मुलुकमा बुद्धिजीवीहरूको चकचकी देखेपछि मलाई लाग्यो— म पनि बुद्धिजीवी हुनुपर्यो ।
तर, बुद्धिजीवी हुने कसरी ? आफ्नो बुद्धिले भेउ नपाएपछि म पुगें, एक जना कहलिएका बुद्धिजीवीको शरणमा । र प्रार्थना गरें, ‘गुरुदेव, मलाई बुद्धिजीवी बन्ने बाटो देखाइदिनुपर्यो ।’
मैले टक्रयाएको ब्ल्याक लेबलको बोतल प्रेमले सुमसुम्याउँदै उनले आश्वस्त तुल्याए, ‘तिमीमा बुद्धिजीवी बन्ने प्रचुर योग्यता रहेको म प्रत्यक्ष अनुभव गरिरहेको छु । अलिक दिन मेरो संगत गर, तिम्रो अभिलाषा पूर्ण हुनेछ ।’ अनि मुसुक्क हाँसे, ‘अहिले के कुरा गर्नु ? साँझ स्न्याक्स लिएर आऊ न ।’
साँझ यथोचित पोकापोकी बोकेर पुग्दा उनले बोतल खोलिसकेका थिए । एकछिन खान–पीनमा रमाएर, आँखा राता हुन थालेपछि मलाई सोधे, ‘तिमीलाई थाहा छ, के हो बुद्धिजीवी भनेको ?’
‘बुद्धिको आधारमा बाँच्ने’, मैले फुर्तीसाथ जवाफ दिएँ ।
‘मूर्ख !’ उनले दपेटे, ‘चरा–मूसा पनि बुद्धिकै आधारमा बाँच्छन् । आआफ्नो बुद्धि लगाएर खाने कुरा खोज्छन्, शिकारीबाट जोगिन्छन् । ती बुद्धिजीवी भए त ?’
‘त्यसो भए, बुद्धिजीवी भनेको बुद्धिको प्रयोग गरेर जीविका चलाउने भन्या होला,’ मैले अडकलगीता गाएँ ।
‘सिकर्मी, डकर्मी, माली, कुचिकार सबैले बुद्धिकै प्रयोग गरेर जीविका चलाउँछन् । तिनलाई कसैले बुद्धिजीवी भन्छ ?’ उनी हाँस्न थाले ।
मलाई आफ्नो घोर अज्ञानको ज्ञान भयो । आत्मसमर्पणको मुद्रामा हात जोडें ।
गुरुदेवले ज्ञान दिए, ‘बुद्धिजीवी भनेको बुद्धि बेचेर बाँच्ने व्यक्ति हो । अरूले आफ्नो श्रम, आफ्नो सीप मात्र बेच्छन्, बुद्धिजीवीले बुद्धि नै बेच्छ । र, जीवनमा प्रगति गर्छ ।’
‘तर बुद्धि बिकेन भने के हुन्छ गुरुदेव ? खरीददार नै पाइएन भने नि ?’
‘त्यसले केही फरक पर्दैन । मुख्य कुरो बुद्धिलाई बिक्रीमा राख्नु हो । खरीददार नभेटिउन्जेल तिमी स्वतन्त्र बुद्धिजीवी हुन सक्छौ । स्वतन्त्र अर्थात् कसैको बन्धनमा नपरेको । जसले पनि किन्न सक्ने । जस्तै अहिले म छु । के बुझ्यौ ?’
‘बुझें गुरुदेव,’ मैले हात जोडें र संकोचपूर्वक भनें, ‘तर एउटा सानो जिज्ञासा छ । सबैले बुद्धि बेच्छन् र ?’
‘बुद्धि नबेच्ने कसरी बुद्धिजीवी हुन्छ ?’ उनले स्पष्ट पारे, ‘भाउ कम–बेसी मात्र हो । तर सबैले बेच्छन् ।’
म केही बोलिनँ । उनको मुखमा हेरी मात्र रहें । म सन्तुष्ट नभएको महसूस गरेर होला, आधा गिलास एकैचोटि स्वाँट्ट पारेर लर्बराउँदो स्वरमा उनले सुनाए, ‘कोही कोही बुद्धि नबेच्ने मूर्ख पनि हुन्छन् । तर ती सत्ताको वरिपरि भुनभुन गर्दैनन् । तिनलाई राज्यले चिन्दा पनि चिन्दैन । ती आफ्नै घरमा थन्किन्छन् । त्यस्ता बौद्धिकलाई कसैले बुद्धिजीवी पनि भन्दैन । कुरा यही हो ।’
दोस्रो दिन यस्तै चर्चामा बित्यो । तेस्रो दिन उनले भने, ‘नेपालगन्जमा एउटा सेमिनार हुँदैछ । मैले तिम्रो पनि नाउँ लेखाइद्या छु । खर्चको चिन्ता गर्नुपर्दैन । मसँगै जाने हो ।’
‘कुन विषयको सेमिनार हो ? मैले त्यहाँ गएर के गर्ने ?’
