बिहानको चार बजे, जब टुन्न मात्तिएर सबको भेजा खराब भएको हुन्छ, त्यो बेला अनपेक्षित, अद्वितीय कुरा घट्न सक्छ
जेम्स बाल्डविन
सन् १९२४ मा अमेरिकामा जन्मिएका जेम्स बाल्डविन उपन्यासकार, निबन्धकार, कथाकार र नाटककारका रूपमा समेत परिचित छन् । उनको पहिलो आत्मपरक निबन्ध गो टेल इट अन द माउन्टेन निकै चर्चित रह्यो । त्यस्तै जियोभानी रूम उपन्यासले समलैंगिक सम्बन्धका बारेमा खुलेर बताएको हुनाले निकै विवादास्पद उपन्यास मानिन्छ । मानव अधिकार र खासगरी अमेरिकामा काला जातिमाथि हुने विभेदका बारेमा मुखर हुने उनले अधिकांश समय पेरिसमा नै बिताए ।
एक पटक फ्रान्सेली राजधानी पेरिसको नाइट क्लबमा प्रख्यात अमेरिकी लेखक जेम्स बाल्डविन अर्का लेखक जेम्स जोन्स र विलियम स्टिरोनसँग गफ गरिरहेका थिए, त्यो बेला उनीहरूको मनपर्ने विषयमा नै लम्बेतान गफ भइरहेको थियो । विषय अवश्य पनि रक्सी थियो ।
बाल्डविन, जेम्स जोन्स र अर्का लेक विलियम स्टिरोन रक्सी पिउनु पर्दा कहिले बारमा त कहिले जोन्सको घरमा पुग्थे । जोन्सले आफ्नो घरको रक्सी खाने ठाउँ पुरानो चर्चजस्तो बनाएका थिए । त्यहीँ रक्सी खाँदै गर्दा बाल्डविनले अन्य दुई साथीहरूलाई तिनले गरेका रक्सी खाँदाका पाप पखाल्ने अभिनय गर्थे । खासमा जेम्स बाल्डविन जवान हुँदा पास्टरको कामसमेत गर्थे । उनले पाप पुण्यका भाषण पनि गर्थे । सोही सम्झनामा रक्सी खाएपछि उनको पहिलेको पास्टरे भूत खनिन्थ्यो र उनले रक्सीको मातमा पास्टरीय भाषण गर्न थाल्थे । भाषण पनि रक्सी खाँदा कसरी शैतान चढ्छ र त्यो शैतानलाई कसरी उतार्ने भन्नेबारे हुन्थ्यो ।
०००
मैले रक्सी खाइनँ भने पसिना-पसिना हुन्छु र लतको बाघसँग मेरो यस्तो कुस्ती पर्छ कि निदाउनै गाह्रो पर्छ ।
डिजुना बर्न्स
सन् १८९२ मा जन्मिएकी डिजुना बर्न्स नाटककार, पत्रकार, उपन्यासकार, व्यंग्यचित्रकार र कथाकारका रूपमा परिचित छिन् । उनले उस जमानामा नै आफू समलिङ्गी भएको घोषणा गरेकी थिइन् । सन् १९२० र १९३० को दशकमा उनले चर्चित रचनाहरू बजारमा ल्याएकी थिइन् । उनको दोस्रो उपन्यास ‘नाइटवुड’मा कवि टि.एस. इलियटले परिचय खण्ड लेखिदिएपछि यो पुस्तक रातारात चर्चित भएको थियो । यो उनको मास्टरपिसका रूपमा पनि प्रख्यात छ । खासगरी यस उपन्यासको संरचना र लेस्बियनिज्मका बारेमा बारिकी व्याख्या निकै चर्चित छ ।
डिजुनाको जिब्रो निकै तिखो थियो । तिखो बोली वचनले सबैलाई घाइते बनाइरहन्थिन् । एक पटक अर्की लेखिका पेगी गगेनहेमले
