नेपाली लघुकथा लेखनले निरन्तर रूपमा प्रगति र लोकप्रियता हासिल गरिरहेको अवस्थामा मिति २०८० वैशाख १३ गते लोकार्पित लघुकथा सङ्ग्रह “शुभांशु” कार्यक्रम स्थलमा नै मेरो हात लागेको थियो । लघुकथाको पारखी भएकोले कृति हात लाग्ने बित्तिकै मनमा हुटहुटी चल्यो कतिखेर घर पुगौँ र पाठन गरौँ । एक बसाइमै सबै लघुकथा सरसरती पढेँ । पहिलो पटकको पाठनले चित्त बुझेन अर्को पटक गहन तथा मिहिन रूपमा अध्ययन गरेँ । अध्ययन पश्चात् यस सङ्ग्रहलाई लघुकथाको सैद्धान्तिक पक्षबाट केही धारणा राख्ने जमर्को गरेको छु ।

माता मिठुमाया गैरे तथा पिता झगलाल गैरेकी सुपुत्रीको रूपमा वि. सं २०३८ श्रावण ७ गते रत्ननगर -१३, चितवनमा जन्मनु भएकी लघुकथाकार शुभको यो पहिलो कृति हो । २०७० देखि २०७९ फागुन सम्म वैदेशिक भूमिमा जसरी पसिना बगाउनु भएको थियो, त्यो भन्दा कयौँ गुणा बढी पसिना लघुकथा लेखनमा बगाएको आभास दिएको छ यस कृतिले । हाम्रो लघुकथा पाठशाला (हाल हाम्रो लघुकथा केन्द्र)को फेसबुक पेजमा वाचिका तथा व्यवस्थापकको रूपमा परिचित लघुकथाकारसँग पहिलो पटक म उहाँको यस कृतिको लोकार्पणको समयमा प्रत्यक्ष तथा आत्मीय रूपमा परिचित हुन पुगेँ ।

कृतिको मुहार पृष्ठमा रहेको नाम शुभांशु अर्थात् शुभ-अंश, चन्द्रमा, नयाँ प्रकाश आदि धेरै अर्थ बोकेको भए पनि यस कृतिलाई मैले लघुकथाको क्षेत्रमा नव प्रकाशको रूपमा लिएको छु । नीरबहादुर याक्खाको आवरण चित्रकला रहेको कृतिमा लघुकथाकार लता के. सी.ज्यूको शुभेच्छा, खेमराज पोख्रेलज्यूको शुभकामना र डा. शेखरकुमार श्रेष्ठज्यूको भूमिका र कृतिकार स्वयम्को भनाइ रहेको छ । ११२ पेजमा ६२ वटा लघुकथाका खुराक पस्किन सफल यस कृतिको पहिलो लघुकथा व्रत रहेको छ भने लघुकथा लापरबाही ले समापन गरेको छ ।

= = =

शीर्षक सार्थकता :

शीर्षकले विषयवस्तुको मुख्य विचारलाई सङ्केत गर्दछ । शीर्षक छनोट, पात्रको भूमिका, कथाको उद्देश्य, घटनाको सन्दर्भ आदिमा केन्द्रित रहेर गरिन्छ । त्यस्तै शीर्षक लघुकथा झैँ लघु र जिज्ञासु खालको हुनु पर्छ । यसै मान्यताको आधारमा लघुकथाकार शुभ शीर्षक चयनमा सचेत रहनु भएको छ । यस सङ्ग्रहको कतिपय लघुकथाको शीर्षकले प्रतिक्रियात्मक अर्थ बोकेको देखिन्छ भने कतिपयले मार्मिक पक्षको रहस्योद्घाटन गर्ने प्रतिच्छाया राखेको छ । यसले लघुकथालाई प्रभावकारी बनाएको छ ।

आयाम :

लघुकथामा सर्जकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन । आयामको दृष्टिकोणले २५० देखि ३०० शब्दभित्र लघुकथा समेटिनु पर्छ । यस सङ्ग्रहभित्रका एक लघुकथा छाडेर सबै लघुकथा आयामका दृष्टिले उपयुक्त देखिन्छन् ।

उठान र समापन :

