
‘फ्याउरो लाग्यो उत्तरतिर’ भन्ने आहान चलाएछन् अमेरिकातिर । नपत्याए जोन मुइरलाई सोध्नू । कसरी सोध्नु ? उहिल्यै खोलाका ढुङ्गा पड्काए बूढाले ।
यात्रा लेख्नेले सुनेकै हुन्छन् जोन मुइरको नाम । नसुनेका भए यो वाक्य पढ्दा सुने । अब खोज्छन् ।
अर्का एकजना विद्वान निस्किए फेरि । नाम — जोन डेनिएल । के भनेर जोते भन्दा, मान्छेको जात एक ठाउँ थुप्रो लागेर बस्ने जातै होइन रे ! चुर्ना परेको जात हो, जहिले पनि लखर लखर लखर लखर… कता हो हिँडेको, अत्तोपत्तो नाइँ । ‘बसे लेउ लाग्छ, हिँडे छेउ लाग्छ’ भनेर त यतै पनि भनेकै हुन् । अब, लेउ लागेको राम्रो भन्या हो कि, नराम्रो भन्या हो कि, छेउ लागेको चैँ राम्रो वा नराम्रो के भनेको हो, आजसम्म बुझेको नाइँ । कसैले व्याख्या गरेको पनि सुनिएन । सुविधाअनुसार प्रयोग गर्ने उखान । त्यै गरेँ मैले पनि ।
जात चैँ चुर्नै परेको हो मान्छेको । जानू है भनेका ठाउँमा जाला नजाला, तर नजाओस् भन्ने ठाउँमा पुग्छै पुग्छ । कसले घँचेडेको थियो र मान्छेलाई सरमाथाको चुचुरोमा हिउँ पेल्दै ? तल, रगत जमाउने दक्षिणी ध्रुवमा ? माथि, उस्तै चिसो उत्तरी ध्रुवमा ? हावा, पानी केही नभाको जूनमा ? सर्पका मुखमा ? गोहीका कुरमा ? ए बाबा, घरैमा थुप्रिरहनु नि ! हुँदाहुँदा अब त मङ्गल ग्रहमा रे ! नसकिने भो नारान, नसकिने भो !
मान्छे हिँडन्ते प्राणी हो भन्ने कुरा कुनै विद्वानले नभने पनि हामीलाई थाहा छ तर फलानो विद्वानले भनेको हो भनेर भनियो भने पण्डित्याइँ छाँट्न सजिलो हुन्छ । छाँटौँ न त, एकछिन् पण्डित्याइँ । पोलिश इतिहासकार जोलान्टा स्जताचेल्काका अनुसार ‘हिँड्नु मान्छेको उद्भवकै बेलादेखिको अनुराग हो ।’ अब यी आमोई मान्छेको उद्भवका बेला थिइन् वा थिइनन्, उनै जानून् । तर उनले ‘मेटामोर्फोसिस अफ ट्राभल राइटिङ’ नामको पुस्तकको भूमिकामा यसरी कुरा जोतेको भने ठीक साँचो हो । पुराना ग्रन्थ हेरौँ न ! उतातिर बाइबल, इलियाड, ओडिसी, गिल्गमेशको काव्य । यहुदीहरूको इतिहासै हेरौँ पल्टाएर । यता पनि हेरौँ न — अनेक पुराण । महाभारत । रामायण । तर्छु छार समुद्र आज सहजै…
नारद त सतीदेवीको हाडको यन्त्र बनाएर बजाउँदै तीन लोक, चौध भुवन, नारायण, नारायण !