‘बुद्धिजीवीले यस्ता कुराको चिन्ता गर्दैनन्,’ उनले भने, ‘मैले पनि राम्ररी बुझेको छैन । उहीं पुगेर बुझौंला ।’
मलाई बुद्धिजीवी बन्नु थियो । त्यसैले उनीसँगै हवाईजहाज चढेर नेपालगन्ज ओर्लिएँ । दुईदिने सेमिनार रहेछ । खाने बस्ने व्यवस्था भव्य होटलमा गरिएको । उद्घाटन सत्र पछि हामी घुम्न निस्क्यौं । साँझ फर्कंदा ककटेल शुरू भइसकेको रहेछ । हामीले एउटा टेबुलमा आसन जमायौं, जहाँ चार जना सहभागी पहिलेदेखि नै विराजमान थिए ।
दुई पेग बिजुलीपानी पेटमा छिर्दा नछिर्दै कुरो घुमीफिरी बुद्धिजीवीमै आइपुग्यो । एक जनाले नाक खुम्च्याए, ‘बुद्धि बेच्नेहरूको के कुरा गर्नु ?’
अर्काले थपे, ‘बुद्धिजीवी र देह व्यापारीमा फरकै के छ र ?’
उनले त्यति भन्नु के थियो, त्यतिन्जेल चूपचाप बसिरहेकी अर्की सहभागी जंगिइन्, ‘यो त सारै विवेकहीन कुरा भयो । बुद्धिजीवीसँग तुलना गरेर देह व्यापार गर्नेहरूको अवमूल्यन गर्न पाइँदैन ।’
‘आखिर के फरक छ यिनीहरूमा ? दुवैले आफूसँग भएको, प्रकृतिले दिएको वस्तु बेचेर पैसा कमाउने त हुन् नि, होइन र ?’ अझ अर्काले आगोमा घीउ थपे ।
‘त्यो त हो, तर शरीर भन्दा बुद्धि धेरै उच्च र अमूल्य कुरा हो । त्यसैले देह व्यापार भन्दा बुद्धिको व्यापार धेरै निकृष्ट काम हो,’ शान्त स्वरमा उनले भनिन्, ‘बुद्धिको सम्बन्ध चेतनासँग छ, आत्मासँग छ । त्यसैलाई बेचिदिएपछि के बाँकी रहयो ?’ र थपिन्, ‘शरीर बेच्नेले पनि चेतना र आत्मा चाहिं बेचेको हुँदैन ।’
‘म्याडमले कस्तो सूक्ष्म कुरा गर्नुभएको ?’
‘स्थूल कुरामै जाऊँ न त,’ उनी चूप लागिनन्, ‘देह व्यापार गर्नेले आजको ग्राहकलाई भोलि गाली गर्दैन, उसका गोपनीय सूचना अर्कालाई बेच्तैन । उसले किनेको समयमा इमान्दारीसाथ ऊसँग मात्र रहन्छ, उसलाई धोखा दिएर अर्कासँग चोचोमोचो मिलाउँदैन । तर बुद्धिजीवीमा यस्तो व्यावसायिक नैतिकता हुँदैन । उसले आजको मालिकलाई भोलि गाली गर्छ, उसका गोप्य सूचना अरूलाई बेच्न हिचकिचाउँदैन, अनि एउटाको तलब–भत्ता खाइरहेको बेला अर्काको प्रोजेक्टमा लहसिइरहेको हुन्छ ।’
‘क्या सटीक दिनुभो म्याडमले । असली धर्मनिरपेक्ष भनेको बुद्धिजीवी नै हुँदो रहेछ,’ यो घीउ–थपुवाको स्वर थियो ।
‘त्यसैले बुद्धिजीवीको देह व्यापारीसँग तुलना नगर्नोस्, उनीहरूको मानहानि हुन्छ,’ उनले कुरा टुंग्याइन्, ‘तिनको तहमा उक्लिन बुद्धिजीवीलाई यही जन्ममा त गाह्रै छ ।’
सबैको बोली बन्द थियो । त्यही वेला खाना तयार भएको सूचना आयो र हामी उठयौं ।
भोलिपल्ट बिहान चियाको चुस्की लिंदै गुरुदेवले भने, ‘बुद्धिजीवीको स्तर के रहेछ, बुझिहाल्यौ । तर मन सानो नपार्नू ।’ अनि मार्गनिर्देशन गरे, ‘हाम्रा खरीददार दुई किसिमका हुन्छन् । एउटाले पद पनि दिन्छ, गाडी पनि दिन्छ र तलब–भत्ता पनि दिन्छ । अर्काले टन्न पैसा मात्र दिन्छ । मालिक जुन किसिमको भए पनि बुद्धिजीवीले गर्ने काम एउटै हो । बुद्धि अथवा कुबुद्धिले भ्याएसम्म चर्को निन्दा र प्रशंसा गर्न कहिल्यै पछि नहट्नु । एउटा कुरा मात्र ख्याल राख्नू ।’
‘के कुरा ?’
