आज फेरि नयाँ साथीसँग नयाँ ठाउँ जादैँ छु। उठेर नुहाइ धुवाइ सकेर खाजा खान तल भान्छामा गएँ। आफ्नो नास्ता आँफै तयार गर्नुपर्ने र आफूले प्रयोग गरेका भाँडाकुँडा तुरुन्तै सफा गर्नु पर्थ्यो ताकी अर्कोले प्रयोग गर्दा फोहोर अनि कुनै झन्झट नहोस्। म खाजा खाइरहँदा डानिएल नि आए र मैले खाइरहेको मेवा देखेर उत्सुक भए। मैले हिजै आफूलाई मन पर्ने मेवा, सरिफा, आभोकाडो ल्याएको थिएँ, अरू स्याउ सुन्तला, नासपती, किवी त त्यहीँ टन्नै थियो। मैले गुलियो मेवा ताछेर खान दिएँ । उनी दङ्ग परे किनकि यो भन्दा अघि उनले मेवा त खाएकै हुन्  तर स्वाद न व्यादकाे परेछ । त्यसपछि कहिल्यै खाने आँट गरेका रहेनछन्। युरोपमा यस्तो फलफूल टाढा टाढाबाट ल्याउँछन् त्यसैले त्यसको स्वाद, गुणस्तर खस्किसकेको हुन्छ। फिन्ल्याण्डमा पनि धेरै पटक मेवा खाँदा खल्लो न खल्लो पर्थ्यो तर यहाँ त नेपालको आफ्नै बारीबाट टिपेर खाको जस्तो मिठो थियो। मूल्य पनि सोच्नै नसकिने सस्तो – फिन्ल्याण्डमा किलोको ७ भन्दा बढी पर्छ यहाँ भने २,५० मात्र।

खाजा खाँदै गर्दा उनले  पार्किङ गरेको आफ्नो गाडी राती केहीले  कोतरिदिएको बताए । अब के गर्ने होला भनेर गम्दै थिए । उनले त्यो गाडी भाडामा लिँदा अलग्गै बिमा नि किनेका रहेछन् तर त्यसका लागि आफ्नो तर्फको न्यूनतम रकम २०० युरो बुझाउनु पर्ने रहेछ। मेरै अगाडि फोन गरेर बिमा कम्पनीलाई घटना विवरण जाहेर गरे। मेरो दिमागमा फ्याट्ट उपाय आयो र सोधेँ । यो यात्राको हवाई जहाजको टिकेट कसरी किनेको र बैङ्कमा कुन क्रेडिट चलाउँछौ ? संसारका धेरै मुलुक घुमेको भए तापनि सबै चिज सबै मानिसलाई थाहा हुँदैन र कतिपयले सानातिना कुराहरू वास्ता पनि गर्दैनन्। म भने सम्भव भएसम्म दैनिक आइपर्ने हरेक घटनाको हेक्का राख्छु र धेरै यात्रा अनुभव भएकोले उनको गाडी ठोक्किएको प्रति नि जिज्ञासा जाग्नु स्वाभाविकै हो। मैले सोधेपछि आफूले टिकेट किन्दा प्रयोग गरेको क्रेडिट कार्ड देखाए। मैले पहिल्यै भोगिसकेको नियति आज उनको परेछ र फ्याट्टै भनिदिए यो कार्डबाट टिकेट किन्दा तिमीले भाडामा लिएको गाडीको पुरै बिमा कभर हुन्छ ।

मैले यो अनुभव बटुलिसकेको थिएँ। तुरुन्तै बैङ्कमा फोन गर्न सुझाएँ । नभन्दै उनको आज ठोक्किँदा तिर्नु पर्ने रकम मात्र नभएर उनले अलग्गै किनेको अतिरिक्त बिमा (जुन आवश्यक पर्दैनथ्यो) को रकम समेत फिर्ता गरिदिने भो। उनको मुहार एक्कासि चम्कियो। मलाई पनि आफ्नो अनुभवले आज यी अपरिचित मानिसलाई सहयोग पुगेकोमा अति खुसी लाग्यो। हाम्रा गाउँघरतिर भन्ने उखान “हिङ नभए नि हिङ बाँधेको टालो छ” जस्तै कसैले पनि आफूलाई कमजोर, निर्धो सम्झन हुन्न । सबैले सबै कुरा जानेका हुँदैनन्, हरेक कुराको केही न केही महत्त्व हुन्छ र कहीँ न कहीँ काम आउँछ। आफू दुई चोटि पुगिसकेको ठाउँ मेरै अनुरोधले मात्र यस्तो महँगो पेट्रोल खर्च गरेर फेरी जाने भन्दा त्यति उत्साहित थिएनन् होला तर मेरो यो सुझावको कारण उनले ठुलो राहत महसुस गरे र म सँगको चिनजान उपलब्धि मुलुक रहेको महसुस अवश्य गरेको हुनुपर्छ।

