स्वदेशमा केही पनि सम्भव हुँदैन । यदि स्वदेशमै बसियो भने भविष्य बिग्रन्छ । यहीँ बस्नु र केही गर्नु भनेको अपराध गरेसरह महसुस गर्ने वातावरण किन, कसरी र कहिलेबाट सिर्जित भइरहेको छ ? युवाहरू र विद्यार्थीको मानसिकतामा यस्ता कुरा कस्ले घोल्दै छ ? यही भूमिलाई हराभरा र सुसंस्कृत बनाउन सीप, समय, ऊर्जा र उमेर खर्चेर पसिनाका थोपा चुहाउन चाहने युवाहरूका लागि किन समाज र देशले वातावरण तयार गर्नसकेको छैन ?

देशको सबैभन्दा ठुलो सम्पत्ति के हो ? यदि नागरिक र युवाभन्दा ठुलो देशको अर्को कुनै सम्पत्ति हुन्छ जस्तो मलाई लाग्दैन । तर धेरै पहिलेबाट यो देशमा युवाहरूलाई बेवास्ता गरिँदै छ, केका लागि ? युवालाई राष्ट्रले कहिल्यै सम्पत्ति मानेन । मान्थ्यो भने बर्सेनि लाखौँ धरौटी र बन्धकी राखेर सिमानाबाहिर नबेचिनु पर्ने हो । बेचिनु पर्ने वातावरण सिर्जित नहुनुपर्ने हो ।  युवाहरूमा ‘देशमा महिला सुरक्षित छैनौं’, ‘भविष्य छैन’ जस्ता भाष्य र अवधारणा स्थापित नहुनु पर्ने हो । सम्पन्नता र विकासको मूल सोचबाट फुट्छ । फुट्नु पर्छ । उद्यमशील सोच तयार भएको युवाहरूको बृहत् जमात तयार नभएसम्म देशले निकास पाउन सक्दैन ।

हाम्रोमा विदेशको भिजा लाग्यो भन्ने बित्तिकै ऋणपनबाट, घरजग्गा बन्धकी राखेर भए पनि  १०/१५ लाख सजिलै तयार हुन्छ । राम्रो (युरोपियन, अमेरिका, अष्ट्रेलिया) देश छ भने त ४०/५० लाखसम्म खर्चिने तयार छन् यहाँ । तर त्यही पैसा देशभित्र उद्यममा लगानी गर्न किन निस्कँदैन ? किन निस्कन सक्ने वातावरण छैन ? लाखै फालेर शरणार्थी बन्न किन कोही तयार देखिएको छ ? गैरकानुनी तवरले सिमाना नाघेर विदेश जाने हजारौँ नेपालीहरू अलपत्र परेका खबरहरू आइरहन्छन् । जोखिम मोलेर, जिन्दगीभर कमाएको, बचाएको दाउमा राखेर बिदेसिन किन मरिहत्ते गरिरहेका छन् ?

मन्दिप बाँस्कोटा

अहिले सतहमा आएको भुटानी शरणार्थी प्रकरण एक उदाहरण मात्रै हो । सबै छानबिन प्रक्रिया पूरा गर्ने हो भने अरू अरू देशमा बाहिर पठाउने लाइन झन् कति लामो होला ? त्यसमा सिधै खुल्लामा खुल्ला मन्त्रीहरू तानिन्छ, जो कुनै समय स्वरोजगारका नारा लाउनेहरू नै थिए । यसरी व्यवस्थित मानव बेचबिखनको सिलसिला सदियौँदेखि चलिरहेको छ । अझ भन्ने हो भने, कसलाई चाहिँ  बाहिर पठाइँदै छ र कसलाई नक्कली नागरिकता र पासपोर्ट दिएर भित्र्याइदै छ ? त्यो पनि सिधै राज्य पक्षबाट रातो कार्पेट बिछ्याएर । त्यो महत्त्वपूर्ण कुरो हो ।

बिहानै मसमक्ष ठोक्किन आइपुगेको एक विचारले लामो समय मलाई सोच मग्न बनायो ।उच्चशिक्षा हासिल गर्न विदेश गएका नेपाली विद्यार्थी ६ महिनामा गाडी किन्न सक्ने हुन्छ । दुई  वर्षमा फ्ल्याट किन्न सक्ने हुन्छ । विवाहितको हकमा श्रीमती/श्रीमान्लाई लैजान्छ । ३ वर्षमा आमाबुवा बोलाउँछ । तिन वर्षमै चमत्कारिक ढङ्गबाट भविष्य सुरक्षित गर्न भ्याउँछ । बिचरा, त्यहाँ न बाको पैतृक सम्पत्ति थियो, न मामाघर थियो, न त ससुराली थियो । त्यो देश न उसको जन्मभूमि हो न त्यहाँको नागरिक नै । सबै पराई भएर पनि सबै सम्भव भयो ।  कसरी ? यसको वैज्ञानिक र तर्कसङ्गत उत्तर हरेक युवा, सरोकारवाला पक्ष , प्रतिनिधित्व पात्र र नेतृत्वले राष्ट्रियस्तरबाट खोज्ने हो भने बल्ल पो नेपाल बन्छ ।

