प्रतीक ढकाल नियात्रा समाज  नेपाल साथै पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष हुन् । नेपाली नियात्रा साहित्यका सर्वाधिक बिक्री हुने र हिमाल विषयमै नियात्रा रचना गरी चर्चित लेखकको रूपमा रहेका ढकाल एकदमै खरो र न्यायिक प्रशासकका रूपमा पनि चिनिन्छन् । ढकालको एउटा नियात्रा कृति Beyond the Himalayas अमेरिकाबाटै प्रकाशित भएको छ ।

प्रस्तुत छ, उनै नेपाल सरकारका  कडा प्रशासक र कोमल नियात्राकार ढकालसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश;

आजकाल तपाईं अध्ययन, लेखन र अन्य काममा कत्तिको व्यस्त हुनुहुन्छ ?

– प्रायः व्यस्त नै रहेको हुन्छु म सधैँ । यो अक्षरको दुनियाँ नै यस्तो हो कि जहाँ कहिल्यै पनि पूर्ण फुर्सदिलो हुन पाइँदैन । व्यावसायिक कामहरूको समय हुन्छ, सिजन हुन्छ, सीमा हुन्छ र सकिन्छन् पनि । तर अध्ययनको कुनै सीमा हुँदैन ।  यो सीमाविहीनताको अनन्त दुनियाँमा पसेपछि आफू त एउटा सानो बिन्दु भएर हराइन्छ ।  आफ्नो धर्म, कर्म, मर्म, रुचि, झुकाव जे भने पनि नै अध्ययन नै भएपछि बोझ बोकेजस्तो पनि हुँदैन । यही दुनियाँ रमाइलो लाग्छ । यसैमा हराइरहेछु ।

तपाईं सानैदेखि पढाइमा तेज, मेहनती र लगनशील हुनुहुन्थ्यो भन्छन् नि ! के यो कुरा साँचो हो ?

– होइन भन्न त मिल्दैन यदि कक्षाको नतिजालाई नै आधार मान्ने हो भने । कक्षामा सधैँ पहिलो वा दोस्रो नै हुन्थेँ । तर नियमित विद्यार्थी हुने सौभाग्य भने मलाई प्रमाणपत्र तहसम्म मात्र मिलेको हुनाले आफूलाई मेहनती र लगनशील त मान्छु, तर म अत्यन्तै मेधावी र तेज थिएँ जस्तो चाहिँ खासै लाग्दैन । म औसत मान्छे नै हुँ, मात्र साहित्यप्रतिको रुचिले गर्दा अरूभन्दा अलि फरक देखिएँ कि जस्तो मात्र लाग्छ ।

तपाईंलाई त धेरैले देश चिनाउने विद्वान् भन्छन् नि, किन होला ?

– हाम्रो देशलाई संसारले के आधारमा चिन्छ ? हामीलाई बाँकी दुनियाँले चिन्ने भनेकै हिमालले गर्दा हो, बुद्धले गर्दा हो, गोर्खाले गर्दा हो र शेर्पाले गर्दा हो ।  म प्रायः यिनै विषयमा कलम चलाउँछु । हिमाल त हाम्रो यस्तो एक मात्र सम्पत्ति हो जसको तुलना संसारका कुनै  पनि मुलुकसँग गर्नै पर्दैन ।  संसारका ‘टपटेन’ हिमालयमध्ये दोस्रो र नवौँ बाहेक बाँकी ८ वटा नेपालमा छन् । ती हिमालका कूल २० वटा चुलीहरूमध्ये १४ वटा नेपालमै छन् । तर स्वयं नेपालीले नै आफ्नो सम्पत्तिलाई चिनेनन् ।  त्यसैले यो विशिष्ट भूगोललाई हामीले चिन्नुपर्छ भनेर कलम चलाउँछु ।

हिमाल र बुद्धबाहेक वीर गोर्खालीको देश, विश्वमै अनौठो आकारको झण्डा भएको देश, अहिले यो पहिचान मेटाइएको भए पनि संसारको एक मात्र हिन्दु देश, हाम्रो बहुजातीयता, बहुधार्मिकता, बहुभाषिकता, बहुसांस्कृतिकता, हाम्रो सामाजिक बनोट, हाम्रो सहिष्णुता आदि हाम्रा परिचयका अनेक पाटाहरू हुन् । म नियात्राको माध्यमबाट यिनै कुराहरूलाई व्यक्त गरिरहेको हुन्छु । म पाइला पाइलामा यो देशको समृद्धिको सम्भावना देखिरहेको र लेखिरहेको हुन्छु । शायद यही भएर गुणग्राही पाठकले मलाई यसो भनेर सम्मान गर्नुभएको होला कि ?

तपाईंलाई साह्रै कडा प्रशासक तर निर्भीक र पटक्कै लोभ नभएको सफा लेखक तथा वक्ता भन्छन् नि मानिसहरू । के यो कुरा साँचो हो ?

– मेरो मूल्याङ्कन म आफैँले गर्नु उचित नहोला । तर पनि मेरो स्वभाव, लेखन, व्यवहार र वक्तृतामा यस्ता केही गुण देखेर नै मलाई चिन्नेहरूले यसो भन्नुभएको होला ।  म कडा प्रशासक चाहिँ थिएँ नै । म अहिले पनि हुने कुरालाई हुन्छ भन्छु, नहुनेलाई जसले जतिसुकै ठुलो शक्तिको दबाब दिए पनि हुन्न नै भन्छु । म प्रशासक भएका ठाउँमा कहिल्यै पनि जनताको काम रोकिएन । धेरै हाकिमहरू आफूलाई व्यस्त देखाउन टेबलमा फाइलको चाङ थुपारेर बसेको देखेको छु मैले पनि । तर मेरो तीस वर्षे निजामती कालमा जहिल्यै पनि  मेरो टेबल सफा रह्यो । आफ्नो नियत साफ भएपछि फाइल अड्काउनुको कुनै अर्थै हुन्न नि ! अरूले उचालेर मेरै विरुद्धमा नारा जुलुस गर्दै आएका मान्छेहरूलाई पनि वास्तविकता बुझाएर शान्त बनाएर पठाएका उदाहरण धेरै छन् मेरा जागिरे जीवनमा ।

तपाईँलाई कविता, गीत, कथा, उपन्यास, निबन्ध, नाटक, नियात्रा, समालोचनामध्ये कुन विधा बढी मन पर्छ र राम्रो लेख्न के गर्नुपर्छ ?

