बा मलाई माफ गरिदिनुस् न है !
मैले आज एउटा कविता लेख्दैछु नि शहरमा
शहरको एउटा गल्लीगल्ली बीचको अँध्यारो कोठामा एउटा कविता फुर्दैछ
जहाँ घाम आत्तिँदै छिर्छ
मैले गाउँ छोडेपछि देखेको विकराल अँध्यारा सपनाहरूलाई त्यै त्यै उज्यालो बनाउन
त्यो गल्लीमा हावा निस्सासिएर छिर्छ
गाउँबाट आएका सपनाको कोपिलाहरू छन नि
गल्लीमा भएका स-साना पानीको पोखरीहरूमा राखेको ढुंगाका फट्केहरूमा फट्कदै मेरो कोठामा आइपुग्छ्न्
बा हजुरलाई याद छ, मैले गाउँ छोडेको कति भयो ?
कुन्नी बिर्सनु भयो होला है ?
बरु यसरी हिसाब गरम् न –
हाम्रो घरको माली गाईले कति पटक बहर साँडे जन्मायो कति पटक बाच्छी पायो?
बारीको डिलमा रहेको त्यो कोइरालोको फूल कति पटक फुल्यो ?
आमाले कति पटक त्यस्को अचार बनाउनु भयो?
सुनेको थेँ, सन्ते काकाको खुट्टा भाँच्चिएको थियो रे !
बा, अहिले खुट्टा टेक्छ्न् त काकाले ?
जेठा बाले त उहिल्यै परलोक रोजेका हुन् रे
कति पटक पिण्ड खाए ?
मसँगै तीन कक्षा पढेकी उजेली पनि पोइल गै रे नि
साँच्चै त्यसले कति केटाकेटी जन्माई ?
बा गाउँमा त बिजुली पनि बल्यो रे
हाम्रो त्यो घरमा कति वटा चिम राख्नु भयो?
आमालाई एउटा कुरा सोध्न मन छ
मैले घर छाडेपछि मलाई मिठो लाग्ने कोदोको च्वाईँरोटी कति पटक पाक्यो?
कि पाक्दै पाकेन ? मेरो घर फर्कने सोच नफर्के जसरी
कि पाकिराख्यो ? आमाको कहिलै नरोकिने आँखाको आँसु जसरी
बा यो पटक म गाउँ फर्किन्छु कि !
मलाई गाउँले चिन्लान् त !
धमिलो आँखा देख्ने जिबाले ठम्याउलान् त !
मैले चलाउने हसियाँहरू फेरि मेरो हात लाग्लान् त !
वर्षौंदेखि हजुरसँगै मेलो लागेको हल गोरुले मैले हलोको अनो समाउँदा मसँगै मेलो लाग्लान् त !
बा यो पटक शहरका सपनालाई गाउँमा गाउँले बनाउन ल्याउँदैछु
गाउँले मलाई स्वीकार्ला त !
बा म गाउँ आउँदै छु नि !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।