ग्राण्ड महफिल, सिजन – २ को आठौँ शृङ्खला वैशाख ३० गते शनिबार हुने भएको छ । गजलका शेरका पारखीहरू लाइभ गजल सुन्नका लागि ठिक २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटर पुग्नु पर्नेछ जहाँ गजलकारत्रय जगत खड्का दोलखाली, तपेन्द्र घोडासैनीनवराज कुन्दनले आफ्ना शेरहरू स्रोतालाई सुम्पिने छन् ।

गजलकार तथा गजल अभियन्ता बाबु त्रिपाठीको प्रस्तुति रहने कार्यक्रममा ज्योति जङ्गलको पुस्तक आधा शिर उचालेरमाथि चर्चासमेत गरिनेछ । महफिलको प्रत्यक्ष स्रोता हुनका लागि १५० रूपियाँको टिकट लिनुपर्नेछ ।

गजल त हामी सर्वनामै पुगेर सुनिहाल्छौँ । साहित्यपोस्टले महफिलमा शेरहरू बोकेर आउने तीन गजलकारसँग छोटो संवाद गरेको छ । प्रस्तुत छ, गजलकारत्रय जगत खड्का दोलखाली, तपेन्द्र घोडासैनी र नवराज कुन्दनसँग गरिएको संवादको सम्पादित अंश;

===

प्रश्नः ग्राण्ड महफिलमा गजलकारका रूपमा उभिन पाउनु हरेक गजलकारको सपना हुन्छ । तपाईंले चाहिँ यसलाई कसरी हेर्नुभएको छ ?

जगत खड्का दोलखालीः

महफिल भन्नासाथ गजलमा साधनारत् गजलकारहरूको एक मन्दिर हो भन्ने मलाई लाग्छ । जुन मन्दिरको दर्शन गर्न गजलमा साधनारत् सबै गजलकारहरू चाहन्छन्, चाहे मनमनै होस् या त खुलेआम । म पनि जब गजल लेख्छु भनेर गजलमा कलम चलाउन थालेँ । मेरो पनि सपना थियो गजल महफिलमा बसेर आफ्ना गजलहरू गजलकारका माझमा बसेर सुनाउने । यही सिलसिलामा गजल लेख्दै गएँ, र अहिले वैशाख ३० गते हुन गइरहेको महफिलमा मैले स्थान पाएको छु । यसमा सहयोगी हातहरू पनि हुनुहुन्छ, उहाँहरूलाई हृदयदेखि नमन भन्न चाहन्छु । यो महफिल मेरो लागि अवसर र चुनौती दुवै हो भन्ने मलाई लागेको छ ।

तपेन्द्र घोडासैनीः

ग्राण्ड महफिल नेपाली गजलको एउटा महत्त्वपूर्ण प्लाटफर्मको रूपमा चिनिइसकेको मञ्च हो । यस मञ्चमा उभिन पाउनु र आफ्ना गजल सुनाउन पाउनु एउटा गजल पारखीका लागि निकै खुसीको कुरा हो । मैले पनि यसलाई एउटा महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छु ।

नवराज कुन्दन:

निश्चय पनि, गजल क्षेत्रमा कलम चलाउने नवसर्जक होस् या स्थापित गजलकार, ऊ ग्राण्ड महफिलमा उपस्थित भएर आफ्ना सृजना प्रस्तुत गरी र साहित्य क्षेत्रका विद्वान् तथा प्राज्ञिक व्यक्तित्वहरुबाट रचनात्मक पृष्ठपोषणका साथै थप हौसला र उत्प्रेरणाको अपेक्षासहित ग्राण्ड महफिलमा उभिन चाहन्छ । ग्राण्ड महफिलको आफ्नो छुट्टै पहिचान, गरिमा र उचाइ छ । दूर-सुदूर बस्तीमा बसेर नेपाली गजल क्षेत्रमा अविछिन्न कलम चलाउने व्यक्तित्वहरूलाई समेत पहिचान गरी मुलधारमा ल्याएर गजलकारको उत्थानसँगसँगै गजलको उत्थान, विस्तार र विकासका लागि निश्पक्षताका साथ लागेका हुनाले पनि सबै गजलकारको सपना एकपटक ग्राण्ड महफिलमा उभिनु पर्छ भन्ने रहेको हुन्छ ।

