नेपालको पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’ले पहिलो पोएट आइडलका रूपमा सिक्किमकी नीलम गुरुङलाई पाएको छ । बुवा क्षेत्रप्रताप अधिकारीका नाममा छोरा अमनप्रताप अधिकारीले परिकल्पना तथा निर्देशन गरे यो शोले कवितालाई सुन्ने र हेर्नेसमेत विधाका रूपमा स्थापित गराएको छ । यस शोले तथा यसका माध्यमबाट पहिचान बनाएका कविहरूले नेपाली साहित्य, त्यसमा पनि कविता विधाको श्रीवृद्धिमा कति योगदान पुर्‍याउन सक्छन्, त्यो अहिले नै आकलन गर्न हतारो हुन्छ । तर यति भने भन्न सकिन्छ – यो कार्यक्रमका माध्यमबाट नेपाली कविता लेखनमा नयाँ माहौल सिर्जन भएको छ । कविताप्रति किशोर तथा युवापुस्ताको आकर्षणलाई ह्वातै बढाइदिएको छ । 

कार्यक्रमका बारेमा समीक्षा गर्दै गरौँला । समय क्रममा आफैँ हुँदै जाने नै पनि छ । अहिले भने, ‘द पोएट आइडल’लाई सफलताका साथ सम्पन्न गर्ने कार्यक्रमका परिकल्पनाकार तथा निर्देशक अमनप्रताप अधिकारीका कुरा सुनौँ । प्रस्तुत छ, डन डाइरेक्टरका उपमा पाएका अधिकारीसँग ‘द पोएट आइडल’का विषयमा साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको कुराकानीको सम्पादित अंश:

तपाईँ नेपालमा ‘रोडिज्’, ‘को बन्छ करोडपति ?’ जस्ता रियालिटी शोहरु सफलतापूर्वक बनाइसक्नु भएको निर्देशक । ‘द पोएट आइडल’को समीक्षा चाहिँ कसरी गर्नुहुन्छ ? 

समीक्षा गर्दाखेरि चाहिँ अङ्ग्रेजीमा ‘सक्सेसफूल’, नेपालीमा ‘सफल’ । त्यो लेबलमा हामी पुगेकै हो । सुरुका सातौँ–आठौँ एपिसोडसम्म जुन किसिमका गालीगलौजहरू आए, त्यसले निरुत्साहित हुनुपर्ने थियो तर म भइनँ । किनभने कार्यक्रमको असली खुराक बाँकी नै थियो । पोएट आइडलले अडिसनको पार्टलाई रिप्रिजेन्ट गर्ने होइन, त्यो त एउटा प्रक्रिया थियो । अर्थात्, त्यो पोएट आइडलले खास दिन खोजेको कुरा आउनुभन्दा अगाडि नै खाइएको गाली थियो ।

जब छानिएका कविहरूलाई लिएर एपिसोड आठबाट कार्यक्रम अघि बढ्छ तब गालीगलौज गर्नेहरू पनि तारिफ गर्न लाग्नुहुन्छ भन्ने कन्फिडेन्स मसँग थियो । छानिएका कविहरूलाई विषय दिने विभिन्न तरिकाका माध्यमबाट हामीलाई कवितासँगै कलाका नाटक, चित्रकला, सङ्गीत लगायत विभिन्न विधालाई जोडिरहेका थियौँ । सधैँ मान्छेले अरूको गीत गाइरहेको, अरू कसैको गीत–सङ्गीतमा नाचिरहेको रियालिटी शोहरु सञ्चालन भइरहेको अवस्थामा विभिन्न अवस्था र मनस्थितिमा रहेर आफ्नै हातले लेखिएका ब्रान्ड न्यु क्रियसन थियो । जसलाई सङ्गीत तथा अभिनयले साथ दिइरहेको छ । त्यसैले, यसमा चाहिँ म पक्का थिएँ कि यी सबै कुराहरूको नौलो प्रस्तुतिमार्फत ‘द पोएट आइडल’ले दर्शकहरूको मन पक्का जित्ने छ ।

अमनप्रताप अधिकारी

फिनालेमा फाइनलिस्टमध्येका पल्लविबले भन्नुभएको थियो – पोएट आइडलले जनताको कविता कविता जनतालाई नै फर्कायो । यो साँचो हो ? 

