सिनेमा तथा टेलिभिजन लेखकहरूको संगठनले मे महिनाको पहिलो साताबाट आन्दोलन थालेका छन् । हलिउडका ठूला स्टुडियो र स्ट्रिमरहरूसँगको वार्ता असफल भएपछि उनीहरूले आन्दोलन थालेका हुन् । उनीहरूले यस अवधिमा कुनै पनि फिल्म तथा टेलिभिजन कार्यक्रममा सहभागिता नजनाउने, नलेख्ने बताएका छन् ।

गएको सोमबार रातिसम्म आफ्नो माग पूरा नभए लेखकहरू फिल्म वा टेलिभिजनको सेटमा नफर्कने र हलिउडका स्टुडियो तथा स्ट्रिमर कम्पनीका अगाडि प्रदर्शन गर्ने बताएका थिए र सोहीअनुरूप यतिबेला उनीहरू विभिन्न ब्यानर तथा प्लेकार्ड बोकेर उभिने गरेका छन् ।

११ हजार ५०० जना सदस्य रहेको राइटर्स गिल्ड अ अमेरिकाले आफ्नो माग पूरा नहुञ्जेल फिल्म वा टेलिभिजन लेखकहरू काममा नफर्कने बताएका छन् ।

यसअघि सन् २०२० पनि पनि यस्तै आन्दोलन भएको थियो तर संसारभर कोरोना भाइरसको आतंकका कारण सो आन्दोलनलाई कसैले पनि चासो दिएको थिएन ।

सन् २००७ र २००८ मा पनि आन्दोलन भएका थिए । जसले आंशिक मागहरू पूरा गराउन भूमिका खेलेको थियो । यतिबेला भने स्ट्रिमिङ सेवाहरूबाट पनि लेखकहरूले आफ्नो भाग पाउनुपर्ने मुख्य माग रहेको छ ।

यसपाला नयाँ खेलाडीहरू थपिएका छन् । जसमा अमेजनको प्राइम, एप्पल र नेटफ्लिक्स मुख्य खेलाडीका रूपमा उदाएका छन् ।

अघिल्ला आन्दोलनभन्दा यस पटक लम्बिने सम्भावना रहेको केहीको आँकलन छ । अघिल्लो आन्दोलन तीन महिना लम्बिएको थियो । हाललाई यो आन्दोलनले ठूला कम्पनीलाई खासै फरक नपरे पनि आन्दोलन लम्बिदै जाँदा ओरिजनल कन्टेन्टको अभाव बढ्ने र आन्दोलनकारीहरूसँग सम्झौता गर्नैपर्ने अवस्था आउने केहीको राय छ ।