गुरुको बाटो

एकजना सूफी फकिरलाई कारागारमा थुनियो । ऊसित सम्राट रिसाएका थिए । उसले केही खजना लुकाएर राखेको आरोप थियो । ऊसँग बहुमूल्य हिरा भए पनि राजालाई दिन मानिरहेको छैन भन्ने आरोप लगाइएको थियो । त्यो फकिर अक्सर अरु मानिसलाई भन्ने गर्थ्यो–“मसँग हिरा छ । आओ ! यसलाई लैजाओ । ”
ऊ कुनै अर्कै हिराको विषयमा कुरा गरिरहेको थियो । ऊ संसारको हिराको विषयमा कुरा गरिरहेको थिएन । तर राजालाई मानिसहरूले पोल लगाइदिए । यो मानिस आफूसित हिरा भएको कुरा गर्छ र अरुलाई त्यो लिन उक्साउँछ ।
त्यसैले राजाले उसलाई पक्रन आदेश दिए ।
राजाले उसलाई धेरै सोधे, सताए । फकिरले धेरै पटक आफ्नो तर्फबाट कुरा स्पष्ट पार्न खोज्यो –“मैले त कुनै अर्कै हिराका कुरा गरेको हुँ ।”
राजाले भने –“जुनसुकै हिरा होस् तर त्यसलाई तैँले देखाउनै पर्छ । जुनसुकै ढंगको हिरा भए पनि त्यसलाई नहेरी म तँलाई छोडदिनँ ।”
उसले भन्यो- यो हिरा यस्तो छ, जुन बाहिरी आँखाले देख्न सकिन्न ।
राजाले भने- ज्यादा चलाखी नगर । हेर्न नमिल्ने हिरा पनि हुन्छ भन्ने मैले सुनेकै छैन । अब तँ पिटिनेछस् । कुटिनेछस् । अनि मात्र ठीक ठाउँमा आउने छस् ।
ऊमाथि धेरै कुटपिट गरियो ।
उसको साथमा एक सानो खेत थियो । बाली लगाउने समय आइसकेको थियो । उसले आफ्नी पत्नीलाई एउटा पत्र लेख्यो- हेर, कसैलाई नबताउनू खेतमा मैले हिरा गाडेको छु ।
पत्र त पढिसकिएको थियो । जेलबाट पत्र बाहिर पठाइयो ।
राजाले हजार जना मानिस खेत खन्न पठाए । उनीहरूले पूरै खेत खने । त्यहाँ त कुनै हिरा थिएन ।
पत्नी छक्क परिन् । चिठीमा किन यस्तो कुरा लेखेका हुन् ? के मेरा पति पनि त्यही बाहिरी हिराको चक्करमा परेका हुन् ? मैले जानेको कुरा त त्यो हिरा, अध्यात्मको कुरा थियो । यो कुरा के हो ?
फेरि पतिको दोस्रो पत्र आयो, त्यसमा लेखिएको थियो – अब बिउ छरिदेऊ । यो त सिर्फ खेत खनाउने तरिका थियो ।
गुरुले बाटो  खोज्नेछन्, प्रत्यक्ष या परोक्ष रुपमा ।
(दिया तले अँधेराबाट)

 

 

