इटालीमा भर्खरै साहित्यिक सुपरस्टार बनेकी एक जना लेखिकाले टेलिभिजन अन्तरवार्ता दिएपछि उनका प्रशंसकहरूबीच उनी नक्कली कि सक्कली भन्ने बहस शुरू भएको छ ।

आफूलाई ज्यादै लजालु भएको बताउने लेखिका एरिन डुमको ‘द मेकर अफ टियर्स’ उपन्यास पछिल्लो समय ज्यादै हिट बन्न पुगेको थियो । उपन्यास हिट भए पनि उनका बारेमा निकै थोरै जानकारी दिने गरिन्थ्यो भने कहिल्यै पनि भिडियो अन्तरवार्ता दिएकी थिइनन् ।

एरिन डुम भनेर उनको जुन नाम चल्तीमा ल्याइएको थियो, आफ्नो वास्तविक नाउँ सो नभएको समेत टेलिभिजनमा खुलासा गरेकी थिइन् । आफ्नो नाउँ माटिल्ड भएको उनले बताएकी छन् । उनी अझै पनि थर बताउन गाह्रो मानिरहेकी छन् । उनले आफूलाई थर नखोज्न र माटिल्डकै रूपमा सम्बोधन गर्न आग्रह गरेकी छन् ।

आफूमा आत्मविश्वासको कमीका कारण यसअघि अनुहार देखाउन नसकेको र पछिल्लो समय आफ्ना प्रशंसकहरूको संख्या आश्चर्यजनक तरिकाले बढेका कारण बल्ल हिम्मत जुटाएर टेलिभिजनमा आएको उनले बताएकी छन् ।

‘म ज्यादै लजालु र एकालकाँटे छु र मेरो निजता गोप्य नै राख्न रूचाउँछु,’ माटिल्डेले भनिन् ।

‘द मेकर अफ टियर्स’ उपन्यास उनले दिउँसो कलेजमा कानुन पढ्दै र राति उपन्यास लेख्दै पूरा गरेको बताएकी छन् । सो उपन्यास यति हिट भयो, उपन्यासमा आधारित रहेर अहिलेका नयाँ पुस्ताले ट्याटुसमेत बनाउन थालेका छन् । उनले चे टेम्पो चे फा नामक इटालीको प्रख्यात अन्तरवार्ता टेलिभिजन कार्यक्रममा पहिलो पटक अन्तरवार्ता दिँदै सो कुराको खुलासा गरेकी हुन् ।

गत वर्ष उनको दोस्रो उपन्यास ‘द वे स्नो फल्स’ निस्किएको थियो र निस्कनेबित्तिकै ७ लाख प्रति बिक्री भएको थियो । बढी बिक्री भएपछि आत्मविश्वास पलाएको भए पनि हालै देशकै ठूलो पुस्तक प्रदर्शनीमा छिर्न खोज्न उनलाई छिर्न नदिएको र लेखकका रूपमा नचिनेपछि आफ्नो परिचय खुलाउन बाध्य हुनुपरेको उनले बताएकी छन् ।

उनको उपन्यास ‘द मेकर्स अफ टियर्स’लाई फिल्म बनाइँदैछ । हालसम्म उनले आफ्नो प्रकाशककहाँ इन्टर्न (सिकारू कामदार)का रूपमा विभिन्न ठाउँमा यात्रा गरिरहेकी थिइन् ।

यसअघि पनि इटालीकी अर्की लेखिका एलेना फेरान्टेले नियापोलिन शृंखलाको उपन्यास लेखेकी थिइन् । उनले हालसम्म आफ्नो वास्तविक नाउँ खुलासा गरेकी छैनन् । उनैबाट प्रेरित भएर यसो गर्न पनि सम्भव रहेछ भन्ने बुझेपछि उनले वास्तविक नाउँ लुकाएर उपन्यास बजारमा ल्याएको बताएकी छन् ।

‘फेरान्टेले किन त्यसो गरिन् होला भन्ने म बुझ्छु,’ माटिल्डेले द टाइम्स पत्रिकालाई बताइन्, ‘तर सधैँ लुकेर पनि सम्भव छैन । अर्को कुरा चाहिँ, मलाई मेरा पाठकसँग सम्पर्कमा रहिरहन मनपर्छ । ‘

सन् २०१७ देखि उनले लेख्न थालेकी थिइन् । उनले अनलाइन ‘वाटपड’मा लेख्ने गर्थिन् । त्यहाँ उनले ठूलो प्रशंसक कमाउन थालेपछि सामाजिक सञ्जालमा निकै चर्चा हुन थाल्यो । टिकटकमा उनले लेखेका पंक्तिहरू पढ्दै पाठकहरू ग्वाँ ग्वाँ रून थालेको पाइएपछि प्रकाशकले खोज्न थालेका थिए ।

हाल उनको तेस्रो उपन्यास स्टिग्मा बजारमा आएको छ । पुस्तकलाई सोही तहको लोकप्रियता दिलाउन आफू सार्वजनिक हुन बाध्य भएको उनले बताएकी छन् । उनले टेलिभिजनमा भनिन्, ‘म एउटी लेखिकाका रूपमा पाठकहरूमाझ पहिलो पटक भेट्दैछु र यो बडो भावुकतापूर्ण क्षण हुने देखिरहेकी छु ।’