हामी केटाकेटी डट ओआरजी नाम गरेको एउटा वेब बालपत्रिका चलाउँथ्यौँ । हामी भन्नाले कार्तिकेय घिमिरे र म । अहिले त्यो केटाकेटी अनलाइन डट कम भएको छ ।

एकजना साहित्यकार कथा लेखनमा लागिराको थाहा पाएको थिएँ । एक दिन बिहानै उहाँको फोन आयो । भन्नुभयो, ‘सर, प्रौढकै लागि कथा लेखूँ भनेर बसेको, बन्दै बनेन । अनि ख्यासख्यास एउटा बालकथा पो लेखेँ ! सरलाई पठाउँछु, यसो छापिदिनुपर्‍यो ।’

झननन….दुर्वासा पो सवार भए आएर मेरो टाउकोमा !

भनेँ, ‘तपाईंको ख्यासख्यास पढ्ने हो हाम्रा बालबालिकाले ? छाप्दिनँ ।’

हैट, छुच्याइँ पनि !

तपाईंहरूमध्ये धेरैले सन्तान हुर्काउनुभएको होला । वा हुर्काउँदै हुनुहुन्छ होला । सन्तान भनेपछि, खानामा सर्वश्रेष्ठ कुरा दिऊँ । नानामा उत्कृष्ट दिऊँ । सबभन्दा राम्रो स्कुलमा पढाऊँ । यस्तै सोचिन्न र?

अनि साहित्यचाहिँ ख्यासख्यास ? प्रौढका लागि नबनेको कुरा चैँ बालकका लागि ?

इस् !

बालसाहित्य त मजस्ता केही मान्छेको खाने भाँडो पो भएको छ त देशमा । विदेशी अनुदान, सरकारी बजेट, प्रोजेक्ट, कार्यशाला, सेमिनार, गोष्ठी, वैदेशिक भ्रमण, पुरस्कार ।

चुनाव नै पो हुन्छ त बालसाहित्य समाज वा यस्तै अन्य संस्थाका विभिन्न पदका लागि । चुनावमा सबै हुन्छ । सबै माने सबै, बुझ्नुहोस् न । तर चुनावमा कतै पनि बालक हुँदैन । बालक दूर की बात ! बालिका हुँदैनन् । बालिका घरैमा ।

अनुभव बोलेको । मैले पनि एकचोटि उम्मेद्वारी दिएर फिर्ता लिएको ठिक साँचो हो ।

आम्मामामा । कांग्रेस–कम्निस्टका लाइन पनि आइपुग्छन् । जाति–जनजाति कति हुन् ! कुन कुन हुन् कोटा । क्षेत्रगत उपाध्यक्ष । म पनि सामेल हुने र यसै गर्ने हुनाले बुझेको हुँ । कसैले होइन भनोस् त, अस्तिको भन्दिन्छु ।

बालक कतै देखिँदैन चिन्तनको केन्द्रमा । बालिका सम्झनाको नेपथ्यमा, निकै पर पो त !

बालसाहित्य । बालसाहित्य ।

अचेल त स्कुलका पाठ्यपुस्तकमा कथा परेको समाचार पो भाइरल छ त ! लेखिएको हुन्छ — पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत । मैले पनि अस्ति फेसबुकमा राखेँ । ‘स्कुल छुटेको दिन’ पाठ्यक्रममा पर्‍यो भनेर । बधाई आए कति हो कति !

खासमा पाठ्यक्रममा परेको होइन । पाठ्यक्रम एउटा आधार हो ।  त्यस आधारकै आधारमा पाठ्यपुस्तकका लेखकहरूले विभिन्न पाठ्यसामग्री सङ्कलन गर्छन् साथीभाइहरूसँग । नपुगेको आफूले लेख्छन् । अनि बुझाउँछन् । पाठ्यक्रमको मर्मको छेउछाउ देखियो भने स्वीकृतिको चिठी आउँछ ।

