जीवनमा दुई चिजका लागि कहिल्यै पनि तयारी गरिएको हुँदैन । पहिलो, कंगाल (बेंकरप्ट) हुने र दोस्रो चाहिँ, जँड्याहा (अल्कोहोलिक) हुने ।

रेमन्ड कार्भर

रेमन्ड कार्भर

सन् १९३८ मा जन्मिएका रेमन्ड कार्भर चर्चित अमेरिकी कथाकार हुन् । उनी खासमा मिनिमलिस्ट कविका रूपमा निकै चर्चित थिए । पहिलो कथाकृति विल यु प्लिज बि क्वाइट, प्लिज ? बाटै उनी चर्चामा रहे । छोटा कथामा उनको शैली अरूभन्दा भिन्न र प्रभावशाली रहेको समीक्षकहरूको दाबी रहने गर्छ । उनको निधन १९८८ मा भएको थियो ।

अमेरिकाको इओवा विश्वविद्यालयमा पढाउँदै गर्दा अर्का लेखक जोन चिभरबीच निकै ठूलो दोस्ती जम्यो । चिभरलाई अमेरिकाका उपनगरका चेखभका रूपमा चिनिन्थ्यो । दुवैबीच दोस्ती बढ्दै जाँदा स्वाभावतः नजिकिए । उनीहरूबीचको पिउने कर्ममा यति बढी गम्भीरता थियो कि उनीहरू खाना खानै बिर्सन्थे । उनका साथीसंगी, कलेजका विद्यार्थी तथा सहकर्मी प्राध्यापकहरूले खाना खान तानेर लैजानु पर्थ्यो । त्यसो गरिएन भने उनीहरू खानै नखाई यत्तिकै खाली पेट र भरि रक्सी रात गुजारिदिन्थे । यस्तोमा उनीहरू चाँडै बिरामी हुने र देशलाई क्षति पुग्ने कुरामा विद्यार्थी र प्राध्यापक सहकर्मीहरू सचेत थिए ।

यस्तोमा एक दिन कलेजको सेमेस्टर सकिएको खुसियालीमा कार्भर र चिभर दुवैले एउटा गज्जबको पार्टी दिने र त्यसमा सहकर्मी र विद्यार्थीहरू सबैलाई निम्त्याउने भए । कार्भर भन्थे, ‘वर्षभरि नै हाम्रा सहकर्मी र विद्यार्थीहरूले हामीलाई पार्टी दिए र लगभग रक्सीमै चोबले । यत्तिको ऋण त तिर्नै पर्यो ।’

यसपछि सारा व्यवस्था मिलाइयो । ब्याङ्केट हल बुक गरियो । निम्ता छापियो । छापिएको निम्ता सबै पाहुनालाई पठाइयो ।

अब भोलिपल्ट पार्टीमा जान भनेर दुवै लेखक कार्भर र चिभर इओवा सिटी जानु पर्ने थियो । यसका लागि उनीहरूले हवाइजहाजको टिकट पनि तयार पारेका थिए । भोलि बिहानैको टिकट साथमा बोकेर उनीहरू रमाइलो गर्न एउटा भट्टीमा छिरे । त्यसपछि उनीहरूले पिउन थालेका, समय नै पत्तो भएन ।

भोलिपल्टको प्लेन पनि छुट्यो । पार्टी हुने बेलामा सारा निम्तालुहरू आए तर ब्याङ्केट हलमा निम्तोकर्ता (आतिथेय) नै गायब ! त्यहाँ न त खाना थियो, न त पिउने कुनै व्यवस्था, न त कार्भर देखिए, न त चिभर नै !

०००
रक्सी प्रेमजस्तै हो । पहिलो चुम्बन चमत्कार हो, दोस्रो आत्मिय र तेस्रो चाहिँ रूटिन । त्यसपछि त तपाईंलाई प्रेमिकाको कपडा खोल्न हतार मात्र हुन्छ । ठीक त्यस्तै रक्सीको लत लागेपछि कुन बेला ओठमा लगाउने भन्ने हतार मात्र हुने गर्छ ।
रेमन्ड क्यान्डलर

रेमन्ड क्यान्डलर

सन् १८८८ मा अमेरिकामा जन्मिएका कथाकार तथा फिल्मका पटकथाकार रेमन्ड मूलतः फिलिप मार्लो शृंखलाका जासुसी उपन्यासका कारण चर्चित रहे । उनले लेखेका फिल्महरू डबल आइडेन्टिटी, द ब्लु डालिया र स्ट्रेन्जर अन अ ट्रेन निकै चर्चित छन् । जासुसी उपन्यास लेखनमा उनी डसिल ह्यामेटका उत्तराधिकारीका रूपमा पनि चिनिन्छन् ।

