बेलायतको सर्वोच्च सम्मान ‘सर’बाट सम्मानित प्रख्यात लेखक सलमान रूस्दीले पछिल्लो समय पोलिटिकल्ली करेक्ट हुने नाममा हास्यास्पद कार्य गर्न थालिएकामा आपत्ति जनाएका छन् । कतिपय शब्दावलीहरू परिवर्तन गर्ने र किताब नै सच्याउने प्रक्रिया थालिएकामा उनले अहिलेको प्रवृत्ति उचित नभएको उनको भनाइ छ ।
सटानिक भर्सेस उपन्यास लेखेपछि संसारभरका मुस्लिम अतिवादीबाट सताइएका लेखक रूस्दीले इयान फ्लेमिङको जेम्स बोन्ड उपन्यास शृंखलालाई यतिबेला पुनर्लेखनको क्रममा राखिएकामा आपत्न्ति जनाएका छन् र यो जत्तिको हास्यास्पद कार्य केही नहुने प्रतिक्रिया दिएका छन् ।
‘मैले भन्नैपर्छ, प्रकाशकहरूको यस किसिमको प्रवृत्ति निकै खतराको घण्टी हो,’ उनले द टाइम्स पत्रिकासँग कुरा गर्दै भने, ‘रोआल्ड डाल र इयान फ्लेमिङजस्ता संसारै प्रभावित तुल्याउने लेखकका सिर्जनाहरूलाई समयसापेक्षताका नाउँमा सम्पादन गर्नु खतरनाक कुरा हो । खासमा पोलिटिकल्ली करेक्ट हुन खोज्नु हास्यास्पद कार्य हो । यस्ता खतरनाक कुराको प्रतिरोध हुनुपर्छ ।’
‘कुनै पनि किताब भनेको कुनै निश्चित समयमा, निश्चित समयका लागि लेखिएका हुन्छन्,’ उनले भने, ‘तपाईंलाई ती किताब पढ्दा पीडा हुन्छ भने, नपढ्नुस् । त्यसको ठाउँमा तपाईंलाई रूच्ने किताब पढ्नुस् । तर हिजोका रचनालाई आजको चेतका हिसाबले सम्पादन नगर्नुस् ।’
इयान फ्लेमिङका उपन्यासहरूलाई गत अप्रिल महिनामा बजारमा ल्याउँदा केही वाक्याङ्शहरू सम्पादन गरिएका थिए । तिनले काला जातिमाथि नराम्रो टिप्पणी गरेको भन्दै ती वाक्याङ्शलाई नयाँ संस्करणमा हटाइएको थियो । यसैगरी पेन्गुइन रेन्डमहाउसको सहप्रकाशन पफिन बुक्सबाट प्रकाशन हुन लागेको रोआल्ड डालका सम्पूर्ण रचनाका कयौँ पदावली, परिच्छेद र शब्दहरूलाई हटाइएको थियो । त्यस्तो किसिमको सम्पादनलाई त्यतिबेला नै रूस्दी अनौठो शाब्दिक प्रतिबन्ध भनी टिप्पणी गरेका थिए ।
हालै ब्रिटिस बुक अवार्डको फ्रिडम टु पब्लिस विधामा पुरस्कार ग्रहण गर्ने क्रममा अनलाइन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । इन्डेक्स अन सेन्सरसिप नामक संस्थाले लेखक, प्रकाशक तथा किताब विक्रेताहरूमध्येबाट लेखन स्वतन्त्रताका पक्षमा आवाज उठाउनेहरूमध्येबाट एक जनालाई प्रदान गर्ने गरिन्छ ।
‘फ्रिडम टु पब्लिस भन्नु लेख्ने स्वतन्त्रता हो, पढ्ने स्वतन्त्रता पनि हो, आफूलाई मनमा लागेको कुराहरू लेख्नु, पढ्न पाउनु नैसर्गिक अधिकार भएकाले त्यस्तो कार्यलाई रोक्ने चेतना सबैका लागि खतरनाक हुनेछ,’ उनले भने ।
कुनै निश्चित समूहको चासो र चिन्ता यसरी ह्वात्तै बढ्दै जाने हो भने र किताब छापिन नसक्ने हो भने अभिव्यक्ति स्वतन्त्रताको अर्थै नरहने उनको भनाइ थियो । त्यसैले यस्ता प्रवृत्तिविरूद्ध एक भएर लाग्नुपर्ने उनको धारणा थियो ।
उनले यस्तो प्रवृत्ति पश्चिमा मुलुकमा मौलाउनु चिन्ताजनक भएको टिप्पणी गर्दै भने, ‘यस्ता कुराहरू पहिला रूसमा सुनिन्थ्यो, चीनमा देखिएको थियो । भारतमा पनि कहिलेकाहीँ त्यो मुखर हुने गर्छ तर पश्चिमा मुलुकमा प्रकाशनको क्षेत्रमा यो देखिनु भनेको दुर्भाग्यपूर्ण हो ।’
‘पछिल्लो समय अमेरिकामा म रहँदै गर्दा पुस्तकालयमा कस्ता किताब राख्न पाइने र नपाइने भन्ने बहस तीव्र हुँदै गएको देख्दा छक्क परिरहेको छु,’ उनले भने, ‘यस्तो वाहियात कार्यको तत्काल प्रतिरोध गर्दै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सबै एक जुट हुन ढिला भइसकेको छ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ कार्तिक २०८२, शनिबार 








