
नेपाली साहित्यमा काव्यकृति (कविता, गजल, मुक्तक, बाछिटा, हाइकु, खण्डकाव्य, महाकाव्य आदि) प्रकाशनमा ल्याएर पहिलोपटक प्रवेश गरेका कविहरूका लागि खुसीको खबर ।
डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूची सार्वजनिक गरेका छौँ । यो सूची नयाँ लेखकहरूले २०७९ सालमा प्रकाशन भएका ४२ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
छानिएका डेब्यु काव्यकृतिहरूमा कमला महतको बाछिटासङ्ग्रह ‘अनन्त’, रेहित सैजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’, बुद्धिप्रसाद शर्मा रेग्मीको महाकाव्य ‘मेरी आमा’, मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, सौरभ शर्माको कवितासङ्ग्रह ‘अनन्त प्रेम’, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, लक्ष्मी रेशमीको कवितासङ्ग्रह ‘ज्याकारान्डाको शहर’ र विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह ‘घर फर्किने तिर्खा’ रहेका छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।
‘०७९ सालभरमा नयाँ लेखकका ४२ भन्दा बढी नै काव्यकृतिहरू प्रकाशनमा आएका होलान्, तर हामीले सोधखोज गर्दा नयाँ लेखकका ४२ काव्यकृति फेला पार्न सफल भयौं ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यो सूची तिनै उपलब्ध डेब्यु काव्यकृतिहरूबाट छानिएको हो ।’
कोइरालाका अनुसार यी ११ वटा काव्यकृतिले नयाँ कविहरू के लेख्दैछन्, र नेपाली काव्यसाहित्यको भविष्य कस्तो छ भन्ने कुराको सङ्केत गरेको छ ।
‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप यसपटकबाट तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘पहिलो वर्ष एक र अघिल्लो वर्ष दुई जना लेखक-कविलाई मात्र सम्मान गर्न सक्यौँ । त्योबेला अत्यन्तै थोरै अङ्कले फरक विधामा युवापुस्ताका सम्भावना बोकेका लेखक छुटेको अनुभव गरेपछि यसपटकदेखि तीन विधामा तीनै जना लेखक-कविलाई सम्मान गर्ने योजना बनाएका हौँ ।’
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो । ०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका तीन नवोदित लेखकलाई प्रदान गरिने भएको हो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षकहरू समूहलाई जिम्मा लगाइने छ । उहाँहरूले दिएका नम्बरहरूले प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी ११ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को लामो सूची क्रमशः वैशाख २६ गते मङ्गलबार र वैशाख २७ गते बुधबार घोषणा गरिने छ ।
प्रस्तुत छ, २०७९ सालका उत्कृष्ट ११ डेब्यु काव्यकृतिहरूको सूची:
१. अनन्त – कमला महत
काव्य विधाको नवीनतम उप–विधा बाछिटाअन्तर्गत कमला महतको पहिलो कृति हो ‘अनन्त’ । कमलाका बाछिटाहरुमा प्रकृति, संस्कृति र चेतनाको प्रतीकात्मक समीश्रण रहेका छन् । उनका बाछिटामा प्रकृति र जीवनका सुन्दरता र कुरुपता सशक्त रुपमा चित्रित छन् ।
कौशिकी साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको बाछिटासङ्ग्रह प्रति पृष्ठ ५ बाछिटासहित १ सय २८ पृष्ठमा फैलिएको छ ।
