म केही दिनदेखि केही लेखौं भनेर टेबलमा बसेको थिएँ। एक हप्तामा दश प्याकेट चुरोट सकिसक्दा पनि एउटा कुनै पढ्न लायक खुराक लेख्न सकिरहेको थिइनँ । राइटर्स ब्लक भन्ने कुरा नि गजब कै हुँदो रै’छ, हात मठ्ठै नसर्ने। लेखिरहेकै हो अलि अलि गर्दै । तर, कहिलेकाहीँ यस्तै हुन्छ, पानाहरू भरिँदैनन्, मात्र खरानीदानी भरिन्छ, चुरोटका ठुटाहरूले ।
हर साँझझैँ त्यो साँझ पनि चुरोट तान्दै झ्यालबाट बाहिर मेरो कोठा जस्तै साँघुरो गल्लीमा हिँडिरहेका मान्छेहरू हेरिरहेको थिएँ। सोचमग्न थिएँ । कताकता हराइरहेको आभास भइरहेको थियो । यत्तिकैमा कसैले मेरो ढोका ढक्ढक्यायो। मेरो मुद्रा भंग भयो। मेरो ध्यान भंग भएकोमा रिस पनि नउठेको कहाँ हो र ! अल्छी मान्दै ढोकानेर गएँ र ढोका खोलें ।
“सर नमस्कार ! सन्चै हुनुहुन्छ ?” ज्ञानेले भन्यो ।
ऊ सधैँ यसैगरी मेरो घर आइरहन्थ्यो । कहिले आफ्नो जहानलाई चिठ्ठी लेखिदिन भन्थ्यो त कहिले उसले पठाएको चिठ्ठी पढिदिन भन्थ्यो। सोच्दै थिएँ, आज ऊ मलाई चिठ्ठी लेख भन्न आएको रै’छ भने सन्चो छैन भनेर टारिदिनु पर्ला तर आज उसको हातमा एउटा क्यासेट थियो र आँखामा उत्सुकता ।
“अँ सन्चै छु ! तिमीलाई कस्तो छ ? धेरैमा आयौ त ? के कति कामले आयौ बरु, भन ?”, मैले सोधेँ।
“मेरो नि ठिकै छ सर । हेर्नुन, आज एउटा भूकम्पले भत्काएको घरको ढुंगामाटो पन्छाउँदै गर्दा एउटा टेप भेटेँ । नजाने, किन मलाई त्यो सुन्ने साह्रै इच्छा जाग्यो । त्यत्रो घर भत्किँदा पनि यो क्यासेट जस्ताको त्यस्तै सग्लो देख्दा अचम्म पनि लाग्यो । मेरो कोठामा त टेपरेकर्डर छैन । हजुरकहाँ टेपरेकर्डर देखेको थिएँ, त्यसैले हजुरलाई दुःख दिन आएको,” उसले बिना कुनै भूमिका आफू मेरोमा आउनुको कारण बतायो।
मनमनै झिंजो लागिरहेको थियो । सोचेको पनि हो, टेपरेकर्डर नै दिएर पठाऊँ, तर फेरि केही रमाइलो पो छ कि न टेपमा भन्ने जिज्ञासा पनि पलायो । मेरो मनमा पलाएको उत्सुकताले अघि लागेको झिँजोलाई कोठाको कुनामा कतै लगेर लुकाइदियो ।
“भित्रै आऊ न !” मैले उसलाई भित्र बोलाएँ र ढोका बन्द गरिदिएँ । सरासर टेपरेकर्डर भएको टेबलमा गएँ, मैले अघि नै उसको हातबाट टेप लिइसकेको थिएँ । टेपरेकर्डरको बटन थिचेँ, क्यासेट हाल्ने ठाउँ भोको गोहीको मुखझैँ मुख बाएर बाहिर निस्कियो । क्यासेट हालेँ र प्ले गरेँ । हामी दुवै जना टेपरेकर्डरमा बज्ने आवाज व्यग्र भएर कुर्दै थियौँ । अझ अचम्म त के भने, हामी त्यो टेपरेकर्डरलाई पनि बडो चाख दिएर हेर्दै थियौं । हामी त्यो रेकर्डरलाई यसरी हेर्दै थियौं, मानौं त्यो क्यासेटका शब्दहरू एकाएक जीवन्त हुनेछन् र हाम्रो अगाडि नाच्नेछन् । एकछिन स्वाँऽऽ आवाज आयो । हामी दुवैले केही पनि रहेनछ भन्ने भावमा एकअर्कालाई हेराहेर गर्यौं ।
