‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक । रमजान अली मियाँकाे ‘मैले देखेको कतार’देखि उप्रेतीकाे ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
० ० ०
१. नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति — नन्दु उप्रेती
अनुसन्धानकर्ता नन्दु उप्रेतीकृत पुस्तक हो – “नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति” । १ सय ३६ पृष्ठमा फैलिएको यस पुस्तकमा लघु उपन्यासको सिद्धान्त, लघु उपन्यासको उपन्यास र कथासँग तुलना, नेपाली लघु उपन्यास परम्परा र प्रवृत्तिगत अवस्था, नेपाली लघु उपन्यासहरूको अध्ययन र विश्लेषण, सारांश र निष्कर्ष गरी पाँच परिच्छेदबाट लघु उपन्यासको परिचयात्मक विवेचना गरिएको पाइन्छ ।
“यस कृतिमा आख्यान साहित्यअन्तर्गतको लघु उपन्यास र तिनको अवस्था, परम्परा र प्रवृत्ति एवं पहिचानसम्बन्धी विश्लेषणात्मक अध्ययन गरिएको छ ।” मन्तव्यमा माया ठकुरी लेख्छन्, “यस अनुसन्धान कृतिका लेखक नन्दु उप्रेतीका अनुसार नेपाली लघु उपन्यासलाई परिभाषित गर्न अझै बाँकी छ । आकारका हिसाबले होस् वा अन्य आन्तरिक तत्गत विशेषताका आधारमा होस् नेपाली उपन्यास विधाले पूर्ण रूपले परिभाषित हुन पाएकै छैन । त्यसकारण यस सम्बन्धमा लेखक समालोचक, पाठक कसैको पनि स्पष्ट अवधारणा बनिसकेको अवस्था छैन । यस कृति नन्दु उप्रेतीले अत्यन्त मिहिनेत गरेर तयार पार्नुभएको हो । यसका लागि म अनुसन्धानकर्ता नन्दु उप्रेतीलाई नेपाल प्रज्ञा-प्रतिष्ठान र साहित्य (गद्य, आख्यान) विभागका तर्फबाट हार्दिक बधाई दिन्छु ।”
पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २ सय ७५ रुपियाँ रहेको छ ।
२. जङ्क्सन पिपलबोट नयाँ सडकको कथा— प्रकाश गुरगाईं
“जङ्क्सन पिपलबोट नयाँ सडकको कथा” कवि तथा पत्रकार प्रकाश गुरगाईंको गैर आख्यान पुस्तक हो । यस पुस्तकमा ‘नयुरोड एडिक्सन’, ‘मदिरा र मित्रता’, ‘रक्सीले बदनाम एउटा कवि’, ‘नयाँ सडकको पुराना घर’लगायत १६ थान शीर्षकबाट नायँ सडकको पीपलबोटसँग जोडिएको सामाजिक, सांस्कृतिक, राजनीतिक र साहित्यिक इतिहास पाइन्छ ।
“प्रकाश गुरगाईं खुट्टामा श्रीपेच कवितासङ्ग्रह लेखेर हाम्रो समयका एक मेधावी जनपक्षीय कविको चिनारी दिइसकेका छन् । त्यो चर्चिन काव्य रचनापछि अर्को अन्तरालमा प्रकट भएको छ नवीन गद्य कृति जङ्क्सन पीपलबोट । यो आविष्कार उनीभित्रको उही काव्य साधना र सामर्थ्यको अर्को कडी मात्र होइन, इतिहास बोधको आवेगमय एक प्रमेय पनि हो । यस अर्थमा यो कति उनको नयाँ अवतारको ज्वलन्त प्रमाण हो ।” पुस्तकको पछिल्लो पृष्ठमा नारायण ढकाल लेख्छन्, “नयाँ सडकको कथा भनेर उनले एकै पटक साहित्य, राजनीति र नेपाली संस्कृतिको प्रमाणिक तथ्य उत्खनन गर्ने जमर्को गरेका छन् । यहाँ हामी छौँ र हामीसित जोडिएको एक युगको संलिष्ट आत्मवृत्तान्त छ । यहँ हामी छौँ र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित हाम्रो सङ्घर्ष र स्वप्निल कामनाहरूको आरोह र अवरोह छ । यसकारण म भन्छु — सरल, सरस र बोधगम्य भाषाशैलीमा बुनिएको यो गाथा हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त हो ।”
फिनिक्स बुक्सद्वारा प्रकाशित ३ सय १५ पृष्ठको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
३. छुटेको बागदाता — दीपा राई पुन
कवि दीपा राई पुनको तेस्रो कविता कृति हो — “छुटेको बागदाता” । कलवर, धरानले दास्रो संस्करण बजारमा ल्याएको हो । ७२ पृष्ठको यस कविता सङ्ग्रहमा ‘तिमी हिवा म तावा’, ‘जीवनमार्ग आमा’, ‘स्वीकारोक्ति’, ‘अर्पण’, ‘बतास अर्थान्तरण’, ‘अमिट अन्तरङ्ग’, ‘शूरवीर समय’लगायत ३९ थान कविता सङ्ग्रहित छन् । सरल, सहज र प्रवाहमय भाषामा लेखिएका प्रस्तुत कविताहरू मार्मिक छन् । साथै विम्बहरूको सशक्त प्रयोग पनि पाइन्छ ।