उनको आज यो ठाउँबाट बिदा हुने दिन थियो ।  मैले चैँ घुमिसकेर बसमा फर्कने सोचाइ बनाएँ। आज जान लागेको रक नुब्ला भनेको पहाडको थुम्कोमा रहेको चट्टानको आकृति रहेछ। यो टापुको बिचमा सबै अग्ला थुम्काहरू अनि सहर बस्ती चैँ तल समुन्द्रको किनारमा छ। प्राय जुन ठाउँ बसे पनि पहाड मन पराउनेहरू चैँ टापुको मध्य भाग जस्तै पर्ने यस्तै थुम्कीहरू तिर आउने रहेछन्। हिँडेको केही बेर पछि पहाडी घुम्ती बाटोहरू सुरु भए । यो यात्रा गर्दा काठमाडौँबाट ककनी वा नगरकोट गए जस्तै लाग्ने तर बाटोहरू चैँ टलक्क टल्किएका चिल्ला अनि छेउपट्टि पुरै पक्की बार थियो सुरक्षित लाग्ने।

म साइड पट्टी बसेर मनोरम दृश्यको फोटो भिडियो बनाइरहँदा उनले  कहिले नि आफूले राम्रोसँग हेर्न नपाएको, सधैँ गाडी चलाएर जाने आउने गरियो गाडी चलाउनमा ध्यान दिनुपर्छ भन्दै गुनासो सुनाए। हुन पनि हो त्यो यात्राको मज्जा चुचुरो पुग्नु मात्र थिएन बाटोका आनन्द बेग्लै थियो। यात्राको क्रममा आ-आफ्नाबारे जानकारीहरू साटासाट गर्‍यौँ।

उनी १०-१५ वर्षदेखि ब्रेन ट्युमर सम्बन्धी अनुसन्धान गरिरहेका रहेछन्, विशेषगरी प्रविधिको माध्यमबाट त्यस्ता ट्युमर पत्ता लगाउने र अपरेसनको लागि आधुनिक यन्त्रको निर्माण गर्नेमा दक्षता राख्दा रहेछन्। झन्डै २५ भन्दा बढी वैज्ञानिक अनुसन्धान पत्र प्रकाशित गरिसकेका उनी पनि म जस्तै घुमफिर प्रेमी रहेछन् । श्रीमतीसँग घुम्न मन परे पनि एक वर्षमा एक महिना मात्रै छुट्टी हुने र त्यो पनि झन्डै एक वर्षअघि नै योजना बनाउनु पर्ने हुँदा सँगै हिँडिरहन नमिल्ने बताउनु भयो। आफ्नो भने आफू खुसी गर्ने काम भएको हुँदा जहाँ गएर पनि मिल्ने भएकोले घुमिरहने बताए। डानिएलको यो भनाइ युरोपमा प्राय धेरैको यथार्थतासँग मेल खान्छ। ११ महिना काम गर्ने अनि एक महिना मज्जाले छुट्टी मनाउने चलन छ तर समस्या श्रीमान् श्रीमतीको सँगै छुट्टी पार्न गाह्रो अनि केटाकेटीको नि मिलाउनु पर्‍यो। डानिएल म सँग हिँड्दा पनि मिटिङमा सहभागी हुँदै यात्रा व्यवस्थित गरिरहेका पाइन्थ्यो।