आर्यहरूको ‘तथाकथित’ यात्रा हेरौँ । कताबाट आए, कता पुगे । एकथरि छन्, जो भन्छन्, आर्यहरूको थलो नै ‘यही’ हो । कहाँबाट आउनु नि ? भ्रामक इतिहास । अर्काथरी भन्छन् — मध्यपूर्वतिरबाट आएका हुन् ।
यो झगडामा नपरम् होला । परम् चैँ केमा भने, मान्छेको इतिहासै डुलन्ते इतिहास हो । घुमन्ते इतिहास हो । थुप्रो लागेर बसेको चैँ, सारमा, कुनै बाध्यताले हो । अथवा, कालान्तरमा पृथ्वीमा कोरिएका अहमका सीमारेखाहरूले हो । देश–देशबीचका सीमारेखा पनि अहमले कोरेका हुन् । सृष्टिकर्ताले कोरेका होइनन् ।
हिँड्ने, र हिँडेको कथा लेख्ने — यो पनि मान्छेको पुरानै बानी । यसको इतिहासतिर लागिनँ । सबलाई थाहा छ । सबैभन्दा पुराना भनिएका ग्रन्थ पनि, खासमा, हिँड्नुकै विवरण हुन्, अथवा उपज हुन् ।
डार्बिनले त्यसै भनेका होइनन् क्यार — ‘कुनै पनि जवान प्रकृतिवेत्ताका लागि कुनै सुदूरको मुलुकको यात्रा गर्नुभन्दा फाइदाजनक अर्को उपक्रम हुँदैन ।’ पछि टमस बेबिङ्टन मेकालेका बारेमा भनियो— एक हरफ लेख्न सय माइलको यात्रा गर्थे रे ! हैट, बेलायती चुर्ना त ज्याद्रा पो हुँदारान् !
हिँड्नु आवश्यकता रहर वा तलतलको उपज हो भने, हिँडाइबारे लेख्नु विरेचनको सन्धान हो । अँ, विरेचनकै लागि मात्रै लेखिन्छ र ?
अमेरिका जाँदा टिकट कसरी काट्ने, विमानस्थलमा केके चाहिन्छ, कसरी लाइन लाग्ने, विमानमा सिटको पेटी कसरी बाँध्ने — मजस्ता मूर्ख पाठकलाई यस्ता कुराको ज्ञान दिन पनि त लेखिन्छ । लेखिन्न र ? लेखिएन र ?
अधिकांश यात्राकारले आफूभित्र गान्निएको अनुभूतिकै विरेचनका लागि लेख्छन् । उनीहरूमा पाठकलाई ज्ञान दिन लेख्ने केको बाध्यता छ ? त्यस्ता बाध्यता इतिहास, भूगोल वा संस्कृतिका पाठ्यपुस्तक लेख्नेहरूको चाहिँ होला । ‘नियात्रा’ नै भनेर लेख्नेहरूमा अधिकांशले चाहिँ आफूभित्र यात्राले छोडेको बुलन्द छाप, वा निस्सीम अनुभूतिको प्रकटीकरणकै लागि लेखेको स्वीकार गरेका छन् । ‘साहित्यलाई योगदान दिन’ भनेर पनि लेखे लेख्न त, बरै । तर त्यो ढाँटेका हुन् । योगदान आफैँ हुन पुगेको हो । विरेचनकै तर्क जेठो हो । कि, भाषा खेलाउने खसखस हो । दुईमा एक हो ।
हिमाल चढेका जोन क्राउकरलाई ‘हिमाल चढ्नु थियो चढिहाल्यौ, ‘इन्टु थिन एयर’ किन लेख्यौ भनेर सोध्दा भनेका थिए रे— ‘आरोहणको अनुभूतिले भित्रभित्र यसरी खाइरह्यो, यसरी खाइरह्यो, यसरी खाइरह्यो कि मलाई लाग्यो किताब लेख्यो भने मभित्र पलेँटी कसेर गजधम्म बसेको हिमाललाई म निकाल्न सक्छु ।’ उनलाई, मान्नेगन्नेहरूले किताब नलेखिहाल है भनेर सल्लाह दिएका थिए रे ! तर भन्छन्, ‘मैले टेरिनँ ।’