– म पढ्नचाहिँ सबै विधाका किताबहरू पढ्छु । सुरुवाती दिनमा मैले पनि यी सबै विधामा कलम चलाएको थिएँ । तीन वटा त उपन्यास पनि लेखेको थिएँ, तर छापिनँ । २-४ वटा सङ्ग्रह निकाल्न पुग्ने कविता त अहिले पनि होलान् तर निकाल्दिनँ । अब हिमाल, हिमाली जाति, हिमाली संस्कृति, बुद्ध, हाम्रो समाज, हाम्रो जातीय गौरव र हाम्रो प्रकृति नै मेरो लेखनका मूल विषय भए र माध्यमचाहिँ निरन्तर नियात्रा नै रह्यो । अब जे जति सक्छु, स्वास्थ्यले जहिलेसम्म साथ दिन्छ, मुलुककै कुनाकाप्चा घुम्छु र संसारभरि छरिएर रहेका नेपालीहरूका बिचमा यो देशको सुन्दरताकै बयान गरिरहनेछु ।

अब तपाईंको प्रश्नको दोस्रो भागतर्फ जाऊँ । राम्रो लेख्नका लागि पहिले धेरै पढ्नु जरुरी हुन्छ । तपाईं जुन विधामा हुनुहुन्छ, त्यही विधाका सयौँ किताबहरू पढ्नोस् । अनि तपाईंलाई त्यस विधाका प्रवृत्तिहरूका बारेमा थाहा हुन्छ । जसरी पछि गएर एउटा राम्रो वक्ता हुनका लागि सुरुमा राम्रो श्रोता हुनु जरुरी छ, त्यसरी नै राम्रो लेखक हुनका लागि पनि राम्रो पाठक हुनु जरुरी छ । तपाईं कविता लेख्नुहुन्छ, तर घरमा अरू कविका ५० वटा पनि कविताका किताब छैनन् भने तपाईं कसरी राम्रो कवि हुन सक्नुहोला र ? अहिलेको नियात्रा र गजल विधामा यो अध्ययनविहीनताको रोग प्रशस्त देखिएको छ ।

तपाईंलाई यात्रावर्णन, यात्रावृत्तान्त, यात्रासंस्मरण, यात्राकाव्य, पद्य नियात्रा, यात्राटिपोट र नियात्राका बिचमा के फरक छ भन्ने नै थाहा छैन भने कसरी राम्रो लेख्न सक्नु होला र ?  तपाईंको निजी यात्राको निस्तो वर्णनले पाठकलाई के दिन्छ ? तपाईंको कृतिले भन्दा बढी सूचना त गुगलले नै दिन्छ भने तपाईंको किताब किन पढ्ने ? हो, गुगलले के दिन सक्दैन त पाठकलाई भन्दाखेरि तपाईंको अनुभूति त दिन सक्दैन नि ! तपाईंको किताबमा अब फिलिङ्स आउनुपर्यो । त्यही भएर लेखकले जहिले पनि जिम्मेवार भएर सोच्नुपर्छ । अध्ययन त तपाईंको दिमागलाई दिइने पोषण हो । पोषण तत्त्वकै अभावमा त सिर्जना पनि कुपोषित नै हुने निश्चित हुन्छ । त्यसैले राम्रो लेख्नका लागि अपनाउनु पर्ने सूत्र हो— अध्ययन, अध्ययन र अध्ययन । अनि अध्ययन, लेखन र परिमार्जन ।

तपाईं वक्ता, लेखक र प्रशासकमध्ये कुनमा सफल ठान्नुहुन्छ आफूलाई ?

– यो त मैले भन्नुभन्दा पनि अरूले भन्नु उचित हुने प्रश्न भयो । तैपनि वक्ता भएर मैले के नै गरेको छु र ? प्रशासक भन्ने कुरो पनि ५८ वर्षको उमेर पूरा भएपछि सकियो । अब त प्रशासकको पट्टा मात्र हातमा छ । लेखकचाहिँ कहिल्यै पनि ‘भूतपूर्व’ नहुने भएकाले तपाईंहरूले त्यति टाढाबाट पनि अहिलेसम्म खोजिरहनु भएकै छ । त्यसैले लेखकको व्यक्तित्वसँग बाँकी दुई पक्षको तुलनै हुन सक्तैन । मेरो व्यक्तिगत कुरै गर्नुहुन्छ भने पनि वक्ता हुनु मेरो व्यक्तित्वको एउटा पाटो हो । प्रशासक हुनु मेरो रोजीरोटीको विषय हो । तर लेखक हुनु योभन्दा धेरै माथिल्लो वर्गको कुरो हो जस्तो मलाई लाग्छ । तर पनि सियोको काम बन्चरोले गर्दैन । लुगाको काम कलमले गर्न सक्तैन । त्यसैले ठाउँ, प्रसङ्ग र परिस्थिति अनुसार सबैमा सफल पनि भएको छु र यिनै कुराको असङ्गति वा प्रतिकूलतामा असफल पनि भएको छु ।

तपाईंको लेखकीय मापदण्ड के हो ?

– मापदण्ड नै भनेर त्यस्तो केही बनाएको त छैन तर पनि मेरा किताबले पाठकको अमूल्य समयको व्यर्थ हरण नगरोस्, केही ज्ञान अवश्य दिन सकोस्, मेरा किताब पढ्ने पाठकलाई नेपाल किन सुन्दर छ भनेर थाहा होस् भनेरै मेहनत गरेको हुन्छु । एउटा सत्य कुरो केचाहिँ हो भने असाध्यै दुःख गरेर नघुमी मेरो कुनै पनि किताब लेखिएको छैन । त्यसैले पाठकलाई केही दिएकै छ जस्तो लाग्छ । त्यही भएर मेरा किताब धेरै बिकेका हुन् कि जस्तो पनि लाग्छ ।

जापानमा तपाईंले पाउनुभएको सम्मान र पुरस्कारका बारेमा संक्षेपमा पाठकलाई केही जानकारी दिनु हुन्छ कि ?