हो नि । होइन त ?

पल्लविबले सुरुदेखि नै ‘भुइँमान्छे’ भन्ने शब्द धेरै प्रयोग गर्थे । जसरी एमए, पिएचडी गर्ने एउटा इलिएट वर्गमार्फत ‘कविता भनेको यो हो’ भनेर जुन कुरा स्थापित गराइयो, खासमा त्यो त होइन नि त ! एउटा रिक्सा चलाउनेलाई पनि त कविता सुन्न मन लाग्छ । कविता उसले पनि बुझ्ने गरेर लेखिनु पर्‍यो । कविमा यदि क्षमता छ भने उसले पनि बुझे गरी लेख्नुपर्‍यो । मेरो बुबाले पनि यही भन्नु हुन्थ्यो, ‘मैले लेख्नलाई त रवीन्द्रनाथ ठाकुरले मात्र बुझ्ने गरेर पनि लेख्न सक्छु होला । तर, समाजका कुरा लेखिएपछि समाजका हरेक तप्का र अङ्गले बुझ्नु पर्छ ।’

हो पनि । मेरो बुबा त्यसै गामबेँसीका कवि हुनुभएको होइन । गहनभन्दा गहन विषयलाई पनि गाउँबेँसीकै भाषामा सिर्जनामा समेटेको हुनाले नै क्षेत्रप्रताप अधिकारी हुनुभएको हो । मलाई लाग्छ, पल्लविबले भन्न खोजेको कुरा पनि यही हो ।

‘द पोएट आइडल’ले पढ्ने विधामा मात्र सीमित कवितालाई सुन्न र हेर्न पनि मिल्ने विधाका रूपमा स्थापित गराएको हो त ? 

हो नि । जसले कविता पढेकै थिएनन् वा पढ्न सक्दैन थिए, उनीहरूले पनि सुन्न र हेर्न सके । कविताको दायरा ठुलो भयो ।

एउटा समयमा कविता लेख्न मात्र विधा थियो । त्यसपछि सभा सम्मेलन तथा गोष्ठीहरू हुन थाल्यो । कविता वाचन गर्न थालियो । रेडियोको आविष्कारपछि धेरै–थारै अडियो–कविताले पनि ठाउँ पायो । कविताले अडियोको अवतार पाएको पनि धेरै भइसकेको थियो, तर यसलाई शोको रूपमा लिएर आउनेबारे भने अहिलेसम्म कसैले पनि सोचेको थिएन । तर हामीले सोच्यौँ । नेपालीको छोरोले सोच्यो त । संसारमै नसोचेको भनेको त अचम्म हो नि ! होइन त ?

‘द पोएट आइडल’ फ्रेन्चाइच बङ्गलादेश लग्ने हल्ला पनि सुनिएको छ, यो कतिको साँचो हो ? 

(हाँसोको साथ) मैले यति चाँडै हल्लाचाहिँ सुनिसकेको छैन । तर प्रस्ताव आयो भने ठिक छ । राम्रो हो । तर मचाहिँ के भन्छु भने, यो फ्रेन्चाइजै भएर मैले पैसा कमाउने गरी अन्य देशहरूमा गइरहनु पर्दैन । यसबाट आइडिया लिएर कसैले आफ्नै अलग्गै शो बनाउन सक्छ । किनभने, हरेक देशको कविता लेख्ने, सुन्ने र बुझ्ने आफ्नै प्रक्रिया छ ।

अनुप बराल, विप्लव प्रतीक, उपेन्द्र सुब्बाहरू जस्ता कविता तथा कलामै काम गरिरहेका व्यक्तिहरूको साथले पनि त तपाईँलाई ‘द पोएट आइडल’लाई लिएर आत्मविश्वास दिलायो होला नि ! हैन ?