एक शब्द पनि फिल्मको पटकथा तयार भइसकेको थिएन । कथा मात्र तयार थियो तर हलिउडको फिल्म निर्माण कम्पनी प्यारामाउन्ट स्टुडियोजले अबको दुई सातामा सुटिङमा जाने घोषणा गर्यो । फिल्मको अन्त्य कसरी गर्ने भन्ने दिमागमा बल लगाउँदा लगाउँदा पनि केही सुझिरहेको थिएन । यस्तोमा एक दिन उनले फिल्मका निर्माता जोन हाउसम्यानलाई भने, ‘हुन त म रक्सी नखाएको धेरै भयो तर यो स्क्रिप्ट सक्न मलाई धेरै गाह्रो भयो । म रक्सीको कुलतका कारण परेशान छु । तिमीले मलाई रक्सी खाने व्यवस्था मिलाइदिनु पर्यो ।’

नभन्दै निर्माता हाउसम्यानले के कति खाने, कसरी खाने भन्ने व्यवस्था मिलाउन ६ जना सेक्रेटरीलाई राखिदिए । ६ जना सेक्रेटरीले पनि ठ्याक्कै समयमा के खाने, के नखाने व्यवस्था मिलाइदिए । सँगैमा एक जना डाक्टर क्यान्डलरको घरमा तयारीका साथ बस्थे । बेलाबेलामा उनले भिटामिनको सुई पनि हानिदिन्थे । सामान्यतः रक्सी पिएका बेला भिटामिनको सुई हान्नु हुन्न भन्ने धेरैको मत थियो तर निर्माताले मानेनन् । घरको ठीक अगाडि एउटा लिमोजिन कार पनि तम्तयार हुन्थ्यो ताकि कुनै बिरामले उनी थलिए भने रातारात हुर्याउँदै अस्पताल लैजान सकियोस् ।

यसरी एक हप्तामा फिल्मको पटकथा पूरा भयो । ‘द ब्लु डालिया’ फिल्म हलिउडको ओरिजनल पटकथाहरूमध्ये सर्वोत्कृष्टहरूको सूचीमा पर्ने गर्छ ।

०००

मलाई पार्टीहरूमा रम्न औधि मन पर्छ । त्यै भएर म पार्टीहरूमा त्यति देखिन्नँ ।
जोन चिभर

जोन चिभर

१९१२ मा अमेरिकामा जन्मिएका उपन्यासकार जोन चिभर द न्यु योर्कर नामक ख्यातिप्राप्त साप्ताहिक पत्रिकामा नियमित रूपमा लेखिरहने व्यक्तित्व हुन् । उनको अमेरिकी जीवनमाथि भर्खरै शहर हुन थालेका गाउँका चित्रहरू निकै उम्दा तरिकाले कोर्ने गर्थे । उनको पहिलो उपन्यास द वापसट क्रोनिकल्सले नेसनल बुक अवार्ड नै जितेको थियो । उनको द स्टोरिज् अफ जोन चिभरले त पुलित्जर पुरस्कार नै हात पारेको थियो ।

बोस्टन विश्वविद्यालयमा पढाउँदाताका उनी यति पिउँथे कि कक्षामा जाँदा पनि ठस्स गनाइरहेका हुन्थे । रक्सी बिनाको दिन उनलाई फेला पार्न मुस्किल हुन्थ्यो । कतिसम्म भने उनी लुकीछिपी कफी खान्थे र त्यसमा पनि रक्सी मिसाइसकेका हुन्थे, जुन उनकी साथी तथा विश्वविद्यालयकी फ्याकल्टीकी सदस्य एनी सेक्सटनलाई पनि पत्तो हुँदैनथ्यो । जब पत्तो पाउन थालिन्, उनले कफीमा रक्सी मिसाइएको छ कि छैन भनेर जाँची तौली खान दिन्थिन् ।

उनले घरका कुनाकाप्चामा रक्सीका बोतलहरू घुसारेका हुन्थे ताकि एउटा फेला पारेर लुकाइए पनि अर्को फेला नपरोस् र मज्जाले रक्सीमा डुब्न सकियोस् ।

(स्रोतः हेमिङ्गवे एन्ड बेलीज् बारटेन्डिङ गाइड टु ग्रेट अमेरिकन राइटर्स, लेखकः मार्क बेली)