– यो सन् १९८५ को कुरो हो । त्यो वर्षलाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय युवा वर्षको रूपमा मनाउने घोषणा गरेपछि जापानमा रहेको संस्था अन्तर्राष्ट्रिय रेयुकाईले पनि युवा वर्गको नेतृत्व विकासका लागि वक्तृत्वकला पर्वको आयोजना गर्ने सोच बनाएछ र आफ्ना शाखा रहेका सबै देशहरूबाट एक एक जना उत्कृष्ट वक्ता छान्ने कार्यक्रम बनाएको रहेछ । रेयुकाई नेपालले पनि सोही अनुसार गोरखापत्रमा हुनुपर्छ सूचना निकालेछ । मैले त्यो सूचना देखेर त होइन, तर पनि कसरी हो थाहा पाएँ र लुम्बिनी र धवलागिरि अञ्चलका तर्फबाट वक्ता छान्न तानसेन (पाल्पा) मा आयोजना गरिएको प्रतियोगितामा सामेल भएँ । दुई दुई अञ्चलबाट एक एक जना वक्ता छान्ने उनीहरूको योजनाअनुसार पाल्पाबाट म प्रथम भएर अन्तिम प्रतियोगितामा भिड्न काठमाडौँ आएँ ।

अब हामी दुई दुई अञ्चलबाट छानिएर आएका सात जना वक्ताहरूको बिचबाट अन्तिम छनौट भएर ‘नेपाल प्रथम’ छानिनुपर्थ्यो । त्यसका लागि राष्ट्रिय सभागृहको ठुलो प्रेक्षा लयमा कार्यक्रम सुरु भयो । हामी सातैजनाले गोला तानेर प्राप्त भएको विषयमा ५-५ मिनट बोल्यौँ । निर्णायकहरूमा नाट्यकर्मी हरिहर शर्मा, युएनएफपिएकी हुनुपर्छ तत्कालीन दक्षिण एसिया प्रमुख चाँदनी जोशी र संगीतकर्मी हरिप्रसाद रिमाल हुनुहुन्थ्यो । निर्णय आउँदा थाहा भयो— झापाका प्रतीक ढकाल, इलामका केदार शर्मा र झापाकै रमण घिमिरे क्रमशः पहिलो, दोस्रो र तेस्रो भएछौँ ।

मलाई यो प्रतियोगिताको यसभन्दा पछाडिको चरणबारे केही पनि थाहै थिएन । ‘नेपाल प्रथम’ भएर स्वर्णपदक जितेपछि प्रतियोगिता सिद्धियो होलाजस्तो लागेको थियो तर होइन रहेछ ।  यस्तो प्रतियोगिता त रेयुकाई इ इन्टर्नसनल संसारका ४१ देशमा एउटै प्रणाली अपनाएर मूल्याङ्कन गरेको रहेछ र त्यसमध्येका उत्कृष्ट १५ लाई जापान बोलाएर फाइनल गराउने योजना बनाएको रहेछ । ‘टप फिफ्टिन’ भित्र म पनि परेको रहेछु र जापान जाने छनौटमा परेछु । त्यहाँको शाकादेन (बुद्धको घर) भवनमा अन्तिम प्रतियोगिता भयो । तर त्यहाँ यसलाई प्रतियोगिता भनिएन ।  अन्तर्राष्ट्रिय ‘वक्तृत्वकला पर्व’ भनियो । सबैले गोला तानेर बोल्यौँ । विषयहरू पनि अनौठा अनौठा थिए । शान्ति, जब यात्रा सुरु हुन्छ, कमिलाको पाइताला, मेरो सपनाको विश्व, म हार्न सक्तिन, यस्तै यस्तै विषय निस्कन्थे गोला तान्दा ।  मेरो गोलामा चाहिँ “स्वस्थ युवा शक्ति : राष्ट्रको सम्पत्ति” भन्ने विषय परेको थियो ।  जानी नजानी ५ मिनेट बोलेँ । जापानका सबै टेलिभिजन च्यानलहरूबाट प्रत्यक्ष प्रसारण गरिएको यो कार्यक्रममा चाहिँ मैले छुट्टै निर्णायक बसेको देखिनँ ।

हुन त मैले नदेखेको पनि हुन सक्छु, तर पनि के सुन्नमा आयो भने सिङ्गै दर्शक समूहलाई कसले कसरी प्रभावित पार्न सक्छ भनेर हेरिएको थियो रे ! पछि पटक पटक माइकबाट “मिस्टर दाकारू फ्रम नेपारू” भनेर उद्घोषण गरिएछ । तर उच्चारणको भिन्नताले गर्दा मैले मलाई बोलाइएको हो भन्ने नै थाहा पाइँनछु । त्यहाँ मलाई प्रथम भनिएन तर “द मोस्ट इन्फ्लुएन्सिभ स्पीच” भनेर ठुलो स्वर्णपदक र कार्यक्रमको ट्रफी नै दिइयो । बाँकी १४ जनालाई पनि मञ्चमा बोलाएर तक्मा दिइयो तर क्याटागोरी फरक फरक थियो । कसैलाई आर्टफुल स्पीच, कसैलाई थटफुल स्पीच, कसैलाई फिलोसोफिकल स्पीच भनेर सम्मानित गरियो । तर द मोस्ट इन्फ्लुएन्सिभ स्पीच क्याटागोरीमा म मात्र परेको, कार्यक्रमको ट्रफी पनि मलाई नै दिइएको र सबैले म फुच्चेलाई नै भेटेर अँगालो हाल्दै बधाई दिइएको हुनाले मैले बुझिहालेँ— मेरो वक्तव्यले सबैलाई उछिनेछ ।

नेपाल फर्केर आएपछि जब गोरखापत्रले पहिलो पृष्ठमै बक्स न्युज बनाएर “नेपाली वक्तालाई अन्तर्राष्ट्रिय स्वर्णपदक” शीर्षकमा समाचार छाप्यो, अनि मात्र मैले जितेकै हो रहेछ भन्ने कुरामा म पनि ढुक्क भएँ ।

जापानीहरूले बोल्ने अङ्ग्रेजीको उच्चारण नबुझेर त्यो बेला म निकै हैरान भएको थिएँ ।  उनीहरूको वर्णमालामा ‘ल’ भन्ने अक्षर नै नहुँदो रहेछ ।  त्यसैले उनीहरू नेपाललाई नेपारू, ढकाललाई दाकारू, ब्ल्याक टिलाई बर्याकु ति र मिल्क टिलाई मिरिकु ती भन्थे । म त यिनीहरूले अङ्ग्रेजी बोल्दै छन् भन्ने पनि नबुझेर अलमल्लमा परिरहन्थेँ ।

तपाईंलाई नेपाली नियात्राको वर्तमान धार कस्तो लाग्छ ? अहिले नेपाली नियात्राको अवस्था कस्तो देख्नुहुन्छ ?

