यो त्यो बेलाको कुरा हो, जुन बेला चर्चित कवि जावेद अख्तरका संघर्षका दिन कटाइरहेका थिए । जावेद बडो मुस्किलले आफ्नो गुजारा चलाइरहेका थिए ।
एक दिन उनले प्रख्यात गीतकार साहिर लुधियानवीसँग केही सहयोग माग्ने विचार गरे । यसका लागि उनले अग्रिम रूपमा फोन गरेर भेट्न समय मागे । उनले भेट्न समय तोकिदिए । नभन्दै ठीक समयमा उनी साहिरको डेरा पुगे ।
एउटा कुर्सी तानेर बस्दै गरेका जावेदको अनुहार हेर्दै साहिरले सोधे, ‘बडो उदास देखिन्छौ, के भयो ?’
जावेदले भने, ‘दिन खराब चल्दैछन्। पैसा पनि सकिन लाग्यो । बरु तपाईंले मलाई कतै काम मिलाइदिनु भए साह्रै जाती हुने थियो ।’
साहिरको एउटा गज्जबको बानी थियो। जब उनी चिन्तित हुन्थे वा केही सोचमा मग्न हुन्थे, पेन्ट पछाडिको गोजीबाट सानो काइँयो निकालेर कपाल कोर्न थाल्थे।
उनले त्यसैगरी पछाडिको गोजीबाट काइँयो निकाले र लामो जुल्फीयुक्त कपाल मिलाउन थाले ।
कपाल कोरिसकेपछि साहिरले भने, ‘काम चाहियो ? ल ठीक छ । यो फकीरले तपाईंका लागि केही गर्न सकिन्छ कि अवश्य हेर्नेछ ।’
त्यसपछि उनले अगाडि रहेको टेबलतर्फ इशारा गर्दै भने, ‘मैले पनि जीवनमा धेरै दु:खका दिनहरू भोगेको छु। अहिले यो लिइहाल । काम चाहिँ, हेर्दै जाउँ, के हुन सक्छ !’
जावेदले अगाडिको टेबलतिर हेरे । त्यहाँ केही नोटहरू थिए । लुधियानवीले चाहेको भए त्यो पैसा जावेदको हातमा पनि राखिदिन सक्थे तर साहिर संवेदनशील थिए । जावेदको हातमा पैसा राखिदिँदा नराम्रो नलागोस् भनेर त्यसो गरेनन् ।
जावेदले नोटतिर टुलुटुलु हेरिरहे । उनले पैसा उठाउने प्रयास गरेनन् ।
‘पैसा तिम्रै हो, बरखुरदार !’ साहिरले भने ।
भोकालाई खीर भयो, जावेदका लागि । उनले पैसा उठाए र गोजीमा हाले ।
साहिरको डेराबाट निस्केपछि उनले पैसा गने । दुई सय भारू रहेछ ।
यस घटनापछि जावेद र साहिरको घनिष्ठता बढ्यो । पछि त्रिशूल, दिवार र कालापत्थर जस्ता फिल्मको कथा सलिम-जावेदले लेखे । गीत लेख्ने जिम्मा साहिरले पाए ।
प्रायजसो उनीहरू सँगै बस्थे । फिल्मका कथा, संवाद र गीतहरूबारे चर्चा गर्थे।
यस्तै बैठकका दौरान जावेदले साहिरलाई जिस्काउँदै भन्थे, ‘साहिर साब, ममाथि तपाईंको ऋण छ है ! अहिलेको अवस्थामा फिर्ता दिन सक्छु तर म फिर्ता गर्दिनँ।’
यो सुनेर साहिर केवल मुस्कुराउँथे। अरु मान्छेले सोध्थे, ‘यो कस्तो ऋण हो ?’
साहिरले भन्थे, ‘मलाई थाहा छैन । जावेदलाई नै सोध्नुहोस्।’
यो सिलसिला धेरै लामो समयसम्म चलिरह्यो।
साहिर र जावेदको भेटघाट चलिरहन्थ्यो। महफिल जमिरहन्थ्यो। सन् १९८० अक्टोबर २५ को रात जावेदलाई साहिर लुधियानवीका फेमिली डाक्टरको फोन आयो। उनले आत्तिदै जावेदलाई उनको मृत्यु भएको सूचना दिए । उनलाई मुटुको रोग पहिलेदेखि नै थियो, यस पटकको अट्याक चाहिँ घातक भयो ।
खबर सुन्नेबित्तिकै जावेद साहिरको घर पुगे। त्यहाँ उनको शव कफनले ढाकेर राखिएको थियो। जावेदले कफन उठाएर आफ्ना अनन्य मित्र र दुःखका साथीलाई हेरे। उनको हातमा समाए । एक साथ उनका मनमा अनेकन् भाव उम्लिएर आए ।
भोलिपल्ट साहिर लुधियानवीलाई दफनाउन जुहुको प्रख्यात कब्रिस्तानमा लगियो। उनलाई मुस्लिम धार्मिक विधिअनुरुप दफनाइयो। सबै मलामीहरू बिस्तारै फर्किन थाले। जावेद भने धेरै बेरसम्म साहिरको चिहान नजिकै बसिरहे। धेरैबेर त्यसरी बसेपछि आँखाभरि आँशु लिएर जावेद घर फर्कने तयारीमा लागे ।
उनी कब्रिस्तानबाहिर आफ्नो गाडीमा छिर्दै गर्दा कसैले बोलायो। उनले फर्केर हेरे। साहिर लुधियानवीका साथी अशफाक़ हतारोमा उनीतिरै आउँदै थिए। अशफाक पनि फिल्म उद्योगका परिचित व्यक्ति नै थिए ।
अशफाक़ले अमिलो अनुहार बनाउँदै जावेदलाई भने, ‘तपाईंसँग अलिकति पैसा छ होला ? चिहान बनाउनेलाई दिनु पर्यो। हतारोमा पैसै नबोकी आएछु।’
जावेदले गोजी छाम्दै सोधे, ‘तपाईंलाई कति चाहियो ?’
अशफाक़ले भने, ‘दुई सय रुपियाँ !’
जीवनभर साहिरको दुई सय रूपैयाँ ऋण नतिरेका जावेद अख्तरले चिहानमा पुगेर आफ्नो ऋण तिरे ।
स्रोतः अमर उजाला
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।