स्टिभन हच्सन

प्रविधि एउटा अलग्गै उचाइमा पुगेको छ । आर्टिफिसियल इन्टेलिजेन्स एपहरूले अब अध्ययन प्रतिवेदन लेख्न जान्ने भएका छन् । तिनले म्यागेजिनका लागि आलेख लेख्ने भएका छन् । कतिले त पूरै रोमान्स विधाको उपन्यास नै लेखेको दाबी पनि गरिरहेका छन् । एआईले हुँदै नभएको घटनालाई पनि समाचार बनाएर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी घेरा तोडेको सम्म लेख्यो । के उसो भए यसरी समाचार लेख्नु सुन्दर कुरा हो ? होइन भने अब हामीले यसलाई कसरी हेर्ने त ?

सामाजिक सञ्जालभरि अब कुनै साहित्यकारले कस्तो कदम उठाउला भन्ने चर्चा चलिरहेको छ । एआईले लेखनमा कस्तो प्रभाव पार्ला भन्ने कुरा चर्कैसँग उठिरहेको छ । कलेजका प्राध्यापकहरू अबका दिनमा विद्यार्थीहरूले एआईका माध्यमबाट धेरै कुरा जवाफ देलान् वा जाँचमा छल गर्लान् भनी चिन्तित छन् । अबका दिनमा सम्पादकहरू र प्रुफरिडरहरू मेसिनले विस्थापित गर्लान् भन्नेमा छन् ।

यो पक्का हो, एआईले हाम्रो दैनिक जीवनमा निकै धेरै दखल दिइसक्यो । तपाईंले अमेजन डटकम चलाउनु भयो, नेटफ्लिक्स हेर्नुभयो वा स्पोटिफाई नामक संगीत सुन्ने वेबसाइटमा जानु भयो भने उनीहरूलाई हामी अर्को स्टेप के चाल्छौँ भन्ने बुझिसक्छ र उसले सोहीअनुसार हामीलाई सल्लाह दिन्छ । हामीले यसअघि चलाएका गीत, हेरेका भिडियो, किनेका सामग्रीका आधारमा हामीले किन्नुपर्ने कुराहरू उसले सुझाउने गरेको छ । हामी छक्क पर्छौं, ठ्याक्कै कसरी थाहा पायो होला । हरेक दिन जब कुनै च्याटबोटमा हामी कुरा गर्छौं र उसलाई केही सोध्छौँ, उत्तर पाइसकेपछि हामीले सम्भावित प्रश्न पनि उसले पहिल्यै लेखिसकेको हुन्छ । र, उसले सुझाएअनुसार हामीले त्यो प्रश्नमा हामी क्लिक गर्छौं । यसैगरी सर्च इन्जिनहरू,गुगल तथा बिङले पहिलेभन्दा गज्जबका उत्तरहरू हामीलाई फेला पारेर दिइसकेका हुन्छन् । त्यो पनि ज्यादै कठिन प्रश्नका उत्तरहरू उसले फेला पारेर हामीलाई राखिदिएको हुन्छ । र, यस्ता प्रगतिका कुराहरू कति छन् कति !

पहिल्यै नै प्रकाशकहरूका लागि एआईले धेरै काम गरिसकेको छ । खासगरी किताबको फरम्याटिङ (अध्याय, बोल्ड, इटालिक र कहाँ के राख्नेदेखि लिएर प्रुफ रिडिङका काम) देखि लिएर किताबको कति अंश अन्य किताब वा सामग्रीबाट चोरिएको हो भन्ने पत्ता लगाउन सहज भइसकेको छ । मान्छेका आँखाबाट चिप्लने कयौँ गल्तीहरू त यसले मिलिक्कै फेला पारिदिन्छ ।

रमाइलो के छ भने, ज्ञानमाथि पहिले यस्तै चिन्ता गरिन्थ्यो जब प्रिन्टिङ प्रेस आयो । जब टाइपराइटर आयो, केहीले उधुमै चिन्ता गरे, लेखनका बारेमा ।

प्रविधिले हामीलाई जसरी अघि अघि बढाइरहेको छ, त्यो प्रविधिमा विजेता र हरूवा को होला भन्ने गुणनमा हामी लाग्न थाल्छौँ । कसले जागिर गुमाउँछ र कसले जागिर पाउँछ र को कहिल्यै जागिर नपाउनेमा पर्छ भन्ने छलफलमा लाग्छौँ । तर प्रविधिको विकाससँगै नयाँ नयाँ किसिमको जागिर पनि उत्पादन भइरहेको हुन्छ । २० वर्षअघिसम्म पठाओ भन्ने चिज कसैले पनि कल्पेको थिएन । पडकास्टरहरूको यत्रो बिगबिगी हुन्छ भन्ने पनि कसैले बुझेको थिएन । अर्थतन्त्रको विकासक्रममा सिर्जनात्मक ध्वंश एउटा स्वाभाविक प्रक्रिया हो । र, त्यसलाई प्रतिरोध गर्नु निरर्थक बन्न पुग्छ । नयाँ प्रविधिको प्रतिरोध गर्नु भनेको हामी फेरि ल्यापटप छाडी टाइपराइटरतिर लागनु हो, को जान चाहन्छ ?