यो, नियात्राको र अन्य विधाको प्रकृतिमा एउटा फरक हुन्छ सायद । कविताको हकमा वर्डस्वर्थले भने नि, कविता शक्तिशाली आवेगहरूको निर्बन्ध बहाव हो, जस अलिपछिलाई मन शान्त भएको बेला पुनः स्मरण गरेर लेखिन्छ ।
यो, धेरै पछि, मन शान्त भएपछि, स्मरण गरेर लेखिने जो कुरो छ नि, यो नियात्राको हकमा लागु हुँदैन जस्तो लाग्छ । हुन त, जिन्दगीमा एउटा पनि नियात्रा नलेख्नेले भनेको यो कुरामा खासै दम होला नहोला, बहस गरौँला । तर, यात्राको अनुभूति जति समय राख्यो, उति बिलाउँदै जाने हो । कपुरझैँ उडेर जाने हो । त्यसको आवेग वा तीव्रता कम हुँदै जाने हो । यात्रा गर्दा उठेका ठेउला नबस्दै लेख्ने हो सायद । पसिना नओबाउँदै लेख्ने हो । अँ, सम्पादन जति वर्ष लगाएर गरे पनि भयो । अँ, तथ्यहरूका बीचबीचमा कल्पना, चिन्तन, मनन वा ध्यान…यस्ता कुरा पछि जोड्ने कुरा भए ।
लु, प्रयोगै गरौँ न ! कतै यात्रामा जाँदा विचारको एउटा झिल्को फु-यो । मानिलिऔँ, सडकमा एउटा खुट्टो गुमेर बैशाखी टेक्ने, एउटा खुट्टो चैँ सग्लो भएका एकजना पुरुष हामीले देख्यौँ । उनी पसल पसल पसिरहेका छन्, भिक्षा मागिरहेका छन् । उनले गेरुवा वस्त्र लगाएका छन् । तपाईंले सोध्नुभयो— यो संन्यासीको वस्त्र किन लाउनुभएको ? उनले भने— जगतबाट विरक्तिएर हजुर ! तपाईंको मनमा झट्ट आयो— जसलाई पल पल बाँच्न, हिँड्न वा खान जगतकै भिक्षाको आवश्यकता छ, जगतकै सहाराको आवश्यकता छ, उही संन्यासी छ । उही जगतबाट विरक्तिएको । गजब !
यसमा के फु-यो ? कविता ? कथा ? उपन्यास ? निबन्ध ?
यसो दिमागमा राखौँ । वा डायरीमा एक–दुई लाइन लेखौँ । पूर्ण विधा जहिले लेखे पनि भयो ।
तर, एघार वर्षअगाडि नारानथानको डाँडो चढ्दाको अनुभूति सम्झेर लेखौँ न एउटा नियात्रा । ६७ सालमा स्कुलबाट ककनी पिकनिक जाँदाको लेखौँ न अहिले सम्झेर ।
असम्भव । असम्भव ।
सम्भव होला पनि । तर, नियात्रा चैँ होला जस्तो लाग्दैन । अरू जेजे सम्भव होला, दैवै जानून् ।
अघि माथि एउटा नकाम कुरा लेखियो । के लेखियो भने ‘अँ, तथ्यहरूका बीचबीचमा कल्पना, चिन्तन, मनन वा ध्यान…यस्ता कुरा पछि जोड्ने कुरा भए ।’
हैट । नियात्रा भन्ने, अनि कल्पना पनि भन्ने ? कल्पना र नियात्रा ? यो विरोधाभास ।
अँ, यो विरोधाभास ।
अस्ति एक ठाउँ भनियो— नियात्राको ‘नि’ कता गएर बेपत्ता भयो । यात्रा मात्रै रह्यो ।
अर्को ठाउँ भनियो— कविताको बुई चढेपछि निबन्ध पनि ‘ललित निबन्ध’ भयो । कविता आफैँ चैँ समाचारको बुई चढेर प्रबन्ध भयो ।
हैट, के बुझ्नु ?