हो । उहाँहरूसँग होल–होल डे बसेर छनोटको तरिका, कार्यक्रमको प्रक्रिया तथा एपिसोडहरूको अग्रताका बारेमा छलफल गरेँ । खेस्रा–खेस्रामा उहाँहरूलाई समग्र कार्यक्रमका बारेमा बुझाएँ । सबै सुनिसकेपछि उहाँहरू सबै जनाले मलाई साथ दिनुभयो । भनौँ न, मेरो कुरामा कन्भिन्स्ड हुनुभयो । कविता पनि मरेन, उल्टो जिउँदो बनाइदियो, अनि झन् लार्जर अडियन्समा पुगिने कुराले उहाँहरू झन् खुसी हुनुभयो । उहाँहरूको जस्तो कला र साहित्य बुझेको मान्छेको साथ मेरा लागि हौसला बन्यो । तर यो सबै (कार्यक्रमको बुनोट) कुरा अगाडि नै दर्शकलाई भन्ने कुरा भएन । त्यसैले सुरुवाती दिनमा केही आलोचना भए । फेरि अगाडि नै भनेको भए सस्पेन्स भन्ने कुरा नै रहँदैन थियो ।

मेरो कार्यक्रमको बारेमा सबैभन्दा पहिले विप्लव दाइ, त्यसपछि अनुप दाइ, अनि सुरक्षा र सबैभन्दा अन्तिममा उपेन्द्र दाइलाई सुनाएको थिएँ । उपेन्द्र दाइले एक पटक कार्यक्रमका बारेमा सबै कुरा सुनेपछि ‘नाइँ’ कहिल्यै पनि भन्नुभएन । बरु भन्नुभयो, ‘तिमीले आट्यौं, म छु । केटा, नडराऊ ।’

सुरुवाती दिनमा निर्णायकको भूमिकामा नायिका सुरक्षा पन्तलाई लिएर धेरै प्रश्नहरू उठे । आलोचनाहरू भए । तपाईँले चाहिँ के कारणले उहाँलाई निर्णायकको भूमिका दिनुभयो ? 

रियालिटी शो बनाउँदै आउँदा लामो समयदेखि मैले एउटा कुरा के याद गरेको थिएँ भने, चार जना जर्ज एउटै क्यारेक्टरको हुनुहुँदैन र प्रतिस्पर्धी पनि चौध अठार जति हुन्छन्, एउटै क्यारेक्टरको हुनुहुँदैन । किनकि यो सिधै अडियनस्कहाँ पुग्ने कार्यक्रम हो, टेलीचलचित्र होइन । अडियन्सलाई त दुइटा सेम क्यारेक्टर देखिसक्दा झ्याउ लाग्न थालिहाल्छ ।

हाम्रो जर्जहरुमा हेर्नुहुन्छ भने विप्लव दाइ एकथरी कविता लेख्ने कवि, उपेन्द्र दाइ अर्कैथरी कविता लेख्ने कवि । उहाँहरू दुई धारका प्रतिनिधि कविहरू हुनुहुन्छ । कार्यक्रममा कवितालाई कलर, आर्ट्स, एक्ट एन्ड म्युजिकका माध्यमबाट प्रस्तुत गरिने हुनाले त्यहाँ अनुप दाइ चाहियो चाहियो । सुरुमा त्यहीँ पनि प्रश्न थियो – अनुप बरालको चाहिँ काम के हो ?

