गैरआख्यान (निबन्ध, नियात्रा, संस्मरण, आत्मवृत्तान्त आदि) प्रकाशनमा ल्याएर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेका लेखकहरूका लागि खुसीको खबर ।
डेब्यु गैरआख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’का लागि उत्कृष्ट ५ गैरआख्यान विधाका कृतिहरूको सूची सार्वजनिक गरेका छौँ । यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ९ गैरआख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।
छानिएका डेब्यु गैरआख्यान कृतिहरूमा डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’, लालबहादुर कार्कीको संस्मरण ‘कर्मरेखा’, राम विन्दु श्रेष्ठको संस्मरण ‘मेरा सोभियत सम्झनाहरू’, नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ र डा. शिवराज भट्टराईको ‘राँको बालेर यात्रामा’ रहेका छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।
‘०७९ सालभरमा नयाँ लेखकका हामीले फेला पारेभन्दा केही बढी नै गैरआख्यानका कृतिहरू प्रकाशनमा आएका होलान्, तर हामीले सोधखोज गर्दा गैरआख्यान विधामा नयाँ लेखकका ९ कृति मात्र फेला पार्न सफल भयौं ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यो सूची तिनै उपलब्ध डेब्यु लेखकका गैरआख्यान कृतिहरूबाट छानिएको हो ।’
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो । ०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका तीन नवोदित लेखकलाई प्रदान गरिने भएको हो ।
‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप यसपटकबाट तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘पहिलो वर्ष एक र अघिल्लो वर्ष दुई जना लेखक-कविलाई मात्र सम्मान गर्न सक्यौँ । त्योबेला अत्यन्तै थोरै अङ्कले फरक विधामा युवापुस्ताका सम्भावना बोकेका लेखक छुटेको अनुभव गरेपछि यसपटकदेखि तीन विधामा तीनै जना लेखक-कविलाई सम्मान गर्ने योजना बनाएका हौँ ।’
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यावसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षकहरू समूहलाई जिम्मा लगाइने छ । उहाँहरूले प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी ५ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को लामो सूची यसअघि नै सार्वजनिक गरिसकिएको छ ।
प्रस्तुत छ, २०७९ सालका उत्कृष्ट ५ डेब्यु गैरआख्यान कृतिहरूको सूची:
१. सुरसङ्गीतका केही साधक – नीलकमल
नीलकमल (कलम सुवेदी) को पहिलो पुस्तक हो ‘सुरसङ्गीतका केही साधक’ । गैरआख्यान विधाको यो पुस्तकमा निलकमलले नेपाली सङ्गीतसँग सम्बन्धित दुई दर्जन व्यक्तित्वको जीवनमा घटेका मुख्य घटनाहरु संक्षिप्तमा प्रस्तुत गरेका छन् । पुस्तकमा सेतुराम, मास्टर मित्रसेन थापा, अम्बर गुरुङ, मेलवादेवी आदिको संक्षिप्त जीवनी प्रतस्तु गरिएको छ ।
पुस्तकलाई इन्दिरा सुवेदी र सुचेता नेपालले प्रकाशनमा ल्याएका हुन् ।
२. राँको बालेर यात्रामा – डा. शिवराज भट्टराई
भुटानवासी नेपाली स्रष्टा डा. शिवराज भट्टराईको पहिलो पुस्तकको आत्मजीवनीपरक संस्मरण सङ्ग्रह ‘राँको बालेर यात्रामा’ । रोयल थिम्फु कलेजका डीन समेत रहेका डा. भट्टराईले बायो–साइन्समा एमएस्सी र ‘लिम्नोलोजी’ (फ्रेशवाटर इकोलोजी) मा विद्यावारिधि गरेका छन् । डा. भट्टराईले पुस्तकलाई दुई खण्डमा प्रस्तुत गरेका छन् । पहिलो खण्डमा बाल्यकालका सम्झनादेखि अध्ययन, बिहे तथा शिक्षणकर्मका तीता–मिठा संस्मरणहरु छन् । त्यस्तै, दोस्रो खण्डमा ५ शीर्षकमा संस्मरणात्मक निबन्धहरु सङ्ग्रहित छन् ।
जम्मा १९ शीर्षकका संस्मरणहरु सङ्ग्रहित कृतिलाई मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
३. कर्मरेखा – लालबहादुर कार्की
उमेरले ७० वर्ष काटिसकेका अवकास प्राप्त शिक्षक लालबहादुर कार्कीको पहिलो पुस्तक हो ‘कर्मरेखा’ । ‘साहसः मृत्युलाई जित्ने’, ‘सिकाइः भोगाइका बाटाहरुमा’ र ‘सम्बन्धको धार’ गरी तीन खण्डमा प्रस्तुत संस्मरणसङ्ग्रहको केन्द्रमा कार्कीको शिक्षण पेसाको अनुभव र जीवन भोगाइको वृत्तान्त छ । जीवनका सजिला–अप्ठ्याराहरुको सन्तुलन यो कृतिमा केन्द्रीय आदर्शका रुपमा देखापरेका छ ।
२७ शीर्षकमा संस्मरणहरु सङ्ग्रहित कृतिलाई बीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो ।
४. मेरा सोभियत सम्झनाहरु – राम विन्दु श्रेष्ठ
ई. राम विन्दु श्रेष्ठको पहिलो पुस्तक हो ‘मेरा सोभियत सम्झनाहरु’ । पूर्व सोभियत सङ्घका अर्मेनिया, रसिया, बेलारुस, अजरबैजान, क्रुकेनका साथै युरोपेली मुलुकहरुको भ्रमण गरेका श्रेष्ठले पूर्व सोभियत मुलुकहरु घुम्दाका संस्मरणहरुले कृतिमा समेटेका छन् । महत्त्वपूर्ण तिथिमितिसहित तयार भएको संस्मरणहरुमा श्रेष्ठले अध्ययनकालको जीवन चर्चा र अनुभूतिहरुसमेत पुस्तकमा समेटेका छन् ।
२ सय ५२ पृष्ठमा फैलिएको पुस्तकलाई नेपाल–रुस साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।
५. मुटुसँग सहयात्रा – डा. अवनिभूषण उपाध्याय
मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त हो ‘मुटुसँग सहयात्रा’ । डा. उपाध्यायको पहिलो पुस्तकका रुपमा प्रकाशनमा आएको यो पुस्तकले उपाध्यायको जीवनकथा, चिकित्सा यात्राका महत्वपूर्ण घटनाहरु तथा अनुभव र अनुभूति समेटेको छ । संस्मरणात्मक शैलीमा लेखिएको पुस्तकको केन्द्रमा हृदय र रोगलाई केन्द्रमा राख्दै मानवीय संवेदनासम्म पुग्ने जमर्को गरेको छ ।
ईदा उपाध्यायले प्रकाशनमा ल्याएको पुस्तकको बजार व्यवस्थापकमा मञ्जरी पब्लिकेसन रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।