तीन यात्री

एक सूफी कथा छ ।
एक लामो अनि थकाइ लाग्दो यात्रामा, तीन जना यात्री साथसाथै हिँडेका थिए । उनीहरूले  आफ्नो यात्रापथमा सुखदुःख सबै चिज बाँडचुँड गरेका थिए ।
यात्राको केही दिनपछि उनीहरूलाई थाहा भयो कि उनीहरूसित अलिकति रोटी र पानी मात्र बाँकी रहेको छ । र, यसैचिजमा उनीहरू झगडा गर्न थाले- यो भोजन कसले लिने भनेर । कसै गर्दा पनि कुरा मिलेन । उनीहरूले रोटी र पानी बाँड्ने विषयमा अनेक चोटि विचारविमर्श गरे । फेरि पनि उनीहरू कुनै निष्कर्षमा पुग्न सकेनन् ।
जब रात प-यो । एकजनाले उपाय झिक्यो, अब सुतौं, जसले सबभन्दा राम्रो सपना देख्छ, भोलि उठेपछि, उसैले रोटी पानी खाने ।
अर्को दिन सबेरै  सूर्योदयसँगै तीनैजना यात्रीहरु उठे ।
पहिलोले भन्यो, “मेरो सपना यस्तो छ । म यस्तो ठाउँमा पुगेछु, जसको वर्णन गर्नै सकिँदैन । त्यो ठाउँ यति अपूर्व, अद्भुत अनि प्रशान्त थियो । र, मैले त्यहाँ एकजना ज्ञानी पुरुष भेटेँ । जसले मलाई भने- त्यो भोजनको हकदार तिमी नै हौ । किनकि तिमीले व्यतित गरेको जीवन र तिम्रो भावि जीवन त्यसका लागि योग्य र सह्रानीय छ ।”
अर्कोले भन्यो –“आश्चर्यको  कुरा छ, सपनामा मैले आफ्नो पूरै अतित र भविष्यलाई देखेँ । र मेरो सपनामा मैले एक सर्वज्ञ पुरुष भेटेँ ।  उनले भने कि आफ्ना मित्रहरूभन्दा अघि बढेर तिमी नै रोटीको हकदार हुनसक्छौ । किनकि तिमी नै विद्वान र धैर्यवान् छौ । तिम्रो पोषण ठीकसित हुनुपर्दछ । किनकि तिमी निश्चित रुपमा मानिसहरूको नेता बन्नेवाला छौं ।”
तेस्रो यात्रीले भन्यो, “मैले आफ्नो सपनामा न केही देखेँ, न केही सुनेँ, अनि कसैले न केही भने । मैले एक दुर्निवार वर्तमानको अनुभव गरेँ । जसले मलाई बाध्य पारिदियो कि म उठूँ अनि रोटी पानीको खोजी गरुँ र तत्क्षण त्यसको भोग गरुँ । र मैले त्यही गरेँ ।”
(दीया तले अँधेराबाट)

 

 

मूल्यहीन छ शिर

अकबरको आदत थियो, जनुसुकै भिखारी फकिर आए पनि उसको सामुन्नेमा शिर झुकाएर नमस्कार गर्ने । मन्त्रीहरूलाई यो कुरा नराम्रो लाग्थ्यो । ठाउँ ठेगाना नभएका ऐरेगैरे फकिरको सामु स्रमाट जस्तो मानिसले सीर झुकाउनु शोभा दिने कुरा थिएन ।
आखिरमा उनको ठूलो मन्त्रीले भन्यो, “तपाईंको यस कार्यले तपाईंलाई शोभा दिएको छैन, तपाईं त सम्राट हो नि ! यो काम तपाईंको प्रतिष्ठा अनुकूल छैन । यस्ता ऐरेगैरे भिखमंगाका अगाडि शिर झुकाउनु अशोभनीय कार्य हो ।”
अकबरले भने, “तिमी यसो गर । आज एउटा मानिसलाई फाँसी लगाउनु पर्नेछ । उसको शिर काटिएपछि, तिमी त्यो शिर लिएर बजार  जाऊ । त्यो किन्ने मानिस भेटिन्छ भेटिन्न । भेटियो भने कति पैसा हाल्न तयार हुन्छन्, त्यस विषयमा मलाई खबर गर ।”
राजाबाट आज्ञा भएपछि जानैपर्थ्यो । शिर लिएर मन्त्री बजार गयो । पूरै बजार घुम्यो । जहाँजहाँ गयो, गुप्त भेषमा गयो । किनकि रुप नबदलीकन गएको हुन्थ्यो भने सायद चाकरी गर्ने मानिसहरूले लाखौँ रुपैयाँ हालेर तुरुन्तै लिन्थे पनि होला । आफ्नो मतलब पूरा गर्न त्यसो गर्न पनि सक्थे । त्यसैकारण ऊ आफ्नो रूप र भेष बदलिएर गएको थियो ।
जुनजुन दोकानमा गएर त्यो टाउको किनिदिन आग्रह गर्थ्यो, मानिसहरू भन्थे – “भाग यहाँबाट । यस्तो चिज यहाँ ल्याउछस् । यसको के काम छ र किन्नु ? तँ पागल होस् ?”
साँझ ऊ दरबारमा फर्कियो र उसले राजासित भन्यो, “क्षमा गर्नुस् । कोही किन्ने मानिस भेटिएन । उल्टै मानिसहरू मसित रिसाए । जतिलाई मैले भनेँ – “भाइ किनिदेऊ । जति दिन्छौ देऊ, दुईचार पैसामा म यो टाउको दिन्छु ।”
उनीहरूले सबैले –“यहाँबाट भागी जा, यस्तो चिज यहाँ ल्याउदै नले । यो चिज हामीलाई के गर्नु ?” भने ।
त्यसपछि अकबरले भने – “मेरो शिरको हालत पनि यस्तै हुनेछ । कोही किन्ने मानिस भेटिने छैन । चार पैसा दिनलाई कोही राजी हुन्नन् । अनि त म यसलाई झुकाउँछु । तर तिमी चाहिँ चित्त दुखाउँछौ । चित्त दुखाउने कुनै कारण छैन किनकि यसको कुनै मूल्य नै छैन ।
(दीया तले अँधेराबाट)