एक्कासि टेप बज्न सुरु भयो-
“धन्यवाद सानु ! मलाई लाग्छ तिमीले हाम्रो वाचा पक्कै पूरा गर्यौ । तिमीले जीवनमा मलाई यति धेरै माया र खुसी दियौ कि मैले जीवनका केही अप्ठेरा परिस्थितिहरू पनि तिम्रो मुहारको मुस्कान हराउने डरले तिमीसँग बाँड्न सकिनँ । तिम्रो खुसीको खातिर म सदा तिम्रो अगाडि खुसी देखिने प्रयत्न गरिरहेँ । जीवनमा झूट बोल्नु र केही कुरा भन्दै नभन्नु बीचको फरक पनि मैले यति नै बेला सिकेको हुँ । कहिलेकाहीँ केही कुरा लुकाउनु पनि पर्नेरहेछ र त्यसलाई झूट भन्न सक्दिनँ । आशा छ, तिमीले यो क्यासेट सुनेपछि मलाई बुझ्नेछौ ।”
बीच-बीचमा कोही रोएझैं आवाज अड्की-अड्की आइरहेको थियो।
हामी दुवै जना चौतारीमा बसेर ज्ञान बाँडिरहेका गुरुलाई सुन्ने आज्ञाकारी चेलाहरूझैं भुईंमा बसेर एकतमास त्यो रेकर्डिङ सुनिरहेका थियौँ ।
“सुधा, सधैँ तिम्रो आँखामा हेरेर सबै कुरा भन्ने म, यो कुरा भने तिमीसामु भन्न सकिरहेको थिइनॅं । त्यसैले यो क्यासेटको सहारामा तिमीलाई यो सन्देश छोड्दै छु। तिमीले यो क्यासेट भेट्दासम्म म यो संसारमा हुनेछैन पनि होला तर पनि तिमीले आफूलाई सम्हाल्नू । तिम्रो अगाडि तिम्रो सिंगो जिन्दगी बाँकी छ । मलाई थाहा छ, केही समय तिमीलाई गाह्रो हुनेछ । मसँग जोडिएका हरेक कुराले तिमीलाई मेरो सम्झना दिलाउने छ । मलाई यो पनि थाहा छ कि तिमीले मलाई माफ गर्नेछौ ।
मलाई ब्लड क्यान्सर छ भन्ने थाहा पाउँदा मेरो पैताला मुनिको जमिन भास्सिएको थियो । मेरो अनुहारमा तिम्रो अनुहार झलझली नाचिरहेको थियो। म तिम्रो हाँसो खोस्न चाहन्न थिएँ । त्यो दिन जब म डक्टरकोबाट घर फर्केको थिएँ, तिमीले मेरो मलीन अनुहारको मुद्रा देखेर कारण सोधेकी पनि थियौ तर म कति कमजोर छु भन्ने तिमीलाई थाहै थियो । मैले टाउको दुखेको भनेर बहाना बनाउँदा तिमीले पत्याएकी थियौ। मैले झुट बोलेर हल्का महसुस गरेको त्यो मेरो जीवनको पहिलो घट्ना थियो ।
डाक्टरले मसँग धेरै समय नभएको बताए पनि मसँग जे-जति समय बाँकी थियो, तिमीसँग बिताउनेछु भन्ने लागेको थियो, तर फेरि म कतै बहकिएर कुरा फुत्क्यो वा मलाई बीचैमा केही अप्ठेरो पर्यो भने के हुन्छ ? भन्ने प्रश्न आएर ठिंग ठडियो । अनि मलाई डरको कालो बादलले छोप्यो । म सधैंझैँ सामान्य देखिन भरमग्दुर प्रयास गरिरहेँ। म तिमीलाई कुनै कुराको शंका होस् भन्ने पनि चाहन्न थिएँ । सधैंझैं एकरात हामीले शारीरिक सुख साट्दै गर्दा तिमीले सोधेकी थियौ- आज हजुर किन हतारमा देखिनुभएको ?
मैले मेरो स्खलित शरीर तिम्रो शरीरबाट अलग्याउँदै भनेको थिएँ,- कहिलेकाहीँ केही नयाँ गरौं भनेर नि !