===

प्रश्न: नेपालको परिप्रेक्ष्यमा, तपाईंले बुझेको गजल के हो ? व्यक्तिगत रुपमा, तपाईं चाहिँ गजल किन लेख्नुहुन्छ ?

जगत खड्का दोलखालीः 

नेपालको परिप्रेक्षमा मात्र नभनौँ, गजल के हो भनेर ठोकुवा गरेर भन्ने हैसियत त ममा नहोला, म गजल साधक हुँ तैपनि मैले बुझेअनुसार र आजसम्म मैले गरेको अध्ययनअनुसार गजल एक ग्येय विधा जुन गाउन मिल्नुपर्छ जसभित्र रहेका शेरले भाव स्पष्ट पार्न सक्नुपर्छ भन्ने मलाई लाग्छ । खास गजल म किन लेख्छु भनेर मैले मलाई नै सोध्ने प्रश्न हजुरले पनि सोध्नुभयो । खास म गजल किन लेख्छु भन्नुभन्दा ममा लत बसेको छ, कतै केही नयाँ कुरा देखियो भने त्यसलाई शब्दमा उतार्न मन लाग्छ । यसरी शब्दमा उतार्न खोज्दा म गजल विधामा कलम चलाउन मनपर्ने भएकोले मेरो आत्मसन्तुष्टिका लागि देखेका भोगेका भइपरी आएका कुरालाई गजका शेरमार्फत पस्कन मन लागेर नै गजल लेख्छु । सारमा भन्दा, मेरो आत्मसन्तुष्टिका लागि नै म गजल लेख्छु ।

 

तपेन्द्र घोडासैनीः

गजल मात्र होइन, साहित्यका सबै विधाहरू मानवीय जीवन र जगतमा घटित घटनाहरुमाथि उत्पादन भएको विचार र मनोभावना अभिव्यक्त गर्ने सशक्त माध्यम हुन् । साहित्यमा जगतका विशिष्ट घटनाहरूलाई सरलीकृत गर्दै चामत्कारिक रूपमा अभिव्यक्ति प्रकट हुन्छ । जस कारण पाठक वा श्रोताको मनलाई आल्हादित बनाउँछ । यसले साहित्य उत्पादकलाई साहित्यिक उपार्जनको भोक मेटाउन सहयोग गर्छ भने उपभोक्तालाई मानसिक तुष्टि अथवा बौद्धिक भोक मेटाउन सहयोग गर्दछ । मैले पनि सामाजिक व्यवहार, मानवीय चरित्र एव् जीवन र जगतका विषयमा मनमा उपार्जन भएका अभिव्यक्तिहरूको सम्प्रेषणका लागि साहित्य लेख्ने गरेको छु ।

अन्य विधाको जस्तै गजलमा पनि आफ्नो स्वरूप अथवा आफ्नै नियम र शैली छ । पारम्परिक एवं शास्त्रीय दृष्टिकोणको अध्ययन गर्दा गजल विधा शास्त्रीय वहरमा लेखिने गेय विधा भएको गलका अध्येताहरूका अनुसन्धानबाट थाहा हुन्छ । यद्यपि नेपालको सन्दर्भमा भने गजलले आफ्नै स्वरूपमा मुक्त लयको मञ्चीय विधाको रूपमा रुपान्तरित हँदै आफूलाई दह्रो गरी उभ्याइसकेको छ ।