सुरक्षाको कुरामा चाहिँ, उपेन्द्र दाइहरूले कवितालाई कलाको सामान्यभन्दा माथिल्लो विन्दुमा रहेर हेर्नु, सुन्नु र मूल्याङ्कन गर्नुहुन्छ होला, तर सुरक्षाको थ्रु चाहिँ नर्मल मानिसहरूको दृष्टिकोण आइरहेको हुन्थ्यो । चाहेको भए म तुलसी दिवसलाई पनि जर्ज बनाउन सक्थेँ, तर त्यहाँ अहिलेको लेबलको ग्लामर पनि आउँदैन थियो होला । त्यसैले सधैँ कला साहित्यलाई दिग्गजकै दृष्टिबाट मात्र हेरिनुपर्छ भन्ने मलाई लाग्दैन । र, यहाँ मैले भन्नै पर्ने हुन्छ – जर्जहरू र होस्टसँग म फुल्ली सेटिस्फाइड ।

‘द पोएट आइडल’ नामलाई लिएर सञ्जालतिर प्रश्नहरू उठेका देख्छु भाषालाई लिएर । साँच्ची, सबै कुरा नेपालीमै भइसकेपछि कार्यक्रमको नाम पनि नेपालीमै सोच्न सकिँदैन थियो ? 

नेपालीमा राखेको भए यति धेरै चर्चा हुँदै हुँदैन थियो । मलाई लाग्छ, यसलाई अन्यथा नसम्झी खुल्ला रूपमा लिनुपर्छ । अङ्ग्रेजीमा एउटा शब्द छ – हिपोक्रेट । त्यो नभईकन मैले सोचेँ भने अहिले धेरै नेपालीका बच्चाहरू नेपालमा छैनन्, विदेशमै छन् । जसले कार्यक्रमको नाममा विरोध गरिरहनुभएको छ, उहाँकै पनि परिवारको कोही विदेशमै होलान् । र, कोही नेपाली अमेरिकामा छ भने उसको पहिलो भाषा नेपाली होइन, अङ्ग्रेजी नै हो । यो कुरालाई पनि हामीले खुल्ला रूपमा स्विकार्न सक्नुपर्छ ।

योचाहिँ मैले रुकुम–रोल्पालाई मात्र बनाएको कार्यक्रम होइन । पोखरा र स्याङ्जा, झापा र इलामलाई मात्र पनि होइन । यो सिड्नीका लागि पनि बनाएको हो, टोकियोका लागि पनि हो । दुबईलाई पनि हो, न्यूयोर्कलाई पनि हो । जुनसुकै देशको जुनसुकै भाषा बोल्ने व्यक्तिले पनि ‘द पोएट आइडल’ देखिसक्दा तीन शब्दमा सबै कथा बुझ्छ । जापानमा बस्ने नेपालीको जापनिज साथीले नामबाटै थाहा पाउँछ – नेपालको पोएट्री रियालिटी शो रहेछ भन्ने बुझिहाल्छ ।

तपाईँ क्षेत्रप्रताप अधिकारीको छोरा । तपाईँ अन्य धेरै रियालिटी शोहरु बनाउनुभयो, त्यसमा बुवाको नामको बोझ तपाईँलाई कम थियो होला । तर यो कार्यक्रम बनाउँदा बुवाको नामसँगै जोडिएकाले थप संवेदनशील बनायो होला नि ! हैन ?

मलाई सधैँ लाग्यो – बाउको नाम र कामका कारणले यसले यो उपलब्धि प्राप्त गरेको हो भन्ने नहोस् । त्यसैले ‘कृपा अनप्लग्गड्’भन्दा अगाडिको १३–१४ वर्षको टेलिभिजन करिअरमा म अमन अधिकारीको रूपमा चिनिएँ । मैले ‘प्रताप’ हटाएको हो । नागरिकताबाट पनि हटाएको हो । जब म आफ्नै बलबुताले यस क्षेत्रमा स्थापित भएँ अनि लाग्यो – अब ‘प्रताप’ लेख्दा हुन्छ । र, त्यसपछि अमनप्रताप अधिकारी नामबाट कृपा अनप्गड्, रोडिज्, को बन्छ करोडपति र ऐना बन्यो । टेलिभिजन क्षेत्रमा आफ्नो तरिका नाम बनाएँ, र कामका दौरान क्षेत्रप्रतापको छोरा समेत भएको थाहा पाउनेले थप श्रद्धा दिएको पाएँ । मलाई खुसी यसमा लाग्छ कि, बुवाको नामको सहारा नलिईकनै म आफ्नो कामले चिनिन पाएँ ।