नियात्रामा पाठकलाई सासै फेर्न नदिई हिँडाको हिँडाई, हिँडाको हिँडाई, हिँडाको हिँडाई गर्दा लेख्नुको प्रयोजन हराएर जान्छ । नियात्रा पर्यटन होइन कि ? हिँडाइमा जसरी पडाउहरू आउँछन्, लेखनमा पनि त आउँछन् । यात्रामा, एउटा कोशेढुङ्गो र अर्को कोशेढुङ्गाबीचको त्यो नगण्य भूगोलको त यात्रु आफैँलाई पनि ध्यान हुँदैन । उसको झिनो स्मृतिबाट चुहिएर पानामा खसेको घुर्मैलो टिपोटमा पाठकले किन अल्झिनु ?
किन अल्झिनु र ? नअल्झिनु नि ।
नअल्झिनु माने, अर्को पडाउमा पुगिहाल्नु ? हैट, छलाङ मार्नु ? झ्यागुतो उफ्रेजस्तो एउटा पडाउबाट अर्को पडाउमा उफ्रिनु ?
नउफ्रिनू ।
तर, नियात्राका नाममा भएको यही छ । कुरो गहिरो छ । तर, घरछेउमै पहिरो हुन सक्छ यो कुरा ।
कुरो के भने नि, दुइटा कुरा ।
कुरो नम्बर वान — गरिएका जति सबै यात्राले नियात्रा दिन सक्दैन । दिए भने बतासे यात्रा विवरण दिएका होलान् । भो, भूगोलका किताब वा डायरीका सौता नपढौँ होला ।
कुरो नम्बर टु — गरिएका यात्राको हरेक मोडले नियात्रा बन्न पुग्ने अनुभूतिको तीव्रता एउटा लेखनकलाई दिनै सक्दैन । सक्दै सक्दैन । सक्यो भने कि त्यो भूगोल स्वर्ग हो, कि त्यो लेखक महामानव हो । ‘दियो’ भनेर कसैले दावी गर्छ भने कि ऊ ठग हो, कि शब्दजालमा माहिर छ, कि बिरामी हो ।
धेरै चैँ शब्दजालको खेलाडी नै हो ।
यात्रामा पनि अति तीव्र अनुभूतिहरू कुनै कुनै पडाउहरूमा मात्र भेटिन्छन् । तर यात्राको धागोलाई अविछिन्न तानिरहन एउटा लेखकले त्यस रिक्त भूगोलबाट पनि यात्रा त गराउनै पर्ने हुन्छ । मानौँ, त्यस रिक्त भूगोलमा उदात्त वर्णनका लागि केही छैन । तथ्य पनि छैन । भावना पनि केही छैन । सौन्दर्य पनि छैन । लेखकले के गर्ने ?
अधिकांशले जेजे देख्छन्, त्यही लेख्छन् । अण्डा ताछेर खाएको (त्यो पनि दाहिने हातले रे) । पानी पिएको । पिसाब लागेको । घरको सम्झना आएको । साथीले ननभेज जोक सुनाएको…सास फेरेको । छिटोछिटो फेरेको । अनि फेरि अलि ढिलो फेरेको । अनि अझै ढि…लो । अनुलोम–विलोम । थप्नुस् है !
एकथरि लेखक भन्छन्— नियात्रामा छिरिक्क कल्पना नमिसाउनू । कथा हो र ? कल्पना गर्नेले कथा लेखे भइगयो नि ? नियात्रालाई ‘गैर–आख्यान’ मा किन राखेको त ? आख्यानमै राख्नू नि त ?
हैट्, झगडा !