‘प्रशंसा मालिकको मात्र गर्नू । निन्दा अरू सबैको गर्नू ।’
‘त्यो त बुझें । तर मालिक नै पाइएन भने के गर्ने ?’ मैले गम्भीर प्रश्न उठाएँ ।
‘अस्ति नै भनिहालें नि, त्यतिन्जेल स्वतन्त्र बुद्धिजीवी भएर बस्ने,’ उनले उत्तिकै गम्भीर उत्तर दिए, ‘हाम्रो ज्ञानका स्रोत भनेका अखबार, टीभी, अनलाइन, फेसबुक, ट्विटर र बजारिया हल्लाहरू नै हुन् । रात–दिन तिनैमा डुब्ने र तिनकै आधारमा आफूले पनि हल्ला मचाउने ।’
‘अनि किताब चाहिं कतिवेला पढ्ने नि ?’
‘बुद्धिजीवीले किताब पढेर समय खेर फाल्दैनन्’, उनले आश्वस्त पारे, ‘स्वतन्त्र बुद्धिजीवी कस्तो हुन्छ र त्यसले कसरी काम गर्नुपर्छ भन्ने उदाहरण म तिमीलाई भरे देखाउँछु ।’
अपराह्न सेमिनारको भत्ता बुझेर हामी घुम्न निस्कियौं । सडक व्यस्त थियो । रिक्सा, साइकल, मोटरसाइकल, कार, जीप, ट्रक, ट्रयाक्टर सबै आफ्नो सुरमा आइरहेका, गइरहेका । सडकको बीचमा चारवटा गधा चूपचाप उभिएका । गुरुदेवले तिनलाई देखाउँदै भने, ‘एक छिन तिनको गतिविधिमा ध्यान देऊ है ।’
चारवटै गधा गम्भीर मुद्रामा हलचल नगरी उभिइरहेका थिए । अगाध चिन्तनमा डुबेजस्ता । वरिपरिको हलचलसँग तिनलाई कुनै सरोकार थिएन । मानौं त्यो सब तिनले देखेकै थिएनन् । तीन मिनेट बित्यो, चार मिनेट बित्यो, पाँच मिनेट बित्यो, तिनले कुनै हलचल गरेनन् । हेर्दाहेर्दै मलाई पटयार लाग्न थालिसकेको थियो । छैटौं मिनेटमा के मूड आएछ, दुइटा गधा अकस्मात् घाँटी ठाडो पारेर गगनभेदी स्वरमा ‘ढेंचू–ढेंचू’ गर्न थाले । कानैनेर एक्कासि विस्फोट भएको त्यो कर्कश आवाजले सवारी चालकहरू झस्किए । तिनको सन्तुलन गडबडायो । एउटा मोटरसाइकल रिक्सामा ठोकियो, एउटा जीपले साइकललाई धक्का दियो र साइकल चालक भुइँमा पछारियो । उनीहरू झगडा गर्न थाले । ट्राफिक अस्तव्यस्त भयो । गधाहरू भने यसैबीच ढेंचू–ढेंचू सिध्याएर, त्यो अस्तव्यस्तताबाट निरपेक्ष, उस्तै अँध्यारो अनुहारमा जहाँको तहीं, जस्ताको तस्तै उभिइसकेका थिए ।
गुरुदेवले कुरा बुझाए, ‘हेर, स्वतन्त्र बुद्धिजीवी भनेको ठयाक्कै यस्तै हुनुपर्छ । समाजको बीचमा उभिएको, भर्खरै शोकसभामा भाग लिएर फर्केजस्तो गम्भीर मुद्रा धारण गरेको, सारा संसारको चिन्ता आफैंले बोकेजस्तो । समाजको उत्साह, उमंग, हलचलसँग कुनै वास्ता नभएको, तर बीचबीचमा ढेंचू–ढेंचू गरेर समाजको गतिलाई निरन्तर खलबल्याइराख्ने । के बुझ्यौ ?’
‘सबै कुरा छर्लंग बुझें गुरुदेव । हाम्रा आदर्श व्यक्तित्वलाई नै साक्षात्कार गरिसकेपछि अब बुझ्न केही बाँकी रहेन,’ मैले गद्गद भएर उनलाई प्रणाम गरें र भनें, ‘काठमाडौं फर्कनासाथ बुद्धिजीवी बन्ने बाटोमा हिंड्न थाल्नेछु ।’
(पूर्व प्रकाशित)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।