– सङ्ख्यात्मकतामा व्यापक वृद्धि भएको छ तर गुणात्मकतामा पटक्कै वृद्धि हुन सकेको छैन ।  नेपाली नियात्रा अहिले पनि डा. तारानाथ शर्मा, देविचन्द्र श्रेष्ठ, घनश्याम राजकर्णिकार, रमेश विकल र जनकलाल शर्माभन्दा अगाडि जान सकेको छैन । यसको मूल कारण नै के हो भने अहिलेका लेखकहरूले नियात्रा लेखनलाई हलुको विषयवस्तुको रूपमा लिने भूल गरिरहनु भएको छ । अचेल सबैका आफन्त अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत र युरोपका धेरै देशहरूमा छरिएर रहेका छन् । त्यहाँ नातिनातिना जन्मेपछि छोराछोरीले बाबुआमालाई बोलाउँछन् । आफ्नै नवजात नागरिकलाई स्याहारसुसार गर्न आउने भएकाले हिजो भिसै नदिने मुलुकले पनि आज सजिलै ‘तेलभिसा’ दिन थालेको छ ।

अनि नेपालतिरबाट यस्तै तेलभिसा वा दीक्षान्त समारोहमा जाने मान्छेलाई के लाग्छ भने यत्रो लाखौँ रुपियाँको टिकट काटिहालियो, नयाँ ठाउँ पनि टेकेकै हो, फुर्सद पनि छँदै छ, अब एउटा नियात्राको किताब लेख्छु । न नियात्राबारे कुनै अध्ययन छ, न घरमा नियात्राका ५०-६० वटा पुस्तक नै छन्, न कसैलाई पढेको छ; अब त्यस्ता लेखकले लेखेको साहित्यको गुणस्तर कस्तो हुन्छ होला ? अनि त्यही स्वतन्त्रताकी देवीको मूर्तिको वर्णन, त्यही ह्वाइटहाउसको चर्चा, त्यही न्यूयोर्क, त्यही कोलोराडो, त्यही हलिवूडको युनिभर्सल स्टुडियोको कथा कतिजनाको पढ्ने पाठकले पनि ? नियात्रा साहित्य भनेको घुँडामा राखेर ख्यासख्यास लेखेको तमसुक त होइन नि ! यसको गरिमा घटाउने काम स्वयं लेखकहरूबाटै  भइरहेको छ । हेर्नोस्, ‘बेलाइततिर बरालिँदा’ को उचाइमा तारानाथाकै ‘पाताल प्रवास’ त पुग्न सकेन भने अब अरूले नसोचेर हुन्छ ?

अध्ययन, चिन्तन–मनन र साहित्य लेखन सबैको सन्तुलनले नै मान्छेलाई उचाइमा लान्छ भन्छन् । के यो कुरा सत्य हो ?

– एलन पीजले भनेजस्तै क्वेश्चन्स् आर दि आन्सर्स् । अर्थात् तपाईंको प्रश्नमै यसको जवाफ छ ।  यसलाई असत्य हो भन्ने विद्वान शायदै होलान संसारमा । लेखनको क्षेत्रमा नआउने मान्छेले पनि अध्ययन, चिन्तन, मनन र पठन त गर्नै पर्छ । नत्र मान्छेको दिमागले कसरी बौद्धिक खुराक प्राप्त गर्छ त ? अनि अबौद्धिक मान्छे नेपालको राजनीतिमा हो भने त माथि  नै पनि पुग्ला, तर अरू क्षेत्रमा त मान्छे भएर बाँच्न पनि गाह्रो हुन्छ ।

तपाईंले साहित्य, जीवन, दर्शन र प्रकृतिलाई कसरी हेर्नुभएको छ ?

–  जीवन र जगतलाई हेर्ने दृष्टिकोण बनाउनकै लागि साहित्यको अध्ययन गर्ने हो । यो शाश्वत प्रकृति एक विराट र खुल्ला विश्वविद्यालय हो जहाँबाट सिक्न नसकिने कुरो केही पनि छैन । अनि जीवन भनेको हरेकको हातमा पर्ने त्यो दुर्लभ र छोटो समय हो जसभित्र रहेर हामीले यो दुनियाँलाई केही दिएर जानुपर्ने हुन्छ । र, दर्शन त्यो दृष्टि हो जसले हाम्राअघि घटित हुने प्रत्येक कार्य र कारणको विश्लेषण गर्दछ । व्यष्टिमा यी फरक फरक लाग्छन्, तर समष्टिमा यी सबैको योगले जीवन बन्दछ जस्तो मलाई लाग्छ । यस्ता विषयमा म धेरै अभिव्यक्ति दिने सक्तिनँ । यो मेरो क्षमताभन्दा परको कुरो हो । हा हा हा !

साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ?