केही समयअघिसम्म प्रिन्ट किताब अब चिहानमा मात्र भेटिने हल्ला गर्नेहरू पनि थिए । प्रिन्टको साटो इबुकले संसार खाइदिने अपेक्षा गरिएको थियो । प्रिन्ट इन् डिमान्ड अबको प्रकाशन भविष्य हो भन्ने ठान्नेहरूको जमात पनि निकै थियो । तर सारा प्रकाशन उद्योगमा ती दुई विधा मूल आम्दानीको स्रोत कहिल्यै बन्न सकेनन् । ती त साइड बिजनेस मात्र बन्न पुगे । प्रविधिको उपलब्धता र सहजताले सबै कुरालाई उलट पुलट पार्छ नै भन्ने पनि नहुँदोरहेछ ।

स्वयं प्रकाशक हुनेहरूको यो बेला बाढी नै आयो । तर यसले औसतभन्दा कम दर्जाका किताबको पनि बाढी आयो । अहिले स्वयं प्रकाशक भएका किताबहरू साह्रै बढी बिक्री भएछ भने पनि एक सय प्रति भन्दा बढी बिक्री हुँदैन । यसमा आश्चर्यको कुरा छैन किनभने जब मागभन्दा बढी आपूर्ति हुन्छ, त्यहाँ भाउ घट्छ नै ।

मलाई इबुक पढ्न मनपर्छ । म ग्याजेट प्रेमी हुँ । मजस्ता पाठकको एउटा सीमा छ, हुन्छ । प्रकाशकहरूले त्यो सीमा हासिल गरिसकेका छन् । र, पाठकहरू पुरानै कागजवाला किताब छाम्न आतुर भएको पनि देखेको छु ।

एआईले प्रकाशन जगतमा आँधितुफान खडा गर्ला भन्ने केहीको आकलनविपरीत म चाहिँ खासै फरक पर्दैन भन्छु । मेसिनले कथानक बुन्ला तर एउटी उपन्यासकारले आफ्नो उम्दा लेखनशैलीले अलग रूपमा उभ्याउँछे । एआईले सूचनालाई व्यवस्थित रूपमा मिलाइदेला तर एउटा गैरआख्यानकारले जुन अनुभव, अनुभूति, ज्ञान र दृष्टिकोणको खाका कोरेर सुन्दर कृति सिर्जना गर्न सक्छ, एआईले त्यो गर्न सक्दैन । अँ, बरू केही लेखकहरूका लागि त्यो ज्यादै उपयोगी टुलका रूपमा भने सदुपयोग गर्न सक्छन् । सदुपयोगको मामिलामा एआई साह्रै उपयोगी साथी बन्न सक्छ ।

इतिहास यदि हेर्ने हो भने, एआईले लेखेका किताबहरूले न त ज्यादै प्रख्याति पाउँछ न त भाग्यशाली केही लेखकजस्तो सेलिब्रिटी हुने अवसर पाउँछ । तपाईंले कुनै बेला पकेट अक्सफोर्ड डिक्सनेरी एप चलाउनु भयो ? त्यो बेला अब केही चाहिँदैनझैँ ठानिन्थ्यो । इबुक आएपछि अब प्रिन्टेड बुकको काम छैन भन्ने मानिन्थ्यो । एआई नामक नयाँ टुल पनि त्यस्तै हो । यो एउटा सेक्सी र नयाँ प्रविधि मात्र हो । यसले लेखकलाई गलत आत्मविश्वास दिन सक्छ ।

लेखकका लागि एउटा खुसीको कुरा छ, त्यो के भने पुरानो शैलीले जहिल्यै काम गर्छ । तपाईं यदि लेखक हुनुहुन्छ, तपाईंलाई कुनै खास विधामा लेख्न मन पर्छ भने त्यस विधाका सर्वोत्कृष्ट सिर्जनाहरू गहन रूपमा अध्ययन गर्नुस् । त्यसपछि आलोचकहरूको समूहमा आबद्ध हुनुहोस् । आफूले गर्ने कामका बारेमा गहन अनुसन्धान गरेर नयाँ शैली गढ्नुस् । त्यसपछि किताब निकाल्नुस् र आफ्नो विज्ञता बुझाउन बाध्य पार्नुस् । त्यसका लागि भए-भरका सारा सामाजिक सञ्जाल, चिनजानलाई उपयोग गर्नुस् । तिनलाई अन्यभन्दा आफू के कारणले उम्दा छु भनी बुझाउनुस् । यति गरेपछि तपाईंको उद्देश्य अवश्य पूरा हुन्छ । एआई आएर तपाईंको विज्ञता उसले खोस्दैन । यसले सधैँ काम गर्छ । त्यसैले म त एआईसँग डराइरहेको छैन ।

अँ, सारा परिवर्तन टुलुटुलु हेर्ने र केही नगर्ने निर्णयले चाहिँ हरकोहीलाई डुबाउँछ, तपाईंलाई मात्र होइन ।

(स्टिभ हच्सन वर्डवाइड मिडिया सर्भिसेजका सञ्चालक हुन् । यो आलेख हामीले पब्लिसर्स विक्ली साप्ताहिक पत्रिकाबाट साभार गरेका हौँ ।)