नियात्रामा केही छ त्यस्तो, जसले यस विधालाई पर्यटकका लागि लेखिने पथप्रदर्शनका पुस्तकभन्दा माथि राख्यो । भूगोलका पाठ्यपुस्तकभन्दा माथि राख्यो । डायरीभन्दा माथि रख्यो । लोकप्रियताको चुलीमा राख्यो । आज पनि खोज्छन् त, ‘बेलायततिर बरालिँदा’ । साझाले प्रदर्शनी लाओस् न ! प्रतीक ढकालका नियात्रा शीर्षस्थानमा । हैट्, हाम्रै जीवनकालमा पो !
अधिकांश लेखक सोच्छन्— विम्बात्मक भाषाको तिलस्मी जालोले छोपछाप पारेपछि पँधेरा जाने बाटो पनि रावणको स्वर्ग जाने सिँडीजस्तो देखिन्छ । सबैले किनेर पढ्छन्, र भन्छन्— वाह, नियात्रा !
गडड ताली !
खै कुनचाहिँ टुरिस्ट गाइडको किताब बेस्ट सेलर भयो रे भनेको त सुनिएन त आजसम्म !
नियात्रालाई विवरणभन्दा माथि उचाल्ने त्यो तन्तु भनेको भाषाको भ्रमजाल मात्रै होइन । नियात्राले आफू गैर–आख्यान भएर पनि आफ्नो गर्भमा अटाउन सक्ने आख्यानको लक्षण हो, जसमा कल्पना, चिन्तन र विवेचना अन्तर्घुलित भएर आउँछ । यथार्थ र कल्पनाबीचको मूर्त पर्खाल भत्काइरहने नियात्रा जीवन्त हुन्छ ।
यहाँनेर यो तर्क मान्न गाह्रै हुन आउँछ, मलाई थाहा छ ।
‘द ग्लोबल पोलिटिक्स अफ कन्टेम्पोररी ट्राभल राइटिङ’ नामको एउटा किताब छ, डेब्बी लिस्ले नाम गरेकी लेखिकाले लेखेको । त्यसमा उनी लेख्छिन्, ‘कोरा तथ्यलाई आख्यानको राणनीतिअनुरूप पुनः प्रस्तुत गर्ने स्वतन्त्रताले नै नियात्रालाई पर्यटक–पुस्तिकाभन्दा पृथक् बनाएको हो ।’
थैत, त्यो खोल्साको नाम पो छुटेछ ! हैट, त्यो खाजा खाएको पसलको साहुजीको नामै टिपिएनछ । हैट्, हिँड्ने बेलामा औषधिको बट्टा बिर्सेको कुरा झण्डै…
भो न । नियात्राकै कुरा गरौँ न । गाजेमाजे नपारौँ ।
जेम्स ओ रेइल्ली भन्ने एकजना विद्वानले नियात्रालाई ‘कोकटेइल अफ इन्ग्रेडिएन्ट्स’ भने । कुरो के भने, भूगोल, पर्यावरण, मानवशास्त्र, संस्कृति, इतिहास आदिमा नियात्राले कल्पना र चिन्तनको चास्नी थप्छ ।
यो कल्पना वा चिन्तनको चास्नी नपाएरै हैरान ।
यात्रा प्लस कल्पना वा चिन्तनको चास्नी इज इक्वेल टु नियात्रा ।
सूत्र कति सरल ।
तर कुरो कति कठिन ।
प्रश्नः नियात्रा, कति चाहिँ तथ्य, र कति कल्पना ? कति चिन्तन ?
पैसा गनेजस्तो ठ्याक्कै त कसरी भन्नु हौ ?