लघुकथा उठानमा अप्रत्याशितता, सुरुवाती वाक्यमा कौतुहलता रहनुपर्छ भन्ने कथन पनि रहेको छ । यस कृतिमा आकस्मिक उठान भएका लघुकथाहरू निःशब्द, श्रमिकको खुसी, प्रिय मान्छे, भरोसा, नराम्रो मान्छे, यात्रा, त्रास पश्चात्ताप, आशीर्वाद, चट्टान, नामर्द कोरोना, आवरण, परिबन्द, सुकुम्वासी, ईर्ष्या, झल्को, रालो, बुई आदि छन् । यी लघुकथाहरूले को ? किन ? कसरी ? भन्ने कौतुहलता बोकेको देखिन्छ । त्यस्तै सशक्त विपरीत धारमा र खुला समापन भएका लघुकथाहरूले घटना र परिवेशका बाँकी अवस्थाबारे पाठकलाई सोच्न बाध्य बनाउने, अरू अर्थ लगाउने जस्ता कल्पनाको स्वतन्त्रता दिने हुनाले उहाँका यी लघुकथाहरू प्रभावकारी छन् । सशक्त विपरीत धारमा समापन भएको लघुकथाहरू पछुतो, श्रमिकको खुसी, भार, दान, समाचार, रहस्य, कमजोरी आदि रहेका छन् ।

परिवेश :

घटना र अनुभूति एकै झोक्कामा सकिने लघुकथाको अर्को मूल तत्त्व रहेको छ । कथामा पात्रहरूले गरेको कार्य, संवाद र घटनाहरू घटेको समयलाई केलाउँदा लघुकथाहरूको परिवेश, घटना समय फरक फरक रहेको देखिन्छ । व्रत – श्रावण महिना वा तीज, पीडा- तिहार, सचित्र- दसैँ, पछुतो र त्रास -कोरोनाकाल, श्रमिकको खुसी – मजदुर दिवस, फरक पितृकल्प, लगानी -गाउँको परिवेश, निर्णय- चुनावी परिवेश रहेको देखिन्छ ।

चरित्र/पात्र :

कथामा तोकिएका भूमिकामा उभिएर घटनालाई गति दिन भूमिका खेल्ने पात्र नै चरित्र हुन् । लघुकथामा चरित्र/पात्र सङ्ख्या थोरै हुन आवश्यक छ । सोही कथ्य तथ्यलाई विचार गरी लघुकथाकारले यस कृतिमा न्यून पात्रहरू प्रस्तुत गर्नुभएको छ । उहाँका लघुकथाका पात्रहरू परिचित मात्र होइन वास्तविक, जीवन्त र प्रतिनिधिमूलक पनि छन् ।

दृष्टिविन्दु :

दृष्टिविन्दुमा प्रथम वा तृतीय दृष्टिविन्दुमा लघुकथाको विकास हुन्छ । यस कृतिमा आन्तरिक दृष्टिविन्दु वा म पात्रलाई उपस्थित गराएर कथिएका लघुकथाहरूमा पीडा, सचित्र, निःशब्द, फरक, योग्य, नराम्रो मान्छे, भार, यात्रा, समाचार, आशीर्वाद, क्षमता, रहस्य, नामर्द, नशा, दुरस्त, आवरण, झल्को, आडभरोसा, भोक, दार, भिसा र लापरबाही छन् भने अन्य लघुकथाहरूमा लघुकथाकारले बाह्य दृष्टिविन्दु वा तृतीय दृष्टिविन्दुमा आफूलाई चरित्रहरूबाट पृथक् राखेर पात्रहरूको माध्यमबाट विचार पस्कनुभएको छ ।

भाव / उद्देश्य :

कथामा प्रस्तुत विचार वा उद्देश्य प्रत्यक्ष नभएर अप्रत्यक्ष रूपमा कलात्मक बनाएर प्रस्तुत गरिनु पर्दछ । कथामा रहेको विचार वा धारणा कथाले दिने सन्देश हो । लघुकथाकारले लघुकथाका माध्यमबाट समाजमा रहेको पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक र मनोवैज्ञानिक पक्षलाई समेट्नु भएको छ ।

उहाँले नेपाली समाजमा बाँचेको जीवन, भोग्नुपरेका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक रूपमा लघुकथामा प्रतिबिम्बित गर्नुभएको छ । जीवन प्रतिको आशा निराशा, कुण्ठा, प्रवासी पीडा, सामाजिक तथा सांस्कृतिक, राजनैतिक कुरीतिकाको पर्दाफास गर्ने काम गरिएको छ । यस सङ्ग्रहमा सामाजिक कुरीतिलाई प्रस्तुति गरिएका लघुकथा (व्रत, फैसला, आवाज), गरिबीको व्यथा बोकेको लघुकथा (पीडा, श्रमिकको खुसी, अभागी), एकल नारीको व्यथा बोकेको लघुकथा (भत्ता), कोरोना परिवेशका लघुकथा (पछुतो, त्रास, कोरोना), मातृत्व भाव बोकेका लघुकथा (फरक, दुरुस्त, झल्को, भिसा) बिम्बको प्रयोग भएको लघुकथा (स्वतन्त्रता, ईर्ष्या) आदि रहेका छन् ।

