केही गुन्दै छैन र केही पिउँदै छैन भने सुन्दर समय मैले त्यसै खेर फालिरहेको हुनेछु । – जोन बेरीम्यान
धेरैले सोध्छन्ः
ओ, म्यान
तिमी किन यति धेरै पिउँछौ
गला सफा गर्दै मेरो उत्तर हुन्छः
के गरूँ
यो प्यास युगौँदेखि जमेको जो छ !
(बेरीम्यानको ‘ड्रिम सङ ९६’ बाट)
सन् १९१४ मा जन्मिएका जोन बेरीम्यान कन्फेसनल स्कुल अफ पोएट्रीका संस्थापकहरूमध्ये एक हुन् । उनको सबैभन्दा सुन्दर कृति द ड्रिम सङ्स मानिन्छ । उनको प्रथम कृति ड्रिम सङ्सले नै पुलित्जर पुरस्कार हात पारेको थियो । यसैगरी उनको हिज टोय, हिज ड्रिम, हिज रेस्टले नेसनल अवार्ड जितेको थियो । उनको सन् १९७२ मा निधन भएको थियो ।
निकै मजाले पिइसकेपछि साहित्यकार जोन बेरीम्यानले वरिपरिकालाई साह्रै झ्याउ गर्थे । उनलाई कोही अघिल्तिर उभ्याएर आफ्ना सुन्दर रचना सुनाउनै पर्ने हुन्थ्यो । रमको रमरमी चढ्न थालेपछि अघिल्तिर कोही छैन भने उनले मनले खाएका कसैलाई अबेर राति फोन गर्थे र रचना सुनाउँथे । कहिलेकाहीँ त उनले विश्वविद्यालयमा पढाइरहेका विद्यार्थीसमेतलाई उनी तङ गर्थे ।
एक पटक उनी दक्षिणी फ्रान्सको यात्रामा थिए । स्वभावतः उनले त्यहाँ पनि मज्जाले पिए । तर उनलाई त्यहाँ समस्या के भयो भने आफूले दिउँसो रचना गरेका सिर्जना सुनाउने कसलाई ?
उनले त्यो बेला ब्राडस्ट्रिट नामक कविता रचना गरेका थिए । उनी त्यसलाई आफ्नो सबैभन्दा उम्दा रचनाका रूपमा दाबी गरिरहेका थिए तर उनको दाबीलाई कसले सही थाप्ने ?
मान्छे खोज्दा खोज्दा बिहानको पाँच बज्यो । आइतबारे बिदाको दिन बिहान ५ बजे उनी बसेको ठाउँमा एउटा पाउरोटी दोकाने पसल खोल्न आइपुगेको उनले परैबाट देखे ।
उनले ती पाउरोटी दोकानेलाई त्यही कविता सुनाए । दोकानेले पनि मज्जाले सुन्यो । कविता सुनाउँदा सुनाउँदै सन्तोषले आनन्दित भएर जोन बेरीम्यान त्यहीँ घुर्न थाले ।
ती फ्रान्सेलीको रोचक कुरा के थियो भने, उनी अंग्रेजी बुझ्दैनथे । कविज्यूको अहं तुष्टिका लागि उनले वाह वाह गरिरहेका थिए ।
०००
पिउनु भनेको आत्महत्या गर्नु हो । फरक यति मात्र हो कि भोलि फेरि तपाईंले आत्महत्या गर्न पाउनुहुन्छ । – चार्ल्स बुकोवस्की
सन् १९२० मा जन्मिएका कवि, उपन्यासकार तथा कथाकार चार्ल्स बुकोवस्कीको लेखनको मूल विषय नै रक्सी, जुवा र स्त्री हुन्थे । उनले ५० पुस्तक लेखेका छन् र तिनको विषय नै त्यही छन् । सबैभन्दा बदमास, छिल्लिएको कविका छवि भए पनि उनलाई पछ्याउनेको संख्या भने निकै ठूलो छ । उनले आफ्नै जीवनमा आधारित ‘बारफ्लाई’ नामक फिल्मको स्क्रिप्ट पनि लेखेका छन् ।
लेखाइसँगै रक्स्याहा, जँड्याहा, टुन्नेजस्ता ख्याति यदि कसैले पाएको छ र रक्सी खाएरै पाएको छ अनि त्यसमा ऊ गर्व गर्छ भने अरू कोही हुनै सक्दैन । त्यो व्यक्ति प्रख्यात कवि चार्ल्स बुकोवस्की नै हुन् ।