त्यसपछि तिमीले तिम्रो करोडौंको चुम्बन मेरो निधारमा टाँसिदिएकी थियौ । एकपल त मलाई लागेको थियो कि तिम्रो चुम्बन संजीवनी बुटी हो, जसमा हररोग निको पार्ने शक्ति छ । भनिन्छ, संसारमा झूट बोल्न जस्तो गाह्रो केही छैन तर झूट बोल्नभन्दा कुरा लुकाउन कयौं गुणा गाह्रो हुन्छ भन्ने मैले बुझ्दै थिएँ ।
जबजब तिमी मेरो साथ हुन्थ्यौ, मेरो मन दुई भागमा बाँडिन्थ्यो । जसमध्ये एउटामा तिमी प्रतिको असीमित माया हुन्थ्यो भने अर्कोमा त्यस्तै असीमित डर, तिमीबाट तिमीलाई केही नभनीकनै छुट्टिनु पर्ने डर- त्यो पनि सदाका लागि । सम्झेरै मनमा करेन्ट लागेझैं हुन्थ्यो । शरीर कामज्वरो आएझैं काम्थ्यो । सायद यो क्यासेट तिमीले भेट्दासम्ममा म यो संसार छोडिसकेको हुनेछु । यो क्यासेट म खाममा हालेर मैले काम गर्ने अफिसको टेबलको घर्रामा राखिदिनेछु, तिम्रो नाम र ठेगाना लेखेर । कसैलाई म बिदामा जानुअघि मौखिकरुपमा आग्रह पनि गर्नेछु, ताकि यो तिमीसम्म पुगोस् ।
मलाई थाहा छ, मैले यो रेकर्डिंग जति लामो बनाउँछु, त्यति नै तिमीलाई असह्य पीडा हुनेछ । मलाई धिक्कार्ने छौ । मप्रति घृणा पनि जाग्नेछ । म तिम्रो दोषी हुँ । मैले तिमीलाई भन्न सक्नुपर्थ्यो । हामीले हरेक सुख-दु:खमा साथ दिने कसम खाएका थियौं, तर म त्यो कसमको अदालतमा खरो उत्रन सकिनँ । सक्छौ भने मलाई माफ गरिदिनू । उही तिम्रो जीवनको अधुरो यात्रामा भेटिएको एउटा कम्जोर सहयात्री !”
तिम्रो अमर !!”
रेकर्डिङ सकिएर टेपरेकर्डर स्वाँऽऽऽ आवाज निकालेर, ‘मलाई गाह्रो भयो, बन्द गर’ भन्दै थियो । हामी दुवै जना चोकमा राखिरहेको शालिकझैं आ-आफ्नो ठाँउमा स्थिर भएर जमेका थियौं । चोकका शालिक र यी दुई शालिकहरू बीच फरक यत्ति थियो कि, यी दुईका आँखा भने रसाएका थिए।
ज्ञानेले आफ्नो आँखाको आँशु पुछ्नेबित्तिकै सोध्यो- “के यो क्यासेट जसलाई भनेर रेकर्ट गरिएको हो, उनले सुनिन् होला?”
मैले केही बोलिनँ । मलाई निकै नमज्जा लागिरहेको थियो । न चिनेको, न देखेको मान्छेको पीडामा सरिक हुन पनि निकै सकसपूर्ण हुँदो रहेछ भन्ने कुराको ज्ञान पनि त्यति नै बेला गरेको थिएँ मैले ।
“हो त, के सानु भन्ने पात्रले यो सन्देश भेटेर सुनी होली ?”, मैले त्यही प्रश्न आफैँलाई दोहोऱ्याएँ ।
“अब एउटा खोज गर्नुपर्यो । कतै मेरो पहिलो किताबको लागि केही नयाँ कुरा पो मिल्छ कि ?” , मनमनै एकैपटक धेरै कुराहरू खेल्न थाले । प्राय: सबै आफ्नै स्वार्थले अभिप्रेरित थिए। कथाको लागि खुराक भेटिने लोभ पनि सँगसँगै आइरहेको थियो ।
“तिमीले यो कहाँ भेटेको थियौ ? मलाई त्यो ठाँउमा लान सक्छौ ?”- मैले सोधेँ ।
“त्यो रिकर्ट सुनेर क्या नमज्जा लाग्यो, एक पेग पिलाउने भए मात्र !”- उसले सर्त राख्यो ।
“ल हिडँ !”- मैले मेरो कुर्सीमा राखेको कोट उन्दै भनेँ ।
उसले सरासर एउटा घरको भग्नावशेष मात्र भएको ठाउँमा लग्यो र ठाउँ देखाउदै भन्यो – “ऊ त्यो भाँचिएको पिल्लर छ नि, त्योभन्दा उताको झ्याल छेउमा एउटा घर्रा थियो, त्यसैमा भेटेको ।”
“यहाँ पहिले के थियो ? केही थाहा छ तिमीलाई ?”- मैले हकानिंदै सोधें।