२. परावर्तन – रेहित सैजु
काव्य विधाको उपविधा मुक्तकअन्तर्गत रेहित सैजुको पहिलो कृति हो ‘परावर्तन’ । सङ्ग्रहमा सङ्ग्रहित सैजुका मुक्तकहरुमा आम नेपालीका औसत भोगाइ र अनुभूतिहरु छन् । मुक्तकहरुमा निर्वाहमुखी जीवन बाँचिरहेका नेपालीहरुको कथा, व्यथा र चरित्रहरुको परावर्तन भएको पाइन्छ ।
उदय विष्ट प्रकाशक रहेको मुक्तकसङ्ग्रहमा २ सय ४० थान मुक्तकहरु सङ्ग्रहित छन् ।
३. मेरी आमा – बुद्धिप्रसाद शर्मा रेग्मी
सल्यानका कवि बुद्धिप्रसाद शर्मा रेग्मीको पहिलो कृति हो महाकाव्य ‘मेरी आमा’ । विविध वार्णिक छन्दमा सिर्जना गरिएको महाकाव्यलाई कवि शर्माले छन्द परम्पराको प्रतिनिधित्व गर्दै ‘मङ्गलचरण’बाट सुुरु गरेका छन् । महाकाव्यमा आमाप्रतिको श्रद्धा, बाल्यकाल, लालनपालन, गाउँले जीवन, आमाको गार्हस्थ जीवन तथा देहान्तसम्मको घटनालाई उतारेका छन् । समग्रमा, कवि शर्माले ‘मेरी आमा’मा आमाको महिमा गान गरेका छन् ।
कवि शर्मा स्वयंले प्रकाशनमा ल्याएको महाकाव्यमा दस शीर्षक सङ्ग्रहित छ ।
४. प्रिय दुश्मन – मिलन समीर
युवा कवि मिलन समीरको पहिलो कृति हो शृङ्खला–कविता ‘प्रिय दुश्मन’ । समीरले कवितामा दुश्मनलाई मीठो सम्बोधन गरेका छन् । उनले शृङ्खलाबद्ध कविताका माध्यमबाट मानिसको परस्परमा विरोधी प्रवृत्ति तथा बहुरुपी चरित्रको उजागर गरेका छन् । नेपाली साहित्यमा कमै लेखिने शृङ्खला–कविताका माध्यमबाट समीरले समग्र समाज र समाजको वैचारिकीको चिरफार समेत गरेका छन् ।
कवितासङ्ग्रहमा ‘प्रिय दुश्मन’ शीर्षकमा ३१ शृङ्खला–कविताहरु सङ्ग्रहित छन् । राजकुमार ज्ञवाली प्रकाशक रहेको कविताकृतिको प्रमुख वितरकमा सम्पूर्ण किताब रहेको छ ।
५. मफलर – प्रदीप रोदन
वर्तमान समयका चर्चित गजलकार प्रदीप रोदनको पहिलो कृति हो, गजलसङ्ग्रह ‘मफलर’ । प्रेमिल गजलका लागि प्रसिद्ध रोदनका गजलले प्रेम मात्रै बोलेका छैनन्, समाज र दर्शन पनि बोलेका छन् । वर्तमान समाजमा विद्यमान विकृति तथा कुसंस्कारलाई उनले सरल र सरस ढङ्गले गजलमा उतारेका छन् । उनका गजलमा सत्तालाई प्रश्न तथा बदलिएको अर्थराजनीतिको चित्रण पनि पाइन्छ ।
फाइन प्रिन्टले प्रकाशनमा ल्याएको गजलसङ्ग्रह मफलरमा १ सय ८ थान गजल तथा १ सय ८ थानै फर्दहरु सङ्ग्रहित छन् ।
६. अनन्त प्रेम – सौरभ शर्मा
युवा कवि सौरभ शर्माको पहिलो कृति हो ‘अनन्त प्रेम’ । प्रेमिल कविताहरु रहेको यो कवितासङ्ग्रहका सर्जक शर्मा २२ वर्षे ठिटा हुन्, तर उमेरका कच्चा शर्माका कविताहरुमा गहिरो प्रेम चिन्तन पाइन्छ । ‘अनन्त प्रेम’मा सङ्ग्रहित कवितामा प्रेमजन्य भावनाहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेमप्रतिको व्यक्तिगत भावना, सम्बन्ध तथा अवस्थाको प्रतिनिधिमूलक चित्रण गर्ने कोसिस कवि शर्माले गरेका छन् ।
पैँतीस शीर्षकका कविता सङ्ग्रहित कृतिलाई झरना सञ्चार, बुढानिलकण्ठले प्रकाशनमा ल्याएको हो ।
