
नेपाली साहित्यमा आख्यान (उपन्यास, कथा, लघुकथा, नाटक आदि) प्रकाशनमा ल्याएर पहिलोपटक प्रवेश गरेका आख्यानकारहरूका लागि खुसीको खबर ।
डेब्यु आख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’का लागि उत्कृष्ट १२ आख्यान विधाका कृतिहरूको सूची सार्वजनिक गरेका छौँ । यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ४४ आख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
छानिएका डेब्यु आख्यान कृतिहरूमा मनिषा आचार्यको उपन्यास ‘छोरी’, नितिन मिश्रको उपन्यास ‘म र ‘म’’, विक्रमभक्त जोशी निकथा सङ्ग्रहको ‘चोभार ब्लुज’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, विष्णु ढकालको उपन्यास ‘जौवा’, खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’, स्मारिका सुवेदीको कथासङ्ग्रह ‘देवांशी’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, सुबोध पौडेलको उपन्यास ‘चुड्की’, अमृता पाठक चौलागाईंको ‘चैतु काका’, दोस्ती रेग्मीको ‘पारमित’ र कर्ण शाहीको ‘त्यागी जीवन’ रहेका छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।
‘०७९ सालभरमा नयाँ लेखकका हामीले फेला पारेभन्दा केही बढी नै आख्यानका कृतिहरू प्रकाशनमा आएका होलान्, तर हामीले सोधखोज गर्दा आख्यान विधामा नयाँ लेखकका ४४ कृति फेला पार्न सफल भयौं ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यो सूची तिनै उपलब्ध डेब्यु लेखकका आख्यान कृतिहरूबाट छानिएको हो ।’
कोइरालाका अनुसार यी १२ वटा आख्यान कृतिले नयाँ आख्यानकारहरू के लेख्दैछन्, र नेपाली आख्यानको भविष्य कस्तो छ भन्ने कुराको सङ्केत गरेको छ ।
‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप यसपटकबाट तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘पहिलो वर्ष एक र अघिल्लो वर्ष दुई जना लेखक-कविलाई मात्र सम्मान गर्न सक्यौँ । त्योबेला अत्यन्तै थोरै अङ्कले फरक विधामा युवापुस्ताका सम्भावना बोकेका लेखक छुटेको अनुभव गरेपछि यसपटकदेखि तीन विधामा तीनै जना लेखक-कविलाई सम्मान गर्ने योजना बनाएका हौँ ।’
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो । ०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका तीन नवोदित लेखकलाई प्रदान गरिने भएको हो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षकहरू समूहलाई जिम्मा लगाइने छ । उहाँहरूले दिएका नम्बरहरूले प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी १२ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को लामो सूची वैशाख २७ गते बुधबार घोषणा गरिने छ । ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को लामो सूची भने वैशाख २५ गते प्रकाशन गरिसकिएको छ ।
प्रस्तुत छ, २०७९ सालका उत्कृष्ट १२ डेब्यु आख्यान कृतिहरूको सूची:
१. पारमिता – दोस्ती रेग्मी
लेखक दोस्ती रेग्मीको पहिलो पुस्तक हो उपन्यास ‘पारमिता’ । उपन्यासको कथानक प्रेम, दुर्व्यसनी र अध्यात्मको संयोजनमा बुनिएको छ । सरल भाषा, सरस शैली र बिम्बहरुको सार्थक प्रयोगले उपन्यास पठनीय बनेको छ ।
‘उपन्यासमा दुर्व्यसनी र मायाको युद्धमा दुर्व्यसनीको जित हुन्छ तर दुर्व्यसनी र अध्यात्मको युद्धमा अध्यात्मको जित हुन्छ ।’, उपन्यासको अन्तिम पृष्ठमा अमर न्यौपानेले लेखेका छन् ।
