

माल्कम एक्स
सन् १९६० को दशकमा अमेरिकी अभियानकर्मी माल्कोम एक्सको अतिवादी सोचका केही पक्षपाति थिए, केही विरोधी । उनी गोरावादको चर्को आलोचक थिए । काला जातिका भएकाले उनले जीवनमा यति धेरै विभेद र कटुता झेलेका थिए कि कहिल्यै पनि उनी गोराहरूप्रति सकारात्मक हुन सकेनन् ।
एक पटक न्युयोर्कमा सभा थियो । त्यो सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम थियो । एक जना गोरी युवती त्यो सभाकी स्वयंसेविका थिइन् । सभामा माल्कोमले चर्को चर्को शब्दमा गोराहरूको सत्तोसराप गरे । सभा सकिएपछि माल्कोमछेउ ती युवती पुगिन् र भनिन्, ‘तपाईंका कुरा ज्यादै सुन्दर छन् तर गोराप्रति बढी नै आक्रोशित भएको पाएँ । सबै गोरा खराब हुँदैनन् नि !’
जवाफमा माल्कोम एक्सले भने, ‘तिमीले हेर्दा म कटु आलोचक देखिउँला तर सत्य त सत्यै हो । गोराहरू सामान्यतः कालाप्रति सकारात्मक छैनन् । म मानिसको कर्ममा विश्वास गर्छु, उनीहरूको सुन्दर धारणामा होइन ।’
‘उसो भए भन्नुस्, म तपाईंलाई गोराप्रति सकारात्मक बनाउन कसरी सक्छु ?’ युवतीले सोधिन् ।
‘मिस, तपाईं गोराहरू सबै खराब हुँदैनन् भन्ने भ्रम पालेर आउनु भएको छ । यस्तोमा तपाईंले केही गर्न सक्नुहुन्न । तपाईंमा अहं भरिएर आएको छ र मेरा अघिल्तिर सबै उस्तै हुँदैनन् भनिरहनु भएको छ । तपाईंलाई मेरो पीडा के थाहा ? जानुस्, पहिला विभेद सहेर आउनुस् ।’
माल्कोमले निकै कडा शब्दमा ती युवतीलाई थर्काए । युवती पनि न्युयोर्कको लेनक्स एभेन्युको सभाहलबाट रूँदै बाहिरिइन् ।
पछि माल्कोम एक्सले आफ्नो आत्मकथामा लेखेका छन्, ‘मैले उनलाई त्यो बेला तिमीले केही गर्न सक्दिनौँ भनेकामा खेद छ । मैले त्यसो भन्नु हुन्थेन । उनको अनुहार सम्झन्छु, नाम बिर्सिरहेको छु । उनको टेलिफोन नम्बर मलाई थाहा छैन । हुँदो हो त… त्यो बेलाका मेरा अपशब्दप्रति म माफी माग्ने थिएँ ।’
पछि गएर माफी किन माग्ने ? बरू पहिल्यै किन नसोच्ने ? आफ्ना शब्द किन ख्याल नगर्ने ?
कहिलेकाहीँ सोच्छु…
०००

अमेरिकी राष्ट्रपति केल्भिन कुलिज
अमेरिकाका ३० औँ राष्ट्रपति केल्भिन कुलिज ‘म्यान अफ फ्यु वर्ड्स’का रूपमा चिनिन्थे । उनी यति कम बोल्थे कि पत्रकारहरू उनको मौनता वा संक्षिप्ततामा वृहद् अर्थ खोजिहरहेका हुन्थे । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि दिएको पहिलो भाषण जम्मा तीन प्याराग्राफको थियो । हुन पनि उनी त्यस्तो बेला अमेरिकी राष्ट्रपति बनेका थिए, जुन बेला पूरा मुलुक विविध किसिमका काण्डका लफडामा फँसेको थियो । यस्तो बेलामा उनले नबोलेरै काम गरी देखाए । बोलेर, गफ ठोकेर, नहुँदो आश्वासन बाँडेर आफ्नै वजन घटाउनुभन्दा बरू नबोली गर्नैपर्ने काम गरेर देखाउन उनी रूचाउँथे । त्यसैले उनी मध्यमवर्गीय अमेरिकीहरूका तारणहारका रूपमा त्यतिबेला चर्चित थिए ।
कहिलेकाहीँ सोच्छु… कि त नबोलेर जित्नुपर्छ, बोल्ने नै हो भने शब्दको गरिमा राख्नुपर्छ । त्यसो हुँदा आउँदा पिँढीले शब्दको ओज खोज्न नयाँ शब्द बनाइरहनु नपरोस् । शब्दार्थमा जुन पहिरो गएको छ, शाब्दिक पर्यावरण जुन गतिमा क्षय भइरहेको छ, त्यसले यसको मर्ममा प्रहार गरेको त छँदैछ, भोलिका पिँढीले पनि उचित शब्दको उचित अर्थ फेला पार्ने छैनन् ।
फेरि कहिलेकाहीँ सोच्छु कि, उचित शब्द के हो त ? यो कसरी प्रकट हुन्छ ? शब्दले कसरी शक्ति प्राप्त गर्छ ?
विद्वानहरू भन्छ, उचित शब्दले मर्ममा प्रहार गर्छ । यसरी प्रहार गर्छ कि मान्छे रन्थनिन्छ । भलै कसैले ठट्टामा केही भनेको होस्, त्यो शब्दले यति शक्ति उत्पन्न गर्छ कि त्यसले अदृश्य कुरालाई पनि दृश्यमान बनाइदिन्छ ।
यसका लागि एउटै उदाहरण काफी छ र म कहिलेकाहीँ १९८६ अप्रिल १ को दिन सम्झन्छु । त्यो दिन अर्बपति व्यवसायी रिचर्ड ब्रान्सनलाई अप्रिल फुल मनाउन मन लाग्यो । त्यसका लागि उनले म्युजिक विक पत्रिकामा मेरो नयाँ प्रोडक्ट भन्दै, यस्तो सानो गोजीमा अटाउने भाँडोको परिकल्पना गरेका थिए, जसमा सयौँ गीतहरू अटाउन सकोस् । त्यस किसिमको भाँडो बनाउन ब्रान्सनको कम्पनी भर्जिन रेकर्डस्ले काम गरिरहेको भन्दै त्यो कस्तो हुन्छ भन्नेबारे मिहिन रूपमा चर्चा गरेका थिए ।