“खोई सर, थाहा भएन। बरु यस्सो पैसा दिनुभए म बाटो लाग्थें !”- अचम्म, उसलाई त केही समय अगिको संवेदनाले छोडिसकेको थियो। उसमा आएको त्यो परिवर्तनबाट मैले एउटा निष्कर्ष निकालेँ, स्वार्थले मान्छेलाई अरुको पीरमर्कामा आउने संवेदनाको म्याद घटाइदिँदो रहेछ । खल्तीबाट पाँच सयको दुई नोट झिकेर उसको हातमा थमाइदिएँ। पैसा पाउना साथ ऊ नजिकैको भट्टीभित्र छिर्यो।
म भने केही सुराक भेटिन्छ कि भन्दै त्यो घरको भग्नावशेष खोतल्नतिर लागें । करिब आधा घण्टाको कडा खोजतलासमा पनि केही नभेटिएपछि निरीह भएर उसलाई खोज्न अघि ऊ छिरेको भट्टीमा छिरेँ।
छिरेर एकफेर सबैतिर नजर डुलाएँ तर ऊ देखिएन । उसलाई कतै नदेखेपछि म पैसा तिर्ने काउन्टरमा बसिरहेको मान्छे भएतिर गएँ ।
उसले मलाई ग्राहक ठानेर खाली टेबल देखाउँदै बस्न आग्रह गर्यो । मैले हाँस्दै भनें- “होइन, होइन ! म यहाँ बस्न आएको होइन । म त यहाँ कसैलाई खोज्दै आइपुगेको हुँ । यहाँ केही समयअघि एकजना छिरेको थियो, ऊ कहाँ गयो केही थाहा छ र हजुरलाई ?”
उनी केही झोँक्किएर भनें- “यो भट्टी हो, भट्टी ! यहाँ कति आउँछन् आउँछन् ! कतिलाई याद गरेर साध्य हुन्छ र !” उनी झोँक्किएपछि मलाई यहाँभन्दा अरु केही सोध्न मन लागेन । म त्यहाँबाट निस्कनु नै उचित लागेर ढोकातिर लम्किएँ ।
“ए पख्नुस् त ! कतै तपाईं पनि त्यही छट्टु कथाकारलाई खोज्न त यहाँ आउनुभएको होइन ?” – तिनै भट्टीका साहुजीले म ढोकाबाट बाहिर निस्कनै लाग्दा सोधे ।
“छट्टु कथाकार ? कसको कुरा गर्नु भ’को ? मैले त केही बुझिनॅं नि, के भन्न खोज्नुभएको?” – अन्योल मान्दै मैले सोधेँ ।
“ए, यहाँ एउटा कथाकार आउॅंछ, प्रायः दुई-तीन महिनाको अन्तरालमा । र, ऊ आएको दिन कोही न कोही उसलाई खोज्दै मेरो भट्टीमा आएकै हुन्छ। यसपालि हजुर आएजस्तै । उसले प्राय: साहित्यमा दिलचस्पी हुने मान्छेलाई नै आफ्नो निशाना बनाउॅंछ । उसले आफूले गुनेको कुनै कथाले उनीहरूलाई अल्झाइदिन्छ । उनीहरू कथालाई साँचो मानेर उसको कथामा डुबिदिन्छन् । त्यसपछि त्यो कथाको पात्र र ठाउँ देखाएझैं गरी उनीहरूसॅंग रक्सी पिउने पैसा माग्छ र म कहाँ आउॅंछ । ऊ यहाँ बसेर रक्सी पिउॅंदैन। किनेर लिएर जान्छ । म कहाँ आएपछि ऊ फेरि केही महिनाको लागि हराउॅंछ ।”
साहुजीले यति भनिसक्दा मलाई विश्वास भैसकेको थियो कि म पनि उसको कथाभित्रको एउटा पात्र बनिसकेको रहेछु । सोचेँ, सायद कुनै दिन अब उसले मेरो कथा पनि अरु कसैलाई तोडमतोड गरेर सुनाउनेछ । त्यो कथा सुन्ने व्यक्ति पनि मजस्तै मलाई खोज्न यहीँकहीँ आउनेछ । र, यो क्रम दोहोरिरहनेछ, साहुजीले साँचो कुरा गरेका हुन् यदि भने ।
यावत् कुरा सोचे पनि मेरो मनमा अझै पनि केही शंका बाँकी नै थियो, त्यसैले सोधिहालेँ, “तर ऊ त मेरो घरनजिकै बस्छ । ज्यामी काम गर्छ । ऊ प्राय: मेरोमा उसकी जहानलाई चिठ्ठी लेखिदिनु पर्यो भनी आग्रह गर्न आउॅंथ्यो । मैले कतिपटक लेखिदिएको पनि छु । उसलाई त लेख्न पढ्न नि आउॅंदैन । त्यस्तो मान्छेले कसरी कथा लेख्न वा रच्न सक्छ ? अनि यी सब कुरा हजुरलाई कसरी थाहा भयो ?”