– हालसम्म त म पनि त्यसैको जवाफ खोजिरहेको छु । तर पनि मलाई के लाग्छ भने साहित्यकारलाई त अरूले बचाइदिने हो । यसका लागि पठन संस्कृतिको विकास हुनुपर्छ । किताब मागेर होइन, किनेर पढ्ने चिज हो भन्ने कुरा सबैका दिमागमा आउनुपर्छ । एउटा जाँड पार्टीमा जाँदा हजारौँ रुपियाँ खर्चिन तयार हुने मान्छे ५०० रुपियाँको किताब किन्नु पर्यो भने त्यहीँ ठहरै मर्ला झैँ गर्छ । यो उसको मानवीय गरिबी हो भन्ने ऊ आफैँले बुझ्नुपर्छ अब । किताब किन्नु भनेको आफैँमाथिको लगानी हो । लगानीले निश्चय नै प्रतिफल दिन्छ । जबसम्म हामी आफैँमाथि लगानी गर्न तयार हुँदैनौँ, तबसम्म नेपाली साहित्यको लेखन ‘स्वान्त सुखाय’ मै रहने निश्चित छ । अर्को कुरो स्थानीय सरकारले पनि यस्तो वातावरण मिलाइदिनुपर्छ अब । कति वटा स्थानीय सरकारसँग पुस्तकालय बनाउने कार्यक्रम छ भनेर हेर्नासाथ यसको रूप छर्लङ्ग भइहाल्छ नि ! हाम्रा सरकारहरूले पनि सिक्किमबाट सिक्नु जरुरी छ । किताबको मूल्याङ्कन गरेर उचित ठहरिए एक हजार प्रति किताब त सिक्किम सरकार आफैँले किनिदिएर प्रान्तभरिका पुस्तकालयहरूमा पठाइदिन्छ रे भन्ने सुनेको छु ।

अहिलेको नेपाली साहित्यमा विचार, युगचेतना, विश्वपरिवेशको अभिव्यक्ति कत्तिको पाउनुहुन्छ ?

– झिल्काहरू प्रशस्तै देखिएका छन् । देवकोटाको प्रमिथस, समको नियमित आकस्मिकता, भूपीका कविता, रिमालको मसान र शङ्कर लामिछानेका निबन्धहरूदेखि नै । त्यो क्रम अहिले पनि जारी छ । तर पनि हामी अझै झिल्कोभन्दा बढी हुन सकेका छैनौँ अझै । हामी झिल्कोबाट मुस्लो हुन सकेका छैनौँ अझै पनि । तर पनि हाम्रो साहित्यमा विचार, युग चेतना, विश्वजनीन भावनाको अभिव्यक्ति नभएको होइन ।  दिनेश अधिकारीका कविता, महेश पौड्यालको अपरिचित अनुहारमा देखिएको विश्वदृष्टि, अशेष मल्लको नाट्य चेतना, पारिजातको युगबोध, ध.च. गोतामेको आख्यानाकारिता, दुर्गा बरालको कार्टुनचेतना, मनुजबाबु मिश्रको आत्मव्यङ्ग्यपूर्ण चित्रकारिता, विश्वेश्वरप्रसाद कोइरालाको सुषुप्त यौन मनोविज्ञान, धरावासीको आख्यानको पुनर्उत्खनन, डा. अशोक थापाको प्लटस्केच जस्ता कुराहरूलाई विश्व परिवेशकै हाराहारीमा राखेर हेर्न सकिन्छ ।

जहाँबाट हेरे पनि आकाश उही हो, जून–तारा उही हुन्, फूल र प्रकृति उही नै हुन् । त्यसैले जसले हेरे पनि अनुभूत गरिने सत्य उही नै हो । जसरी देवकोटाका कवितामा किट्स र शेली भेटिन्छन्, जसरी कोइरालामा आन्तोन चेखभ भेटिन्छन्, त्यसरी नै उदीयमान कलाकार जीवित खड्का मगरभित्र पनि पिकासो र भ्यानगग भेटिइहाल्छन नि ! हामी कमजोर भएर होइन, पहुँच नभएर त्यहाँ नपुगेका हौँ । तर विश्वदृष्टि हाम्रो पनि कम छैन । “एकै सूर्जे घाम ताप्न्याँ हौँ भेट हुँदैन क्यान ?” भनेर त देउडा नै गाइरहेको छ सयौँ वर्षदेखि हाम्रै सुदूरपश्चिमले । अनि अहिलेको ग्लोबल भिलेज, युनिभर्सलाइजेसन, फिंगरटिप वल्र्ड, ग्लोबल वार्मिङ र पृथ्वी : एउटा सानो घर भनेको त्यही अवधारणा होइन र ?

नेपाली साहित्यमा अहिले पुरस्कार र सम्मानको अवस्था कस्तो देख्नुहुन्छ ?

– नहुनु मामाभन्दा कानु मामा निको भन्छन् । त्यसैले धेरै टिप्पणी गर्नु आवश्यक त छैन, तैपनि राम्रा कृतिहरू पुरस्कृत भए, साधना पुरस्कृत भयो भने स्वयं त्यो पुरस्कारको पनि इज्जत बढ्छ । कहिलेकाहीँ त पुरस्कार पाएको साहित्यकारलाई हामी जत्तिका खोजी खोजी पढ्ने पाठकले पनि नामै नसुनेका हुन्छौँ । त्यो बेलाचाहिँ अलि छक्क पनि परिन्छ । तर पनि केही भन्न मिल्दैन, किनकि कसैले उसको निजी पैसाको पुरस्कार उसैलाई मन पर्ने मान्छेलाई दिन्छ भने अरूले के भन्न मिल्छ र ? तर पनि पुरस्कारले इज्जत थाम्न सक्यो भने पाउनेलाई पनि गर्व हुन्छ ।  नत्र त उही पाएर पनि खुलेर गर्व गर्न नसकिने सरकारले वर्षे नि बाँड्ने ८-९ सय तक्माजस्तै हो । नेपालको सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कारकै कुरो गरौँ न जो नेपाल राष्ट्रले नै मानेका महाकवि, नाट्यसम्राट, कविशिरोमणि, राष्ट्रकवि कसैले पनि पाउँदै पाएनन् ।

अनि जजसले पाए, तीमध्ये कति जना चाहिँ साँच्चीकै नेपाली वाङ्मयसेवी भएर निस्किए त ? यो सानो सर्भेले नै नेपालका धेरै पुरस्कारहरूको यथार्थ खोलिदिन्छ । त्यसमाथि पनि वाद, गुट, नाता, विशेष सम्बन्ध, रित्तो खाम, समावेशीकरणका नाममा कमसल कृति पुरस्कृत हुने आदि विकारका बारेमा त सबैलाई थाहै छ ।  मैले थप के भनिरहनु पर्ला र ? अहिले त झन् नयाँ रोग भित्रिएको छ— सम्भावित स्रष्टाको कृतिलाई सूचीबाटै हटाइदिने वा सल्लाहकार बनाइदिने ! त्यसपछि त टन्टै साफ !!

