्‍याउने धनी विकसित भूभागका नागरिकको होस् चाहे अल्पविकसित भनाउँदा नेतृत्व तहको महल र नेतृत्वमा पुर्‍याउने मतदाताको यथा स्थितिमा  आफ्नो भलो ठानेर यस्तै स्थितिका निम्ति सचेष्ट प्रवृत्ति आखिर सन् १९५७ अघि पछि मात्र होइन युगान्तकारी विज्ञानको प्रगति व्यवस्थाहरूमा ओल्टाई पल्टाई आदि इत्यादिहरूबाट एक त्यान्द्रा पराल यताबाट उता नहुँदा बसाइँहरू निरन्तर सर्दा छन् । यताबाट उता, उताबाट उता परिवर्तन र प्रभावबाट अछुतो भएर कता कता…।

उपन्यासमा धने र मुनाको प्रसङ्ग टुङ्ग्याइएको छ । यसरी नै टुङ्ग्याउनुपर्दथ्यो पर्दथ्यो । मात्र होइन टुङ्गिरहेको छ । यसरी नै युगदेखि युगसम्म आदर्शका कुरामा भाषाका चुरा चुरामा अनि गीतका भाषामा जतिसुकै चर्को स्वर जोसिलो, दर्बिलो पारा छुटे पनि ‘‘यो घर कोठेबारी आँगन जहाँ उनीहरूले जीवनको एउटा ठुलो भाग बिताए त्यसबाट टाढा हुनेछन् धेरै टाढा … टाढा भएरै पनि उकुस-मुकुस छ टाढा हुनेहरू बेला-बेलामा उनीहरू टाढिएर सुस्केराहरू गीत बनेर गुञ्जिन्छन् । उनीहरूका नौलाख तारा उदाए … बेलाबखत । समयका अन्तरालमा आज स्वरूप बेग्लै भएर घुमाउरा पाराले गाउँ, घर विकासको उजेलीमा लुटपुटिएको छ । यो उज्यालोले रूप फेरेको  छ तर गाउँ कतै कतार पुगेको छ, बहराइन पुगेको छ, अरब पुगेको छ, माटो बन्दकी राखेर पुगेकाहरू माटाकै श्राप खाएर आफन्तबाट ठगिएर या त जेलमा या त अपाङ्गताको तक्मा भिरेर या त अस्मिता टुङ्ग्याएर फर्कनु परेको छ । खेदिएर अलपत्र पर्नु परेको छ ।

उपन्यास यत्तिकैमा सकिँदैन । त्यहाँ नन्दे ढकाल उसको छोरो जो पुलपुलिएर निर्दो माथि अत्याचारमा आनन्दित हुन्थ्यो । तिनका साथै अन्य पात्रहरू गोमा घर्तिनी साथसाथै मोटे कार्कीहरू अनि झुमा पनि छ । अरू पात्रहरूको आआफ्नै बाटो भए पनि बसाइँमा झुमा लाहुरे र मोटे कार्कीको त्रिकोणात्मक वणर्न छ । फूलको रस चुसेर उडी जाने भमरा लाहुरेबाट प्रेमको उपहार स्वरूप पेट बोकेपछि अन्तिम उपाय स्वरूप भीरमा मर्न हिँडेकी झुमा संयोगवश पानी लाउन गएका मोटे कार्कीको नजरमा पर्छ अनि आफ्नो अन्तरलाई बलिन्द्र धारा आँसुका साथ यसरी बोल्न अवसर पाउँछ अनि भन्न पुग्छ,

“यो माटो बारी सम्पत्ति त के कुरा तिम्रो लागि यो जीउ नै जान्छ भने पनि सुर्ता मान्दिन कान्छी, यो मनमा तिम्रो माया कति भिजेको छ त्यो त यही मनले जानेको होला । तिम्रो मन नपाएकोले पो केही भन्दिन थेँ त  ।”

