आज सटर्डे सिनेमामा रून मन लाग्ने फिल्म तपाईंहरूलाई सिफारिस गर्दैछौँ । यो फिल्मको ख्याति संसारभर नै छ, फिल्मको नाउँ होः हाचीः अ डग्स टेल ।

यो एउटा वास्तविक कथामा आधारित फिल्म हो । यो कथामाथि शुरूमा जापानीहरूले फिल्म बनाएका थिए । सन् १९८७ मा अकिता नामक कुकुरमाथि हाची शीर्षक राखेर बनाइएको थियो । यो कुकुर १९२३ मा जन्मिएको थियो र १९३५ मा यसको देहान्त भयो ।

हामीले यहाँ प्रस्तुत गरेको फिल्म चाहिँ अमेरिकी संस्करण हो । यो फिल्मलाई लासी हलस्ट्रमले निर्देशन गरेका छन् भने स्टेफन लिन्डसे र कनेटो सिन्दोले लेखेका छन् । यो फिल्मको जापानी संस्करण अभिनेता रिचर्ड गेरलाई यति मन पर्यो कि उनले पूरै फिल्ममा लगानी गरे । यसको प्रमुख अभिनेतामा आफूले पनि अभिनय गरे ।

सन् २००९ जुन ८ मा यो फिल्म संसारका ६० मुलुकमा प्रदर्शन भएको थियो भने १ करोड ६० लाख डलर लगानीबाट फिल्मले ४ करोड ६७ लाखको व्यापार गरेको थियो ।

फिल्मको कथाअनुसार, विल्सन पार्कर नामक एक जना संगीतका शिक्षक हुन्छन् । उनी हरेक दिन रेलमा पढाउन जान्छन् । पढाउन जाने क्रममा रेल स्टेसनमा एउटा कुकुरको छाउरो फेला पार्छन्। यो सानो छाउरो कसको सम्पत्ति होला भनेर केही समय मालिकलाई कुरे तर फेला पार्न सकेनन् । त्यसपछि उनले यसलाई आफ्नो घर लैजान्छन् । शुरूमा त पार्करकी पत्नीले कुकुर घर ल्याएको मन पराउँदिनन् । घरबाहिर छाड्न आदेश दिन्छिन् । पार्कर पनि पत्नीको भनाइमा लागेर घरबाहिर छाडेर आउँछन् तर कुकुरले पछ्याउँदै फेरि घरैमा आइपुग्छ । घरमा पत्नीले मन नपराएपछि छरछिमेकलाई यो छाउरो पालिदिए हुन्थ्यो भन्ने चाहन्छन् तर कोही पनि छाउरो पाल्न तयार हुँदैनन् ।

यसपछि बाध्य भएर उनले घर ल्याउँछन् र पत्नीलाई यो छाउरो पाल्न मनाउँछन् । घरमा प्रेमपूर्वक हाचिको राखिन्छ ।

पार्कर कलेज पढाउन दैनिक रेलमा जान्थे । हाचिको पनि पछ्याउँदै रेल स्टेसनसम्म पुग्थ्यो । त्यहाँ दिनभरि आफ्नो मालिकलाई हाचिकोले कुर्थ्यो । जब कलेज पढाएर राति अबेर पार्कर फर्कन्थे अनि पार्करसँगै हाचिको पनि फर्कन्थ्यो ।

वर्षौं यो क्रम चलिरहन्छ । पार्कर नफर्किउञ्जेलसम्म रेल स्टेसनमा कुर्दाकुर्दै वरिपरिका सबैले हाचिकोलाई चिन्न थाल्छन् र माया पनि गर्छन् ।

एक दिन पार्कर कलेज पढाउन गएपछि फर्कंदैनन् । कलेजमा नै उनलाई मुटुको व्यथाले च्यापेपछि उतैबाट अस्पताल पुर्याइन्छ । त्यहीँ उनको निधन हुन पुग्छ । तर हाचिकोलाई पार्करको मृत्यु भएको थाहा हुँदैन । र, उसले आफ्नो मालिकलाई कुरी बस्छ । रात पर्छ, बिहान हुन्छ, दिउँसो परेर साँझ भइसक्छ र पनि कुकुर आफ्नो मालिकलाई कुरिरहन्छ ।

यसरी मालिकलाई कुर्दाकुर्दै नौ वर्ष बित्छ र एक दिन हाचिकोको मृत्यु हुन्छ ।

यतिञ्जेलसम्म तपाईंले यो फिल्म झेल्न सक्नुभयो भने तपाईंका आँखाभरि आँशु हुनेछन् । कयौँ दृश्य त यति भावुक बनाउने किसिमका छन् कि जनावर र मानवबीचको यो हदको संवेदनशीलताले मुटु नै निचोर्छ ।

जापानमा बनाइएको हाची र उनका मालिकको मूर्ति

फिल्मको क्लाइमेक्स निकै सुन्दर छ । कुकुर मरिसकेपछि त्यहाँका सर्वसाधारणले कुकुर जहाँ बसेर पार्करको प्रतीक्षा गर्थ्यो, त्यहाँ त्यसको मूर्ति बनाउँछन् ताकि ऊ कसैको प्रतीक्षा गरिरहेको छ भन्ने भान होस् ।

कुनै पनि कुकुर आफ्ना मालिकप्रति कति वफादार हुन्छन् भन्ने हद दर्जाको प्रस्तुति यसले दिएको छ ।

आजको सटर्डे सिनेमामा यही फिल्म तपाईंहरूका लागि प्रस्तुत छः