“लौ न नि ! यस्तो के सुन्नु प¥यो ? सोच्न पनि नसकिने कुरो समाचार बनेर फेसबुकभरि छ्यापछ्याप्ती छ त ! कुन असतीको काम हो यो ? मान्छेले गरी खाको देख्न पनि नहुने भो अब त !” रमिला मिस बरबराउँदै भुईँमा थचक्क बसिन् ।

“अरे ! अरे !! लड्नु होला नि ! के भयो मिस ? किन आत्तिनु भएको ?” कुद्दै रमिला मिसतिर आएका केशव सर बोले ।

“सरले थाहा पाउनु भएको छैन कि जानीजानी बुझ पचाउनु भएको हो ? जताततै हुरी बनेर फैलिरहेको छ । कस्ता कस्ता नकारात्मक प्रतिक्रिया आइरहेका छन् । त्यो देख्दा मेरो त होसहवास नै उड्यो । कहाँ जाऔँ ? के गरौँ ? कसलाई भनौँ ? भएर बाहिर निस्केकी तर हिँड्नै सकिनँ र यहाँ थच्चिएकी हुँ ।” रमिला मिसले चिन्ता प्रकट गरिन् ।

“होइन, भएको चाहिँ के हो ? सबैले बुझ्ने भाषामा भन्नु न ।” केशव सरले यथार्थ जान्न खोजे ।

“हाम्रो स्कुलको श्याम सरले छात्राहरूसँग यौन दुर्व्यवहार गरेको, त्यस विषयमा अन्य शिक्षकलाई अवगत गराउन खोज्दा केवल सर र लक्ष्मी मिसले नपत्याएर उनीहरूको मुख थुनिदिएको भनी छात्राहरूले आरोप लगाएको समाचार, आज स्थानीय पत्रपत्रिकामा प्रमुख समाचार बनेर आएको छ ।” रमिला मिसले केशव सरलाई जानकारी गराइन् ।

“धत् ! त्यस्तो कल्पनै गर्न नसकिने आरोप पनि लगाउँदा रहेछन् ? त्यतिको इमानदार, कर्तव्यपरायण, मिलनसार साथै व्यवहारिक शिक्षक त मैले यो बिस वर्षको दौरानमा भेटेकै छुइन ।” उनीहरूका कुरा सुनिरहेकी शर्मिला मिसले पत्याउन नसक्ने अवधारणा व्यक्त गरिन् ।

“यी सब गलत कुरा हुन् । कसलाई के कुरामा चित्त बुझेन । त्यही भएर उनलाई फसाउन गरिएको षड्यन्त्र हो । राम्रो काम गर्नेलाई हुँदै नभएको आरोप लगाएर फसाउन खोज्ने प्रचलन आज मात्र होइन, हिजैदेखि मौलाएको थियो, हाम्रो समाजमा । त्यस्ता कु नियत राख्ने मानिसहरू पाइला पाइलामा भेटिन्छन् । तिनीहरूसँग बचेर हिँड्न बहुत कठिन छ । बिचरा ! श्यामूलाई अब फसाउने भए ।” केशव सरले श्याम सरलाई फसाउन षड्यन्त्र गरेको आरोप लगाए ।

“आरोप लगाउने छात्राहरू चाहिँ को रहेछन् ? तपाईंहरूले थाहा पाउनुभयो ?” छेउमै बसेकी प्रतिमा मिसले जिज्ञासा राखिन् ।

“को हुनु नि ! सबभन्दा पछाडि बसेर गफ चुटिरहन्छन् नि ! कक्षा नौका ती चार वटी केटी ! तिनै अरे । कुनै सरले पढाउँदा पनि ध्यान दिँदैनन् । गाली गर्दा पनि नटेरेर आजभोलि त कसैले वास्ता पनि गर्दैनन् । उनीहरूका अभिभावकलाई भन्दा पनि सुधार भएन ।” प्रमिला मिसले तिनीहरूको चरित्र अवगत गराउँदै सुनेको कुरा बताइन् ।

“श्याम सरले तिनीहरूसँग कसरी त्यस्तो व्यवहार गरेछन् त ? कक्षाभित्रै त सम्भव हुँदैन । अन्यत्र चाहिँ कहाँ गएछन् ?” प्रतिमा मिसले पुन जिज्ञासा राखिन् ।

“के भन्नु हुन्छ मिस पनि ? यत्रो वर्ष सँगै काम गरेर पनि श्याम सरलाई चिन्नुभएको छैन ? झन् होइन, आरोप लगाएका मात्र हुन् भन्दै छु । फेरि कसरी ? कहाँ ?, किन ? के भनेको ?” शर्मिला मिस जङ्गिइन् ।