= = =

सङ्ग्रहमा रहेका केही लघुकथाका भाव/सन्देश –

व्रत : फेसन हैन आफ्नो अवगुण, दोषलाई त्याग्नु र सकारात्मक ऊर्जा प्राप्त गर्नु नै व्रत हो भन्ने सकारात्मक सन्देश दिएको छ । यस लघुकथामा “म ईश्वरमा आशा हैन भरोसा राख्छु” भन्ने वाक्यांश मर्मस्पर्शी रहेको छ ।

पीडा :  एक त गरिबीको भुमरीमा सङ्घर्ष गरिरहेकी  त्यसमाथि माइतीबाट अपहेलित एक नारीको पीडा । यस लघुकथामा रहेको कथन “आफ्नो त देखाउनु भन्दा देखिन्छ कि भनेर छोप्नु पर्ने कुरा धेरै हुन्छन्” ले दर्बिलो समापन प्रस्तुत गरेको छ ।

ब्रह्मज्ञान : शान्ति प्राप्ति मानिसद्वारा बनाइएका कृत्रिम वस्तुमा हुँदैन शरीरभित्र हुन्छ भन्ने सन्देश दिन सफल लघुकथा, यो लघुकथा पढ्दा कता कता महाकवि देवकोटाको यात्री कवितालाई सम्झना गराउँछ ।

निःशब्द : विदेश बस्दा त्यहाँको नीति नियमको परिपालन गर्ने र आफ्नो माटोमा प्रवेश गर्ने बित्तिकै फुकेको साँढे झैँ हुने हाम्रो जुन प्रवृत्ति छ त्यस प्रति कटाक्ष गरिएको छ ।

श्रमिकको खुसी : दिनरात अहोरात्र साहुको सेवामा खटिएका एक दम्पतीले एक दिन बिदा पाउँदाको खुसी र क्षणभरमै त्यो खुसीमा पर्न गएको तुसारापात, मर्मभेदी लघुकथा ।

भरोसा : राजनैतिक व्यङ्ग्य, पार्टीको झन्डा मुनि बसेर जस्तो पनि कुकृत्यहरूमा सफाइ पाउन सकिन्छ भन्ने मानसिकता बोकेकाहरूको चित्रण गरेको छ ।

भार : अपत्यारिलो खेलाडीले पाएको सफलताको पछाडि लुकेको सफलताको कडी रहस्यमय छ ।

बुई : अरूको आड भरोसामा नकारात्मक कार्य गर्न अग्रसर हुनेहरू प्रति झटारो ।

माया : माइतीको कुकुर पनि प्यारो भन्ने जनमासमा प्रचलित भनाइलाई सटिक प्रयोग गरी लेखिएको लघुकथा ।

आवाज : जो चोर उसैको ठुलो स्वर भन्ने उखानलाई चरितार्थ गरेको छ यो लघुकथाले ।

सङ्ग्रहमा समावृत्त अन्य लघुकथाहरूमा पछुतो, सचित्र, फरक, योग्य, प्रिय मान्छे, नराम्रो मान्छे, प्रयास, दान, यात्रा, भत्ता, त्रास, लगानी, निर्णय, निरुत्तर, पश्चात्ताप, अबोध, अभागी, दार आदि छन् ।

यी सबै लघुकथाहरूमा गरिबी, डर, शून्यता, आम जनता र उनीहरूको बाध्यता लघुकथाको केन्द्रबिन्दुमा छन् । जीवनसापेक्ष बन्नु राजनीतिक व्यङ्ग्य, सामाजिक, पारिवारिक, आर्थिक, नैतिक, धार्मिक विषयप्रति गहिरो चासो उहाँको लघुकथाको मुख्य स्वर हो । मानवीय अवमूल्यनप्रति ध्यानाकर्षण गर्दै मूल्यमान्यताप्रति आफ्नो सकारात्मक दृष्टिकोण प्रस्तुत गर्न सफल छन् लघुकथाहरू।

= = =

सुधारणीय पक्ष :