 

 

विभूतिपाद

मछेउ मानिसहरू आउँछन् । उनीहरूले ध्यानमा थोरै तीव्र पाएका हुन्छन् । पाउनेबित्तिकै उपद्रव सुरु हुन थाल्छ । उनीहरू भन्छन्, यसो गर्दा यसो भयो…।
एकजना युवक मकहाँ आए । साँचोमा उनी हिम्मतवाला युवक थिए । बडो साहसका साथ उनले ध्यानको प्रयोग गरेका थिए । उनी म नजिक आए । उनी एक यात्रामा गएका रहेछन् । बसमा बसिरहेका थिए । केही गर्नु थिएन । तर जुन मन्त्रको उनी साधना गरिहेका थिए, त्यही मन्त्र रटिरहेका थिए । उनी चौबीसै घण्टा, जब जब त्यसको याद आउँथ्यो, त्यही रटिरहेका थिए । सामुन्नेमा एउटा मानिस बसेको थियो ।
अचानक त्यो मन्त्र रट्तारट्तै उसलाई यस्तो लाग्यो कि कतै यो मानिस बसबाट नलडोस् । गाडी पहाडी बाटोमा उकालो चढिरहेको थियो । बस मुस्किलले उकालो लागिरहेको थियो । यही बेलामा उसलाई ख्याल आयो, कतै त्यो मानिस नगिरोस् । जतिखेर उसलाई यो कुराको ख्याल आयो, त्यो मानिस गर्लम्मै भुइँमा खस्यो ।  ऊ थोरै चक्करायो र उसलाई लाग्यो, कतै मैले त्यस्तो सोचेका कारणले त्यो मानिस लडेको हो कि या संयोगको कुरा हो ?
त्यसपछि उसले दोस्रो मानिस उपर प्रयोग गरेर हे-यो । जस्तो उसले सोच्यो कि यो मानिस कतै नलडोस् । त्यो दोस्रो मानिस पनि लड्यो । त्यसपछि भने ऊ धेरै हड्बडायो । हड्बडाउनु स्वभाविक पनि थियो । र, उसले सोच्यो, यो संयोगको कुरा पक्कै होइन । तर फेरि उसलाई यस्तो लाग्यो,  हुनसक्छ यो घटना पनि संयोग मात्र हो । अझै एउटा प्रयोग गरेर हेरुँ । त्यसपछि उसले अर्को तेस्रो व्यक्तिमाथि प्रयोग गरी हे-यो । त्यो मानिस बिलकुल सही सलामत बसेको थियो । जुन मानिस त्यहाँबाट गिर्ने कुनै सम्भावना नै थिएन । उसले सोच्यो, कतै यो मानिस लड्यो भने… । उसले सोचेपछि त्यो मानिस पनि बसबाट झर्यो ।
यसपछि ऊ आफ्नो यात्रा बीचमै रद्द गरेर कुद्दै मकहाँ आयो । उसले सबै बेलिबिस्तार लगाएर घटनाहरू सुनायो र मलाई सोध्यो – यो त कल्पना बाहिरको कुरा भयो, अब म के गरुँ ? यदि मानिसहरू मेरो सोचका कारण लड्न सक्छन् भने भोलि त मेरो सोचाइले अरु पनि काम हुनसक्छ नि ! जस्तो कुनै मानिस रोगी छ, र उसलाई मैले भनिदिऊँ – ठीक भइ हालोस् । यस्तो कुरामा त जनताको सेवा नै होला ।  र यस्ता कुराले कुनै खराब त गर्दैन । यस कुराले त अरुलाई लाभै मिल्ला ।
मैले ऊसित सोधेँ –“जब ती तीनजना मानिस बसबाट लडे । त्यसपछि तिमी भित्र के भयो ? त्यो मलाई बताऊ । तिमीभित्र कस्तो रस आयो ।”
उसले भन्यो –“मलाई लाग्यो कि अब मैले सिद्धि प्राप्त गर्न लागिरहेको छु र अब बाटो धेरै टाढा छैन । मञ्जिलसम्म पुग्ने बाटो नजिकै छ ।”
मैले भनेँ– अरूलाई ठीक गर्ने कुराको चिन्ता तिमी नगर । जबसम्म तिमी रहन्छौ, तबसम्म तिमी जे जे गर्छौ त्यो सेवा हुन सक्दैन । जुन दिन तिमी मेटिने छौ, त्यस दिन हुनेछ सेवा ।”
“म”लाई बचाएर कसरी हुन्छ सेवा ? “म” ले त सिर्फ शोषण गर्न सक्दछ, सेवा गर्न सक्तैन । “म” ले सिर्फ अरुलाई चुस्न सक्तछ, दोस्रोलाई सहारा दिन सक्तैन । सहाराको नाममा पनि चुस्ने काम नै गर्छ ।
त मानिस जतिजति साधनामा लाग्दछन्, आखिरी घडीमा मनका सूक्ष्म शक्तिहरू जाग्न थाल्छन् । विभूति पैदा हुन्छन् । तर त्यो विभूति सिद्धि होइन । त्यो मञ्जिल होइन । त्यो विश्राम लिने ठाउँ पनि होइन । त्यसतर्फ उपेक्षाका नजर फाल्दै अगाडि गुज्रिनु पर्छ । त्यसैले पतञ्जलीले विभूतिपाद लेखे पूरा एक अध्याय । सिर्फ साधकहरूलाई सावधान गर्नका लागि ।
(दीया तले अँधेराबाट)