हो प्रेम पनि छ उपन्यासमा धने र मैनाको दाम्पत्य प्रेम जसमा नियतिको अभाव सङ्घर्षको जगले अडिग छ । धने र झुमाको प्रेम जो विवशतामा दायित्वको खाडल पुर्न विवस छ । मैना र झुमाको प्रेम मातृत्वसँग गाँसिएको छ अनि लाहुरेको प्रेम जो फूल चुसेर यौवन उन्माद पारेको छ अनि मोटे कार्कीको प्रेम झुमामाथि अव्यक्त तर गहिराइमा लुकेर बसेको छ जो कहिलेकाहीँ सङ्गति बिच पाए कान्छीसित बिहे गर्ने बाहेक अन्य व्यक्ति छैन ।

जब पराकाष्ठामा रागेभीरको शरण पर्न आएकी झुमा प्रेमको साँचो दर्शन पाएर नतमस्तक हुन्छे अनि थाहा पाउँछे । प्रेम यौवनताको उल्लास होइन साँचो प्रेमले त्यागिनेछ । बदलामा कोही चाहिँदैन । प्रेमको असर हृदयमा हुन्छ तसर्थ प्रेम गरिने वस्तु टाढा रहे पनि हृदयले त्यसको प्रेम अपनाइदिन्छ । त्यो कहिल्यै सकिँदैन । शारीरिक आकर्षणमा सासक्त भएर निस्कनेको प्रेम प्रेम होइन, त्यो यौवनको उमङ्ग हो, कामना हो । त्यो दुई दिन रहन्छ अनि मर्छ । यस बोधका साथै कार्कीको साँचो प्रेममा बोझले कार्कीको खुट्टामा पसारिन्छ । कार्की इस्टकोटको गोजीबाट सिन्दूरको बट्टा झिकेर सिउँदो भरिदिन्छ अनि उनीहरू नौलो बसाइँको लागि नौलो ठाउँतिर अघि बढ्छन् ।

यस प्रकारले बसाइँले ग्रामीण सामाजिक यथार्थ परिवेशलाई पर्गेल्नुका साथै बसाइँका ‘परिबन्ध’ परिभाषित स्वरूपमा ओरालिएको पनि देखा पर्दछ । धनेका मनको बसाइँ ‘भैँसी’ प्रतीकात्मक स्वरूपमा सम्पूर्ण सम्पन्नताको लागि नभएर काम चलाउने थियो तर पनि ‘मन ताक्छ मुढो बन्चरो ताक्छ घुँडो’ भनेझैँ त्यही भैँसी उसको उठीबासको कारण बन्दछ । बसाइ सराइको कारण कठिन प्रस्थानको कारण बन्दछ ।

उता यौवन भोगको अन्धवेगमा कार्कीलाई झपार्नसम्म झपारेर लाहुरेको वचनपछि लागेर परिणाममा मृत्युको शरणमा सम्म पुग्दा उही कार्कीको साँचो मागेको बसाइमा बसाइँ सर्न पुग्नु परिबन्धको पारा दुवैमा बाध्यात्मक रह्यो र पनि एउटामा अनिश्चितता अन्धकारमा छामछुम देखा पर्दछ भने अर्कोमा प्रायश्चितसहित उज्यालो भविष्यको मार्ग पहिलेको देखा पर्छ । यसरी बसाइँमा लीलबहादुर क्षेत्रीको कलममा केही नाटकीयता उर्लिए पनि नाटकीयता बसाइँका परिभाषित मार्गतर्फ डोर्‍याउन तर्फकै केन्द्रित रहँदा स्वभाविकतातर्फ नै बढ्न पुगेको देखिन्छ ।

यसरी बसाइँ उपन्यासमा दुख, पीडा, सङ्घर्षका जगमा दर्बिलो मायाको संसारको बसाइँ क्रूरता खेलहरूको बिजुली चम्काई  माया प्रेमका सच्चा हाँगाहरूका झर्नाहरूसहित भएर नेपाली ग्रामीण समाजको हिजो आज अनि भोलिसम्मका यथार्थ प्रवाहित रहेको पाइन्छ ।

धुम्बाराही, काठमाडौँ