तपाईंले त सानैमा वरपरका सबै पुस्तकहरू पढ्नुभयो, त्यसैलाई लाइब्रेरी मान्नुभयो, यो विषयमा अहिलेको अवस्थामा के भन्न चाहनु हुन्छ ?

– २०२३ सालमा शिशु कक्षामा भर्ना भएको मैले वार्षिक परीक्षामा डबल हानेर जब एकै पटक दुई कक्षामा जाने मौका पाएँ, त्यो बेला विद्यालयमै सर्वप्रथम भएबापत केही पाठ्यसामाग्रीका साथमा आजको दुनियाँ नामको एउटा कथासङ्ग्रह पनि पुरस्कार स्वरूप पाएको थिएँ । यो नै मैले जीवनमा पढेको पहिलो फाल्तु किताब थियो । यस किताबले मेरो बालमनलाई यति तान्यो कि त्यसपछि त म खोजी खोजी कोर्सबाहिरका किताबहरू पढ्न थालिहालेँ । २०२७ सालमा गाउँमै एउटा पुस्तकालय खुल्यो । त्यसमा राखिएका ६००० वटै पुस्तक मैले एसएलसी दिनुभन्दा अघि नै पढिसकेँ । त्यसपछि त मैले गाउँघरमा जहाँ जहाँ जे जे पाइए पनि पढ्न छोडिनँ । मुद्रा शास्त्रदेखि कोकशास्त्रसम्म, अर्थशास्त्रदेखि किम इल सुङसम्म, ज्योतिषदेखि खेलकुदसम्म, नाट्य शास्त्रदेखि हिप्नोटिज्मसम्म, नृत्यकलादेखि जासुसी उपन्याससम्म, सङ्गीतदेखि इन्द्रजाल र व्यापारसम्मका जे जे भेटियो, कुरो भुत्लोभाङ केही नबुझे पनि सबै विधा पढियो ।

अहिलेको यत्तिको व्यक्तित्व बन्नु पर्ने नियति रहेछ क्यारे, त्यसैले खूब रहरले र रातभरि टुकी बालेर नसुती नसुती पढियो । तर अहिले त एकदमै सजिलो भएको छ । किताबका लागि किण्डल छ । औँलाको टुप्पोमै इन्टरनेटको अथाह  ज्ञान सागर उपस्थित छ । तैपनि सानैदेखि लागेको बानी भएर होला, हातमा पुस्तक लिएर ढल्केर पढ्न र बेला बेलामा छातीमा बिसाएर सोच्दा जुन मजा आउँछ, त्यो नेटबाट पढ्दा आउँदै आउँदैन ।

तपाईं त आफ्नै देश नेपाललाई संसारभरि चिनाउने साहित्य जन्माउनु पर्छ भन्ने अभियानमा लाग्नु भएको मान्छे । के तपाईंको एक्लो प्रयासबाट यो सम्भव छ ? छ भने कसरी ? प्रस्ट पारिदिनु हुन्छ कि ?

– किन सम्भव छैन र ? हामीले त आफैँलाई नचिनेर मात्र यस्तो भएको हो । देशको दर्ज्यानी पाएका प्राज्ञहरूले समेत देश नचिनेर यस्तो भएको हो । समुद्र हुनेहरूले समुद्रकै बारेमा लेखे र नोबेल पुरस्कार जिते । टापु हुनेहरूले टापुकै बारेमा लेखे र विश्व प्रसिद्ध भए । मरुभूमि हुनेहरूले मरुभूमिकै बारेमा लेखेर विश्वमा तहल्का मच्चाइरहेका छन् भने हामी हिमाल हुनेले हिमालकै बारेमा किन नलेख्ने ? अहिले पनि संसारमा धर्म र मार्क्सवादपछि पढिने तेस्रो ठुलो विषय हिमाल नै हो । तर ती विश्व प्रसिद्ध किताबहरू कुनै पनि नेपालीले लेखेका भने होइनन् ।

नेपालकै विश्वविद्यालयको पाठ्यक्रममा हिमाल र बुद्धको पढाइ हुँदैन । तर म निरन्तर यो लडाइँमा छु । एक्लै भए पनि नेपाली राजदूतको योग्यतामा प्रश्न उठाइरहेको  छु । अरू ठाउँमा जे जे गरे पनि राजदूत पद राजनीतिक पार्टीका झोलेहरूले भर्ने ठाउँ होइन भनेर कराइरहेको छु । मैले आफूभन्दा माथिका ओहोदाधारीहरूलाई त हिमाल बुझाउनै सकिरहेको छैन । तर मभन्दा पछाडि हिमाल बुझ्ने लेखकहरूको आशालाग्दो गरी एउटा बटालियन नै तयार भइसकेको छ । हिमाल लेख्ने एक्लो लेखक थिएँ एक÷डेढ दशकसम्म, तर अब म पनि एक्लो छुइन । मेरापछाडि पनि अब एउटा लहर सिर्जना भइसकेको छ । सर्वश्री युवराज नयाँघरे, मोहन मैनाली, भवानी खतिवडा, भोजराज भट्ट, विजयध्वज थापा, ज्ञानेन्द्र विवश, डा. दामोदर पुडासैनी किशोर,सरस्वती अर्याल, विष्णुप्रसाद शर्मा पराजुली, भीष्म उप्रेती, राजेन्द्रमान डङ्गोल, उत्तम भट्टराई, लाक्पा फुटी शेर्पा, सुनारबहादुर गुरुङ, रञ्जु दाहाल, लक्ष्मण सापकोटा विकल्प, खिमलाल गौतमजस्ता स्रष्टाहरूले हिमाललाई नै आफ्नो लेखनीको केन्द्र बनाउन थालिसक्नु भएको छ ।