१ सय ७६ पृष्ठमा फैलिएको उपन्यासलाई शिखा बुक्सले प्रकासनमा ल्याएको हो ।
२. अँध्यारो बस्तीकी नायिका – दिला शाह
कथाकार दिला शाहको पहिलो पुस्तक हो कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’ । सङ्ग्रहमा सङ्ग्रहित कथाहरु नारीका भावना र संवेदनासँग नजिक छन् । छोरी, बुहारी, आमा, श्रीमती, प्रेमिका लगायतको स्वरुपमा कथाहरुमा देखा पर्ने नारी पात्रहरुको दुख, पीडा र बाध्यतामात्र छैन कथामा, सँगै विद्रोही चेत पनि छ । बिम्ब र प्रतीकको प्रयोगमा खप्पिस शाहका प्रायः कथाहरु नारी प्रधान रहे तापनि सँगैसँगै बाल र प्रौढ मनोविज्ञानको उपस्थिति पनि भरपुर छ ।
१८ थान कथा सङ्ग्रहित पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।
३. म र ‘म’ – नितिन मिश्र
अमेरिका निवासी लेखक नितिन मिश्रको आख्यान विधाको पुस्तक हो ‘म र ‘म’’ । व्यक्तिको मपाइँत्व रुपी अहम्मा रहने ‘म’ र हृदयमा रहेको ‘म’बिचको द्वन्द्व उपन्यासको केन्द्रमा रहेको छ । पुस्तकमा प्रेम, धर्म, परिवार तथा गृहस्थी जीवनका कथा–व्यथाहरु समेटिएका छन् । यात्राका क्रममा विपरीत लिङ्गीप्रति हुने आकर्षणलगायत कतिपय घटनाको सरस प्रस्तुतिले उपन्यासलाई रोचक बनाएको छ ।
२ सय ६२ पृष्ठमा रहेको उपन्यासलाई बुलबुल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
४. चुड्की – सुबोध पौडेल
पेसाले इन्जिनियर सुबोध पौडेलको पहिलो पुस्तक हो उपन्यास ‘चुड्की’ । उपन्यासको केन्द्रमा जातीय विभेदले पिल्सिएको प्रेम कथा छ । कथानकमा बाल तथा युवा मनोविज्ञानको सरल चित्रण पाउन सकिन्छ । सँगसँगै, बाल्यकालको रहर, किशोरावस्थाको लहड र प्रौढावस्थाको एक्लोपनलाई पनि उपन्यासले समेटेको छ ।
२ सय ५६ पृष्ठमा कुँदिएको उपन्यासलाई प्यासिफिक पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
५. चैतु काका – अमृता पाठक चौलागाईं
शिक्षण पेसामा आबद्ध झापाकी स्रष्टा अमृता पाठक चौलागाईंको पहिलो कथासङ्ग्रह हो ‘चैतु काका’ । देख्दा र पढ्दा समान्य लागे समाज दिनहुँ जस्तो घट्ने घटनाहरुलाई अमृताले आफ्नो कथाको आत्मा बनाएकी छन् । त्यही समाजिक घटना र मनोदशा कथाहरुमा मुखरित छन् । समाजिक तथा वैवाहिक दुव्र्यवहार र शोषण, जातीय उत्पीडन जस्ता समाजका अँध्यारा पाटाहरुलाई उधिनेर कथाको रुप दिन अमृता सक्षम देखिन्छिन् ।
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा १६ थान कथाहरु सङ्ग्रहित छन् ।
६. जौवा – विष्णु ढकाल
लामो समयदेखि ग्रामीण विकास तथा ग्रामीण बैङ्किङको क्षेत्रमा आबद्ध विष्णु ढकालको उपन्यास हो ‘जौवा’ । किशोरावस्थाको रहर र कल्पना तथा युवावस्थाको सपना, प्रेम र धोकालाई उपन्यासमा ढकालले रोचक शैलीमा पस्केका छन् । साथै, तराईका गाउँहरुमा व्याप्त शोषण र दुव्र्यवहारलाई उपन्यासले केन्द्रमा राखेको छ । ढकालले पहिलो कृतिबाटै उपन्यास लेखनमा राम्रो उपस्थिति देखाएका छन् ।
२ सय ६८ पृष्ठमा फैलिएको उपन्यासलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।
७. यशोधरा – हरिबोल काफ्ले