विदेशमा युवालाई सम्पत्ति र कामलाई धर्म, काम गर्ने इच्छाशक्ति र श्रम शक्तिलाई सम्पत्ति मानेरै हाेला, पार्ट टाइम (कर तिरेका) प्राइभेट नोकरीको आम्दानीलाई आधार बनाएर, उर्वरशील मस्तिष्क र सृजनशील मन अनि कर्मशील हातपाउलाई सम्मान गरेर होला, सामूहिक छलफल तथा अन्तरक्रिया  गर्ने भएर पनि होला, कमाइ सँगसँगै बजेट व्यवस्थापन र आर्थिक शिक्षाको जानकारी दिएर होला,  बैङ्कमार्फत लगानी र व्यवस्थापन गर्ने विधिका कारणले पनि हुनसक्छ, उद्यमशीलता तथा उत्पादनशीलतामा सहुलियत ऋणले होला, कामप्रतिको सम्मान, सकारात्मक सोच, इमानदारी र अनुशासनले पनि होला; नागरिकले आफ्नो भविष्य सुरक्षित भएको महसुस गर्न पाउँछन् । तर हामीकहाँ न काम गर्ने उमेर सम्पत्ति बन्यो, न काम गर्ने इच्छाशक्ति नै । सम्पत्तिको परिभाषा केवल जग्गाजमिन, घर र गाडीमा सीमित बनाइए । जसरी पनि जग्गाजमिन आफ्नो नाममा बनाउनुपर्छ भन्ने नीति र चिन्तनले सुकुम्वासी समस्या घटेन, बरु सुकुम्वासीका नाममा हुकुमवासी समस्या थपियो । उद्यम, उत्पादन, इलम कहिल्यै प्राथमिकतामा परेन । यसैको उपज श्रम अपमानित भयो । काम गर्न चाहने जनशक्ति खेर गयो । काम गर्ने इच्छा मर्‍यो । सपना पनि मर्‍यो । उत्पादन भएन आयात बढ्यो । उद्योग चलेन व्यापार सकियो । रोजगारी मर्‍यो बेरोजगारी बढ्यो । आम्दानी मर्‍यो ऋण बढ्यो ।

अब सम्पत्तिको परिभाषा र नीति फेर्नुपर्छ । फेरिनु पर्छ । मरेको सपना ब्युँताउने हो भने काम गर्ने उमेर, काम गर्ने इच्छाशक्ति, काम गर्ने नवीन सोच र योग्यतालाई सम्पत्तिको परिभाषाभित्र अटाएर त्यसमा लगानी गर्न सक्नुपर्छ । अन्यथा गरिब गरिब नै हुनेछन् धनी पनि गरिब हुनेछन् ।

देशमा विभिन्न परिवर्तनहरू आए । परिवर्तनसँगै विकास, उद्यमशीलता तथा समृद्धिका नाराहरू पनि लागे । तर देशभित्र किन यसका लागि आवश्यक वातावरण भने सिर्जित भएन या  बनाइएन ? स्वदेशमै बस्नु, अध्ययन, अनुसन्धान, अन्वेषण र नवप्रवर्तन गर्नु, उद्यमशीलता र स्वरोजगारका कुराहरू गर्नुमात्र कुरामा सीमित किन गराइए ? यहाँ यस्ता कुराहरू दर्ता पक्रियादेखि सुरु भएर कागजात, कानुनी मान्यता, विभाग, आयोग, सरकारी निकाय, मन्त्रालय र त्यहाँ बेह्रिएर बसेका आफन्त र बिचौलियाहरूमै अल्झिरहे । ज्युहजुर नगरी नहुने वातावरण तयार भयो । देशको बौद्धिक, स्वप्निल , सृजनशील, कर्मशील अनि परिवर्तनको सोच राखेर रेखा खिच्न सक्ने व्यक्तिहरू सधैँ निरीह रहे । रही रहेछन् । आफ्नो समय र ऊर्जा खर्चिएर देशलाई सिञ्चित गर्न चाहने मन र हातहरूको वास्तविकता यहाँ यही हो ।

यो किन र कसरी हुन्छ ? गहिरिएर खोज्ने, हेर्ने हो भने जवाफ हामीसँगै छ । हरेक नागरिकसँग छ । हाम्रो दैनिक भोगाइ र अनुभवका पानाहरूमै छन् । यस्तो हुनुमा सदियौँदेखिको ठुलो खेल छ, त्यो भूमिका तयार गर्दिने खेलाडीहरू देशभित्रै छन् । यो डिजाइनबद्ध रूपमा रचिएको प्रोपोगन्डा हो । यस्तो किसिमको सोच र राष्ट्रिय भावना उत्पन्न हुनुमा विभिन्न प्रणाली र संरचनाहरू जिम्मेवार छन् ।