हुने यही हो । कक्षा ४ को पाठ्यक्रमा सरकारले पारेको होइन । नत्र एउटा सुराकी गरौँ न ! एउटा प्रकाशन गृहको कक्षा ४ को नेपाली पाठ्यपुस्तकमा, मानौँ न, मेरै कथा पर्‍यो । अब, अर्को प्रकाशन गृहको कक्षा ४ कै, त्यो पनि त्यसै साल आएको पुस्तकमा मेरो त्यही कथा नहुन पनि सक्छ । हुँदैन नै ! कुरो के भने, पुस्तक लेखकसँगको मेरो चिनजान मूल कुरो हो । कहिलेकाहीँ राम्रै कथा लेखियो भने, उहाँहरूले विवेकले टिपेर पुस्तकमा राख्ने कुरो पनि हो । तर, सरकारको पाठ्यक्रममा पर्‍यो भनेर पिटिने ढोल चैँ नक्कली हो । धेरै ठोक्दा प्वाल पर्ला । त्यो प्वालमै आँखा लाएर हेर्दा दले लामाको दरबार देखिएला ल्हासामा ।

बालसाहित्यमा जे राम्रो भएको छ, त्यो राम्रो छँदैछ । जो नराम्रो छ, त्यसको केहीबेर खोइरो खनौँ है ! साक्ष्यका रूपमा त तथाकथित बालसाहित्य लेखक म स्वयं उपस्थित छु । दायाँबायाँ लाग्नै परेन । दर्जन पो पुग्न लागे त किताब ।

एकचोटि रुम टु रिडले चित्रकथा माग्यो । दिएँ । छापिएन ।

प्रतिक्रिया आयो— कथा राम्रो छ । तर सन्देश चैँ ठूलाका लागि छ ।

यसो सोचेँ — कुरो ठीक ।

अनि नेपाली बालसाहित्यले हिँडिआएको बाटो हेर्न थालेँ । हैट, केटाकेटीका भाषामा सन्देश त हामी ठूलालाई नै दिँदै आएका रहेछौँ दशकौँदेखि ।

घरका बाआमा लर्नु हुँदैन, बालबालिका बिग्रिन्छन् ।

चोर्नु हुँदैन, बदनाम हुन्छ, पुलिसले लान्छ, जेल परिन्छ ।

देशका लागि मर्नुपर्छ । सालिक बनाइदिन्छन् । कितापमा नाम आउँछ ।

चुरोट–बिँडी नपिऔँ न नि, धुवाँले गर्छ धेरै बिगार ।

पढीलेखी बनिदेऊ ज्ञानी, म दिन्छु अर्ती बारम्बार । जुनी हो मेरो गाउँ । इन्द्रेणी मेरो गाउँ…

नीतिकथाको त कामै त्यही हो । नीतिकथा हाम्रो बालसाहित्यको प्राण । अनि सन्देश कसलाई जान्छ त ?? भन्नुस् न भन्देखीलाई…

वास्तवमा, वीर–वीराङ्गनाको जीवनी पढाउने चलन त पुरानै हो । मनासिब छ । महान हुनू, निडर हुनू, ठूलो होइन असल हुनू, छँदैछ तर हुने चैँ धेरै पछि हो… पछि, ठूलो भएपछि । अहिले, बाआमाको काखमा भएका बालबालिकाले, अहिल्यै चैँ के गर्नु ? अहिल्यै असल मान्छे कसरी हुनु ? कसरी सिर्जनशील हुनु ? कसरी खुसी हुनु ? बालबापनलाई कसरी उत्सवजस्तो बनाउनु ? यसबारे बालसाहित्य त्यति बोलेको पाइँदैन । मुद्दती खाता जस्तो छ कुरो, १५ वर्षमा पाक्ने, र धेरै पैसा दिने । अहिले नै पैसा चाहियो भने ऐँचोपैँचो गरेर चलाउनू है !