 

 

कञ्जुसी

एउटा कन्जुस मान्छे दोकान बन्द गरेर घर आयो । त्यो समयमा बिजुली बत्तीको आविष्कार भएको थिएन । माटोको दियो बाल्ने चलन थियो । उसको घरमा दीयोको ज्योति लप्लपाइरहेको थियो ।
उसले पत्नीलाई भन्यो –“देख्दिनस् दियोको लप्का ! कति तेजका साथ बलिरहेको छ ? कति धेरै तेल व्यर्थैमा खर्च भैरहेको छ ।”
त्यसै बखत उसलाई दोकान बन्द गर्ने बेलामा उसले एउटा मात्र ताला लगाएको याद आयो । अर्को ताला त लगाएकै थिएन । ऊ हड्बडायो – कतै दोकान नलुटियोस् । त्यसैले ऊ दोकानतिर कुद्यो ।
बाटोमा जाँदाजाँदै उसको मनमा विचार आयो-  त्यस्तो कुन ठूलो आपत आइनै सकेको थियो र ? आखिर दोकानमा एउटा ताला त लगाएकै छु । दोस्रो ताला अलि पछाडि पनि लाउन सकिन्छ । पहिले दीयोको ज्वाला त अलि सानो पारेर आऊँ । दोकान पुगेर फर्किँदा ओर्दा व्यर्थै तेलको खपत हुन्छ । यति सोचेर ऊ फेरि घर फर्कियो ।
घरमा आउँदा देख्यो, दीयोको ज्वाला सानो पारिएको थियो ।
पत्नीले भनी– “मैले दीयोको ज्वाला सियोको टुप्पाले सानो पारेकी छु । अनि सियोमा जुन तेल लागेको थियो । त्यो पनि मैले कपालमा लगाएँ । तपाईंले चिन्ता गर्नुपर्दैन । तपाईंलाई तेलको त खुब ध्यान आयो तर आफ्ना जुत्तातिर चाहिँ ध्यान दिनु भएन । यहाँबाट जानु भयो फेरि बाटैबाट फर्किनु भयो अब फेरि दोकानमा ताला लगाउन जानुहुन्छ, त्यहाँबाट फेरि फर्किनु हुन्छ । यसो गर्दा व्यर्थमा जुत्ता कति खिइन्छ ? भन्नुस् त !”
कञ्जुस मानिस बोल्यो, “यहाँ हेर, जुत्ता म खुट्टामा कहिले लगाउन्नँ । काँधैको झोलामा भिरी राखेको हुन्छु ।”
  (मृत्योर्मा अमृतं गमयबाट)