तपाईंले सडकमा पैसा फेला पार्नुभयो । के गर्नुहुन्छ ? पक्कै पनि उठाउनु हुन्छ ।

अलि अगाडि गएपछि फेरि पनि फेला पार्नुभयो, अब के गर्नुहुन्छ ? फेरि पनि उठाउनु होला ।

तर लगातार तपाईंले ठाउँ ठाउँमा छरिएको पैसा देख्नुभयो भने उठाउने कुरामा नअल्झिनु होला । त्यहाँ पक्कै केही गडबड हुनसक्छ । लोभले लाभ अनि लाभले विलापको अवस्था ल्याउन सक्छ ।

यस्तै सन्देश बोकेको छ एउटा छोटो फिल्म । हितेश धवनद्वारा लिखित तथा निर्देशित यो फिल्म छोटो भए पनि यसले बोकेको सशक्त सन्देश भने हेर्न लायक छ ।

पैसा देखेपछि महादेवका समेत त्रिनेत्र चम्कन्छन् रे भन्ने भनाइ एउटा सामान्य व्यक्तिमा कसरी चरितार्थ हुन्छ भन्ने यसमा देखाइएको छ ।

फिल्ममा एक जना व्यक्ति छन्, अखिलेन्द्र मिश्रले अभिनय गरेको सो व्यक्ति साह्रै लोभी छ । उसलाई पानीपुरी खान असाध्य मनपर्छ । थपी थपी, झगडा गरी गरी उसले पोल्का खान्छ । सन्तुष्ट भएपछि ऊ केही कामका लागि अगाडि जान्छ ।

जे जरूरी कामका लागि ऊ अघि बढेको हो, उसलाई हतारो छ । तर केही अगाडि गएपछि उसले सडकमा बेवारिसे नोट फेला पार्छ । यो नोट देखेपछि ऊ सानो मोपेडबाट उत्रन्छ र पैसा टिप्न थाल्छ ।

नोट टिप्ने क्रममा उसलाई घरबाट फोन आउँछ । छोरीले केही खानेकुराहरू मगाउँछे । ऊ ल्याउँछ भनेर वचन पनि दिन्छ । तर फेरि अगाडि बढ्दै जाँदा एउटा रूखको हाँगोमा नोट अल्झेको देख्छ । ऊ त्यो नोट खसाल्न ढुंगा हान्न थाल्छ । अन्ततः उसले त्यो पनि हात पार्छ । त्यसपछि ऊ अघि बढ्छ ।

यसपछि उसले फोहोर पानीमा तैरिरहेको एउटा नोट देख्छ । ऊ फेरि मोपेडबाट ओर्लन्छ र फोहोर पानीको नोट टिप्छ ।

यसपछि अघि बढ्दै जाँदा जहाँ पुग्न हतार भएको हो, हतारोका कारण मोपेडको गति बढाउँदै जान्छ । अति गतिका कारण उसको मोपेड दुर्घटनाग्रस्त बन्न पुग्छ । ऊ सुतिरहेको ठाउँबाट उठ्न सक्दैन ।

जब बल्ल तल्ल लोटेको ठाउँबाट जिउ सम्हाल्छ, परबाट एउटा बिहेको जन्तीजस्तो बाजागाजाका साथ आइरहेको देख्छ । त्यहाँ एक जना मानिसले हातभरि पैसा बोकेर नोट फ्याँकिरहेको देख्छ ।

दुलाहा र जन्तीको भिड वास्तविक होइनन् । ती त दुर्घटना परेर प्रेत भएकाहरू हुन् । उनीहरूले भर्खरै दुर्घटनामा परेको व्यक्तिलाई आफूसँग लैजान्छन् । ऊ पनि त्यहाँबाट उठेर अन्य जन्ती नाचेझैँ ऊ पनि नाच्न थाल्छ ।

हामी पैसाको लोभमा वा पैसा तान्ने ध्याउन्नमा घर-परिवार र दायाँबायाँ हेर्दैनौँ । जब ढिला भयो भनेर दिमाग भन्छ, त्यो बेला हामी यति तीव्र गतिमा हुन्छौँ कि दुर्घटनामा पर्छौँ भन्ने सुन्दर सन्देश यो फिल्मले बोकेको छ ।

तपाईंले यो छोटो फिल्म एक पटक त हेर्नै पर्छः