बालसाहित्यले बालबालिकैका लागि सन्देश दिनु जरुरी हुन्छ । ठूलालाई होइन । ठूलालाई सन्देश दिन त ठूलैका फण्डा छन् त । तपाईंहामी त्यतितिर पनि छँदै छौँ त ।

हामी सबैतिर छौँ । सबै जानेको छौँ, ख्यासख्यास लेखि पो हाल्छौँ त ।

यो कोणबाट हाम्रो सम्पूर्ण बालसाहित्यको पुनरावलोकन गर्नु हो भने नि, तपाईं–हामी धेरै, तल चोभारको खोँचमा भेटिन्छौँ । भन्दैगरेका होलाऔँ पनि— ‘ए, तपाईं पनि यहीँ ? म पनि यहीँ आइपुगेँ ।  बरु खैनी छ भने अलिकति पाम न ।’

अर्को एउटा कोण पनि तेर्‍स्याऊँ है !

एकलखेको त नि, बाढी पो छ त हौँ यतातिर — चङ्खे, पङ्खे, च्यामे, कोकले, बीरे…

बीरबहादुर भएपछि गाथा । बीरु भएपछि आधुनिक उपन्यास । बीरे भएपछि बालसाहित्य । छापिदिनुस् न, ख्यासख्यास लेख्याथेँ ।

अनि कि, एकलखे लाएपछि पनि माया नहुने त होइन । ‘काले’ भनेको सुनेरै हुर्किएँ म पनि । तर, यो अपवादको अवस्था हो । कृष्णलाई किस्ने, रामलाई रामे, टीकारामलाई टिके, ठाकुरलाई ठाकुरे चाहिँ त्यति गतिलो नियतले भनिन्छ जस्तो लाग्दैन । चोट खाएको अचानोको आत्मकथा हो यो भनेर बुझ्नुस् न !

र यस्ता एकलखे नामलाई कञ्चन बनाइदिने एउटा वाशिङ मेसिन छ, साहित्यको वृत्तमा, र त्यो बालसाहित्य । हरि शरणम् । नामको सिद्धान्त, मूलतः प्रेम, आदर र सम्मानको सिद्धान्त हो । त्यसमा ‘एकार’ को टुप्पी भिराइदिएपछि त्यो सिद्धान्तको कुरा कहाँ पुग्छ?

सोच्दा हुन्छ । एकलखेको सङ्ग्रहालय बनाउने ठाउँ नपाएर बालसाहित्यतिर आँखा लाउन मिल्छ र हजुर?

यो कोण पनि राखेँ । कोणै राख्नु त हो नि, हजुर । अब एउटा राखेपछि त्रिकोण हुन्छ ।

तेस्रो कोणचाहिँ मैले पनि नबुझेको कोण छ ।

कुनै पनि साहित्यलाई गम्भीरताका साथ ग्रहण गर्नका लागि पाठकले त्यसमाथि विश्वास गर्नुपर्ने हुन्छ । ‘ए, यो होइन । ए, यो हावा कुरा हो,’ भन्ने लाग्यो भने पाठकले पढ्न त पढ्ला, वा नपढ्ला पनि, तर त्यस साहित्यले काम गर्दैन । उसो भा, स्वैरकल्पनाको कुरो के हो त? आकाशमा गोरु उड्छ, घाम आएर गफ गर्छ, चरो बोल्छ, कुकुरले हवाइजहाज उठाउँछ । कसरी पत्याउनु? यो चैँ कुरो के भने, अतियथार्थवादी स्वैरकल्पनामा पनि आवश्यकता र संभाव्यताको सिद्धान्त लागू हुन्छ । र यो कुरा पाठकले बुझेको हुन्छ । यो विशुद्ध मनोरञ्जन हो भन्ने बुझेर मनोरञ्जन लिन्छ, त्यहाँबाट जीवन बाँच्ने सञ्जीवनी टिप्न खोज्दैन ।

यसको व्याख्या गर्दिनँ । मैलाई पनि आउँदैन । तर, एउटा कुरो ।

‘ह्वाट डु चिल्ड्रेन बिलिभ?’ भनेर यसो अनुसन्धान गरौँ न एक दिन । तिनै बालबालिकाका लागि लेख्नु छ । यसो भट्टीको समय कटाएर, हाम्रा कलिला पाठक केके कुरामा विश्वास गर्छन् भनेर शोध गरौँ न, प्लिज ।

बालकहरूको विश्वासको ब्रह्माण्ड कसरी बनेको हुन्छ? कति कुरासम्म उनीहरूको विश्वासको संसारभित्र अटाउँछ? कतिसम्म बाहिर पर्छ? कुन उमेरसमूहले कसरी विश्वासको व्योम बनाउँछ? त्यस विश्वासको जग के हो? आधार के हो?