नवराज कुन्दनः

गजलको उत्पतिको समयमा गजललाई सिमित क्षेत्रलाई प्रतिविम्बित हुने गरी प्रयोग गरिएको हुनाले मायाप्रेमको प्रतीकका रूपमा मात्र परिभाषित गरेको पाइन्छ । नेपालमा पनि सुरुवातदेखि धेरैपछि २०५० को दशकसम्म पनि श्रृङ्गारिक धारबाट सृजना गरिएका गजलहरू बढी पाइन्छन् । यसर्थ पनि नेपाली गजलको सुरुवातदेखि धेरै समयपछि सम्म गजललाई सीमित क्षेत्रभित्र सङ्कुचन गरिएको पाइन्छ । जब नेपाली गजलमा २०५० को दशकपश्चात् आधुनिक नेपाली गजलको विकास भयो तत्पश्चात नेपाली गजलको क्षेत्र र दायरा फराकिलो हुँदै गयो । माया, प्रेम, राष्ट्र प्रेम, सामाजिक विकृत्ति विसङ्गती, राजनीति, भाषा, धर्म, जात, भूगोल, प्रकृति, जीवन दर्शनलगायतका समग्र विषयहरूमा गजल सृजना भएको पाइन्छ ।

खास गरी गजल भनेको नेपाली साहित्यको एक पृथक् र विशिष्ट विधा हो । यसका वस्तुगत मापदण्ड र मान्यताहरू तथा नियम र अनुशासनहरू छन् । उक्त मापदण्ड, नियम, मान्यता,  अनुशासनका आधारभूत परिधिभित्र रहँदै सृजना गरिएको साहित्यको रसिलो विधा नै गजल हो । जसमा संरचना र भाव पक्षलाई उत्कृष्ठ ढङ्गले प्रयोग गरिनुपर्दछ । मुख्यतः गजलकारले गजल सृजना गर्दा ३ वटा पक्षमा विशेष ध्यान दिनुपर्दछ :

१. संरचना र सिद्धान्त

२. भाव र दर्शन

३. समाजले स्वीकार गर्न सक्ने विषयवस्तु

===

प्रश्न: नेपाली साहित्यको परिप्रेक्ष्यमा गजल विधा सर्वाधिक विवादमा रहँदै आएको छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?

जगत खड्का दोलखालीः

गजल विधा भन्नासाथ विवाद नहुन पर्ने हो तर भइरहेको छ । सारमा भन्दा गजल विधा विवादित हुनुको मूल कारण जुँगाको लडाइँ हो जस्तो लाग्छ । यसको सामधानको उपाय पनि यही हो, जुँगाको लडाईंको अन्त्य हुनपर्छ भन्ने मेरो बुझाइ छ । कलम कलमको लडाइँ अब हुन हुन्न । आउँदा पुस्ताका लागि थप जोसजाँगर थप्नकै लागि पनि यो कलम कलमको लडाइँको अन्त्य हुनपर्छ भन्ने मलाई लाग्छ ।

तपेन्द्र घोडासैनीः

सतही रूपमा विवाद जस्तो देखिए तापनि त्यस्तो विवाद छ जस्तो मलाई लाग्दैन । गजल विधा वहरबद्ध लेख्ने कि मुक्त लेख्ने भन्ने विषयमा बढी विवाद भएजस्तो देखिए तापनि दुबै प्रकारका गजल नेपाली स्रोताले रुचाएको पाइएको छ । साहित्य लेखन स्रोताको तुष्टिका लागि लेखिने भएकाले गजलका न्यायाधीश नेपाली गजलका पारखी पाठकश्रोता नै हुन् । श्रोतापाठकले अनुमोदन गरेका विषयमा विवाद गरिरहनु उचित हुँदैन जस्तो मलाई लाग्छ । मूल कुरा गजलमा साहित्य, भाव, विषयको चामत्कारिक प्रस्तुतीकरण अथवा कथाको सटिक स्वरूप हुनुपर्छ ।