तर ‘द पोएट आइडल’मा चाहिँ बुवाको नाममा गरिएको हुनाले पहिलेबाटै केही प्रेसर थियो । विशेषतः रियालिटी शोको क्षेत्रमा आफ्नो नाम बनाएको थिएँ, तर यसमा सिर्जना गरेरै बुवाले बनाएको इज्जत पनि बचाउनु थियो । त्यसैले अन्य शोहरुको तुलनामा यसमा बढी नै संवेदनशील भएकै हो । कुनै एक्ट गर्दा छाडा पो हुन्छ कि, अराजक पो देखिन्छ कि भनेर सतर्क भएको साँचो हो ।

अन्य रियालिटी शोहरु निर्देशन गरिरहँदा र ‘द पोएट आइडल’ निर्देशन गरिरहँदा बिचको फरक अनुभूति केही रह्यो ? 

अरू त सबै उस्तै थियो, यसमा प्रोडक्सनको पक्षबाट चाहिँ गाह्रो रह्यो । हामी आर्थिक रूपमा कमजोर थियौँ, त्यसैले हाम्रो टिम सानो थियो । सीमित मान्छेले मात्र कार्यक्रमका बारेमा बुझेको र पत्याएको अवस्था, त्यसमाथि गोजीबाटै सुरु भएको कार्यक्रम । अन्य कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भइसकेका थिए, तर यो भने बिलकुलै नयाँ थियो । मेरो अनुभवमा अन्य शोको प्रोडक्सन टिमको सदस्यको तुलना यसको प्रोडक्सन टिम सदस्यले दोब्बर–तेब्बर काम गर्नुपर्‍यो । एउटै व्यक्तिले दुइटा–तिन्टा जिम्मेवारी लिनुपर्‍यो । त्यसैले पोएट आइडलको टिम एक परिवार नै बन्यो ।

पहिलो पोएट आइडल बन्नुभएको नीलमबाट कविता क्षेत्र तथा कविता प्रेमीले विशेष अपेक्षा राख्नु स्वाभाविक हो । कवितामा उहाँको भविष्य तपाईँ कस्तो देख्नुहुन्छ ? उहाँले समग्र नेपाली कविता क्षेत्रलाई न्याय गरेर अगाडि लग्न सक्नुहोला ?

हाम्रो सुरुदेखिकै सोच के थियो भने, छानिएका १४ कवितालाई कार्यक्रमले निरन्तर कवितामै लाग्न प्रेरित गर्नुपर्छ । कविता लेखेर पनि राम्रो जीवन यापन गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु थियो । अब हामीले आगामी दिनहरूमा यिनै कविहरूलाई जम्मा गरेर एउटा शो गरौँला । त्यहाँ टिकट किनेर कविता सुन्ने माहौल बन्ला । उहाँहरू व्यक्तिगत रूपमा पनि विभिन्न संघसंस्थाहरुसँग जोडिने होला । यसरी, कविताबाट पनि राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने माहौल बनाउनु पर्छ ।

नीलम गुरुङको कुरा गर्दाचाहिँ, मलाई लाग्छ – हामीले परफेक्ट विनर पाएका छौँ । उसमा ‘पहिलो पोएट आइडल’को ताजलाई बोक्न सक्ने परिपक्वता छ । अर्को, नीलमका माध्यमबाट नेपालसँग पुनः एक पटक सिक्किमका नेपाली जोडिएका छन् । मलाई विश्वास छ – नीलममा पहिलो पोएट आइडलका रूपमा ‘द पोएट आइडल’, कविता र समग्र नेपाली साहित्यलाई न्याय गर्न सक्ने क्षमता छ ।