कसैको नजरमा पागल म
कोहीको सोचमा विद्वान
आखिर भन्नु न छ
गर्नु के छ र ?
यो दुनियाँमा
कोही रोदन र क्रन्दनमा
कोही छलकपटको मस्तीमा
आजकाल मैले
पागल र विद्वानमा फरक देख्न छाडेको छु
र, उस्तै–उस्तै लाग्न थालेको छ
कसैलाई कसैको वास्ता छैन
दुवै अलमलमा परेका
बाटो बिराएका यात्री
लक्ष्य केवल फरक हुनसक्दछ
कोही आफ्नो खुसीमा रमाउँछन्
कोही अरुको दुःखमा साथ दिन्छन्
समानता केवल एउटा छ
अनिश्चय र अन्योल
आजकाल विशेषतामा परिवर्तन भएको छ
त्यसैले आजकाल मैले
पागल र विद्वानमा फरक देख्न छाडेको छु
उस्तै–उस्तै लाग्न थालेको छ
र, उनीहरूको भिडमा म हराउन थालेको छु
भीमकाय पहाडहरूको स्वर्गबाट
सन्नाटामा चित्कारका आवाजहरू सुनिन्छन्
कहिलेकाहीँ सहाराको भिख मागिन्छ
त, कहिले आशाको ज्योति प्रष्फुटन हुन्छ
कोही रोदनमा
कोही खुसीको मुस्कुराहटमा
वायुपंखी यानका आवाजहरू गुन्जिन्छन्
केही सपना जस्ता लाग्छन्
केही दिवास्वप्न जस्ता सुनिन्छन्
तथापि कन्दराको बीचमा हराउन चाहने म
एउटा नग्न मान्छे हुँ
बाटो बिराएको बटुवा
आजकाल मैले
पागल र विद्वानमा फरक देख्न छाडेको छु
उस्तै–उस्तै लाग्न थालेको छ
र, उनीहरूको भिडमा म हराउन थालेको छु
किञ्चित बिस्मात छैन
चिन्ता पनि छैन
ईर्ष्या त किन गर्नु प-यो र ?
फकिरका सबै आफन्त
संसार स्वार्थ पछि कुदिरहन्छ
निश्वार्थ कसलाई पो मन पर्छ होला र ?
तापनि केवल हराउने हराइरहन्छन्
रुनेहरू रोइरहन्छन्
हाँस्ने हाँसिरहन्छन्
आजकाल मैले
पागल र विद्वानमा फरक देख्न छाडेको छु
उस्तै–उस्तै लाग्न थालेको छ
र, उनीहरूको भिडमा म हराउन थालेको छु ।
रोज भिलेज
भक्तपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ फाल्गुन २०८२, बिहीबार 










