
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०७९’को छोटो सूची सार्वजनिक गरिएको छ । आख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने पुरस्कारका लागि छोटो सूची जारी गरिएको हो । यो सूचीमा पहिलो कृतिका रूपमा आख्यान लेखेका पाँच लेखक समावेश छन् ।
डेब्यु लेखकका आख्यान विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकलाई प्रदान गरिने पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, विष्णु ढकालको उपन्यास ‘जौवा’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’ र बिक्रम भक्त जोशीको निकथासङ्ग्रह ‘चोभार ब्लुज’ रहेका छन् ।
यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४४ आख्यान कृतिहरूबाट १२ कृतिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच आख्यान कृतिको छोटो सूची तिनै १२ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिका सर्जकहरूले आख्यान लेखनमा राम्रो सम्भावना देखाएको बताएका छन् । उनले भनेका छन्, ”१२ आख्यान विधाका पुस्तकको लामो सूचीबाट ५ पुस्तकको छनौट गर्नु आफैंमा गाह्रो काम थियो । तर छनौटमा परेका पाँच पुस्तकका माध्यमबाट लेखकले आख्यान लेखनमा हस्तक्षेपकारी उपस्थिति देखाएका छन् । यसमध्येबाट पनि सर्वोत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्ने कुरामा साहित्यपोस्ट प्रतिबद्ध छ ।”
पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
अर्को विधाअन्तर्गत ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूची आउने मङ्गलबार (जेठ ९) गते सार्वजनिक गरिनेछ । त्यसै गरी, गैरआख्यानअन्तर्गतको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ को पाँच पुस्तकको सूची पहिलो चरणमै प्रकाशन गरिएको छ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
छोटो सूचीमा पर्न सफल पाँच पुस्तकः
१. अँध्यारो बस्तीकी नायिका – दिला शाह
कथाकार दिला शाहको पहिलो पुस्तक, कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।
शाहको कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरु नारीका भावना र संवेदनासँग नजिक छन् । छोरी, बुहारी, आमा, श्रीमती, प्रेमिका लगायतको स्वरुपमा कथाहरुमा देखा पर्ने नारी पात्रहरुको दुख, पीडा र बाध्यतामात्र छैन कथामा, सँगै विद्रोही चेत पनि छ । बिम्ब र प्रतीकको प्रयोगमा खप्पिस शाहका प्रायः कथाहरु नारी प्रधान रहे तापनि सँगैसँगै बाल र प्रौढ मनोविज्ञानको उपस्थिति पनि भरपुर छ ।
१८ थान कथा सङ्ग्रहित पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।
२. जौवा – विष्णु ढकाल
लामो समयदेखि ग्रामीण विकास तथा ग्रामीण बैङ्किङको क्षेत्रमा आबद्ध विष्णु ढकालको उपन्यास ‘जौवा’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको छोटो सूचीमा अटाउन सफल भएको छ ।
ढकालले उपन्यासमा किशोरावस्थाको रहर र कल्पना तथा युवावस्थाको सपना, प्रेम र धोकालाई रोचक शैलीमा पस्केका छन् । साथै, तराईका गाउँहरुमा व्याप्त शोषण र दुव्र्यवहारलाई उपन्यासले केन्द्रमा राखेको छ । ढकालले पहिलो कृतिबाटै उपन्यास लेखनमा राम्रो उपस्थिति देखाएका छन् ।
२ सय ६८ पृष्ठमा फैलिएको उपन्यासलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।
३. यशोधरा – हरिबोल काफ्ले
आर्थिक विकास तथा अर्थ–राजनीतिक क्षेत्रको अध्ययन तथा अनुसन्धानमा सक्रिय हरिबोल काफ्ले पहिलो उपन्यास ‘यशोधरा’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।
उपन्यासले गौतम बुद्धकी पत्नी, ऐतिहासिक पात्र यशोधरा जीवन चरित्र उजागर गर्दै उनकै दृष्टिबाट तत्कालीन समयको कथा कहेको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्राका क्रममा यशोधराले गर्नुपरेको त्याग–तपस्या उपन्यासको कथानकको केन्द्रमा छ । उपन्यासमा तत्कालीन समाज, समाजिक प्रचलन र विविधता आदिलाई सचित्र उतारिएको छ ।
२ सय ८६ पृष्ठमा बुनिएको उपन्यासलाई लिपि बुक्सले प्रकाशनमा ल्याएको हो ।
४. चोभार ब्लुज – बिक्रम भक्त जोशी
बैङ्करसमेत रहिसकेका इन्जिनियर बिक्रम भक्त जोशीको पहिलो कृति निबन्धात्मक कथा (निकथा) सङ्ग्रह ‘चोभार ब्लुज’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ । ।
नेपाली साहित्य लेखनमा जोशी मात्र नयाँ होइन, विधागत रुपमा ‘निकथा’ पनि आख्यान अन्तर्गत कमै लेखिएको विधा हो । जोशीका कथाभित्र बागमती सभ्यताको इतिहास भेटिन्छ । बागमती सभ्यताको केन्द्रमा रहेको काठमाडौंको आञ्चलिकता कथाहरुको प्राण बनेर रहेका छन् । सङ्ग्रहित कथाहरुमा नेवारी जनजीवन, सभ्यताका अंश छन्, र आधुनिकता पसेसँगै काठमाडौंले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन् ।
१९ थान कथा सङ्ग्रहित ‘चोभार ब्लुज’लाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो ।
५. अँध्यारो कुनो – खगेन्द्र भट्टराई
शिक्षाकर्मी खगेन्द्र भट्टराईको पहिलो पुस्तक, कथासङ्ग्रह ‘अँध्यारो कुनो’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको छोटो सूचीमा अटाउन सफल भएको छ ।
मुख्यतः सङ्ग्रहमा यौन मनोविज्ञानमा आधारित कथाहरु सङ्ग्रहित छन् । फरक परिवेश र समयको पृष्ठभूमिका लेखिएका कथाहरुका स्वाद पनि अलग–अलगै छन् । पुस्तकमार्फत भट्टराईले नेपाली कथा लेखनमा राम्रो सम्भावना र उपस्थिति देखाएका छन् ।
पुस्तकलाई सेर्गेम प्रकाशन गृह, झापाले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा छोटा आकारका १४ थान कथा सङ्ग्रहित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को अन्तिम सूची जारी; विजेता घोषणा गुरूपूर्णिमामा

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को अन्तिम सूचीमा ‘अँध्यारो बस्तीकी नायिका’