म्युजिक विक म्यागेजिनका पुराना अङ्कहरू
त्यो बेला यो ठट्टा नै थियो किनभने क्यासेट चक्काको त्यो बेला निकै चल्ती थियो । सोखिनहरूका लागि एलपी रेकर्डहरू पनि उत्तिकै चलिरहेका थिए । सोनीले निकालेको वाकम्यान एक दशकदेखि नै हिट भइसकेको थियो । यस्तो अवस्थामा संगीत क्षेत्रमा नयाँ भाँडो केही चाहिएको थिएन । तर ब्रान्सन भने ठट्टा नै सही, जिकीर गरिरहेका थिए, एउटा सानो डिजिटल म्युजिक सिस्टमको आवश्यकता छ र त्यसमा हामी काम गरिरहेका छौँ। अरू कसैले त्यो काम गर्न सक्दैन ।
ब्रान्सनका लागि त्यो अप्रिल फुलको ठट्टा थियो । भर्जिन रेकर्ड्सका कर्मचारीहरूले यस ठट्टामाथि महाठट्टा गर्न नयाँ प्रोडक्ट घोषणाको पार्टी दिए ।

रिचर्ड ब्रान्सन
ब्रान्सनले लेखेका मिहिन शब्दहरूले अरू कसैलाई च्वास्स च्वास्स घोचिरहेको थियो र ती व्यक्ति थिए, स्टिभ जब्स । उनले त्यो लेखनलाई गम्भीरतापूर्वक लिए । आफैँले स्थापना गरेको कम्पनी एप्पलबाट निकालिएका जब्सले एप्पललाई ‘देखाइदिन’ भनेर त्यसको नक्कल गर्दै ‘नेक्स्ट’ कम्पनी स्थापना गरेका थिए । हाते डिजिटल म्युजिक सिस्टमजस्तो केही नयाँ प्रडक्ट ल्याएर उनी तहल्का मच्चाउन चाहन्थे । उनले ब्रान्सनका ठट्टा रूपी शब्दमा एउटा व्यापक व्यापारको सम्भावना देखे ।
पछि ‘नेक्स्ट’ घाटामा गयो र कम्पनी एप्पललाई नै बेच्नु पर्यो । पछि उनी एप्पलका प्रमुख कार्यकारी भएर आए । कम्पनीमा पुनः नियुक्ति पाएलगत्तै उनले सोही डिजिटल म्युजिक सिस्टममा काम गरे र बजारमा जुन प्रडक्ट आयो, त्यसको नाउँ थियोः आइपड । आइपडले सङ्गीत उद्योगलाई नै परिवर्तन गरिदियो । त्यति मात्र होइन, घाटामा चलिरहेको एप्पल कम्पनीको सञ्जीवनी बुटीसमेत त्यही आइपड रहेको प्रमाणित भयो ।
कहिलेकाहीँ सोच्छु… शब्दको शक्ति कति सशक्त हुन्छ ! कसैका लागि त्यही शब्द हावा, उडन्ते, काम नलाग्ने, वाहियात हुन्छ तर विश्वासीहरूका लागि त्यही सञ्जीवनी बन्न पुग्छ ।
फेरि कहिलेकाहीँ सोच्छु… शब्दको शक्ति कति हुन्छ भने, तिनै शब्दका कारण गृहयुद्ध, जनयुद्ध, धनयुद्ध अनेकन् युद्धहरू हुन्छन् । शब्दले नै चरम निराशा चिरेर सारा जनतालाई जुरूक्क उठाउँछ ।
ईशापूर्व ४३१ मा शक्तिशाली स्पार्टाले सानो छिमेकी एथेन्सविरूद्ध युद्धको घोषणा गर्यो । एथेन्समा त्यो बेला परिकल्स नामको नेता थियो । ऊ नेताहरूमध्ये कनिष्ठ नै मानिन्थ्यो । तर उसको भाषण गर्ने तरिका र शब्दमार्फत हान्ने वाण निकै कडा थियो । उसका शब्दमा यस्तो जादु थियो कि शक्तिशाली स्पार्टालाई कसरी थेग्न सकिएला भनेर निराश भएका जनतासमेत लड्न भिड्न तयार भए । पेरिकल्सकै कारण स्पार्टाविरूद्ध एथेन्सले २७ वर्ष असम्भव युद्ध लड्यो ।