यो जटिल कुरो भयो । तर गर्नुपर्ने देख्छु ।

कारण छ ।

आजको सानो बालकको कल्पना गर्नुहोस् न । अस्ति मित्र शहदेव खाकीका घर पुगेको थिएँ, बानेश्वर । छोरो रहेछ करिब ३ वर्षको । अङ्ग्रेजीमात्रै बोल्छ गाँठे । नेपाली त फिट्टो । गफ गरेँ । जे सोध्यो, त्यही भन्छ बाइ, फ्याटफ्याट । न बाबुले त्यस्तो अङ्ग्रेजी बोलेको सुनेको, न आमाले । अचम्मै । सोधेँ ।

‘सर, युट्युब । हामीलाई पनि अङ्ग्रेजी सिकाउँछ ।’

आफैँलाई छामेर हेरेँ । जम्नजम्न लागिसकेछु नि । होसमा आएँ ।

अर्का मित्र आउनुभयो ठिमीमा — विनोद पच्छाइँ । साथमा छोरी थिइन् गीत पच्छाइँ । १२ वर्ष जतिकी हुनुपर्छ । उपन्यास तयार रहेछ — पोर्टल ।

गफ गरेँ । चङ्खे र पङ्खेको कथा सुनाऊँजस्तो लागेको थियो । भूमिका बाँध्दैथेँ ।

हैट, कसरी सुनाउन?

टोल्किन? स्वाहा पारिसकेकही रहिछन् नानीले उहिल्यै ।

लिविस क्यारोल? स्वाहा ।

ह्यारी पोर्टरका सबै सिरिज? स्वाहा ।

बमको ‘ओज’ सिरिज? स्वाहा ।

एनिड ब्लाइटन? स्वाहा ।

उनको ‘पोर्टल’ रहेछ साइन्स फिक्सन । तिनले मलाई साइन्स फिक्सनको पनि तीनपुस्ते सुनाइदिइन् । मेरो चङ्खे र पङ्खेको कथा मनैमा निसास्सियो । फर्कंदा हनुमन्ते खोलामा मन्साइराखेर आएँ ।

अचेल त अधिकांश लोकप्रिय उपन्यासका बालसंस्करण पाइन्छन् ‘एब्रिज्ड इडिशन’ भनेर । तिनले अधिकांश स्वाहा पारेको बुझेँ । सबै— रबिन्सन क्रुसो, ट्रेजल आइल्याण्ड, मोबी डिक, डेभिड कोप्परफिल्ड…

राम लोहनी सरकी छोरी छिन् नि, ‘गुड गर्ल’ । तिनले पढेको बालसाहित्यको आयतन यसो विचार गर्नू न । सोध्नू ।

हामी ‘बालसाहित्यकार’ ले सोच्दै नसोचेको, पढ्दै नपढेको र बुझ्दै नबुझेको उचाइमा पुगिसकेको छ आजको बालबालिकाको विश्वास र ज्ञानको ताँदो । हामी चङ्खे र पङ्खेमा छौँ । नपढी पनि लेख्न सकिने कुरो भइदिएको छ हाम्रा लागि बालसाहित्य । सिकारुको पडाउ भइदिएको छ । ‘ए, बालसाहित्यकार हो, खासै बौद्धिक मान्छे होइन,’ भनेको मैले नै कतिपल्ट सुनेको छु ।