सरकारी पाठ्यक्रमले नपत्याए पनि निजी क्षेत्रका धेरै विद्यालयहरूका कक्षा सातमा मेरा हिमाली नियात्राहरूको पढाइ हुन  थालिसकेको छ । वैदेशिक रोजगारीमा जाने प्रत्येक नेपालीलाई नेपालमा पर्यटन प्रवर्द्धन गर्ने राजदूत बनाउनु पर्छ भन्ने मेरो मान्यता छ ।  मैले त नारा नै बनाएको छु—

रोजगारीका लागि विदेश जाने प्रत्येक नेपालीका साथमा 

            नेपालमा पर्यटन प्रवर्द्धन गर्ने एउटा किताब हातमा । 

तर सङ्कुचित सोच भएका केही देशघाती परपीडकहरूले के सोचे भने मैले आफ्नो किताब बेच्न यस्तो योजना ल्याएको हुँ । मैले भनेँ— तिम्रै किताब दिएर पठाउँला तर हिमाल र बुद्धबारे लेखिएको हुनु प¥यो । रङ्गिन चित्रहरू पनि हुनु प¥यो ताकि विदेशीले फोटो हेरेर पनि केही बुझुन् । तर पनि म निराश किन छैन भने नेपालमा पर्यटनको महत्त्व बुझेको श्रम मन्त्री कुनै दिन आएछ भने, वा श्रम सचिव अथवा वैदेशिक रोजगार विभागको महानिर्देशक नै अलिकति बुद्धि भएको मान्छे कुनै दिन झुक्किएर परेछ भने उनीहरूले यसको महत्त्व बुझ्नेछन् । र, त्यही दिनदेखि नेपालको पर्यटनको भविष्य नै बदलिनेछ ।  किनकि, नेपाल सुन्दर छ भन्ने कुरो सर्वप्रथम हाम्रा श्रमिक भाइ–बहिनीले बुझ्नु जरुरी छ ।  त्यसपछि त हाल राजदूतका रूपमा रहेका कलङ्क यी नेताका ज्वाइँ, सासू, साली, भरौटे हुक्के, ढोके र बैठकले भन्दा यिनै श्रमिकले बढी पर्यटक नेपाल पठाउन थाल्नेछन् र कामका लागि त मुलुकको वास्तविक राजदूत पनि यिनै ४० लाख श्रमिक हुनेछन् ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– यो नेपालीसँगै उडेर नेपालबाहिर पुगेको नेपाल हो । नेपाल ‘राज्य’ लाई यहीँ छोडेर गए पनि हरेक नेपालीले आफूसँगै नेपाल ‘राष्ट्र’ लाई बोकेर गएका हुन्छन् । ‘भूगोल’ छोडेपछि आउने ‘भावना’ को अभिव्यक्ति नै डायस्पोरिक साहित्य हो भन्ने मलाई लाग्छ । जब जन्मेको भूगोल छुट्छ वास्तविक जीवनमा, तब अनौठा भावनाको जागरण हुन थाल्छ मान्छेका मनमा ।  त्यसैले मानिसका मनभित्र बसेको देश र उत्सर्ग हुने भावनाले नापिने देश, उसको क्षेत्रफलमा नापिने देशभन्दा कैयन गुणा ठुलो हुन्छ । यही उदात्त र विरही भावनाको अभिव्यक्ति हो डायस्पोरिक साहित्य ।

त्यसैले यसलाई जहिले पनि सम्मानका साथ हेरिनुपर्छ । यसमा गुणस्तरको कुरो गौण र त्यहाँ पुगेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई बचाउन गरेको योगदानलाई प्रमुख कुराको रूपमा हेरिनुपर्छ । त्यसै पनि म त अरू सामान्य बेलामा पनि महिलाले लेखेको साहित्य, विमातृ भाषीले लेखेको साहित्य र डायस्पोरिक साहित्यलाई अलि अलग र मायालु दृष्टिकोणले हेरिनुपर्छ भन्ने मान्यता राख्छु । महिलाले घरभित्रको सुसे धन्दाबाट उठेर साहित्यमा आउनु र नाम कमाउनु, विमातृभाषी स्रष्टाले आफ्नो मातृभाषाबाहेक नेपाली भाषामा पनि स्थापित हुन सक्नु र डायस्पोरामा रहेका नेपालीले कुनै पाठ्यवस्तु वा सन्दर्भ सामाग्रीको उपलब्धता नहुँदा नहुँदै पनि साहित्य लेखेर स्थापित हुनु भनेको चानचुने कुरो होइन । विदेशको दानापानी खाएर पनि मनैदेखि स्वदेशको गीत गाउनु भनेको ठट्टा होइन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यत्तिको बन्न सक्नुमा यहाँको पनि योगदान छ ! यस संस्थालाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ?

– अझ प्रभावकारी बनाउने सम्बन्धमा मैले धेरै फोरमहरूमा धेरै पटक बोलिसकेको छु । सदस्यताको वितरण, त्यसको अद्यावधिकीकरण, अन्तर्दृष्टि प्रकाशन कोषको स्थापना, मुद्रणको डिजिटलाइजेसन, सदस्यहरूसँगको नियमित सम्पर्क, डिजिटल पत्रिकाको डेलिभरी, मुद्रित पत्रिकाको अभिलेख, ट्रस्टी सदस्यताको विस्तार, पुरस्कार व्यवस्थापन, सल्लाहकारको भूमिका, ज्ञान व्यवस्थापनजस्ता विषयमा धेरै पटक कुराकानी भइसकेको छ । आज पनि त्यही कुरालाई दोहोर्याउनुभन्दा कार्यसमितिले क्रमशः कार्यान्वयन गर्दै जानु वेश हुनेछ ।

तपाईं त एक चर्चित साहित्यकार हुनुहुन्छ, नेपाली साहित्यलाई विश्वसँग प्रतिस्पर्धामा लैजान के गर्नुपर्छ ?