हुन त स्कोट एन मोमाडेले नियात्रा लेखेका हुन् । कोही संस्मरण हो पनि भन्छन् तर पनि यात्रा संस्मरण हो । गर्न त एउटा भूगोलको वर्णन गरेका हुन् । तर उनले यसरी गरे—
‘ओक्लाहोमाको मैदानको बिचैबिच एउटा सानो थुम्की उठेको थियो, विचिता नदीको उत्तर र पश्चिततिर लमतन्न । मेरो समुदायका मानिस, यानि किओवाहरूका लागि त यो पुरानो मुकाम हो, र यसलाई उनीहरूले रेइनी माउन्टेन भन्ने नाम दिए । विश्वको सबैभन्दा असहज मौसम यहीँ पाइन्छ । हिउँद बर्फिलो आँधी लिएर आउँछ, वसन्तमा तातो सामुद्रिक आँधीको आतङ्क चल्छ । गृष्ममा भने यहाँको खर्क लिहीको सतह बन्न पुग्छ । घाँस सुकेर खैरो र छुँदै झुर्रिने हुन्छ, र कसैले टेक्यो भने पैतालामुनि धूलोपीठो भएर टुक्रन्छ । नदी र नालाका किनारतिर थोरै हरिया चौर त भेटिन्छन्, हिकोरी र अखरोटका रैखिक घारीहरू पनि छन्, खरी र कट्टुसका रुख पनि यदाकदा भेटिन्छन् । जुलाई वा अगस्त महिनमा भने, अलि पर कतै रुखहरूमा बाँकी रहेका पातहरू आगोको ज्वालोमा मुर्झाएजसरी मुर्झाउन पुग्छन् । ठूला आकारका हरिया र पहेँला फट्याङ्ग्राहरू अग्लाअग्ला घाँसका बीचबीचमा जताततै देखिन्छन्, मानौँ ती मकैका घोगा हुन्, र ती कसैलाई ठुङ्न टाउको उठाइरहेका छन् । रातो माटोमा कतै कछुवाहरू यसरी घिस्रिरहेका देखिन्छन् मानौँ अनन्त समयमा उनीहरूलाई कतै पुग्नु छैन । एक्लोपन यहाँको जमिनको एउटा शाश्वत यथार्थ हो । यहाँको मैदानमा देखिने हेरक कुरा एक्लो लाग्छ । आँखाले देखेका वस्तुहरूबीच कुनै भ्रम हुँदैन । एउटा पहाड, एउटा रुख, एउटा मानिस — सबै प्रस्ट र एक्ला । एकाबिहानै घामलाई आफ्नो पिठ्यूँतिर पारेर यस भूगोलमा आँखा डुलाउनु माने कुनै पनि वस्तुको परिमितिको भाव गुमाउनु हो । यहाँ तपाईंको कल्पना जीवन्त भएर आउँछ, र तपाईंलाई लाग्ने छ— यो नै त्यो भूगोल हो, जहाँबाट सृष्टिको प्रारम्भ भयो ।’
— ‘द वे टु रेइनी माउन्टेन’ । स्कट एन मोमाडे ।
यसै रचनामा अलि तल एउटा हरफ यस्तो पनि आउँछ—
‘म त्यस रेइनी माउन्टेनमा जुलाईको महिनामा पुनः गएँ । त्यसै साल वसन्तमा मेरी हजुरआमाको मृत्यु भएको थियो, र मलाई उनको समाधिस्थलमा जान मन थियो । उनी निकै पाको उमेरसम्म बाँचेकी थिइन्, र अन्ततः अशक्त भएर बितेकी थिइन् । उनको निधन हुँदा उनकी एकमात्र छोरी उनका साथमा थिइन् । मलाई कसैले सुनायो— मर्ने बेला उनको अनुहार एउटी अबोध बालिकाको जस्तै देखिएको थियो ।’