“त्यसरी नरिसाउनु न । मैले उनी गलत नै भएर आरोप लागेको भन्न खोजेको होइन तर कसरी त्यस्तो भयो त ? केही न केही आधार त होला नि ! घुमाउन लगेको, बाइकमा टाँसिएर बस्न भनेको…जस्ता थुप्रै गम्भीर प्रश्नले बजार तातेको छ । त्यही भएर वास्तविकता हजुरलाई थाहा छ कि भनेर बुझ्न खोजेकी ? तर मलाई मिलाएर बोल्न आएन होला ।” प्रतिमाले शान्त गराउँदै यथार्थ जान्ने प्रयत्न गरिन् ।

“तिनै चार वटी मध्येकी एउटी केटी अस्ति कक्षामा नै बेहोस भएर ढलेकी थिई । उसको परिवारलाई जानकारी गराए तापनि समयमा आइपुगेनन् । त्यही भएर प्रशासनको अनुरोधमा श्याम सरले मोटर साइकलमा बसाएर अस्पताल लान खोज्दा बिरामी अडिन सकिन । त्यसपछि अर्की साथी पनि बाइकमा बसेर उसलाई समातेकी थिई । तीन जना बसेपछि एकर्कामा स्पर्श त भइहाल्छ नि ! बिचरा ! सरले चाहिँ मर्न आँटी भनेर हतपत उपचार गर्न लानुभएको, उल्टै उहाँलाई नै पो फसाइछ । धर्म गर्ने त जमाना नै छैन । अब त बाइकमा कसैलाई लिफ्ट दिनलाई पनि सोच्नुपर्ने भयो । कतिखेर फसिन्छ भन्ने टुङ्गै नहुने पो भयो ।” राम सरले वास्तविकता बताउँदै चिन्ता प्रकट गरे ।

“कक्षा नौमा बेहोस हुने त पेमा पो हो त ! उसको घर पहाडमा छ । आमा मरेर बाउले अर्की ल्याएपछि उसलाई राम्रो व्यवहार गरेनन् अरे । मामलीको अवस्था पनि नाजुक रहेछ । ऊ पढ्न मेहनती रहिछ तर मामलीले पढाउन नसकेपछि मामाले हाम्रो विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्षकोमा पढाउने सर्तमा कामदारका रूपमा राखेका रहेछन् । बिहान बेलुका घरमा सघाएर दिउँसो पढ्न आउँदी रहिछ । पहिले त सोझी थिई । खूब मेहनत गर्थी । अहिले ती अरूसँग लागेर अलिक फरक भएकी छे तर श्याम सरलाई त्यस्तो आरोप लगाउन चाहिँ सक्छे जस्तो लाग्दैन मलाई । पक्कै त्यहाँ केही न केही गडबडी छ ।” पेमाका बारेमा थाहा पाएकी लक्ष्मी मिसले शङ्का प्रकट गरिन् ।

“रमिला मिस प्रधानाध्यापक भएपछि श्याम सरलाई सहायक प्रधानाध्यापक बनाइयो । उनीहरू विद्यालयमा अहोरात्र खटिएका छन् । हामीले पनि सघाइरहेका छौँ । त्यसैले पहिले भन्दा अहिले यहाँ धेरै सुधार पनि भएको छ । विद्यार्थीलाई पनि निगरानी गर्न थालिएको छ । अनुपस्थित हुनेहरूका अभिभावकलाई फोन गरेर कारण बुझ्ने काम पनि गरिन्छ । त्यसो गर्दा कतिपय घरबाट पोसाक लगाएर हिँड्ने तर विद्यालय नआई पुग्ने हुँदा सजायको भागिदार पनि हुने गरेका छन् । तिनीहरू हामीसँग रुष्ट भएका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिमा पनि नयाँ अभिभावकहरू समावेश भएका छन् । तिनीहरूमध्ये कसैले हामीलाई रचनात्मक सहयोग गरिरहेका छन् भने कसैले हाम्रो काममा बाधा पुर्याइरहेका छन् । कुनै नयाँ कार्य गर्न खोज्यो अवरोध गरिदिन्छन् र कामै गर्न सकिँदैन । त्यस्तासँग कहिलेकाहीँ हाम्रो भनाभन पनि हुने गरेको छ । अस्ति मात्र एउटा छ कोठे भवन निर्माण गर्ने भनेर निर्णय गरिएको थियो । त्यसका लागि टेन्डर आव्हान गरिएको थियो । थुप्रै ठेकेदारहरूले निवेदन दिएका थिए । तीमध्ये एक जना चाहिँ पूर्व अध्यक्षका भाइ नै रहेछन् तर दुर्भाग्यवश उनले ठेक्का पार्न सकेनछन् । त्यहीदेखि उनी रिसाएर दोकान-दोकान, चोक-चोकमा प्रधानाध्यापक र सहायक प्रधानाध्यापक मिलेर स्कुल बरबाद पारेको, आफूले त्यस विषयमा सतर्क गराउँदा नमानेको भनेर गुनासो गरिरहेको सुनिएको छ । के थाहा ? कतै उनैको खेल त होइन ..?” केशव सरले बेलिबिस्तार लगाउँदै पूर्व अध्यक्षप्रति सङ्केत गरे ।