बालबालिका एकातिर । बालसाहित्य अर्कैतिर ।

हामी नदीका दुई किनारा, हाम्रो सङ्गम असम्भव छ भनेर गीत गाउनुजस्तो भा छ ।

हाम्रा चङ्खे र पङ्खेका कथा, कोकलेको चर्तिकाला, सुगाको बिहे, छट्टु स्याल र मूर्ख गधा एसपका फेबलका ‘निजी’ संस्करण हुन् । खासमा, तिनमा, हाम्रो नाम चैँ मौलिक हो, कुरो पुरानै हो । (क्षमाप्रार्थी छु, ल !) हाम्रा बच्चाले सिधै एसपकै फेबल पढ्छन् । अँ, एसपको कथामा कुकुर कालो थियो, मेरोमा रातो भनेरै पहिचानको दाबी गरिरहेका हामीहरू आत्मालाई सैतानले शान्ति देओस् ।

सैतानको आत्मालाई चैँ कसले देओस् शान्ति?

फेरि अर्को फण्डा छ कथामा । फण्डा र काण्ड त नेपालमा…के भन्नु र खोइ?

जन्मदिन । छोराले भन्यो, ‘मन्दिर जाऔँ बुवा । पूजा गरौँ ।’

बुवाले भने, ‘मन्दिर नजाने । ढुङ्गे देउताले केही गर्दैन । बरू हिँड्, अनाथालय जाऔँ । मिठाई खुवाऔँ ।’

झट्ट हेर्दा वाह । हो नि ।

झट्ट नहेर्दा? अलि बाङ्गो होर्दा नि?

हामीले बालकथामा पनि ठूलाको राजनीति गरेका हो कि होइन? त्यो बालकलाई बालक बन्न पनि दिइएन । उसले ठूलो परोपकारी हुनुपर्छ भन्ने अभिष्ठ सुन्दर छ, तर उसले ठूलो अनिश्वरवादी हुनुपर्छ भन्ने हाम्रो आग्रह चैँ हाम्रो हो । उसको होइन ।

हाम्रो कथाले उसलाई बालक बनिरहन पनि दिएन । भोलि, उसको अध्ययन, विवेक, बुद्धि र ठहरले उसलाई ईश्वरवादी वा अनिश्वरवादी बनाउनु त्यो उसको स्वतन्त्र ठहरको कुरा भयो । हामी आजैदेखि, बालसाहित्यका नामका उसले देउता मान्नु हुन्छ वा हुँदैन, उसले कुन कुन पार्टीको लाइन समात्नुपर्छ, कुन कुन नारा कण्ठ पार्नुपर्छ…आदि कुरा सिकाउँछौँ । डर पनि  कति भने, बालसाहित्यकै माध्यमबाट पनि सदस्यता सुरक्षित हुनपर्छ । नत्र नियुक्ति आउँदैन ।

मार्क्सवादी बालसाहित्य, प्रजातन्त्रवादी बालसाहित्य, राजावादी बालसाहित्य…नेपालमा यस्तो पनि छ । नियालेर हेर्नुस् त । किनकि, त्यो हामीमा छ । र, हामी बालसाहित्यकार । र, हामी बालसाहित्य प्रौढ मस्तिष्कले, प्रौढ आग्रहका साथ लेख्छौँ ।

अचेल त लेख्नै कम भयो ।

कम किन भयो?

आफैँमा एउटा प्रयोग गर्न थालेको छु । काम लाग्न सक्छ, साझा गरौँ है ।

बालकथा भनेर लेखिएका कथाबाट सबै प्रौढ पात्र निकालेर फाल्ने कोसिस गरिरहेको छु । एउटा प्रयोगै भनौँ न । वा अभ्यास । आफ्नै परीक्षा ।