डा. शेखरकुमार श्रेष्ठज्यूको भूमिका धेरै लामो रहेको छ । झण्डै तेह्र पेज खाएको छ ।

अधिकांश लघुकथाहरूको उठानमा वर्णात्मक रहेको छ (व्रत, पीडा, पछुतो, ब्रह्मज्ञान, सचित्र, प्रयास भार, लगानी निर्णय, समाचार, कुण्ठा, क्षमता, नशा, भाषा, विपरीत मार्ग, बिरक्तिएको मन, रोजगारी, कामचोर, स्वतन्त्रता, परिणाम, ईर्ष्या, प्रतिप्रश्न, दार, अभागी, आदि) । यी लघुकथाहरूमा आकस्मिक उठान गर्न सकिने ठाउँ रहेका छन् । त्यस्तै लामो परवेशको लघुकथाहरू- रहस्य, पीडा, सचित्र, दार, घाँडो आदिलाई परिमार्जन गरेर एकै घटना वा परिवेशमा समेटिने लघुकथाहरू बनाउन सकिने आभास रहेको छ ।

केही लघुकथाहरूको अन्तिम हरफ आवश्यक नरहेको महसुस गरेको छु । यी लघुकथाहरूमा सचित्र, प्रिय मान्छे, लगानी आदि रहेका छन् ।

लघुकथा ‘यात्रा’को शीर्षक औडाहा भएको भए लघुकथाले अझ सार्थकता पाउने थियो कि भन्ने महसुस गरेको छु ।

केही लघुकथाहरूमा धेरै पात्र उल्लेख भएका छन्  – दान, आवाज, राजनीति, चट्टान ।

‘चट्टान’ लघुकथामा तीन सय शब्द भन्दा बढी रहेको छ । यसलाई छोटो बनाउने ठाउँ रहेको छ ।

लघुकथा “नशा’मा अलि पात्र संवाद नमिलेको देखिन्छ । कतै म पात्र छ त कतै काकी पात्र ।

केही ठाडा शब्दहरू बजिया (लघुकथा – भरोसा), राँडो (लघुकथा – घाँडो) आदि शब्दहरू अलि पाच्य हुँदैनन् जस्तो अनुभूति भएको छ ।

कहीँ कतै शुद्ध-अशुद्धिले भनाइ खजमजिएको छ । निम्न स्थानमा सुधारको आवश्यकता महसुस गरेको छु –

–   लघुकथा भत्ताको पहिलो हरफ, लघुकथा दानको दोस्रो हरफमा, लघुकथा पश्चात्तापको दोस्रो हरफमा अनावश्यक रूपमा उद्धरण (“ ‘) चिन्हको प्रयोग भएको छ ।

–  आयोजक राष्ट्र चिन, – चीन (लघुकथा – कमजोरी)

–  शेब्दमा- शब्दमा (लघुकथा – श्रमिकको खुसी)

–  पछाडिको डिक्की खोलेर सामान निकालो – निकाल (लघुकथा – श्रमिकको खुसी)

–  उनलेत – उनले त (लघुकथा –  दार)

–  सहकारी लिन्छ – सहकारीले लिन्छ (लघुकथा – अबोध)

= = =

अन्त्यमा,

सिद्धान्तको पर्खालभित्र रहेर लघुकथा लेख्न कठिन नै हुन्छ । सर्जकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन । त्यसमाथि पूर्ण रचना, चातुर्यपूर्ण समापन, अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता छ । यद्यपि यो मामलामा लघुकथाकार शुभ सफल रहनु भएको देखिन्छ । नियमित लघुकथा वाचन तथा समीक्षकज्यूहरूको टीकाटिप्पणीले लघुकथाकार शुभलाई लघुकथा लेखनमा निकै नै परिपक्व बनाएको देखिन्छ । उहाँको लेखनमा आफूले अनुभव गरेको यथार्थलाई चित्रण गरेको छ ।

सकारात्मक सोच, संवेदनशीलता र आदर्शवादी चेत उहाँको लघुकथाको मुख्य आधार रहेको छ । वस्तुपरक लघुकथाहरू यस सङ्ग्रहको सबैभन्दा ठुलो उपलब्धि हुन् । शुभांशु लघुकथा सङ्ग्रहले नेपाली लघुकथाको फाँटमा एक इँटा थप्ने र सङ्कलित लघुकथाहरू नेपाली लघुकथा विधाको लागि बलियो मेरुदण्डको रूपमा रहने विश्वास लिएको छु । कथावस्तुको विविधता र शिल्पको चेतनाले यो सङ्ग्रहको लघुकथाहरूले पाठकको मनमा छाप छोड्न सफल रहोस् । लघुकथाकार शुभ शर्माज्यूलाई हार्दिक बधाई एवम् कृतिगत सफलताको शुभकामना व्यक्त गर्दछु ।

जय लघुकथा ।