लेखकीयमा लेखिएको छ, “जीवन यात्रामै नसकियोस् भनेर मैले आफूलाई खोजेँ । त्यही खोज्ने क्रममा मेरो तेस्रो कविता सङ्ग्रह ‘छुटेको बागदाता’ जन्मियो । पहिचानको खोजीमा म कति भेटिएँ कुन्नि । मैले यसको जिम्मा पाठकलाई नै छाडेको छु । जीवनको सबै अनुभवहरूबाट सुन्दर अनुभूतिलाई टिपेँ । अप्ठ्यारा जतिलाई साहस सम्झेँ । सकारात्मक भएर काँडालाई फूल देखेँ । समयसँग जुझ्दै जीवनको धुनहरू कवितामा सुनेँ । शब्दहरू सधैँ मेरो भावानाका साथी बनेर आयो । म हिँड्ने बाटोभरि, म बाँच्ने पाटोभरि मेरो साथ बनेर आयो । म हिँड्ने बाटोभरि, म बाँच्ने पाटोभरि मेरो साथ छोडेन शब्दहरूले । हामी दुई मिलेर कविता लेख्यौँ । कवितामा समयलाई बाँध्ने कोसिस गर्यौँ । जीवनलाई बुझ्ने प्रयत्न गर्यौँ । आफूलाई प्राकृत सम्झेर प्रकृतिसँग रमाउँदै मानवीय संवेदनामा केन्द्रित रहेर कविताको भाषा जसरी बोले, त्यही नै मैले पाठकलाई सुम्पेको छु ।”
पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
४. मैले देखेको कतार — मोहम्मद रमजान अली मियाँ
प्राध्यापक मोहम्मद रमजान अली मियाँको पुस्तक हो — “मैले देखेको कतार” । गैरआख्यान विधाको यस पुस्तकलाई ‘कतारमा नेपाल’ खण्ड १ मा १६ थान शीर्षक, ‘कतारमा कतार’ खण्ड २ मा २२ थान शीर्षक, ‘नेपाल कतार’ खण्ड ३ मा ६ थान शीर्षकबाट तयार गरिएको छ ।
प्रकाशकीयमा कमल ढकाल लेख्छन्, “संसार सुन्दर छ । कारण – संसारमा सुन्दर मान्छेहरू छन् । संसार सुन्दर छ । कारण – संसारमा सुन्दर प्रकृति छ । संसार सुन्दर छ । कारण – संसारभरिका मान्छे संसारभरिकै मान्छेलाई खुसी बनाउन लागिपरेका छन् । दुःखका कुरा मात्रै कति गर्ने ? सुखका कुरा पनि गरौँ । विपनाका सपनाका कुरा गरौँ । आशाको कुरा गरौँ । आशा नै सकारात्मकताको बिउ हो । सकारात्मक कुरा गरौँ । कल्पनालाई योजनामा, योजनालाई व्यवहारमा ल्याएर धेरै मान्छेले धेरै कुरा सिर्जना गरिदिएर नै संसारमा हामी सुन्दर भएर हिँड्न पाएका छौँ । यो पुस्तकमा यिनै विषय-वस्तुहरू छन् ।”
लेखकीयमा लेखिएको छ, “कतारको वैभव बढाउन खटिने नेपालका लागि कतारले पनि केही गर्न चाहन्छ । नेपाल पनि कतारको विकासको सहयात्री बन्न इच्छुक छ जुन कुरा आम नेपाली श्रमिकका कडा परिश्रम तथा योगदानबाट झल्किन्छ । त्यसैले मैले भन्ने गरेको छु, ‘नेपालले कतार बनायो, अब पालो कतारले नेपाल बनाउने’ ।”
घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको ४ सय ९० पृष्ठको पुस्तकको मूल्य ७ सय ५० (हार्ड कभर – १ हजार ५ सय) रुपियाँ रहेको छ ।
५. अक्षरको आयतन — सुषमा आचार्य ‘अंशु’
राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको “अक्षरको आयतन” सुषमा आचार्य ‘अंशु’को कविता कृति हो । ७६ पृष्ठको पुस्तकमा ‘अघोषित प्रमाणपत्र’, ‘मिल्ने भए’, ‘परीक्षा’, ‘निद्रादेवी’, ‘तरङ्ग’, ‘कहाँ छ मेरो देश’लगायत ३६ वटा प्रेमिल, सामाजिक, समसामयिक, मार्मिक साथै विविध स्वादका कविताहरू सङ्ग्रहित छन् ।
“उनका यस सङ्ग्रहका सबै कविता उत्कृष्ट छन् भन्ने मिल्दैन, कतिपय कवितात्मक मूल्यका दृष्टिले दुर्बल र सामान्य पनि छन् । उनको कविताले लेखनमा धेरै अध्ययन,, साधना र परिस्कारको खाँचो छ तर कविताका लागि चाहिने भावनाकी भने उनी धनी छन् र उनको यस सङ्ग्रहका कवितामा वर्तमान समय र समाजलाई सम्बोधन, सङ्गतिहीनता प्रति विमति छ, पर्यावरणीय विनाशप्रति चिन्ता छ, उदात्तप्रेमप्रति आस्था छ, नारी चेतनाको अभिव्यक्ति छ, जीवनका भुक्त तथा अमुक्त अनेक यथार्थको प्रतिविम्ब छ, आफ्नै जीवन, भोगाइ, आगत र अनेक चाहनाहरूप्रतिको सम्बोधन छ र आफूले आफैलाई हेर्ने भावना छ । यो नै उनका कविताको विषय हो । स्वानुभूतिको विविधतामय अभिव्यक्त सुषमा आचार्यको विशेषता हो । कृति प्रकाशनका अवसरमा कवि सुषमा अंशुलाई हार्दिक बधाई तथा शुभसम्मति व्यक्त गर्दछु ।”
पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।