बेलाबेला सामाजिक सञ्जाल तथा गजलका मञ्चहरूमा विवाद भएको देखिएको पाइन्छ । यस्ता विवादले गजलका सम्बन्धमा अझ बहस र छलफल हुने गरेको छ । यस्ता छलफलमा गजलसम्बन्धी चर्चा हुने भएकाले गजल विधा अझ विकास र परिष्कृत हुन सहयोग पुग्छ । त्यसैले यस्ता बहस र विवादले अन्ततः गजल विद्यालाई नोक्सानभन्दा बढी नाफा नै गरेको मैले पाएको छु । रह्यो कुरा निषेधको । निषेधचाहिँ कहीँकतै कुनै साहित्यिक विधा लेख्नेलाई गरिनु हुँदैन । स्वतःस्फुर्त रूपमा धमिलो पोखरीलाई छोडिदिनुपर्छ । एक न एक दिन पानी सङ्लो हुन्छ हुन्छ ।

नवराज कुन्दनः

नेपाली गजल विधा पनि विभिन्न विभिन्न विवाद, आलोचना र आरोपबाट अछुतो छैन ।

विशेष गरी संरचनाका आधारमा गजल बजारमा सर्वाधिक विवाद देखिन्छ । गजल शास्त्रीय रूपमा उत्पत्ति र विकास भएको हुनाले छन्द र बहरमा मात्र लेखिएका गजलमात्र गजल हुन भन्ने एकथरी छन् भने अर्कोथरीको बहर तथा छन्दसँगसँगै गजलका अधारभूत नियम, अनुशासन र मान्यतालाई ध्यानमा राखी स्वतन्त्र रूपमा पनि गजल सृजना गरिनु पर्दछ भन्ने मान्यतामा रहेको पाइन्छ । यस प्रकारको मान्यता राख्ने गजलकारहरू संरचनालाई भन्दा भाव, दर्शन र विचारलाई प्राथमिकता दिनुपर्ने कुराको वकालत गर्दछन् । कतिपय अवस्थामा दुबै पक्षबिच एक पक्षले अर्को पक्षको अस्तित्व नै स्वीकार नगर्ने गरी विवाद र बाजाबाज भने नभएका होइनन् । खास गरी बहर र आधुनिक नेपाली गजलको बीचमा केही मतभिन्नता रहनुले पटक पटक विवाद सृजना भएको पाइन्छ । यस प्रकारको विवाद आफ्नो धारमा कट्टरतापूर्वक लाग्नेहरूले मात्र गरेको पाइन्छ । उत्कृष्ट गजल सृजना गर्ने, निरन्तर साधना गर्ने, गजलको विकास र विस्तारमा चिन्ता र चासो लिई अभियान सञ्चालन गर्ने साधक तथा अभियान्ताहरू भने गजलमा विवाद हुनु हुँदैन भन्ने प्रगतिशील सोचमा अघि बढेका छन् ।

खास गरी गजल विवाद आउनुको कारण ५ वटा छन्ः

१. गजल तथा साहित्यको अध्यायन र साधना बिना गजलमा लाग्नु,

२. धारगत रूपमा कट्टरतापूर्वक लाग्नु र एकले अर्काको अस्तित्व स्वीकार नगर्नु,

३. आफ्नो निश्चित धारणा बिना लहैलहैमा लाग्नु,

४. सर्जक तथा गजलकारहरूमा अनुशासन र संस्कारको अभाव,

५. आफू र आफ्नो सृजनालाई मापन र मूल्याङ्कन गर्न नसक्नु ।

गजल साधनामा लागेका सबै व्यक्तिहरू एकै वर्ग र क्षेत्रका हुन भन्ने धारणाको विकास गर्न सकेको अवस्थामा, एकले अर्काको अस्तित्व सहर्ष रूपमा स्वीकार्न सकेमा, गजलको वृहत् अध्ययन र साधना गरी सृजनात्मक क्षमता विकास गरेमा, गजलसँगसँगै गजलकारको सम्मानमा एकताबद्ध भई लागेमा  र अनुशासन तथा संस्कार कायम गरी कुनै प्रकारको आग्रह पुर्वाग्रह नराखी सबै गजलकार लागेको अवस्थामा नेपाली गजलमा देखिएको विवाद समाधान भई गजलको विस्तार र विकास हुने कुरामा कुनै आशंका छैन ।