आर्थिक विकास तथा अर्थ–राजनीतिक क्षेत्रको अध्ययन तथा अनुसन्धानमा सक्रिय हरिबोल काफ्ले पहिलो उपन्यास हो, ‘यशोधरा’ । उपन्यासले गौतम बुद्धकी पत्नी, ऐतिहासिक पात्र यशोधरा जीवन चरित्र उजागर गर्दै उनकै दृष्टिबाट तत्कालीन समयको कथा कहेको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्राका क्रममा यशोधराले गर्नुपरेको त्याग–तपस्या उपन्यासको कथानकको केन्द्रमा छ । उपन्यासमा तत्कालीन समाज, समाजिक प्रचलन र विविधता आदिलाई सचित्र उतारिएको छ ।
२ सय ८६ पृष्ठमा बुनिएको उपन्यासलाई लिपि बुक्सले प्रकाशनमा ल्याएको हो ।
८. चोभार ब्लुज – विक्रमभक्त जोशी
बैङ्करसमेत रहिसकेका इन्जिनियर विक्रमभक्त जोशीको पहिलो कृति हो निबन्धात्म कथा (निकथा) सङ्ग्रह ‘चोभार ब्लुज’ । नेपाली साहित्य लेखनमा जोशी मात्र नयाँ होइन, विधागत रुपमा ‘निकथा’ पनि आख्यान अन्तर्गत कमै लेखिएको विधा हो । जोशीका कथाभित्र बागमती सभ्यताको इतिहास भेटिन्छ । बागमती सभ्यताको केन्द्रमा रहेको काठमाडौंको आञ्चलिकता कथाहरुको प्राण बनेर रहेका छन् । सङ्ग्रहित कथाहरुमा नेवारी जनजीवन, सभ्यताका अंश छन्, र आधुनिकता पसेसँगै काठमाडौंले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन् ।
१९ थान कथा सङ्ग्रहित ‘चोभार ब्लुज’लाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो ।
९. देवांशी – स्मारिका सुवेदी
चिकित्सा शिक्षा अध्ययनरत स्मारिका सुवेदीको पहिलो पुस्तक हो कथासङ्ग्रह ‘देवांशी’ । उमेरले बीस नकाटेकी स्मारिकाको कथाहरुमा परिपक्कता छ । सङ्ग्रहित कथाहरुको केन्द्रमा सामाजिक विकृति, अन्धविश्वासको चित्रण, राजनीतिक चेतना, नारावादी चिन्तन, विद्रोही चेतनाका साथै उच्च मानवीय संवेदना पाउन सकिन्छ ।
शीर्ष कथासहित १६ थान कथाहरु सङ्ग्रहित पुस्तकलाई माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
१०. अँध्यारो कुनो – खगेन्द्र भट्टराई
शिक्षाकर्मी खगेन्द्र भट्टराईको पहिलो पुस्तक हो कथासङ्ग्रह ‘अँध्यारो कुनो’ । मुख्यतः सङ्ग्रहमा यौन मनोविज्ञानमा आधारित कथाहरु सङ्ग्रहित छन् । फरक परिवेश र समयको पृष्ठभूमिका लेखिएका कथाहरुका स्वाद पनि अलग–अलगै छन् ।
पुस्तकलाई सेर्गेम प्रकाशन गृह, झापाले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा छोटा आकारका १४ थान कथा सङ्ग्रहित छन् ।
११. छोरी – मनिषा आचार्य
युवा राजनीतिमा सक्रिय, अखिल क्रान्तिकार कोसी प्रदेशकी उपाध्यक्षसमेत रहेकी मनिषा आचार्यको पहिलो कृति हो उपन्यास ‘छोरी’ । उपन्यासले छोरी जन्माएकै कारण परिवार, समाज तथा आफ्नै श्रीमानबाट भोग्नु परेको तिरस्कार र यातनको कथा कहेको छ । उपन्यासको केन्द्रमा महिलामाथि भएका सामाजिक तथा पारिवारिक उत्पीडन, विभेद तथा महिलाको सङ्घर्षसँग जोडिएका संवेदना, सहानुभूति र कहालीलाग्दा अनुभूतिहरु रहेको छ ।
२ सय ८५ पृष्ठमा फैलिएको उपन्यासलाई लाइफ रिसर्च एण्ड पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
१२. त्यागी जीवन – कर्ण शाही
कुनै समयका चर्चित फुलबल खेलाडी कर्ण शाहीको पहिलो पुस्तक हो कथासङ्ग्रह ‘त्यागी जीवन’ । शाहीका कथाहरुमा समाजिक समस्या, जीवनको दर्शन तथा ऐतिहासिक प्रशंगहरुले उपस्थिति जनाएको छन् । प्रायः कथाहरुको केन्द्रमा राजधानी काठमाडौं रहेको छ । सकारात्मक जीवन बाँच्नुपर्छ भन्ने लेखकको आदर्श मनोभावना पनि कथाहरुमा पोखिएका छन् ।
१७ थान कथा सङ्ग्रहित पुस्तकलाई पाँचपोखरी प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