तर कहिलेकाहीँ सोच्छु… अचेल शब्दले गरिमा गुमाएको छ । प्राचीन ग्रिसेलीहरू अक्षरलाई पवित्र चिज मान्थे । ईश्वरलाई केही पवित्र चिज चढाउनु पर्दा केही लेखेर (अक्षरहरू) चढाइन्थ्यो । अचेल शब्द र वाक्यमा रहेको त्यो पवित्रता गुमेको छ । शब्दमाथिको ज्यादति बढेको छ । सोही ज्यादतिका कारण शब्दले आफ्नो शक्ति गुमाएको छ । यसको शक्ति क्षीण र लुप्त मात्र भएको होइन कि गरिमा नै गुमेको छ ।
त्यसैले त अहिले हरकोही कुनै कुनामा उभिएर बोल्न थाले भने तिनीहरूले शब्द मात्र बोलिरहेका हुँदैनन्, तिनले लगभग चिच्याएर आफूले भनिरहेका कुरामा अति जोड दिइरहेका हुन्छन् । जब शब्दसँग व्यवहारको तालमेल मिल्दैन, यसको ओज गुम्छ, त्यो बेला मानिसले ओज बढाउन स्वर चर्को बनाउनुपर्ने हुन्छ । हरकोही आफ्ना कुरा सुनिएनन् भनेर तीखा, चर्को शब्दहरू प्रयोग गरिरहेका हुन्छन् ।
कतै पढेको थिएँ‑
शब्द शक्ति हो
शक्ति यदि हो भने
बोल्नुअघि तिनलाई
तीन वटा द्वारबाट छिराउनु
छिर्न सक्छन् ?
तिनलाई सत्यको द्वारबाट छिराउनु
के ती शब्दमा सत्यता छ ?
तिनलाई कसी लगाउनु
के त्यो भन्न जरूरी छ ?
तिनलाई गहन तरिकाले सोच्नु
तिनमा करूणाको घोल छ ?
यसपछि शब्द ओकल्नु त परै जाओस्
ओठबाट फुत्कने पनि छैन
मानौँ कसैले सापटी लगेर
फिर्तै नदिएको होस्, आफैँसित राखेको होस्

अ थाउजन्ड वर्ड्स फिल्मको पोस्टर
कहिलेकाहीँ सोच्छु… यत्ति बुझेपछि बकबक गर्नु त परै जाओस्, कसैलाई बोल्न पनि गाह्रो हुनेछ । यस्तो बेलामा मलाई एउटा हलिउड फिल्म ‘अ थाउजेन्ड वर्ड’को सम्झना हुन्छ । जहाँ एउटा बकबके ज्याक (एडी मर्फी), डा. सिन्जा (क्लिफ कर्टिस)सँग पुस्तक प्रकाशनका लागि सम्झौता गर्न जान्छ । सम्झौतापछि डा. सिन्जाले चार पाने पुस्तक थमाउँछन् र भन्छन्, ‘संसार बुझ्न ठेलीका ठेली पढ्न आवश्यक छैन, सीमित कुरा बुझे पुग्छ ।’
डा. सिन्जाले बकबके ज्याकलाई के पनि भन्छ भने, ‘तिमी धेरै नबोल्नू । एक हजार शब्दपछि तिम्रो मृत्यु हुँदैछ ।’
ज्याकले पत्याउँदैन । नभन्दै एक हजार शब्द पुग्नै लाग्दा उसलाई जीवनको वास्तविकताहरू थाहा हुन थाल्छ । मृत्यु हुनै लाग्दा बकबके ज्याकलाई आफूले अनावश्यक रूपमा कति शब्दहरू खेर फालेछु भन्ने पछुतो हुन्छ । बकबके जीवनमा भन्नैपर्ने शब्दहरू नभनिएका र नभनिनुपर्ने वा चुप लाग्दा पनि हुने बेला चुप नबसिएकामा उसलाई पश्चाताप लाग्छ ।
कहिलेकाहीँ सोच्छु… अहिलेका सारा बकबकहरू शब्दको शक्ति नबुझ्नाले भएका हुन् । सारा फसाद र अप्ठेरोपन शब्दको दुरूपयोगले निम्त्याएका हुन् । जुन दिन हामीले शब्दको शक्ति बुझ्छौँ, त्यसै क्षणबाट हामीले संसारलाई कल्याण गर्न थाल्छौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