रक्सी खाँदै गर्दा कसैलाई चिमोट्ने, बक्सिङमा उत्रने, खाँदाखाँदै ढल्ने यावत् कारणले उनी ज्यादै बदनाम थिए । उनी एकै झमटमा ३० बोतल बियर पिउन सक्थे र त्यो उनको पिउने पहिलो कोर्स हुन्थ्यो । त्यसपछिको दोस्रो राउण्डका लागि उनी मान्छे खोज्नुपर्ने हुन्थ्यो किनभने उनीसँग आएका ढलिसकेका हुन्थे ।
जति रक्सीले ढल्न उनी माहिर थिए, सातामा ३० वटा कविता लेखेर सबैलाई जिल्याइदिन पनि माहिर थिए ।
जब जब मधुशाला खुल्थ्यो, उनी पहिलो ग्राहक हुन टुप्लुक्क पुग्थे । मधुशाला बिहान साढे पाँच या छ बजे खुल्थ्यो, उनी ठ्याक्कै त्यतिबेला पुग्थे । अनि, जब पसल बन्द हुन्थ्यो, उनी पनि निस्कन्थे ।
उनका लागि पसलेले एउटा कुनो छुट्याइदिएको थियो । त्यहाँ उनका लागि टेलिभिजन राखिदिएको थियो । कसैसँग झगडा नगरेका बेला वा यस्तै कुरामा व्यस्त नभएका बेला उनी पिउने र लेख्ने काममा मग्नताका साथ लागेका हुन्थे ।
०००
यो पेशामा रहन तपाईंले रक्सी पियाईको लामो यात्रामा निस्कनै पर्छ ।- ट्रुम्यान क्यापोटे
सन् १९२४ मा जन्मिएका उपन्यासकार, कथाकार, नाटककार तथा फिल्मको पटकथाकारको व्यापक परिचय बनाएका ट्रुम्यान क्यापोटेको पहिलो उपन्यास अदर भ्वाइसेज, अदर रूम्स निकै चर्चित थियो । उनले उपन्यासमा शुरूवाती दिनहरूमा खुलेर समलैंगिकतामाथि लेखेको हुनाले उनी चर्चित भएका थिए । द ग्रास हार्प र सानो उपन्यास ब्रेकफास्ट एट टिफेनीजले त उनको चर्चा अझ चुल्यायो । इन कोल्ड ब्लड नामक गैरआख्यानात्मक उपन्यासले त उनलाई अन्तर्राष्ट्रिय रूपमा ख्याति नै बढाइदियो ।
एक पटक बिट द डेभिल नामक फिल्मको सुटिङका लागि हलिउडबाट इटालीको एउटा दुर्गम ठाउँमा जानुपर्ने भयो । निर्देशक जोन हस्टन र कलाकार हम्फ्रे बोगार्ट एउटा यस्तो होटलमा बसेका थिए कि त्यहाँ न त बिजुली थियो न त चिस्यानका बेला तताउने हिटर नै । चिसोबाट जोगिनका लागि प्रायः सबै जनाले रक्सीको सहारा लिइरहेका थिए । तर ट्य्रुम्यान क्यापोटेले यति रक्सी पिउँथे कि उनी हरबखत टिप्सी हुने हुनाले बोगार्टले उनको नाउँ क्यापोसी राखिदिएका थिए ।
त्यही होटेलबाट क्यापोटेकी पत्नी लरेन बाकललाई पत्र लेखेका थिए । पत्रमा भनिएको थियो, ‘तिम्रा लोग्ने साह्रै जँड्याहा भए । एक पटक त रक्सीको मातमा मसँग खेल्ने हो भन्दै झुत्तिन आए । यस्ता रक्स्याहालाई त म पछारिहाल्छु नि भनेर भिड्न गएको त मलाई कर्याप्प पारिहाले । मेरो कुहिनोमा चोट लागेपछि केही दिन त सुटिङ नै रोक्नु पर्यो ।’
(स्रोतः हेमिङ्गवे एन्ड बेलीज् बारटेन्डिङ गाइड टु ग्रेट अमेरिकन राइटर्स, लेखकः मार्क बेली)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।