सांस्कृतिक मर्मसहितको अनुवाद नै यसको एक मात्र उपाय हो । शब्द शब्दको अनुवाद गरेर कामै छैन । र, अनुवाद भएका कृतिलाई पनि पहिले नेपालीहरूले नै किनेर पढिदिने र नेपाली लेखक पनि बजारमा चल्छन् भनेर विदेशी प्रकाशकलाई विश्वास दिलाउने काम हामीले नै गर्नुपर्छ । हामी यो काममा पनि पछि नै परेका छौँ । कृष्ण धरावासीको राधा अंग्रेजीमा पनि उपलब्ध छ ।  मेरै Beyond the Himalayas पनि अमेरिकाकै आइयुनिभर्सबाट छापिएको छ र अमेजन डट कममा पनि उपलब्ध छ । तर विदेशमा बस्ने नेपालीले नै पढिदिनु भएको छैन । १३ डलर तिरेर किताब किने पनि, ४ डलर तिरेर डिजिटल कपी प्राप्त गरे पनि किताब धेरै बिक्यो भने त्यसको सन्देश नै अर्कै जान्छ ।  तपाईंका छोराछोरी जो अब नेपालीमा पढ्न सक्तैनन्, तिनीहरूले नै नेपालको अप्पर डोल्पो र अप्पर मुस्ताङलाई चिनुन् भनेर यो किताब छापिएको हो ।

किताब छापिदिन बरु अमेरिकी प्रकाशकले पत्यायो तर नेपाली मूलका पाठकहरूले नै पढिदिएनन् भने उसले फेरि अर्को नेपाली लेखकको किताब छाप्न रुचि नै देखाउने छैन । हामीले १३ डलर खर्च गरिदिँदा अमेरिकामा नेपाली लेखकको प्रतिष्ठा बढ्छ, नेपालमा पर्यटन क्षेत्रको विकास हुन्छ भने त्यस्तो राम्रो काम किन नगर्ने ? त्यसैले यस्ता कुरामा हामी सचेत हुनै पर्छ । अहिले हामी कमजोर छौँ, त्यसैले एक अर्काको हात नसमातीकन, मौका परेका बेला नेपालीले नेपालीलाई सहयोग नगरीकन विश्व बजारमा प्रतिस्पर्धा गर्नै सक्दैनौँ ।

तपाईंलाई मन पर्ने विधा कुन हो ? र किन ?

– पढ्न त सबै विधा मन पराएरै पढ्छु । तर पनि नियात्रा विधामा मेरो मन अलि बढी रमाउँछ । किनभने नियात्रा भनेको तपाईंले डुलेको घुमेको कुरो मात्र होइन । अरू भनेका साहित्य मात्रै हुन्, विधा मात्रै हुन्, तर नियात्राचाहिँ महासाहित्य र महाविधा हो । तपाईंले मिलाएर घुसाउन सक्नुभयो भने यसमा  कथा, कविता, लेख, निबन्ध, तथ्याङ्क, इतिहास, भूगोल, संस्कृति, सङ्गीत, खानेकुरा, पहिरन र समष्टिमा समग्र जीवनशैली नै अटाउन सक्छ । अरू कुनै पनि विधालाई यसरी बृहत् बनाउन सकिँदैन, तर नियात्रालाई सकिन्छ । मेरै ‘आनन्द भूमिको आँगन’ वा ‘त्यो उज्यालो कर्णाली’ हेर्नुभयो भने पनि त्यहाँ यात्रा त छ नै । तर अरू पनि धेरै कुरो पाउन सक्नु हुनेछ जस्तो मलाई लाग्छ ।

तपाईं एउटा हक्की प्रशासक कसरी सफल साहित्यकार बन्न पुग्नु भयो ? 

– त्यो त मलाई पनि थाहा छैन । तर पनि के लाग्छ भने मेरो यही हक्की स्वभाव नै सत्यका नजिक पुग्यो होला र मलाई पनि त्यस्तै लेख्न अह्रायो होला ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

– फुर्सद त कहिल्यै भए पो बिताउनु ? तपाईंले पठाएका यी प्रश्नको जवाफ लेख्न त दुई महिना लगाइसकेको छु । हा हा हा ! तैपनि कामको चाप अलिकति कम भएका बेला भने हिउँद बर्खा जे भए पनि हिमालतिर घुम्न जान्छु र आफूलाई तरोताजा बनाएर फर्किन्छु ।

अन्त्यमा मैले सोध्न बिर्सेका र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुरा छन् भने ?

मेरो त आग्रह नै छ— पहिले स्वदेश घुमौँ । देश चिनेर विदेश गइयो भने त्यहाँ पनि ठुलो इज्जत र सम्मान पाइन्छ । हिमाल र बुद्धबारे आधारभूत कुरा पनि नबुझीकन विदेश गइयो भने हामीलाई कसैले पनि सम्मान गर्दैन । परदेशमा विदेशीले हामीलाई सोध्ने प्रश्न भनेकै हिमाल, बुद्ध, गोर्खा र शेर्पासँग सम्बन्धित कुरा हुन्छन् । जब यी चार कुराबारे नै तपाईंलाई केही थाहा छैन भने कसरी इज्जत कमाइन्छ र ? मलाई पनि धेरै कुरा त थाहा छैन यी सबैका बारेमा । तर पनि बुद्धका बारेमा प्रवचन दिएर तिब्बतमा मलाई ठुलो सम्मान मिलेको छ । हिमालका बारेमा दुई घण्टाको प्रस्तुतीकरणपछि मलाई प्रोफेसरको उपाधि दियो— चीनको युनान प्रान्तले । नेपाली हिमालबारे मात्र एक घण्टा बोलेर मैले जर्मनीमा पाएको पारिश्रमिक नै नेपाली तीन लाखभन्दा बढी थियो कुनै दिन । देशलाई अलिअलि चिनेका भरमा यी सम्मानहरू पाएको हुँ मैले । देश नचिनी गएको भए त उही डर्टी, ड्यान्जरस् र डिफिकल्ट (थ्री डी) भित्रै पर्ने थिएँ म पनि । हाम्रो त देशको नामै मन्त्र हो, मिलाएर जप्न जान्यो भने पाइलापाइलामा सिद्धि सुनिश्चित छ ।

यति लामो कुरा गर्ने मौका दिनुभयो, कुशल सङ्गठक मित्र सर्वज्ञ वाग्लेजीलाई धन्यवाद छ ।

यति लामो वार्ता पढिदिनु भएकोमा साहित्यपोस्टका सबै श्रद्धेय पाठक वर्गप्रति आभारी छु ।