एक घण्टा भन्दा बढी गाडीको यात्रा गर्दै हामी त्यो पहाडको टुप्पोमै पुग्यौँ। गाडी जाने ठाउँबाट डेढ किलोमिटर पैदल हिँड्नु पर्ने । अलि अघिसम्म खासै मान्छे देखिँदैनथे तर टापुको सबै तर्फबाट आउन मिल्ने भएकोले त्यहाँ पुग्दा त गाडी नि खचाखच, मान्छे नि भरिभराउ – पहिला पहिला हिँडेर मनकामना गएजस्तो झल्को लाग्ने। गोरेटो उकालो पर्ने भएकोले डानिएल अलि सुस्ताउन थाले । उमेरमा म भन्दा केही कान्छा भएपनि हिँड्नमा म अलि फुर्तिलै देखिएँ । उनी दुई चोटि पुगिसकेको तर मेरो पहिलो पटक भएर पनि होला अलि बढी फुर्ती आएको। टुप्पोमा पुगेपछि त्यहाँ चट्टानले बनेका विशाल आकृतिहरू रहेछन् समुन्द्रको चारै तिर देखिने अनि टेनेरिफ भन्ने अर्को टापु पनि देखिने।

मैले डानिएललाई निजासँगको भेट अनि हाम्रो चुचुरो अनुभव सबै भन्न भ्याइसकेको थिएँ। के थाहा त्यस्तै स्पटहरूमा फ्याट्ट उनी भेटिन्छन् कि, किनकि उनको पनि साथी आएपछि गाडीमा सबै ठाउँ पुग्ने योजना थियो। सबै सन्जोगले हुन्छ के थाहा एन्थोनी पनि भेटिन्छन् कि।

ज्वालामुखी विस्फोट भएर बनेको यो नुब्लो नामको चट्टान ६७ मिटर अग्लो र समुद्री सतहबाट अठार सय मिटरको उचाइमा रहेछ। म आफैँ जन्मेर हुर्केको ठाउँ नुवाकोटको कपिलेस्वर पनि ठ्याक्कै यस्तै चुचुरो हो जसको फेदमा लिखु र तादी कलकल बग्दछ भने उत्तरपट्टि गणेश हिमाल लगायत अरू हिम शृङ्खला मज्जाले देखिन्छ। पर्यटन प्रवर्द्धन गर्न नसक्दा राजधानी काठमाडौँबाट ५० कि मि जति दुरीमा रहेको हाम्रो कपिलेस्वर ओझेलमा परेको छ- यहाँ भने जाबो यो ढुङ्गो हेर्न कति भिड भन्ने लाग्यो। तर जे होस भाइ प्रकाशको सूचनाको आधारमा यहाँ आइपुगेकोमा, अनि नयाँ साथी पाएकोमा खुसी थिएँ।  यहाँ आउनेहरू समुद्री किनाराको आनन्दका साथै यो चट्टान पुगेर पुरै टापुको दृश्यावलोकन मन पराउने रहेछन्, प्रकाश भाइलाई मनमनै धन्यवाद दिएँ।

डानियलको अर्को सहर पुग्नु थियो अनि मसँगै हिँड्दै आफ्नो काम पनि भ्याउँदै थिए। मैले मेरो कारण उनको काम, योजनामा असर नपुगोस् भन्नेमा सचेत गराउँथेँ तर उनलाई म सँगको पल रमाइलै लागिरहेको थियो । त्यसैले नै बिना कुनै हिचकिचाहट अझै अगाडि बढ्यौँ। उनैको प्रस्तावअनुसार त्यहाँबाट अर्को “तेजेदा” भन्ने रमणीय सानो बस्ती लैजानु भयो। उचाइको नजिकतिर पर्ने बस्ती मध्य सबैभन्दा प्रख्यात पर्यटकीय बस्ती रहेछ पुरै रेस्टुरेन्टले  भरिएको। हामीले त्यहीँ लन्च खाने बिचार गर्यौं । अति नै हाइफाइवाला रेस्टुरेन्टमा खान बस्यौँ, टन्टलापुर घामको स्वाद लिन बाहिरैको टेबल रोज्यौँ र खाना अर्डर गर्यौं। मेनु हेरेर उनले आफ्नो खाना मगाए, मैँले नि आफ्नो   म रुचिको  स्थानीय परीकार।

