आधुनिक सामाजिक कान्तिकारी नाटकका अग्रदूत नर्वेली नाटककार र कवि हेनरिक इब्सन नर्वेको स्किएन भन्ने शहरमा २० मार्च १८२८ मा जन्मेका थिए । उनका पिता काठ व्यापारी थिए । व्यापारमा नोक्सान भई पिताको टाट पल्टेपछि उनले सन्‌ १८४३ देखि १८५० सम्म ग्रिमस्टाड नगरमा औषधी उत्पादन गर्ने फर्ममा काम गरे । सन्‌ १८५० मा उनको पहिलो नाटक क्याटिलिना (Catilina) प्रकाशित
भयो । यस गीति नाटकलाई पाठकले त्यति रुचाएनन्‌ । त्यसको दुई वर्षपछि उनी बर्गेन नगरको ओल बुल्स नाट्यशालामा नाट्यमञ्चका व्यवस्थापक भए । १८५७ मा उनले ऐतिहासिक तथ्यलाई मनोवैज्ञानिक अध्ययनको आधारमा जर्मनेली नाटककार शिलरको शैलीमा प्रस्तुत गर्दै त्यस नाट्यशालाको निम्ति छलीहरू (The Pretenders) भन्ने रोमान्सेली नाटक लेखे । त्यसै साल किश्चियाना (अचेलको
ओस्लो) को राष्ट्रिय नाट्यशालामा उनी नाटक निर्देशक भएर काम गर्न थाले । सन्‌ १८५८ मा सुज्याना थोरेसन भन्ने युवतीसँग उनको विवाह भयो । किश्चियानाको नाट्यशालामा उनले १८६२ सम्म काम गरे । त्यसैसाल स्वदेश भ्रमणको निम्ति उनले सरकारबाट केही आर्थिक सहयोग प्राप्त गरे । १८६४ मा उनी युरोप भ्रमण गर्न भनी नर्वेबाटहिँडे। सन्‌ १८९२ सम्मको जीवनकाल उनले रोम, डिसडेनर म्युनिखमा बिताए।

तिनताक नर्वे डेनमार्कको अधिनमा थियो । डेनमार्कको संस्कृतिलाई उच्च र घरानिया ठान्ने नर्वेलीहरू आफ्नो संस्कृतिलाई भने तुच्छ र असभ्य ठान्दथे । नर्वेमा यस्तो एउटा देशभक्त वर्ग पनि थियो जसले डेन्मार्केली संस्कृतिलाई घृणा गर्थ्यो र त्यसलाई पछ्याउन चाहँदैनथ्यो । इब्सन पनि यसै वर्गभित्र पर्थे । उनी नर्वेको स्वतन्त्रताका लागि लेख लेखिरहन्थे । उनी ७० वर्षको हुँदा नर्वेको राजधानी ओश्लोमा भव्यरूपले उनको जन्म दिवस मनाइयो । सन्‌ १९०५ मा नर्वे स्वतन्त्र भएपछि ७७ वर्षका बुढा इब्सन खुशीले आह्लादित भए । उनी जहीँतहीँ सम्मानित र प्रशंसित हुनथाले ।

इब्सनले आफ्ना नाटकका पात्रहरू निम्नवर्गीय जनताबाट लिएका छन्‌ । उच्च वर्गका पात्रहरूको अस्वाभाविक तडकभडकद्वारा काल्पनिक सन्सारको निर्माण गर्ने शेक्सपियरको परम्पराको विरुद्धमा इब्सनले सर्वसाधारण जनताका समस्यालाई मनोवैज्ञानिक ढङ्गले चित्रण गर्दै उनीहरूका बिचमा घटने सुख, दुख, विद्रोह, उत्पीडन, प्रेम र घृणालाई प्रभावपूर्ण ढङ्गले प्रस्तुत गरेका छन्‌ । हेनरिक इब्सन
शेक्सपियरपछिका उल्लेखनीय नाटककार मानिन्छन्‌ । उनका विश्वविख्यात नाटकहरू यी हुन्‌ :-

१) ब्रान्ड (Brand 1866) २) पीअर गिन्ट (Peer Gynt 1867) ३) सम्राट र ग्यालिलेअँ (Emperor and Galilean 1873) ४) पुतलीको घर (A Doll’s House 1879) ५) भूतहरू (Ghost 1881) ६) जनताको शत्रु (An Enemy of the People 1882) ७) जङ्गली हाँस (The Wild Duck 1884) ८) रोस्मेरशोल्म (Rosmersholm 1886) ९) हेडा गाब्लर (Hedda Gabler 1890) १०) सिद्धहस्त कर्मी (The Master Builder 1892) ११) जन ग्याब्रिएल बोर्कमन (John Gabriel Borkman 1896) १२) जब हामी मृतहरू बौरिन्छौं (When we Dead Awaken 1899) ।

आफ्नो जीवनको अन्तिम छ वर्षसम्म इब्सन नराम्रोसँग बहुलाए । विश्व नाट्यशालामा एउटा महान क्रान्ति ल्याएर चेखोव, श र हप्टम्यान जस्ता अनुयायी छोडी २३ मे १९०६ का दिन ७९ वर्षको उमेरमा ओस्लोमा उनको देहान्त भयो । नेपालका गोपालप्रसाद रिमाल र विजय मल्ल पनि उनका अनुयायी थिए ।

इब्सनको नाटक An Enemy of the People को नेपाली अनुवाद आनन्ददेव भट्टले जनताको शत्रु नाउँबाट गर्नु भएको छ।