दिनमा एक बोतल ह्विस्की खान्छिन् भनेर डिजुनाको कुरा काट्न थालिन् । अर्का लेखक वाल्टर विन्चेलले डिजुनाले टुन्न भएका बेला पनि घुँयत्रो निकै परसम्म फ्याँक्ने कला थियो भनेका थिए । रक्सी खाएका बेला डिजुनाले आफ्ना प्रेमीप्रेमिकाका बारेमा खुलेर कुरा गर्थिन् । उनी आफ्ना प्रेमी र प्रेमिका दुवैले बराबर माया गर्ने उनको दाबी हुन्थ्यो । स्वाभाविक रूपमा यस्ती पियक्कडका साथीहरू पियक्कड नै हुन्थे । पेरिसका गल्लीमा रहेका केही होटलहरूमा उनी पिएर उठ्नै नसक्ने अवस्थामा फेला परिरहन्थिन् । पछि उनी अमेरिका फर्किइन् र चालीस वर्ष पिएरै बिताइन् । जब उनको निधनमा शोक व्यक्त गर्न कार्सन म्याकुलर्स आएका थिए, उनले ती पियक्कड दिनहरू सम्झेर डिजुनाको घरको दैलोमा ग्वाँ ग्वाँ रोइदिएका थिए ।
०००
रक्सीले मान्छेलाई साह्रै मूर्ख बनाउँछ अथवा यसो भनूँ, मान्छे मूर्ख हुन पिउँछ । पिउँदै जाँदा मान्छे मुर्खताको उरूङ लगाउँछ ।
रोबर्ट बेन्चली
सन् १८८९ मा जन्मिएका रोबर्ट बेन्चली नाटक समीक्षक थिए । उनी राम्रा व्यंग्यकार भएकाले अखबारमा उनका व्यंग्य आइरहन्थे । त्यसबाहेक उनी नाटकका कलाकार पनि थिए । द न्युयोर्कर पत्रिकाका उनी नाटक समीक्षकका रूमा १० वर्षभन्दा बढी काम गरे । नाटकबाट उक्लेर उनले पछि ४६ वटा छोटा फिल्ममा अभिनयसमेत गरे । तीमध्ये एउटा हाउ टु स्लिपले त अस्कर अवार्डसमेत हात पारेको थियो ।
यिनै रोबर्ट ३० वर्षको उमेर हुञ्जेलसम्म रक्सीको र पनि उच्चारण गर्दैनथे । अझ उनी त अमेरिकी सरकारले लगाएको रक्सीमाथिको प्रतिबन्धका ठूलो प्रशंसक थिए । उनी रक्सीलाई प्रतिबन्ध लगाउनुपर्ने कुराका हिमायती थिए ।
पछि उनको दोस्ती एफ. स्कट फित्जगेराल्ड र उनकी पत्नी जेल्डा, डोरोथी पार्कर, रोबर्ट सेरवुडजस्ता नामुद जँड्याहासँग भयो । यो दशकौँको दोस्ती र कयौँ ब्यारेल रक्सी रित्याएपछि हलिउडस्थित रोबर्टको घरमा एक दिन फित्जगेराल्ड आए । स्वाभाविक रूपमा पिउने क्रम चल्यो । खाँदाखाँदै रोबर्टले घडी हेरे । बिहानको पाँच बजिसकेछ ।
‘तिमीलाई थाहा छ, पिउनु एउटा सुस्त मृत्यु अँगाल्नु हो,’ फित्जगेराल्डले भने ।
‘ठीकै छ त, मर्ने हतार कसलाई छ र ?’ घडी हेर्दै रोबर्टले उत्तर दिए ।
(स्रोतः हेमिङ्गवे एन्ड बेलीज् बारटेन्डिङ गाइड टु ग्रेट अमेरिकन राइटर्स, लेखकः मार्क बेली)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।