चार दशक लामो हलिउड यात्रा, ८० वटा उत्कृष्ट फिल्महरूको सूचीपछि ६६ वर्षे टम ह्याङ्क्सलाई किताब लेख्ने रहर लाग्यो । त्यसो त उनले यसअघि २०१७ मा ३०० पृष्ठको एउटा कथा पुस्तक ‘अनकमन टाइप’ निकालेकै हुन् तर यस पटक भने उपन्यास नै लिएर आएका छन् ।
४४८ पृष्ठको ‘द मेकिङ अफ एनोदर मेजर मोसन पिक्चर मास्टरपिस’ उपन्यास लेख्नु चानचुने उत्साह, जाँगर र ऊर्जाको कुरा होइन । खासगरी कुन बेला कसरी लेख्ने र सिर्जनशिलताको गतिलाई उही स्तरमा बनाइराख्ने भन्ने कुराले लेखकको जीवनमा ठूलो समस्याका रूपमा रहने गरेको छ ।
कुन बेला कसरी लेख्दा ऊर्जा र गतिको स्तर उही रहन्छ भन्ने बारेमा एउटा अध्ययन गरिएको छ । समय व्यवस्थापनको सो रणनीतिलाई टमाटो सेप्ट टाइमर (टमाटरको आकारको समयावधि) नामकरण गरिएको छ । यसलाई इटालीका फ्रान्सेस्को किरिलोले सन् १९८० को दशकमा नामकरण गरेका थिए । यसलाई पोमोडोरो टेक्निक पनि भनिन्छ ।
यो पोमोडोरो टेक्निक प्रायः भान्सामा प्रयोग गरिन्छ । यसमा हरेक २५ मिनेटमा एउटा सानो ब्रेक लिइन्छ । कुनै पनि कामलाई साना साना अंशमा बाँड्यो भने ठूलो काम फत्ते गर्न धेरै कठिन हुँदैन भन्ने यसको मूल सोच हो ।
अभिनेता टम ह्याङ्क्सले पनि हरेक दिन दुई घण्टा लेख्न बसेका थिए । लगातार लेख्न उनलाई गाह्रो हुन्थ्यो । त्यसैले हरेक २० वा ३० मिनेटमा उनी सानो छुट्टी लिन्थे । बगैँचामा टहल्न जान्थे ।
यो टेक्निकले आफूलाई निकै ठूलो सहयोग गरेको अभिनेता ह्याङ्क्सले बताएका छन् ।
त्यसो त यो टेक्निकका बारेमा वृहद् अध्ययन भएको छ । सन् २०१४ मा हार्वर्ड बिजनेस रिभ्यु पत्रिकाले यस किसिमको अनुसन्धानसमेत गरेको थियो र सो अनुसन्धानलाई पत्रिकामा प्रमुखताका साथ प्रकाशन गरेको थियो ।
यो विधि बुझ्नका लागि एउटा सुन्दर गोलो टमाटर उठाउनुहोस् । यो टमाटरको उच्च र त्यसपछि एउटा धर्सोजस्तो भित्र गढेको भाग देख्नुहुन्छ । यो उच्च भाग चाहिँ तपाईंको काम गर्ने अवधि हो र तलको गढेको भाग चाहिँ तपाईंले सुस्ताउने अवधि हो । केही समय सुस्ताउने र पुनः काममा जुट्ने यो प्रक्रियालाई नै टमाटो सेप्ड टाइमर भनिएको हो ।
यसलाई हामीले सुन्तले गुदी विधि भन्न सक्छौँ ।
अभिनेता ह्याङ्क्सले यही विधि उपयोग गरेर यो उपन्यास लेखेका हुन् । उनले भनेका छन्, ‘वास्तवमा उपन्यास लेख्नु ज्यादै कठिन कार्य हो । मान्छेले मोटा मोटा उपन्यास कसरी लेख्न सकेका होलान् भनेर म छक्क पर्थें । त्यसैले म यही कठिन काममा लागिपरेको हुँ ।’
तपाईं किन लेख्न थाल्नुभो भन्ने प्रश्नमा टम ह्याङ्क्स भन्छन्, ‘मेरो दिमागमा कथाका प्लटहरू हरबखत दौडिरहेका हुन्छन् । तिनलाई मैले दिमागबाट फ्याँक्नै सकिरहेको छैन । यसको सबैभन्दा उत्तम उपाय भन्नु नै लेखेर फ्याँक्नु हो ।’
र, यस्तो गर्दा आफूलाई मज्जा आउने गरेको अभिनेता टम ह्याङ्क्सले बताएका छन् । उनको उपन्यास भोलिदेखि संसारभर उपलब्ध हुने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।