“हामी जत्तिको मानिसले यथार्थ नबुझी कसैलाई आरोपित गर्न उपयुक्त हुँदैन । के थाहा ? हामीसँग राम्रो व्यवहार गरे तापनि ती नानीहरूसँग गलत नै गरे कि श्यामले ? कोही बाहिर एक खालका देखिन्छन् तर भित्र अर्कै खालका पनि हुन्छन् । देखाउने दाँत र चपाउने दाँतमा …हुन्छ । धन देखेपछि महादेवका तीन नेत्र भनेझैँ केटी भेटेपछि अहिलेका युवा ?” अघिदेखि नबोली बसिरहेका राकेश सर प्वाक्क बोले ।

“राम ! राम ..! राम …! सर ! तपाईंले कसरी भन्न सक्नुभएको … ? उनी मेरो स्कुलका मात्र होइनन् घरका पनि करेसो जोडिएका छिमेकी हुन् । एउटै ठाउँमा बसेको बाइस वर्ष भयो । बिस वर्षदेखि त एउटै विद्यालयमा काम पनि गर्दै छौँ । छरछिमेकमा उनको नराम्रो भएको अहिलेसम्म थाहा छैन । उनी मात्र होइनन्, उनका परिवार पनि सहयोगी, मिलनसार छन् । म्याडम पनि शिक्षिका नै हुन् । उनका सबै छोरीहरू जागिरे छन् । एउटी बैङ्कमा, एउटी नगरपालिकामा र एउटी शिक्षिका नै छन् । उमेर धेरै भएको होइन तर अलिक चाँडो विवाह गरेर बालबच्चा हुर्काइसकेका छन् । गाउँमा उनीहरूको परिवार एउटा नमुनाका रूपमा चिनिएको छ । यहाँ त उनको बानी कस्तो छ भनेर मैले भनिरहनु पर्दैन । यस्ता मानिसलाई नि शङ्का गर्नु भनेको त अपराध नै हो ।” शर्मिला मिसले उनलाई जोगाउन अनेक सन्दर्भ प्रस्तुत गरिन् ।

“सरमेडम नमस्कार ! श्याम सरकै विषयमा छलफल गरेजस्तो लाग्यो त मलाई । हो कि होइन ?” थाना पुगेर आएका राम सरले प्रश्न गरे ।  “हो नि सर ! हामी त अघिदेखि नै यसैमा केन्द्रित भएका छौँ । आज केटाकेटी पनि खासै आएका छैनन् । कक्षा नौका विद्यार्थी पनि श्याम सर गलत नभएको, आरोप लगाउनेको गतिविधि जान्नका लागि सी सी टिभी फुटेज जाँच गरिनुपर्ने माग राख्दै हिँडिहाले । अरू पनि उनीहरूका पछि लागेर गइगए । कसलाई पढाउनु र ! खासै जाँगर पनि थिएन । त्यही विषयले तनाव भइरहेको छ । अनि छलफलमा के निष्कर्ष निस्कियो त सर ?” शर्मिला मिसले जवाफ दिँदै राम सरलाई पुन प्रश्न गरिन् ।

“सबै छात्राका अभिभावक आएनन् । रमिलाको मामाले प्रकाश दाइलाई नै जिम्मा लगाएछन् । उनले दोषीलाई कडा सजाय हुनुपर्ने आफ्नो अडान छोडेनन् एकातिर भने अर्कातिर श्यामले आफूले कुनै गल्ती नगरेकाले सजायको भागिदार हुन नसक्ने निर्णय सुनाए । अन्ततः कुनै निष्कर्ष ननिस्केपछि भोलि फेरि छलफल गरेर टुङ्गो लगाउने भनेर सबै बाटो लाग्यौँ ।” राम सरले त्यहाँको विवरण बताए ।

भोलिपल्ट बिहान सात बजे हामी सबै विद्यालयमा भेला भएर थानातिर गयौँ । त्यहाँ सबै आइसकेका रहेछन् । इन्स्पेक्टरले प्रतिनिधिमूलक ढङ्गले हामीलाई बोलाए । लामो छलफल भयो । दुवै पक्षले आ–आफ्नो अडान नछोडेपछि पीडक र पीडित भनिएकालाई पनि बोलाइयो ।