देशका हरेक संरचनामा माफिया र गिरोह छन् । देशमा उनीहरूकै हालीमुहाली छ । उनीहरूको मुख्य एजेन्डा युवाहरू पलायन गर्नु  पनि हो । देशमा उद्योग तथा व्यपारव्यवसायहरू धरापमा पार्नु  म्यानपावर स्थापित गर्नु अनि देश उत्पादनमुखी नभएपछि विदेशबाट हरेक चिज आयात गरेर कमिसन खानु हो ।

दैनिकी २ हजार नागरिक किन सीमाबाहिर जान बाध्य छन् । अझ दैनिक ५ जना बाकसमा किन फर्किन्छन् । किनकि नेक्तृत्व यही चाहन्छ । वैदेशिक रोजगार र रेमिटेन्स बिना देशको अर्थतन्त्र अगाडि बढ्छ वा लिएर जान सक्छौँ भन्ने सोच र भिजन बोकेको नेक्तृत्व देशमा जन्मिएकै छैन । तथ्य हेर्ने हो भने वैदेशिक रेमिटेन्सबिना वार्षिक राजस्वले मात्रै ९० प्रतिशत सरकारी कर्मचारी, सांसद र मन्त्रीलाई दिने तलब पनि पुग्दैन । यो वास्तविकता हो । सरकारी निकाय, मन्त्रालय र नेक्तृत्वको शिरदेखि पाउसम्म बेह्रिएका गिरोह र माफियाले  देश आत्मनिर्भर भएको, उत्पादनशील भएको हेर्न चाहँदैन । त्यसै कारणले यो जागिरे अर्थतन्त्र, मजदुरे मानसिकताबाट विपरीत सोच राख्नेहरूले यिनीहरूलाई दूध चराइडहनुपरेको घटना र परिघटनाहरू मिडियाबाट बाहिर आइरहेका छन् ।

देश अस्थिर भइरहोस्, युवाहरू पलायन भइरहुन्, यही एजेन्डा संरक्षण गर्न  गर्न प्रायः पार्टीहरूको चौकीदारी छ । यदि यसो नभएर देश उत्पादनशील हुनु, आत्मनिर्भरतातर्फ अगाडि बढ्नु, उद्यमशील हुनु हो भने सक्षम युवाहरू देशभित्रबाट उठेर मूल धारमा आउँछन् । अस्थिरता सकिन्छ । त्यसपछि कमिसन र घोटाला काण्ड बन्द हुन्छ । भ्रष्टाचारको ढोका साँघुरिन्छ । सत्ताको छानामुनि सुतेका अधिकांश प्रतिनिधित्व पात्र र नेक्तृत्वलाई नै यो डर छ ।

सरकार फेरिन्छ । कार्यशैली उही रहन्छ । यहाँ व्यवस्था फेरिरहे अवस्थाका मुद्दा र नाराहरूले गति लिइरहे । तर हाम्रो समस्या अवस्था र व्यवस्थाको होइन । समस्या यहाँ विचारमा छ । सोच, सपना, र हौसलामा छ । आत्मविश्वास, इमानदारी र नैतिकतामा छ । अनि प्रेम आचार्यजस्ता उद्यमीलाई राजधानी पुर्‍याएर आगो लगाउने तपाईँहामीले सदियौँदेखि हली भएर जोगाइरहेका प्रमुख अतिथि, अध्यक्ष , मन्त्री, प्रधानमन्त्री बनाइरहेका देश र समाजका तिनै प्रतिनिधि पात्र हुन्  ।

‘उद्यमशीलताको विकास हुनुपर्छ, युवा देशभित्रै स्वरोजगार हुनुपर्छ’ भन्ने एजेन्डा बोक्ने अधिकांश नेताकै  छोराछोरी र सम्पत्ति  विदेशमा नै छन् . विदेश पठाउने गिरोहले सत्ता र शक्तिको आडमा मन्त्रालय घेरेको छ । त्यसै कारण एकपल्ट सीमा नाघेका युवा स्वदेश फर्किन चाहँदैन । उतै सेटल हुने कोसिस गर्छन् । नीति, नियम, कानुनी, प्रक्रिया र नेक्तृत्वदेखि प्रशासन हुँदै कर्मचारीतन्त्र दुर्गन्धले गनाइरहेकाले युवाहरू उत्पादन, लगानी, उद्यमशीलता, सपना र भिजन बोकेर छेउमा पर्न चाहँदैनन् । नेपालमा प्रत्येक वर्ष ६ लाख हाराहारी युवाहरू ग्र्याजुएट भएर निस्किन्छन् । मुस्किलले  50 हजारका लागि रोजगारी मिल्छ । बाँकी युवाहरूको सङ्घर्ष, सपना, लगन, विचार, ऊर्जा र सपना अब के त ? कहिलेकाहीँको अतिथि र  सामाजिक सञ्जालमा सहानुभूतिको पुरस्कारबाहेक उनीहरूको २०/३० वर्षको लगनले केही पाएको होला ? यसको ज्वलन्त उदाहरणको रूपमा उनै इलामका युवा उद्यमी प्रेम आचार्यको आत्मदाह गहिराइमा पुगेर हेरे पुग्छ ।