सबै प्रौढ पात्र निकालेपछि—

१. प्रौढको भाषा, कुरो वा आग्रह स्वतः हट्यो ।

२. कथाको सन्देश प्रौढलाई जाने संभावना कम भयो ।

३. लेखकलाई बालकहरूकै संसारमा अवतरित हुने बाध्यता भयो ।

४. राजनीति धेरै हदसम्म हट्यो ।

५. बालसंसारको स्वाभाविकताले कथामा प्रवेश पायो ।

प्रौढ पात्र आउनै हुन्न भन्ने चैँ होइन । आउँदा हुन्छ । धुमधाम । तर, ती पात्र रेडीमेड उत्तर लिएर नआऊन् । विचारका ठेली बोकेर नआऊन् । भरिसक्के मूक पात्र होऊन् । बोल्नै परे थोरै बालून्, तर हस्तक्षेपको शैलीमा होइन । अलमलका बत्ती बनेर आऊन् । केही उज्यालो बोकेर आऊन् । बालसंसारका साना दर्शक वा सहयोगी बनेर आऊन् । ‘विजर्ड अफ ओज’ जस्ता ।

सङ्केतमा भनेँ ।

हाम्रा अधिकांश बालकथाको भाषा अलि फेर्दिने हो भने त्यही विषय, उही मुद्दा, उही परिवेश, उही पात्र, उही संवादमा त्यो प्रौढ कथा बन्छ । लु न, हेरौँ न केही कथा उठाएर । भनि चैँ नहालौँ, रिसाइहाल्छन् ।

उहिल्यैदेखि हाम्रो बालसाहित्यको लाइन एण्ड लेङ्ग्थ बिग्रेकै हो । देवकोटाको ‘राजकुमार प्रभाकार’ उठाएर प्रश्न सोधौँ—  त्यसको भाषा बालसाहित्यको भाषा हो? ती शब्द बालमैत्री हुन्? पढ्न छोडेर वन पस्नु, केटीसँग लठार्रिएर बस्नु, मौजमस्तीमा डुब्नु, अलि पछि ग्लानिको पोखरीमा डुब्नु, र अन्ततः घर र जिम्मेवारीमा फर्कनु — यी बालबालिकाको धरातलका कुरा हुन्? लु न, यिनै पात्र, यही कथा र यसै परिवेशमा कसैले वयस्कहरूका लागि एउटा उपन्यास लेखोस् । अमान्य हुन्छ र? केटाकेटीका लागि भयो भन्छ र कसैले?

त्यो बालसाहित्य भो भनेर देवकोटा आफैँले भूमिकमा लेखेका छन् ।

हुन त अस्ति बहस चल्यो हनुमानथानमा — सेक्सको विषय बालसाहित्यको विषय हो वा होइन?

हो ।

होइन ।

हो पनि होइन पनि ।

तर सिद्धान्ततः पाठकको उमेरसमूह हेरेर हुन्छ । कुरो फाइनल । कुन उमेरबाट बालबालिकामा यौनबारे जिज्ञासा जाग्न थाल्छ, त्यो उमेरसमूह हाम्रो लक्षित पाठको उमेरसमूह हो भने एउटा वस्तुपरक कोणबाट यौनको मिश्रण हुन सक्छ । के हो वस्तुपरक कोण भनेको, त्यतातिर लागिनँ ।

नेपाली बालसाहित्यमा एउटा ठूलै बहस चलेको थियो माओवादी द्वन्द्वका अन्तिम केही वर्षताका । प्रश्न थियो— बालसाहित्यमा हिंसा वा द्वन्द्वका कुरा राख्न मिल्छ कि मिल्दैन? मृत्युका? रगतका?

मिल्छ । मिल्दैन । मिल्दैन । मिल्छ ।

मत अनेक ।

मित्र कार्तिकेय घिमिरेले कथा बालकथामा यस्तै द्वन्द्वका कथा लेखे । कथा हिट । ‘तिम्रो चौकी भत्काइदिन्छु’ । ‘दुनोट पसलेकी छोरी’ । ‘ऊ कहाँ गयो होला?’ आदि । सबै द्वन्द्वका कथा । वास्तवमा, नेपाली बालकथामा उनैले यस प्रकारका द्वन्द्वका कथा लेख्ने परिपाटी सुरु गरे भन्दा पनि हुन्छ । कुरो के भने, युद्ध वा द्वन्द्वमा सबै उमेरका बालबालिकाले ती कहरलाई आफ्नै तरिकाले देखेका हुन्छन्, भोगेका हुन्छन् । यदि बालसाहित्यमा बालबालिकाले देखेको वा भोगेको संसार पनि आउनुपर्छ भन्ने हो भने द्वन्द्वले स्वतः ठाउँ पाउनुपर्छ । यसले बालसाहित्यलाई नीति र उपदेशबाट उठाउन, एकलखेको भासबाट बचाउन तथा कथालाई गहन र मनोवैज्ञानिक मोड दिन सहयोग गर्छ ।