श्याम सरले –“मैले कुन मिति र स्थानमा तिमीहरूसँग त्यस्तो अनैतिक काम गरेँ । भन त नानी हो ?” भन्ने प्रश्न गरेपछि उनीहरू एकर्कामा मुखामुख गर्न थाले तर बोली फुटेन । त्यहाँ भेला भएका अरूहरूले पनि त्यही प्रश्न दोहोर्याए तर उत्तर दिन नसकेर प्रकाश दाइको मुखमा हेरिरहे । महिला प्रहरीले एकान्तमा लगेर केरकार गर्दा पनि जवाफ दिन सकेनन् अरे । त्यसपछि सबै आँखाले इशारा गर्न थाले । एक छिन सन्नाटा छायो । केही समयपछि प्रकाश दाइ खोक्दै हिँडे । रमेश पनि उनका पछि लागे । पर गएर दुवै बिच खोइ के कुरा भयो । रमेश आए र “अब यो विवादलाई नलम्ब्याऊ । अदालततिर पुगे झन् धेरै बदनाम हुन्छ । अहिले त छरछिमेकमा मात्र हल्ला भएको छ । खासै कसैले थाहा पनि पाएका छैनन् । त्यसैले यसलाई यही मिलाऊ ।” भने ।

“कसरी मिलाउने ? पीडक भनिएकाले मैले गल्ती गरेकै छैन भन्ने । पीडित भनिएकाहरू बोल्दै नबोल्ने । अस्ति चाहिँ मिडियामा आएर तमासा देखाए आज चाहिँ चुप लाग्छन् । साँच्चै पीडित हुन् भने त पीडा के हो भन्नु पर्दैन ? उसको उसको मुखमा हेरेर समस्या समाधान हुन्छ ?” केशव सर झ्याँकिए ।

“रिसाएर मात्र समस्या समाधान हुँदैन । छात्राहरू नाबालिका छन् । उनीहरूले मुद्दा हाले श्याम सर सिधै जेल जान्छन् । उनी भनेका एउटा शिक्षित, सचेत र परिपक्व मानिस पनि हुन् । यत्रो हल्ला भएर उनको बेइज्जत भइसकेको छ । फेरि उनका छोरीहरूको पनि विवाह गर्ने बेला भएको छ । बाउ जेल जानपर्यो भने उनीहरूको अवस्था कस्तो हुन्छ ? हामीले सोच्नु पर्दैन ? जे नहुन भइसक्यो । बरु तिनीहरूलाई खर्च पानी दिएर यो लफडाबाट मुक्ति हुँदा नै सरको कल्याण होला । यो सर्तमा नानीहरू पनि राजी हुन्छन् भन्ने लाग्छ मलाई ।” प्रकाश दाइको मुखमा हेर्दै रमेशले आफ्नो धारणा राखे ।

“नबिराउनु नडराउनु भन्छन् । मैले बिराएकै छैन भने किन डराउनु ? बिना प्रमाण कसैलाई आरोप लगाउँदैमा त्यो दोषी ठहरिन्छ र ? त्यसका लागि सबुत प्रमाण चाहिँदैन ? कागले कान लग्यो भन्दा कान नछामी कागको पछि दौडनेको भीडले लखेट्दा म भाग्दिनँ । फेरि अर्को कुरा यो हल्लाले मेरा छोरीहरूको विवाहमा कुनै असर पर्दैन किनभने मैले परिवारको विश्वास गुमाउने त्यस्तो काम गरेकै छैन । त्यही भएर यहाँहरूले मेरो र मेरा छोरीहरूको चिन्ता गर्न छोडिदिनुहोस् । यस्ता हुइयाको पछि कुदेर पैसा दिएर मिल्ने सम्झौता गर्न म तयार छुइन ।” श्याम सरले एक सासमा आफ्ना धारणा राखे ।

पीडित भनिएकाले लेनदेनमा मिल्ने सङ्केत गरे तापनि पीडक भनिएका नमानेपछि केस अदालत पुग्यो । न्यायाधीशले दुवै पक्षलाई बोलाएर सोधपुछ गर्न थालेपछि छात्राहरू मौन रहेछन् । “नबोलेर मुक्ति पाइँदैन । सत्य कुरा भन्नुपर्छ ।” भन्दै न्यायाधीशले जोड गरेपछि रमिला डाको छोडेर रुन थाली । उसको अवस्थाले सबैलाई भावुक बनायो । करिब पाँच मिनेट पछि प्रकाश दाइलाई देखाउँदै “मलाई यो सब गर्न ठुलो बाबाले लगाउनुभएको हो । उहाँले नै मेरा साथीहरूलाई पनि पैसा दिएर फकाएपछि श्याम सरलाई आरोप लगाएका हुन् । उहाँको कुनै दोष छैन । मलाई माफ गर्नुहोस् सर !” भन्दै सरसँग माफी मागी । त्यसपछि अदालतले श्याम सरलाई निर्दोष ठहर्यायो भने प्रकाश दाइ(पूर्व अध्यक्ष)लाई प्रहरीले समात्यो ।

 

सीता अनजान(मोरङ)