“हा…हा…हा”, लामो हाँसो हाँसिसकेपछि उनले थपे, “यो पनि मेरो लागि कुनै नौलो प्रश्न होइन । उसलाई खोज्न आउॅने हरकोहीले सोध्ने प्रश्न हुन् । आउनुस् बसेरै कुरा गरौं ।” – उनले मलाई खाली टेबल देखाउॅंदै भने । मन उत्सुक भएकाले बस्न करै लाग्यो । उनी सुरु भए, “ के तपाईं पनि साहित्यकार हो र ?”
“साहित्यकारै त होइन, अलिअलि लेख्छु । साहित्यमा विशेष रुचि चैं छ भनौं,” मैले उत्तर दिएँ ।
“ल सुन्नुहोस्,” उसले बिस्तारमा बताउने भयो, ” पहिलोपटक ऊ मेरोमा आउँदा ऊसँग अर्को एकजना पनि थियो । त्यो दिन दुवै जना एकदमै मातेका थिए । दुवै निकै हतास देखिन्थे । अनुहार मात्रै हेरेर अनुमान लाउँदा लाग्थ्यो उनीहरू ठूलै असफलताको शिकार भएका छन् । उनीहरू मध्येको एउटाले आफूहरू साहित्यकार हुन नसके पनि साहित्यको सहारामा बाँच्न त सकिन्छ नि भन्ने खालको कुराहरू गर्दै थियो । उसको नै आइडिया हो जस्तो लाग्छ मलाई त ! त्यसपछि मैले दुई जनालाई सँगै देखेकै छैन ।”
उसले केही सम्झेझैं भन्यो, “अँ साँच्ची, एकपटक एउटा मान्छे तपाईं जसरी नै उसलाई खोज्दै आएको थियो । म यो भट्टीको साहु हो भन्ने थाहा हुनासाथै, उसले मलाई सिधै भनेको थियो- तपाईं किड्नी बेच्ने भए म किन्न तयार छु। जाँऊ हिंड्नोस् !
उसको कुरा सुनेर म त वाल्ल परेको थिएँ । पछि बुझ्दै जाँदा पो थाहा भयो, उसले त मलाई नै पात्र बनाएर मेरै कथा बेचेको रहेछ । उसले त्यो मान्छेलाई भनेको रहेछ, मलाई पैसाको खाँचो छ । म जे पनि गर्न तयार छु । पऱ्यो भने म आफ्नो एउटा मृगौला नै बेचिदिन्छु भनेको छु भनेर लाइदिएछ । पछि साफ झपारेपछि माफी माग्दै गए बिचरा । गल्ती उनको पनि कहाँ थियो र ? श्रीमतीको मृगौला फेर्नुपर्ने भएको रहेछ, कता मिल्छ, कसको मिल्छ भनेर हिंडेको बेला यही छट्टुको फेला परेछन् । अनि त झिनो आशले आत्तिदैआएका रहेछन्, विचरा !”
कथाभित्रको कथाले मेरो माथिंगल नै नराम्ररी हल्लाइदियो । म आफैँ पनि उल्लु भएकोमा हाँसो पनि नउठेको कहाँ हो र ! जे होस् हजार रुपैयाँमा घनचक्कर नै सही, एउटा कथा त सुनाएर गयो मोरोले । कथाकार मात्र होइन, मोरो त कलाकार नै रहेछ नि ! सुरुमा भेट्दाको त्यो निश्चल, निष्कपट अनुहार, त्यो टेप सुन्दै गर्दा भरिएका आँखा र भासिएको स्वर, क्या बहुआयामिक मान्छे रहेछ ! अनौठो पाराले आफ्नो रक्सीको सौख पुरा गर्दोरहेछ ।
“ल साहुजी, जानकारीको लागि धेरै धन्यवाद ! जे होस्, गज्जबकै मान्छे रहेछ त्यो ! फेरि आयो भने खबर गर्नुहोला है ! अहिलेलाई म लाग्छु पनि,” मैले हाँस्दै भनें ।
त्यसपछि आफ्नो नम्बर एउटा कागजको चिर्कटोमा लेखिदिएँ र त्यहाँबाट निस्किएँ । म निस्केपछि पनि ती साहुजी केही फत्फताउँदै थिए तर मैले केही बुझिनँ । सरासर घरतिर लागेँ ।
ऊ कलाकार कि कथाकार ? भन्ने प्रश्नले भने बाटाभरि घोचिरह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।