यात्रालाई यात्राले प्राण दिन्छ वा दिँदैन, भन्न सकिन्न । यात्राका विवरणका बीचमा यसरी थपिने कल्पना र चिन्तनको उदात्तताले त्यसमा प्राण भरेको हुन्छ । किन पो बिर्सेला र कुनै पाठकले एकचोटि पढेको मिसिसिपीको सौन्दर्यवर्णन र मार्क ट्वेनलाई ? घनघस्याको उकालो र तारानाथ शर्मालाई ? पढौँ न एकफेर फेरिः ‘टाउकामा चिप्लो न चिप्लो बरफको हिउँलो केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखहरूको जिङ्ग्रिङे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेहरूसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखराली सेती जत्तिकै रिसाएको छ । सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ । यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँ, तर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन्झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ ।’
गहिरिएरै पढेको भए कसले बिर्सने खुम्बूको हिमपहिरो र प्रतीक ढकाललाई ? अथवा आनन्दभूमिको आँगनमा । खप्तड बारेको एउटा नियात्रामा उभिएर, घोर्रिएर, सोचेर, कल्पना गरेर कसरी दर्शन लेख्छन्, पढौँ न— जसलाई जति माथिल्लो उचाइबाट खसालिएको छ, त्यत्ति नै बढी चोट लाग्ने हुनाले अहिले तँलाई अलि बढी दुखेको छ । कुरो त्यत्ति मात्रै हो । क्राइस्ट, राम, कृष्ण, कबीर, सीता, राधा, मीरा, हरिश्चन्द्र, ध्रुव, प्रल्हाद, नानक, पाण्डव कसका जीवनमा आएनन् र सङ्कटका दिनहरू ? रामायण र महाभारत मात्र होइन, अठारवटै पुराण, बाइबल, कुरान लगायत सबै धर्मका सबै पवित्र ग्रन्थहरू— सबै नै आँसुले लेखिएका करुणकथाहरू हुन् । जीवनको मूल करुणा र आँसु नै हो र तिमीले आँसुलाई बिर्सेका दिन धेरै नै नराम्रो गरी पछुताउनेछौ ।’ कसले बिर्सने सक्नु अन्नपूर्णको फेरो र भीष्म उप्रेतीलाई ? ठोरीको ठ्याँसफु र युवराज नयाँघरेलाई ? सिराइचुली र राजेन्द्रमान डङ्गोललाई ? दैलेखको शिवज्वाला र भवानी खतिवडालाई ? पढौँ न थोरै— ‘साँच्चिकै अद्भुत लीला छ प्रकृतिको जहाँ आगोमा पानी छ र पानीमा आगो । न आगोलाई पानीको डर छ न पानीलाई आगोको नै डर छ । पानी न्यानो आगो तापेर बगिरहेको छ । पानीलाई आगोको रापले न्यानो माया गरिरहेको छ । आगोको राप र तापलाई पानीले शीतलता प्रदान गरिरहेको छ । आ–आफ्नो कर्तव्यपथमा डटिरहेका छन् — दुवै ।’
सूची लम्ब्याउँदै लान सकिन्छ — निर्मोही व्यास, दामोदर पुडासैनी किशोर । समेटिन्छन्, छुट्छन्, गाली खाइन्छ ।
कति तथ्य, कति चैँ यस्तो कल्पना, उदात्त वर्वण र विम्बात्मक प्रस्तुति ? कति चैँ ?