डानिएल एक पटक ३ दिनका लागी फिन्ल्याण्ड पनि आएका रहेछन् अनि म जर्मनी धरै पटक गएको छु त्यसमाथि मैले नेपालकै गोथे सेन्टरबाट झन्डै दुई वर्ष जर्मनी भाषा पढेको बताएपछि हाम्रो गफ पनि निजासँग जस्तै जमेको थियो। एक अर्कामा कुरा निकाल्ने खुराकी फुरिरहन्थे । हिजो बेलुका सामान्य परिचय गरेको व्यक्ती एक अर्काका लागि समयको माग बमोजिमको घनिष्ठ मित्र भएका थियौँ । बिल मगायो, मैले अनुरोध गरेर उनको पनि बिल तिर्छु भनेँ। अलि अकमकाएका थिए, सामान्यतया यसरी हिँड्दा आ-आफ्नो तिरिन्छ त्यहाँमाथि डानिएलको त बच्चादेखि सिकेको बानी हुनुपर्छ। खानेकुरा अर्डर गर्दा खासै मूल्य ध्यान दिएको थिइन, मज्जाले मगाएका थियौँ तर जम्मा २७ युरोको बिल भएछ। मलाई आज उसले दिएको समय, उसको गाडीको प्रयोग अमूल्य लागिरहेको थियो त्यसैले कुनै प्रकारले उसको लागि नि खर्च गर्दिनु थियो, खुसी लाग्यो।

अब उसले मलाई पोहोर परार गएको अर्को ठाउँ देखाउने अनि लास पालमाश सहर छोडेर ऊ आफ्नो होटेल जाने सल्लाह गर्यो। नेभिगेटर लगाएर यात्रा सुरु गर्यौं । एकदमै पहाडी भूभाग भएकोले इन्टरनेट अनि नेभिगेटरले ठाउँ ठाउँमा काम गर्दैनथ्यो । यस्तैमा उसको नेभिगेटरमा सजिलो लामो भन्दा अप्ठ्यारो तर छोटो बाटो सेट भएछ। हिँडेको २०-२५ मिनेट पछि गाडीले सानो भन्दा सानो गल्ली अनि ठाडै ओरालो बाटो तिर लग्यो। हुस्सु तुवाँलोले पुरै ढाकेको थियो अगाडी केही नदेखिने । कहिले त डडेलधुराको भाशुकी भिर पुगेजस्तो लाग्न थाल्यो । ठाउँ ठाउँमा नेपालको गोठ जस्तो झल्किने पुराना घरहरू भेटिने, सुन्तला चैँ लटरम्मै फलेका देखिन्थे। डानिएल पनि डराइसकेका थिए तर जसरी नि पुगिन्छ भन्नेमा चाहिँ ढुक्क थिए।

म चैँ डर हटाउन भिडियो बनाउँदै उसको अनुहार, बोली कैद गर्न थालेँ। सुरुमा खासै खुलेर नबोल्ने डानिएल अब निर्धक्क बोल्ने भैसकेको थियो। उसले नि मलाई सटाएर हानी हाल्यो – अस्तिको चुचुरोदेखि झर्दाको घटनासँग जोडेर, “दुई चोटि आउँदा सलल आएको बाटोमा तेरो ओरालो कर्मले यस्तोमा डोर्यायो” । मैले नि भनिदिएँ कि पोहोर परार हिँडेको बाटो गएको भए यो यात्रा अनि हाम्रो मित्रता छिट्टै भुल्ने थियौँ, अब गाढा हुन्छ। जे होस् डराई डराई भए पनि ओरालो बाटो पार गर्यौं र राजमार्गमा पुग्यौँ। उसले मलाई समुन्द्रको किनारसम्म छोडेर बिदा भयो।

त्यो समुद्रको किनारमा भरिभराउ मान्छेहरू पानीको छालभित्र घरी छोपिने, घरी तैरिने गरिरहेका थिए। लामो समय मोबाइलमा नेट चलेको थिएन, खोलेको त फिन्ल्याण्डबाट साथीहरूका पोस्ट, म्यासेजहरू देखेँ । आज हेलसिन्किमा अत्यधिक हिउँ परेको, हावा हुरीले चिसो थपेको र यातायात अति नै कठिन हुन सक्ने अडकलहरू। कसैले आफ्नो गाडी हिउँले पुरिएर झिक्न नसकेको त कसैले झ्याल नै छोपिने गरी थुप्रिएका हिउँका फोटोहरू। मैँले चैँ मेरो “मिल्ने समूह” मा + २४ डिग्री तापक्रममा सामुद्रिक किनारमा कट्टु र टि सर्टमा हिँड्दै गरेको फोटो , भिडियो हालिदिएँ। उता त्यस्तो मौसममा सङ्घर्ष गरिरहेका साथीहरूलाई मेरो मस्ती गरेको खुराकीले डाहा लाग्यो होला । साथी भन्या यस्तै त मज्जा कहिले झगडा, कहिले डाह, कहिले हाँसीमजाग त कहिले सिरियस। उनीहरू नि मौका पाउनासाथ घुमिरहन्छन्, पाको बेला जिस्क्याउने हो माइन्ड गर्दैनन्, त्यसैले त हाम्रो समूहको नाम नै “मिल्ने साथी” राखेका छौँ।

