कवि भूपिनले सन् २०१३ को अन्ततिर यो कविता लेखेका थिए । जुनबेला उनी ’मनी टक्स’वाला देश अमेरिकाबाट धेरै आफन्तहरूलाई दुःखी बनाएर नेपाल फर्किएका थिए ।

क्याम्पसका बिहानी कक्षाहरू सकिएपछि उनी कहिलेकाहीँ रिजाल बाजेको पान पसलमा जान्थे, जुन चितवन जिल्ला समन्मय समितिको चोकमा बर पिपलको रुखमुनी थियो । कुनै दिन त्यहाँ कलेजका एक साथी कृष्ण भुषाल आए र मुख मिठ्याउँदा रिजाल पान खाए । पैसा फिर्ता लिने बेला उनले तर्सिएको भावमा रिजाल दाइलाई भने, ’मलाई यो हैन, पानको रस नलागेको अर्को नोट दिनुस् ।’

कवि भूपिन

कविलाई त्यसबेला लाग्यो कि – “यो कस्तो विरोधाभाष हो ? पान खाने अनि पानको रस लागेको नोट नचाहिने ? यो नोटप्रति अतिसय आसक्ति हो कि घृणा ?”

पान खाने व्यक्तिले कवितिर फर्किएर आँखा झिम्काउँदै भने, ‘सर मलाई पानको रस लागेको नोट पकेटमा राख्न घिन लाग्छ ।’

कवि साथीको कुरा सुनेर सनन्न भए र उनका दिमागमा तरंगहरू चल्न थाले –“ हो त ! पैसा त निकै फोहोर वस्तु हो ।” जुनकुरा कविले कहिल्यै सोचेका थिएनन् । मानिस अरू सबै कुरा सफा गर्छ, तर नोट सफा गर्दैन । जरुरत महसुस गर्दैन । पैसा त रोगको घर पनि त हो । तर यसैलाई मानिस किन यति मूल्यवान मान्छन् । किन यो अचेल फूलभन्दा पनि बढी ईश्वरलाई चढाइन्छ ?

त्यसपछि कविले बाइक स्टार्ट गरे । बाटोमा मैले केवल पैसाको जीवनीबारे चिन्तन गरे । र कोठामा आएर निकै स्वभाविक रुपमा यो कविता लेखे ।
भूपिनको यस कविता सबैभन्दा धेरै वाचन भएको कविता हो । यस कवितामा कवि अमृता स्मृतिले सस्मरणमा लेखेकी छिन्, ‘यो कविता पढेपछि मैले मन्दिरमा पैसा चढाउँन छाडिदिएँ ।’

कविको विचारमा मानिसले आविष्कार गरेको सबैभन्दा शक्तिशाली (र खतरनाक पनि) भौतिक वस्तु पैसा हो र आत्मिक सत्ता ईश्वर हो । यो कविता ती दुवैलाई जोड्ने एक कथा हो ।

कविता- एउटा नोटको जीवनी

मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।

यो नोटको जन्मको बारेमा
म बिल्कुल अनभिज्ञ छु ।
तर थाहा छ मलाई
कुनै बैंकको सफा कुनाबाट
यो नोटको फोहोर यात्रा सुरू भयो ।

एक क्यासियरले
जिब्रोको थुकमा बूढी औंला चोबेर
गन्यो यो नोट
र पहिलोपटक थमायो ग्राहकको हातमा ।

बैंकबाट बाहिर निस्किएपछि
नोट पुग्यो
मासु पसलमा ।
नोटमा बगरेको हातको आलो रगत टाँसियो ।
त्यसपछि पुग्यो नोट
रूघाग्रस्त साहूको हातमा
नोटमा साहूको सिंगान टाँसियो ।
त्यसपछि पुग्यो नोट
कुनै आसामीको हातमा
जो भर्खरै पिसाब फेरेको हातले
नोट गन्दै थियो ।

पुग्यो नोट
भर्खरै वाथरुममा सेफ्टी प्याड निकालेर
बाहिर निस्किएकी मालिक्नीको हातमा
नोटमा टाँसियो
मासिक श्रावको रगत ।
पुग्यो नोट
यौनकर्मीको हातमा
जसमा टाँसियो चिप्लो यौनरस ।
भ्रष्ट, तस्कर, दलाल
पण्डा, नेता, हिपोक्रेट
सबैको हातहातसम्म
नोटको यात्रा जारी रह्यो ।

एकपटक बढो मुस्किलले
गरीबको हातमा पनि
पुग्यो नोट
जसमा उसको आँसु
र पसिना पनि मिसियो ।
तर भोलिपल्ट नै नोट पुग्यो
बेरोजगारीले किलकिले अँठाएर
कुलतमा फसेको
कुनै युवकको हातमा
त्यसमा गाँजाको गन्ध टाँसियो
अफिमको वासना टाँसियो ।

लामो यात्रापछि
अन्तमा पुग्यो नोट
एक भक्तको हातमा
भक्तले चढायो भगवानलाई
त्यही नोट ।

म पढिरहेछु
एउटा नोटको रोमाञ्चक जीवनी ।
तर बुझिरहेको छैन
कि किन चढाउँछ भक्तले देउतालाई
यो फोहोर नोट ?
किन सबैभन्दा सफा लाग्छ मानिसलाई
यो फोहोर नोट ?