७. अनुभूतिको इन्द्रेनी – प्रीति आत्रेय ज्ञवाली
कवि प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह हो ‘अनुभूतिको इन्द्रेनी’ । अनुभूति र दर्शनको मौलिक संयोजन रहेको कविताकृति ज्ञवालीको पहिलो पुस्तक हो । कविताहरुमा शून्यवादी बौद्ध दर्शन, गीता दर्शन तथा जीवन दर्शन भरपूर मात्रामा पाइन्छ । कृतिमा आधुनिक संस्कृतिसहित धर्म, दर्शन र राष्ट्रभक्ति प्रखर रुपमा मुखरित भएका छन् ।
५९ थान कविताहरु सङ्ग्रहित कविताकृतिलाई शब्दार्थ प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।
८. छन्द आराधना – रोहिणी रसिक
मोरङ निवासी कवि रोहिणी रसिककृत छन्दबद्ध कवितासङ्ग्रह हो ‘छन्द आराधना’ । राष्ट्रिय एकता र स्वाधिनताको पक्षमा तथा सबै खाले देशद्रोहको विरुद्धमा मुखरित यो काव्यकृति रसिकको पहिलो हो । सङ्ग्रहित कविताहरुले साझा संस्कृति, सामाजिक मेलमिलाप, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको वकालत गर्छन् ।
कविताकृति विविध छन्दका ७२ कविता सङ्ग्रहित छन् । पुस्तकलाई रावासावा प्राज्ञिक समाज, नेपालले प्रकाशनमा ल्याएको हो ।
९. कर्नाली हाँस्दो छ – मिमबहादुर परियार
कवितामार्फत् आफ्नो अलगै पहिचान बनाइसकेका कवि मिमबहादुर परियारको पहिलो कृति हो ‘कर्नाली हाँस्दो छ’ । पुस्तकमा सङ्ग्रहित कविताहरुमा राज्यबाट अपहेलित कर्णाली तथा जातव्यवस्थाबाट प्रताडित दलित समुदायको भावना मुखारित भएर आएका छन् । कविताका माध्यमबाट परियार मानवताविरोधी जातीय छुवाछुत विरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । अझ भन्दा, राज्य–सत्ता विरुद्ध धाबा नै बोलेका छन् ।
समता बुक्सले प्रकाशनमा ल्याएको कविताकृतिमा ३५ वटा कविताहरु सङ्ग्रहित छन् ।
१०. ज्याकारान्डाको शहर – लक्ष्मी ‘रेशमी’
नेपाली साहित्यकी नवप्रवेशी कवि लक्ष्मी ‘रेशमी’को पहिलो कविताकृति हो ‘ज्याकारान्डाको शहर’ । रेशमीका कवितामा राष्ट्रिय, प्राकृतिक, राजनीतिक तथा नारी चेतनाका झिल्काहरु प्रशस्त मात्रामा भेट्न सकिन्छ । जीवन दर्शनका नजरबाट व्यङ्ग्य चेतको प्रयोगसहित आधुनिक समाजको चिरफार कविताहरुमा पाइन्छ ।
कविताकृतिलाई शब्दार्थ प्रकाशनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा मध्यम आयतनका ५१ कविताहरु सङ्ग्रहित छन् ।
११. घर फर्कने तिर्खा – विष्णु आचार्य ‘अतृप्त’
नेपाल विद्युत प्राधिकरणका प्रशासकीय अधिकृत विष्णु आचार्य ‘अतृप्त’को पहिलो कृति हो ‘घर फर्कने तिर्खा’ । ‘अतृप्त’का कविताहरुको केन्द्रमा मानवका अतृप्ति छरपस्ट छन् । ती अतृप्ति सँगसँगै आउने पीडाहरु छन् । समाजिक रुपमा भोगिइरहिएका तिरस्कार, वियोग, असफलता तथा कुरुपताहरु छन् । अर्थात्, ‘घर फर्कने तिर्खा’मा मानिस र समाज तथा मानिस र मानिस बिचमा द्वन्द्वहरु छन् ।
‘घर फर्कने तिर्खा’लाई विद्युतकर्मी साहित्य समाजले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा लामा–छोटा ४९ थान कविताहरु सङ्ग्रहित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