अनि कि, सारमा ह्यारी पोर्टर त युद्धै हो त । द्वन्द्वै हो त । षड्यन्त्र, बुद्धिचाल, फौज, आक्रमण…के चैँ हेइन र? दर्जनौँ मृत्यु पनि कथाको पाटो हो ।

बालकहरूको वास्तविक संसारमा पनि मान्छे मर्छन्, मारिन्छन् । उनको संसारमा उभिएको साहित्यमा चैँ अमृतै मात्रै छर्कनुपर्छ, सकी नसकी स्वर्गबाट ल्याउनुपर्छ, अथवा हनुमान खोजेर गन्धमादनतिर पठाउनुपर्छ भन्ने ह्याङ पनि खोलैखोला गयो । पठाएकै हो ।

हमुनाम कहाँबाट ल्याउनु साहित्यमा । सबै राजनीतिमा छन् ।

अन्तिम एउटा तर्क यस सन्दर्भमा । (धन्न ‘अन्तिम’ भन्यो र अलि सास आयो भन्नुहोला ।)

यो तर्क चैँ के भने सेथ लिलरले लेखेको, मैले भेटेको कतै — जुन देशको बालसाहित्य कमजोर हुन्छ, त्यो देश पनि, प्रकारान्तले, कमजोर हुन्छ ।

यसो सुराकी गरेँ । बलियो बालसाहित्य परम्परा भएका देश— डेन्मार्क, स्वेडेन, बेलायत, अमेरिका, जर्मनी…थपौँ । आर्थिक रूपले सम्पन्न ।

बालसाहित्यको परम्परा कमजोर भएका देश । मैले नाम लिनु पर्ला र?

तर्क रहेछ — बालसाहित्यले मस्तिष्कलाई सिर्जनशील बनाउँछ । दृष्टि दिन्छ । बच्चा भविष्यद्रष्टा हुन्छन्, कल्पनाशील हुन्छन्, इमानदार र कर्मठ हुन्छ । ती जब ठूला हुन्छन्, चमत्कारी हुन्छन् ।

राज्यले खासै लगानी गर्दैन । बच्चा भोट हाल्दैनन्, राज्यलाई थाहा छ । पार्टीलाई थाहा छ ।

हाम्रो प्रेम, लगन, अध्ययन र ऊर्जाको अलिकति लगानी यतातिर पनि लगाउने हो कि?

जाँदाजादै—

गधा सधैँ मुर्ख हुन्छ भनेर गधाको मानहानी कहिलेसम्म?

स्याल सधैँ छट्टु हुन्छ भनेर किन स्यालको अपमान?

कछुवाले केका लागि, कहाँ, कुन दबरार पुग्न छिटो हिँडिदिनुपर्ने?

बालकथामा मान्छेका कोण लादेर जनावरमाथि कहिलेसम्म यातना?

गधालाई गधा, स्याललाई स्याल, कछुवालाई कछुवा, बाँदरलाई बाँदर देख्न सिकाउनु पनि हाम्रो दायित्व होइन र? आज, पृथ्वीको कोण बढी महत्त्वपूर्ण भएर आएको छ ।

बालसाहित्यको शुद्धीकरण गर्ने हो भने र सप्ताह पुराणले मात्रै पुग्ने देख्दिनँ । अखण्ड ज्योति बालेर अविछिन्न महापुराण लाउनुपर्ने देख्छु ।

पण्डित खोजौँ ।