एक घण्टा अघि टुप्पोमा थिएँ , अहिले समुन्द्र किनारमा छु। अब अलि थाकियो पनि, बेलुकाको घमासान फुटबल सेमिफाइनल नि छुटाउनु भएन । बस चढेर घर जाने निधो गरेँ। बस चढ्नै लाग्दा झल्याँस्स भएँ कि म सँग मास्क छैन। धेरै देशमा कोभिडको कुनै झलक छैन आजभोलि, यहाँ चैँ अझै बस र ट्याक्सीमा अनिवार्य मास्क लगाउनु पर्छ। नियम पालनामा यती कडा छन् कि बरु पैसा छैन भने सित्तैमा चढाउलान् तर मास्क छैन भने ज्यान जाला छिर्न दिँदैनन्। बस चढ्नु अघि माक्स त किन्नै पर्‍यो अनि बिहान बोकेको पानी पनि सक्किएको थियो मुख्य बजारको व्यापारिक मल भित्र छिरेँ। एउटा मास्क र पानी किन्न छिरेको यो “लास एरिनास” व्यापारिक केन्द्र त पुरै क्यानरी टापु भरिको उत्कृष्ट सपिङ मल रहेछ। १०० भन्दा बढी ब्रान्डेड पसलहरू, सिनेमाहल रहेको यो केन्द्र भित्र छिरेपछि फेरी अर्कै संसार पुगेको जस्तो लाग्ने।

क्रिसमस चहलपहल सुरु भएकोले मल अति व्यस्त देखिन्थ्यो। कतिपय सामान किन्न त कतिपय त्यत्तिकै टहलिन आएका देखिन्थे। यो भन्दा पहिला बसेका ठाउँहरू कुनै सुनसान गाउँ त कुनै पर्यटक केन्द्रित बस्तीहरू थिए तर यहाँ भने राजधानी केन्द्र भएर होला स्थानीय वासीहरू त्यसमा पनि युवा युवतीहरू अत्यधिक देखिए। क्रिसमस बजार रङिय जस्तै यहाँ आउने युवायुवतीहरू नि निकै तन्दुरुस्त र हँसिला देखिन्थे। लगभग बाह्रै महिना उस्तै मौसम हुने भएकोले याँकालाई हाम्रो उत्तरी भेग जस्तो मौसम अनुसारका लुगामा खर्च गर्नु पर्दैन। त्यसैले यिनीहरू आकर्षक जिउ डालमा सुहाउँदो पहिरन मज्जाले पुर्‍याउन सक्छन् होला। त्यसै पनि युरोपियनहरू आफ्नो कमाइको लगभग एक चौथाइ त शरीर तन्दुरुस्त राख्नमै खर्च गर्ने गरेको तथ्याङ्कले देखाउँछ । नजिकै समुद्रको छालमा रमाउने अनि सपिङ मल डुल्ने, क्या बिन्दास देखिन्छन् यिनीहरू।

यी त सब एक छिन समय भुलाउने बाटो थियो गन्तव्य अब होटेल पुग्नु छ। यो केन्द्रभित्र हराइँदो रहेछ । आफूले धेरै चोटि निस्कन खोज्दा नसकेर अर्को एक जनालाई सोधेको उसले तीन चारतिर लगे । भेउ नपाएपछि उसले पनि अर्कैलाई साेधे । र बाहिर निस्कने गेटसम्म पुर्यायिदियो । नजिकैको बस स्टपबाट बस चढेँ होटेल पुगियो। अघि पसलबाट तताएर खान मिल्ने टन्नै किनेको थिएँ कोठाकै माइक्रोमा तताएर खाँदै विश्वकपको आनन्दमा भुलिएँ।