‘गुलिभर्स ट्राभल’ नाम गरेको उपन्यासमा गुलिभर भन्ने एउटा पात्रले एक ठाउँ पुगेर भन्छ— ‘हाम्रा सामु यात्राका अनेका पुस्तकहरूको चाङ छँदै थियो । अचम्मै भनिएको त्यस्तो कुनै भूगोल थिएन, जसबारे हामीले केही न केही नपढेका होऔँ । मलाई त शङ्कै लाग्न थाल्यो— कतिपय लेखहरूले सत्य कम र आफ्नै अहम् र चाख बढी लेखे, अथवा अबोध पाठकको अनभिज्ञताको फाइदा लुटे ।’
हुन त काल्पनिक आख्यनको एउटा काल्पनिक पात्रले भनेको कुरा हो यो । तर कस्तो, ठ्याक्कै मेरै मनको कुरो भनेजस्तो । लेखेजस्तो ।
लु, मेरो र गुलिभरको गठबन्धन भयो । थपिन सक्नुहुन्छ है । खुला छ ।
एउटा अर्को पनि कुरा छ, जो अन्तिम हो । अभि सरले भनेजस्तो — कुन अन्तिम ? पहिलो अन्तिम ? दोस्रो अन्मित ? साँच्चिकै अन्तिम ।
अन्तिम चैँ के भने, नियात्राको कुनै ठूलो ढड्डु किताबमा, मानौँ अंश अंश छुट्याएका छन् । भनौँ न, पाठ वा अध्याय हुन् । अध्ययन भनेपछि, ती अंश एक–एक यात्रा–निबन्ध हुन् । तिनले निबन्ध हुनलाई निभाउनुपर्ने एउटा धर्म छ । त्यो के भने, त्यहाँ लेखिएका अक्षर, हरफ वा अनुच्छेदले पाठकसामु ‘एउटा’ तर्क गरिरहेका छन् । अथवा, एउटा प्रभावशाली बिम्व वा प्रभाव सिर्जना गर्ने कोशिस गरिरहेका छन् । र त्यो पूरा निबन्ध, त्यही ‘एक’ तर्क, विम्ब, भाव र प्रभावको स्थापनकाका लागि हो ।
तर नि, कुरो । केही नछोडी टिप्नु भन्नुभाछ गुरुजीले ।
केही पनि नछोडी ।
बाटोमा भेटेका पात सबै टिप्नु भन्नुभाछ— पिपलको, सल्लाको (टपरी हुँदैन), भुलेत्राको, घोेडताप्रेको, कट्टुसको, भोर्लाको…
अनि त्यो किताब किन्नुपर्ने, र पढ्नुपर्ने हुन्छ नियात्राका नाममा । प्रभु ।
एकचोटि बाटोमा भेटेको सबै टिप्ने भ्रमबाट नियात्रालाई झक्झक्याएर निकाल्न मिल्दैन ? दश बजेर पैँतीस मिनेटमा के भयो बाटोमा ? अथवा, ३६ किलोमिटरमा पुग्दा के भयो ? त्यो छुटेर के नै हुन्थ्यो र ? त्यो छुट्दा, अँ, कुनै बुलन्द अनुभूति छुटेको भए, र त्यसबाट पाठकले पाउन सक्ने कुनै अमृत छुटेको भए, एउटा कुरो । छुटिजाने भनेको साथीले सुपारी खान्छेऊ भनेर सोधेको, अनि आफूले खान्नँ भनेको कुरो छुट्छ कि भन्ने कत्रो चैँ त्रास हुन्छ भने नि, नारान ।
नियात्रा र नियात्रकारको सङ्ख्या बढेकोबढ्यै छ । चुँ बोल्न गाह्रो ।
एउटा काम बाँकी छ । यात्रा गराए साथीहरूले गाडी रिजर्भ गरेरै । अन्त्यमा अनुरोध गरे— एउटा एउटा नियात्रा जसरी पनि लेखिदिनुस् है । स्मारिका निकाल्ने ।
अरूले अस्ति बुझाएछन् । आफूले अल्छी गरियो कि के हो, लेखिएन ।
केही उल्लेखनीय घटनै घटेन बाटोमा । केही विलक्षण देख्दै देखिनँ । लेखिनँ । लेखाएन भनौँ न कुनै पनि दृश्यले । घटनाले । अनुभूतिले ।
अर्कोपल्टदेखि त्यस्ता यात्रामा बोलाएनन् । जान पाइनँ ।
नियात्रा लेखिनँ । समालोचनातिर लागेँ ।
त्यस यात्राका आधारमा नियात्रा लेख्ने सर्जकहरूको सिर्जनाक्षमता सम्झेर नि, नतमस्तक छु ।
शिर आजसम्म जमिनतिरै ।
सर, एउटा नियात्रा जसरी पनि लेखिदिनू है । स्मारिका छाप्ने हो ।
यो आवाजले सपना बिथोल्न छोडेको छैन अझै पनि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