===

प्रश्नः महफिलजस्ता ठुला मञ्चहरुमा सुनिने गजकारहरुलाई आरोप लाग्छ – उही गजल जहीँ पनि सुनाउँछन् । ग्राण्ड महफिलमा नयाँ गजलहरु सुनाउँदै हुनुहुन्छ कि अन्य मञ्चहरुमा सुनाइसकिएका उही पुरानै ?

जगत खड्का दोलखालीः

हुन त सृजना कहिल्यै पुरानो हुन्न, तैपनि बारम्बार एउटै गजल सुन्न सुन्नेहरूलाई मजा नलागेर यस्तो आरोप लागेको पनि हुन सक्छ । महफिल भन्न साथ गजलकारहरूको मन्दिर हो, मैले माथि नै उल्लेख गरिसकेको छु । म योभन्दा अगाडि कतै पनि महफिलको पर्वमा नपरेकाले आशा छ, मैले यस महफिलमा सुनाउने गजलहरू नयाँ रहनेछन् । यही महफिलमार्फत मेरो दोस्रो गजलसङ्ग्रह “पहिरो” पनि सार्वजनिक हुने भएकाले उक्त सङ्ग्रहमा सबै गजलहरू नयाँ छन् । यसकारण पनि यो महफिलमा मबाट वाचन हुने गजलहरू नयाँ रहनेछन् ।

तपेन्द्र घोडासैनीः

उसो त गजल बहुतै गाह्रो विधा हो । गजलकारहरू चलाखीपूर्ण तरिकाले नयाँ र पुराना गजल मिक्स गरेर मञ्चमा उभिने गर्छन् । मैले पनि केही नयाँ र केही पुराना गजल सुनाउने सोच बनाएको छु ।

नवराज कुन्दनः

स्वभाविक रूपमा एउटा उत्कृष्ट गजल सृजना गर्न निकै साधना र समय खर्चिनु पर्दछ । त्यसरी सृजना गरिएका उत्कृष्ट गजल आफ्नो पहिचानका लागि पनि सुनाउनु पर्ने हुन्छ । कतिपय सन्दर्भमा दर्शकहरूको माग पनि हुन्छ । सबै पुराना गजल मात्र सुनाउनु पर्छ भन्ने मान्यता म राख्दिनँ । गजल क्षेत्रमा निरन्तर र लामो समयसम्म टिकिरहन र हरेक दर्शकहरूको माया पाइरहन समय समयमा कुनै न कुनै नयाँ र उत्कृष्ट गजलहरू सृजना गरी प्रस्तुत गर्नु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । यस पटकको महफिलमा अधिकांश नयाँ र केही मात्र पुराना गजल प्रस्तुत गर्ने योजनामा छु । राजधानीमा पहिलोपटक मञ्चमा उभिएको हुँदा पनि  दर्शकहरूका लागि सबै नयाँ नै हुनेछन भन्ने आशा राखेको छु ।

अन्त्यमा, नेपाली गजलको सर्वाधिक लोकप्रिय र ठूलो मञ्चमा गजल वाचन गर्न पाउनु खुसीको कुरा त हो नै, तथापि विद्वत्, प्राज्ञिक र विद्वान् दर्शकहरूका माझमा उभिएर गजल प्रस्तुत गर्नुमा निकै चुनौतिको महसुस गरेको छु । मञ्चको अवसरका लागि ग्राण्ड महफिल परिवार र केही विचार तथा भलाकुसारी गर्ने अवसरका लागि साहित्यपोस्ट परिवारलाई हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछु ।